माघीमा वनभोज सहित पुलामीको बिदाई

0
314

बरदुबई (युएई) । देशभित्र मात्र होइन, युएईको परदेशी भूमिमा पुगेर रोजगारत रहेका प्रवासी नेपालीहरुले समेत माघी पर्व २०७४ मनाएका छन् । युएई नेपाली एकता समाज केन्द्रीय समिति तथा नेपाली महिला समाज युएईको संयुक्त आयोजनामा जनवरी १९, २०१८ का दिन दुबईको अल–ममजार पार्कमा वनभोज कार्यक्रम गरी युएईमा रोजगाररत प्रवासी नेपालीहरुले माघी पर्व मनाएका हुन् । सो अवसरमा युएई नेपाली एकता समाजका महासचिव धनसिंह पुलामीको अनौपचारिक विदाइ कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

माघी पर्वको अवसरमा आयोजित उक्त वनभोज कार्यक्रमको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य कृष्ण केसी रहनु भएको थियो । वनभोज कार्यक्रममा सहभागी प्रवासी नेपालीहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले युएई नेपाली एकता समाज, युएईमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरुको अभिभावकीय सङ्गठन भएको बताउनु भयो । देश छाडेर परदेशी भूमिमा आउँदा हरेक प्रवासी नेपालीहरुलाई चाडपर्व र मेलाहरु आउँदा गाउँघर, परिवार र देशको सम्झनाले सताउने गरेको स्मरण गराउँदै उहाँले यस्ता वनभोज जस्ता कार्यक्रमहरुले प्रवासी नेपालीहरुका पीडा एक–आपसमा साटासाट गर्न र देशको अवस्थाका बारेमा बुझ्न सहयोगी बन्ने गरेको बताउनु भयो । देशको मुहार बदल्नका लागि र यसरी परदेशिनु नपर्ने खालको थिति बसाल्नका निम्ति अन्तत: सबै प्रवासी नेपालीहरु स्वदेश नै फर्किनु पर्नेमा उहाँले जोड दिनु भयो ।

नेपाली महिला समाज युएईकी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन युएई नेपाली एकता समाजका महासचिव धनसिंह पुलामीले गर्नु भएको थियो । कार्यक्रममा युएई नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष जय बहादुर विक, अर्का उपाध्यक्ष जेएन शर्मा, पूर्व उपाध्यक्ष यम पुन, संस्थापक सदस्य कृष्ण भुसाल, पूर्व कोषाध्यक्ष लेखनाथ अधिकारी, बरदुबई क्षेत्रीय समितिका सचिव के.पी. विरही, रसअल खेमा क्षेत्रीय समितिका महेश शर्मा, आवुधावी क्षेत्रीय समितिका दिनेश थापा, प्रगतिशील पत्रकार सङ्घ युएई शाखाका सदस्य भानु शर्मा, रक्तिम सांस्कृतिक अभियान युएई शाखाका प्रितम राहुल र सावित्रा एमसी तथा नेपाली महिला समाज युएईकी सदस्य तथा वनभोज कार्यक्रमकी संयोजक माया थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली महिला समाज युएईका पदाधिकारी तथा सदस्यहरु युएई नेपाली एकता समाजका अन्य पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरु रक्तिमका गीतमा नाचेर केहीबेर रमाइलो समेत गरेका थिए ।

सोही वनभोजको अवसरमा युएई नेपाली एकता समाजका महासचिव एवं प्रगतिशील पत्रकार सङ्घ नेपाल युएई शाखाका अध्यक्ष धनसिंह पुलामीलाई सम्मानका साथ विदाइ समेत गरिएको थियो । पुलामी अचानक रोजगारीको सिलसिलामा युएई छाडी थाइल्यान्डको बैङ्ककतर्फ जाने भएपछि पूर्व तयारी बिनै सोही कार्यक्रममा उहाँलाई समेत बिदाइ गरिएको हो । नेता पुलामीले युएईमा रोजगाररत रहँदा सङ्गठनमा अमूल्य योगदान पुर्‍याउनु भएको थियो । युएई नेपाली एकता समाजलाई आजको स्थानमा ल्याई पुर्‍याउन नेता पुलामीको महत्वपूर्ण भूमिका रहेको थियो । सहयोगी र मिलनसार स्वभावका नेता पुलामीले युएईमा रहँदा सङ्गठन र श्रमजीवी प्रवासी नेपालीहरुको पक्षमा पुर्‍याउनु भएको योगदानको सहभागी सबैले प्रशंसा गरेका थिए । सहभागीहरुले अबिर र खादा लगाई दिदै नेता पुलामीको विदाई गरेका थिए । विदाइ गर्दै सहभागीहरुले थाइल्यान्डमा रोजगाररत रहँदा पनि नेता पुलामीले प्रवासी नेपालीहरुलाई सङ्गठित गर्दै उनीहरुको हक हितका लागि निरन्तर सङ्घर्षरत रहने आशा व्यक्त गरेका थिए । – अर्चना सुवेदी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here