महिला संघको सातौं राष्ट्रिय सम्मेलन फागुनमा

0
537

काठमाडौं । अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन २०७५ फागुन २४ देखि २६ सम्म रुपन्देहीको बुटवलमा हुने भएको छ । २०७५ वैशाख ७ र ८ गते बुटवल मै सम्पन्न संघको राष्ट्रिय परिषद् तथा केन्द्रीय समिति बैठकले सातौं राष्ट्रिय सम्मेलनको सो मिति तय गरेको हो ।

संघकी अध्यक्ष मिना पुनले ९ वैशाखका दिन एक प्रेस वक्तव्य जारी गर्दै बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नुभएको छ । वक्तव्यमा अगाडि भनिएको छ–“अखिल नेपाल महिला सङ्घको केन्द्रीय समिति र राष्ट्रिय परिषदको बैठक २०७५ वैशाख ७ र ८ गते बुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

१) राष्ट्रिय परिषदको उद्घाटन राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेश अध्यक्ष बोम बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्त बहादुर नेपाली, ५ नं. प्रदेशका सांसद तारा जिसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका सल्लाहकार दुर्गानाथ खरेल, अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष तथा वहालवाला सल्लाहकार विदुर मल्ल, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की र अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव राम प्रसाद भुसालले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष मीना पुनले, सञ्चालन महासचिव सरस्वती पौडेलले र स्वागत उपाध्यक्ष शकुन्तला रानाले गर्नु भएको थियो ।

२) दोस्रो शेसनको अध्यक्ष मण्डलमा केन्द्रीय उपाध्यक्षद्वय शकुन्तला राना, लक्ष्मी बास्कोटा र केन्द्रीय सदस्य चन्द्र बदन श्रेष्ठ रहनु भएको थियो । बैठकले अध्यक्ष मीना पुनले प्रस्तुत गर्नु भएको राजनीतिक सङ्गठनात्मक प्रतिवेदन र आगामी कार्यक्रम महासचिव सरस्वती पौडेलले प्रस्तुत गर्नु भएको विशेष प्रस्ताव हलमा सुझाव सहित पारित गरेको छ ।

३) परिषदले विभिन्न चरणमा सम्पन्न गर्ने गरी आगामी १ वर्षको कार्यक्रम पारित गरेको छ । पहिलो चरणमा वैशाख, जेष्ठ, आषाढमा महिला हिंसाको विरोध र महिला अधिकार सम्बन्धी काठमाडौँ, बुटवल र पोखरामा अन्तक्र्रिया कार्यक्रम गर्ने, ७ वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउने, दोस्रो चरण श्रावण–कार्तिकसम्म सदस्यता वितरण स्थानीय तहका सङ्गठनको भेला सम्मेलन र विभिन्न तहमा निर्वाचित महिला प्रतिनिधि र कार्यकर्ताहरुको प्रशिक्षण, तेस्रो चरण मङ्सिर–माघसम्म जिल्ला भेला सम्मेलन गर्ने र २०७५ फागुनको २४, २५ र २६ गते सातौँ राष्ट्रिय सम्मेलन बुटवलमा गर्ने निर्णय भएको छ ।

४) परिषदले विभिन्न तहको निर्वाचनमा निर्वाचित बैठकमा उपस्थित सङ्गठनका निम्न नेताहरुलाई सम्मान गरेको छ : तारा जिसी– सांसद ५ नं. प्रदेश तथा केन्द्रीय सदस्य अनेमसङ्घ, लक्ष्मी बास्कोटा– वडा अध्यक्ष बागलुङ नगरपालिका वडा नं. ३ तथा उपाध्यक्ष अनेमसङ्घ केन्द्र, पवित्रा जिसी– उपाध्यक्ष झिमु्रक गाउँपालिका तथा केन्द्रीय सदस्य अनेमसङ्घ, दिलमाया पुन– बरेङ गाउँपालिका उपाध्यक्ष तथा केन्द्रीय सदस्य अनेमसङ्घ, नरमाया थापा– सत्यवति गाउँपालिका कार्यपालिका सदस्य तथा केन्द्रीय सदस्य अनेमसङ्घ, हुमा पोख्रेल– मल्लरानी गाउँपालिका कार्यपालिका सदस्य तथा परिषद सदस्य अनेमसङ्घ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here