मार्क्सवादी ज्ञान र सिद्धान्तबारे

0
26

कुनै बस्तु वा घटनाकोबारेमा सत्यतथ्य संगत ढंगले बोध प्राप्त गर्नु र त्यस अनुरुपको व्यबहार गर्नु नै
ज्ञान प्राप्त गर्नु हो । ज्ञान सिद्धान्त भनेको जीवन, जगत र ब्रह्माण्डको बोधगम्यताको बैज्ञानिक
निरुपण हो । ज्ञान प्राप्ति भनेको मानिसको मगजमा बस्तुगत जगत र त्यसका नियमहरुको क्रियाशिल
तथा सभिप्राय प्रतिबिम्ब हो । मानिसको वरपर रहेको जगत नै ज्ञान प्राप्तिको श्रोत हो । बस्तु वा
पदार्थको असर मानिसमा पर्दछ र मानिसमा त्यसै अनुरुप अनुभव अनुभुती हुँदै व्यबहार गर्न सिक्छ र
ज्ञान प्राप्ति गर्दछ । मानिसको चेतनामा बाह्य बस्तुले प्रभाव नपार्ने भएको भए तिनीहरुको बारे
मानिसले केहि पनि थाहा पाउने थिएन । बस्तुगत जगत, जीवन र विभिन्न घटनाहरुलाई मानव ज्ञानको
एक मात्रै श्रोतको रूपमा मान्यता दिनु नै माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको
आधारभूत मान्यता हो । अनुभव नै ज्ञान प्राप्तिको माध्यम हो । मानिसको भौतिक क्रियाकलाप र
उत्पादन सम्बन्धि क्रियाकलाप नै अनुभव हो । यसै क्रियाकलापको सिलसिलामा मानिसहरूले बस्तुहरु र
घटनाहरु सम्बन्धि ज्ञान प्राप्ति गर्दछन् । अनुभव ज्ञान प्राप्तिको माध्यम मात्रै होइन कि यो ज्ञानको
सत्यताको कसौटी पनि हो ।
मार्क्सवादका प्रवर्तकहरुले ज्ञान प्राप्तिको प्रक्रियाको द्वन्द्वात्मकताको ब्याख्या गर्नु पुर्वका
भौतिकवादीहरुले ज्ञान सिद्धान्तको केही सत्य ब्याख्या गरेपनि त्यसको आधार अध्यात्मवाद नै थियो ।
मार्क्स र एङ्गेल्सले बस्तुपरक जगतको प्रतिबिम्ब, अनुभव, अनुभुती र व्यबहारद्वारा मानिसको
जीवनशैली नै परिवर्तनको संघारको बाटो देखाउन अभिप्रेरित गर्दछ । त्यसले सधैं उन्नति र अग्रगामी
अवस्थामा ज्ञान प्राप्ति हुन्छ भन्ने धारणा प्रस्तुत गरेपछि अध्यात्मवादका आधारभुत ब्याख्याहरु
चकनाचुर भएका थिए ।
अनुभव र व्यबहार नै ज्ञान प्राप्तिका प्रस्थान बिन्दु वा आधार हुन् । मानिसले एक्लै होइन कि सम्पुर्ण
समाजसँग मिलेर व्यबहारको क्रममा जगतमाथी व्यापक प्रभाव पार्दछ । त्यसैले ज्ञानको विषय भौतिक
जगत हो भने ज्ञानको कर्ता मानव समाज हो । ज्ञानको सामाजिक चरीत्रलाई अपनाउनु मार्क्सवादी ज्ञान
सिद्धान्तको विशेषता हो । व्यबहार भनेको त्यो हो जीवन र जगतलाई बुझ्ने प्रयास सबैले गर्दछन् तर
बदल्ने काम नै व्यबहार हो । श्रम र भौतिक उत्पादन नै त्यसको आधार हो । साथै वर्गसंघर्ष, उत्पादन
संघर्ष र बैज्ञानिक प्रयोग पनि व्यबहार अन्तर्गत नै पर्न जान्छन् । व्यबहारको चरीत्र पनि वर्गीय हुन्छ ।
