मानव सभ्यताको लागि साझा चुनौती: रुकुम घटना

1
164

-सरोज न्यौपाने

दलित युवक नवराज विक सहित ६ जनाको ज्यान लिनेगरि पश्चिम रुकुममा भएको मानव नरसंहार, जघन्य एवम् आततायी घटना आधुनिक एवम् सभ्य समाजका लागि ठुलो चुनौती हो । उक्त घटनालाई जातीयकरण गरेर या राजनीतिकरण गरेर हामी पीडकसम्म पुग्न र पीडितलाई न्याय दिलाउन सक्दैनौं । नवराजसँगै चौरजहारी जाने, स्थानीयहरुको आक्रमणबाट भाग्न/जोगिन भेरी नदीमा हाम फालेर ज्यान गुमाउनेहरु सुनार र विश्वकर्मा (दलित)सँगै खड्का, शाही, बुढा (गैर दलित)हरु पनि रहेछन् । यस घटनालाई जातीयता र राजनैतिक रूपमा मात्रै सिमित गरेर हेर्ने भन्दापनि आपराधिक घटनाका रूपमा हेरिनु न्यायोचित हुनेछ । र, अपराधीसम्म पुग्न पनि यसले सजिलो बनाउनेछ ।

सँगै यस घटना समाजमा अझैपनि परम्परावादी एवम् रुढीबादी चिन्तन कायमै रहेको प्रमाण पनि हो । व्यवस्था परिवर्तनका निम्ति ज्यादै नै ठुला र महत्वोपुर्ण आन्दोलनहरु चले, संविधानसभा मार्फत संविधान निर्माण भयो । संविधान र कानुनमा जातीय छुवाछुत र जातीय विभेदको अन्त्य भएको घोषणा गरियो । दुर्भाग्य, व्यवहारतः त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्न नसक्नुको परिणाम समाजमा यी र यस्तै घटनाहरु रोकिएका छैनन् । नवराज लगायतका अन्य साथीहरूको ज्यान गुमाउनुको पछाडि केवल उनीहरुको प्रेमसम्बन्ध मात्र होईन कि समाजमा व्याप्त सामन्ती उत्पीडन र दमनहरुको जगमा रहेको `विवेकशुन्य चिन्तन´ नै हो । यसको निमित्त सांस्कृतिक रुपान्तरणका क्षेत्रमा व्यापक र निर्णायक आन्दोलन Culturel revolution/सांस्कृतिक क्रान्ति अपरिहार्य छ । पढेलेखेका र जान्नेबुझ्नेहरु नै गम्भीर प्रकृतिका अपराधहरुमा संलग्न भएको देख्दा केवल चेतनास्तर मात्रै सामाजिक रुपान्तरणमा प्रयाप्त नहुने रहेछ भन्ने निष्कर्ष निकाल्न गाह्रो पर्दैन ।

हामीलाई थाहा छ, आफ्नो पुरा जीवन लामो राजनैतिक आन्दोलनमा व्यतीत गरेको एउटा पुस्ता जीवनको उत्तरार्द्धमा आइपुगेको छ । तर समाजमा यावत समस्या कायमै छन्, सुशासनको सवालमा त हामी दुनियाँकै पुछारमा छौँ । रुकुम घटनाले हामीलाई यसकारण पनि बढी गम्भीर र सोंचमग्न बनाएको छ कि, थुप्रैपटक चलेका राजनैतिक एवं सामाजिक आन्दोलनबाट पनि सामाजिक रुपान्तरणका क्षेत्रमा न्यूनतम प्रगति समेत हुन नसकेको तितो यथार्थ जगजाहेर भएको छ । त्यसकारण सबै प्रकारका उत्पीडन, शोषण र दमनबाट मुक्त हुन वर्गीय मुक्ति आन्दोलनमा लामबद्ध हुँदै त्यसलाई उचाइमा पुर्‍याउन प्रयत्न गरौं । जातीय, क्षेत्रीय या लैंगिक मुक्तिको नाउँमा फेरिपनि हामी अलमलियौँ भने यसले हाम्रो नयाँ पुस्तामाथि नै अन्याय हुन्छ । वर्गीय मुक्ति बिना अन्यप्रकारका मुक्ति सम्भव नै छैन भनेर बुझ्न अब धेरै विलम्ब गर्नुहुँदैन ।

रुकुम घटनाको कारण जात र थर होईन । यसको दुष्परिणाम पनि एउटा निश्चित जातले निम्त्याएको होइन । यसको कारण र समस्या त चिन्तन र प्रवृत्तिको हो । कैयौं जात र थरमा यस किसिमका समस्या व्याप्त छन् । यस घटनालाई दलित समुदायमाथिको आक्रमणका रूपमा हेर्ने र विश्लेषण गर्ने हतारो नगरौं । जातीयताका नाउँमा गम्भीर प्रकृतिको मानवताविरोधी अपराधको बहस सिमित गरेर हामीले अर्को प्रकारक हिंसालाई निरन्तरता त दिंदैछैनौं ? गम्भीरतापूर्वक मनन गरौं ! जातीय एवम् साम्प्रदायिक चिन्तन पनि समाजका निम्ति त्यत्तिकै खतरा छन् । यसबाट माथि उठ्न अर्को प्रकारको जागरण ल्याउन जरुरी छ । त्यसको नेतृत्व हाम्रै पुस्ताले गर्नुपर्छ, गर्नेछ ।

जताबाट व्याख्या गरेपनि, तर्क र जिकिर गरेपनि मानवहत्या जस्तो जघन्य र अक्षम्य अपराधमा संलग्नहरु मानव समाज र सभ्यताका निम्ति चुनौती हुन् । उक्त गम्भीर मानव हिंसाउपर अनुसन्धान गरेर दोषीलाई हदैसम्मको कार्वाही गर्न सरकारी संयन्त्रमा दबाब सिर्जना गरौं । सामुहिक रूपमा सरकारलाई खबरदारी गरौं- मानव नरसंहार, मानवताविरोधी अपराध, मानव सभ्यताको चुनौतीका रूपमा रहेको चौरजहारी घटनाका दोषीलाई कुनैपनि मुल्यमा उन्मुक्ति र छुट नदियोस् । सामाजिक सद्भावसँगै हामीलाई सामाजिक न्याय चाहियो सरकार !

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here