मार्क्सवादी दर्शनका अनुसार ज्ञान प्राप्ति भनेको अनुभव, व्यबहारका साथै सत्यतथ्य प्रमाणले पुष्टि हुनु
अनिवार्य सर्त हो । जुन कुरा प्रमाण विना कथिएको छ त्यो अनुसन्धानको विषय हो तर कुनै कुरा प्रमाण
सहित पुष्टि हुन्छ त्यो नै ज्ञान हो । जस्तैः कुनै एकजना साथिले श्याम चुरोट खान्छ भनेर सुनाउदैमा
श्यामको चुरोट खाने बानी रहेछ भनेर ज्ञान हासिल गर्नु गलत हुन्छ । किनभने त्यो कुरा सुनाउने

मानिसले झुठो बोल्ने संभावना पनि रहन्छ । तर जब श्यामले चुरोट खाएको देखेर प्रमाणीत भएमा त्यो
ज्ञान हुन्छ । यस प्रकारले ज्ञान हासिल गर्नुलाई इन्द्रियग्राय ज्ञान् भनिन्छ । प्रत्येक्ष देखेको कुरा सत्य
हुन्छ त्यसलाई सापेक्षमा बुझ्नुपर्ने हुन्छ ।
व्यबहार नै ज्ञानको प्रस्थान विन्दु हो किनभने व्यबहारको आधारमा वा भौतिक उत्पादनको प्रभावले नै
ज्ञानको जन्म दिन्छ । आफ्नो अस्तित्वको प्रारम्भिक घडी देखि नै मानिस काम गर्न बाध्य भयो
किनभने उसका असीम आवश्यकता पुर्ती उसले उत्पादन गरेका भौतिक उपजद्वारा नै हुन्छन् । ज्ञान
प्राप्तिको सिद्धान्तमा व्यबहार र सिद्धान्तको एकत्व हुन जरुरी हुन्छ । ज्ञान प्राप्ति मानिसको
सैद्धान्तिक क्रियाकलाप पनि हो तर सिद्धान्तले मात्रै स्वतस् वास्तविकतामा बदल्न सकिदैन । मानव
आवश्यकताका वृद्धिसँगै निरन्तर उत्पादन संघर्ष, सुधारिएको योग्यताको प्रयोग र पुराना कमिकमजोरी
बाट सिकेर थप ज्ञान हासिल गर्ने प्रक्रिया चलिरहेको हुन्छ । यो गोलचक्कर मानव समाजका लागि
अनिवार्य दैनिकी कार्य हुन थाल्दछ । उत्पादन संघर्षको नियमितता सँगै ज्ञान प्राप्ति उच्चस्तरीय हुँदै
जान्छ । ज्ञान घट्दैन बरु सापेक्षीक ज्ञान प्राप्तिको क्रियाकलाप परिक्षण, निरीक्षण र अनुगमनद्वारा
त्यस सम्बन्धित बस्तुको आन्तरिक विकास, विशेषता तथा गुणको बैज्ञानिक निरुपण गर्न सफल हुँदै
ज्ञान प्राप्ति पद्धति निरपेक्ष सत्य तिर अगाडि बढ्छ ।
ज्ञान प्राप्ति पद्धतिलाई प्रत्येक्ष बोधबाट भावनात्मक चिन्तन तिर एकत्वको रुपमा विकास गर्नु अझ
ज्ञान प्राप्तिको गहिराईमा पुग्नु हो । प्रत्येक्ष बोध वा अनुभुती इन्द्रिय ज्ञानबाट थाहा लाग्छ । देखेर, सुनेर,
सुँघेर, चाखेर र छामेर कुनै बस्तुको केहि हदसम्म विशेषता पहिचान गर्न सकिन्छ । यो ज्ञान प्राप्तिको
प्रारम्भिक प्रक्रिया हो । अर्थात बस्तुहरुको यस्तो प्रत्येक्ष बोध नै ज्ञान प्राप्तिको बाटोमा चालिने पहिलो
पाइला हो । व्यबहारकै सिलसिलामा प्रकृतिका बस्तु र घटनाहरुको मानिसले ज्ञानइन्द्रिय मार्फत
तिनीहरुको बारेमा पहिलो अनुभुति प्राप्त गर्दछ । बस्तु र घटनाहरुका निश्चित स्वभावहरु, विशेषताहरु र
पक्षहरुको मानिसको मगजमा पर्ने प्रतिबिम्ब नै अनुभुति हो । ज्ञान प्राप्तिको प्रक्रियामा अनुभुतिको ठुलो
महत्व किन हुन्छ भने बस्तुहरुको बारेमा ठिक ठिक जानकारी राख्न यसले मानिसलाई आवश्यक
सामग्रीहरु दिन्छ । ज्ञान प्राप्तिको सम्पुर्ण प्रारम्भिक प्रक्रिया बस्तुहरु सम्बन्धि ती तथ्यहरुमा आधारित
हुन्छ जुन हामीले अनुभुतिबाट पाउछौं । तर यस प्रकारको इन्द्रिय ज्ञानले हामीहरुलाई बस्तु र घटनाबारे
केहि निश्चित र बाहिरी पक्षहरुको मात्रै अनुभुती दिन्छ । पुर्णतया ज्ञान प्राप्ति इन्द्रिय ज्ञानले मात्रै संभव
हुँदैन । इन्द्रिय ज्ञानले प्रारम्भिक बोध हासिल मात्रै गराउछ । त्यसको साथसाथै ज्ञान प्राप्तिको
गहिराईमा पुग्न बस्तुहरुको आन्तरिक सारतत्व, विकासका नियमहरुको उद्घाटन, आन्तरिक रहस्यमय
पक्षको ज्ञान हासिल गर्न इन्द्रिय अनुभुतीको साथै तार्किक ज्ञान पद्धतिको आवश्यकता पर्दछ । तार्किक
ज्ञान पद्धतिले बस्तुहरु, घटनाहरु र समाज विकासबारे आन्तरिक पक्षको व्यापक रहस्य उद्घाटन गर्दै
पुर्णतया ज्ञानको प्रतिबिम्बको विकास गर्दछ । इन्द्रिय ज्ञानबाट तार्किक ज्ञानतिर संक्रमण गर्न सक्षम हुनु

नै ज्ञान प्राप्तिको प्रक्रियामा द्वन्द्वात्मक फड्को हो । यो ज्ञानको निम्न स्तरबाट उच्च स्तरमा लम्काई
हो । व्यबहारको आधारमा तार्किक ज्ञानको माध्यमबाट त्यो फड्को सम्पन्न हुन्छ । अन्तिम तथा सत्य
निष्कर्षमा पुग्नु तार्किक ज्ञानको लक्ष हो । त्यसकारण इन्द्रिय अनुभुतीबाट तार्किक निष्कर्षमा पुग्नु नै
प्रत्येक्ष बोधबाट भावनात्मक चिन्तनतिर ज्ञान प्राप्तिको एकत्वको सिद्धान्त हो । ज्ञानको गहिराईमा
पुग्न अनुभववाद र विवेकवाद लाई एकत्व गर्दै निष्कर्षमा पुग्नु हो । विश्वास नभए ज्ञान प्राप्त हुँदैन, कुनै
कुरा असत्य सावित नभएसम्म सत्य र सत्य सावित नभएसम्म असत्य हुन्छ । त्यसैले विश्वासको साथै
प्रमाण चाहिन्छ । प्रमाणले सिद्ध गर्दै निष्कर्षमा पुग्नु ज्ञान प्राप्ति हो ।
ज्ञान प्राप्तिको सिद्धान्त सापेक्षीक सत्यबाट निरपेक्षीक सत्यतिर अगाडि लम्किरहन्छ । आजको
युगसम्म मानिसले जानेका, बुझेका र व्यबहारमा प्रयोग गरेका ज्ञानहरु अब मानिसले कहिल्यै बिर्सिदैन
। त्यसका साथै नजानेका र नबुझेका थुप्रै कुराहरू क्रमश मानिसले जान्नेछ र बुझ्नेछ । जीवन र जगतमा
कुनै पनि यस्तो चिज छैन जो जान्न र बुझ्न सकिदैन । सबै चिज बोधगम्य छन् । त्यसैले ज्ञान प्राप्तिको
प्रक्रिया निरन्तर अथाह रूपमा अगाडि बढिरहने कुरा हो । कुनै बस्तु वा घटनाको ज्ञान प्राप्ति सापेक्षबाट
सुरु हुन्छ र जब त्यो निरपेक्ष सत्यमा पुग्दछ र त्यस सम्बन्धि पुर्ण ज्ञान प्राप्ति हुन्छ । अर्थात् सत्यको
मुर्तरुप हुन्छ । सत्यको मुर्ततामा निरपेक्ष सत्य निरुपित हुन्छ । त्यो उच्च स्तरको ज्ञान प्राप्ति हो ।
मार्क्सवादी ज्ञान सिद्धान्तमा व्यबहार नै सत्यको कसौटी हो । मानव चिन्तनले बस्तुगत सत्यता
अनुसरण गर्छ कि गर्दैन भन्ने कुरा नै ब्यबहारिक प्रश्न हो । व्यबहारमा नै मानिसले सत्यता अर्थात्
आफ्नो चिन्तनको वास्तविकता र क्षमता प्रमाणित गर्दछ । चिन्तन र व्यबहारको एकत्व नै मार्क्सवाद र
लेनिनवादको सर्बोच्च सिद्धान्त हो । चिन्तन र व्यबहारको डौरानमा हाम्रो ज्ञानले झन् पछि झन् सहि
रुप लिदै जान्छ । व्यबहारमा देखा परेका कमि कमजोरीहरुलाई सुधारेर नयाँ उच्च ज्ञान प्राप्त गर्न
सकिन्छ । उदाहरणका लागि सबैभन्दा पहिले पानी घडी बन्यो । पानी घडीको कमजोरी पत्ता लागेपछि
छाया घडी, छाया घडीको कमजोरी पत्ता लागेपछि दम दिनुपर्ने घडी, दम दिनुपर्ने घडीको कमजोरी पत्ता
लागेपछि सेलबाट चल्ने घडी र सेल घडीको कमजोरी पत्ता लागेपछि अन्तमा स्वचालित घडी निर्माण
संभव हुन गएको हो । एकैचोटि सुरुमै स्वचालित घडी निर्माण गर्न संभावना हुँदैन थियो । यो
उदाहरणबाट के पुष्टि हुन्छ भने व्यबहार ज्ञान, फेरि व्यबहार फेरि ज्ञान, फेरि व्यबहार फेरि ज्ञान यस
रुपले अनन्त रूपमा फन्को मारिरहन्छ । प्रत्येक फन्कोको साथै व्यबहार र ज्ञानको बिषयबस्तु झन्झन्
माथिल्लो स्तरमा बढ्छ यहीँ क्रममा नै ज्ञानको पुर्ण रुप निरुपण हुन्छ । ब्रह्माण्डमा ज्ञान हासिल
नभएका थुप्रै कुराहरू पनि व्यबहारकै क्रममा क्रमशः ज्ञान प्राप्ति हुन्छन् ।
मार्क्सवादले व्यबहार र ज्ञान बीच एकताको नियम मान्दछ । त्यसले सत्यता तिर डोर्‍याउने गर्दछ । तर
आदर्शवाद, अराजकतावाद, अवसरवाद, दुस्साहसवाद, प्राधिकारवाद, ब्यक्तिवाद, यान्त्रिक भौतिकवाद
आदि सबैमा व्यबहार र ज्ञान बीच खाडल हुन्छ । जस्तैः कसैको निधन पश्चात् स्वर्ग पठाउन गरिने

परम्परागत क्रियाकर्म असत्य र ब्यर्थ हो यो ज्ञान हो । यो ज्ञान हासिल गरेका मानिसले समेत
आफन्तको निधन हुँदा त्यसलाई व्यबहारमा उतार्न सकेको देखिदैन, परम्परागत क्रियाकर्म नाजायज हो
भन्ने थाहा हुदाहुदै जब व्यबहार त्यस अनुरुप अपनाउन सकिन्न भने उसले ज्ञान प्राप्त गरेको भनेर कुनै
अर्थ हुँदैन । त्यसैले मार्क्सवादी सिद्धान्त अनुसार ज्ञान त्यो हो जो व्यबहारमा प्रयोग गरिन्छ अर्थात
व्यबहारमा नै उसको ज्ञानको स्तर मापन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here