महिलालाई प्रत्यक्षमा साह्रै गाह्रो : दुर्गा पौडेल

0
471
-लोक राज रुम्दाली

दुर्गा पौडेल, नेपाली राजनीतिमा चिनाइरहनुपर्ने नाम होईन, तर धेरैले उनलाई नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी पत्नीका रुपमा परिचय दिने गरेका छन् । यसअघि पनि संविधानसभा सदस्य रहेकी पौडेल राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट निर्वाचित सांसद हुन् उनी । जुन क्षेत्र जनमोर्चाको पकड क्षेत्रका रुपमा चिनिन्छ । माओवादी–एमालेसँग गठबन्धन गरेर संयुक्त उम्मेद्वारी दिएकी पौडेलले आफ्ना निकटतम प्रतिद्धन्द्धि काँग्रेसका उम्मेद्वार डा. गोविन्द पोखरेललाई १६ हजारको मतान्तरले पाखा लगाउँदै संघीय संसदमा त्यहाँबाट ‘फस्र्ट’ बनेर देखाइन् ।

८३ वर्षीय मोहनविक्रम सिंहको बुढ्यौँली उमेरको पनि राम्रोसँग आफूले ‘केयर’ गर्दै गरेको बताउने उनै दुर्गा पौडेलसँग मंगलबार टेलिफोनवार्ता भयो । भारतमा जन्मिएर प्युठानलाई कर्मथलो बनाएर राजनीतिमा सक्रिय भइ लागिपरेकी दुर्गा पौडेलसँग मकालु खबर संवाददाता लोकराज रुम्दालीले केही जान्न खोजेका छन् ।

वाम एकता हुने सम्भावना छ

दुर्गाले कुराको शुरुवात यसरी गरिन्– ‘वाम गठबन्धनसँगको सहकार्यमा निर्वाचित भए । मलाई निर्वाचित गराइदिनुहुने प्युुठानबासी सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छु । सबैलाई थाहै छ, अहिले दुई ठूला बामपन्थीको एकता प्रक्रिया चलिरहेको छ । वास्तवमै भन्ने हो भने देशमा मजबुत वाम पार्टीको आवश्यकता छ । त्यो आवश्यकता जनताले महसुस गरेकै कारण जनताहरुले वाम शक्तिहरुलाई त्यही अनुसार मत दिएका छन् । दुइ पार्टीबीच नीतिगत केही प्रश्न नभएका हुँदा उहाँहरुको कायृगत एकता भयो । देशका लागि त्यो आवश्यक्ता पनि हो । त्यसलाई हामीले मात्रै होइन मुलुकले पनि स्वागत गरिरहेका छ । पार्टीका शिर्ष नेताहरुले अहिले भने अनुसार त पार्टी एकता हुने सम्भवना नै बढी देखिन्छ । तर, निचोड आइकेको छैन ।
यसबारे हेर्छौ तर मुख खोल्दैनौँ

मूलत : पार्टी एकीकरणका लागि सिद्धान्त, विचार एउटै प्रकारको हुनुपर्छ । नीतिमा फेरबदल छैन भने त्यहाँ एकता भइहाल्छ तर हाम्रो र वहाँहरुको बैचारिक, सैद्धान्तिक, नीतिगत प्रश्नमा कतिपय फरक छ । यद्धपि सम्भावना नै छैन भन्न त मिल्दैन । माओवादी एमाले र हाम्रो पार्टीका नेताहरुबीच नीतिगत विषयमा छलफल गर्दै जाने समझदारी भएको थियो । एकताका लागि कति टाढा कति नजिक छौं भन्नेबारे पनि छलफल गर्ने भनिएको हो । यसबारेमा अहिले पनि प्रयास जारी नै छ । एउटा दुरी राखेर पार्टी एकता गर्दा दीगो हुँदैन । त्यसका लागि बैचारिक मतभेदहरुलाई चिरेर र पार गरेर अगाडी बढ्नुपर्ने हुन्छ । हाम्रा बिचमा बैचारिक रुपमा कति दुरी घट्यो र कति दुरी बाँकी रह्यो, यो प्रमुख विषय हो । यसकारण एकताका विषयमा अहिले नै भन्न सक्ने अवस्था छैन ।

पुरुषले जकडिएको देश

बाहिर जस्ले जतिसुकै फुइ हाकेपनि मुलुक पुरुष प्रधान मानसिकताले घरजम गरेको छ । हात्तीको देखाउने दाँत जसरी महिलाहरुको हकमा उस्को प्रचार गर्ने तर पूरै माइनस गरेर लैजाने गरेको पनि देखियो । तपाईले भन्नु भएजस्तै, मलाई ‘ऊ’ त मोहनविक्रमको पत्नी हो भनेर चिनाइन्छ रे । तर, त्यो त पुरै नेपाली समाजमा विद्यमान देखिँदै आएको छ । यसकारण महिलालाई हेर्न दृष्टिकोणमा धेरै ठूलो कञ्जुस्याई र पिछडिएको मानसिकता छ, यसमा परिवर्तनको खाँचो छ । किनकि म जस्तो नेतृत्वकर्तालाई त यसरी हेरिन्छ भने अरु महिला आमा, दिदी बहिनीहरुको अवस्था कस्तो होला ?

राष्ट्रपति बन्ने हल्ला मात्र थियो

अहिले उहाँ(मोहनविक्रम सिंह) ८३ वर्षको हुनुभयो । विहान सखारै उठ्नुहुन्छ । प्रायः ३ बजे नै । नित्यकर्म सकाए पछि लेख्न अथवा पढ्नमा लाग्नुहुन्छ । विहानको समय लेखाई, पढाइमै जान्छ । अरुलाई विहानको समयमा भेटघाट दिनुहुँदैन । त्यस पछाडि मात्र भेटघाटमा छुटाउनुहुन्छ । व्यस्तताको वावजुत पनि योगामा जुट्नुहुन्छ । आफ्नो खानपान र स्वास्थ्यको एकदमै ख्याल राख्नुहुन्छ । खान हुँदैन भनेको चिज मन परेको भए पनि खानुहुँदैन । मैले पनि उहाँको सक्दो स्वास्थ्यको हेरविचार गरेकी छु ।

एकताका बाहिर हावादारी गफ पनि चल्यो उहाँको बारेमा । राष्ट्रपति बनाउने चर्चा सरकारले गरेको थियो । बाहिर जति नै चर्चा गरिएपनि उहाँको लगाव देखिएन । मुलतः पार्टीभित्रको डिसिजन महत्वपूर्ण हुन्छ तर पार्टीभित्र कहिँ कतैबाट प्रस्ताव आएको जस्तो मलाई लाग्दैन । केपीजीसँग माओवादीका साथीहरुले प्रस्ताव लगे भन्ने पनि हल्ला सुनियो । यद्यपि बाहिर कुरा मात्र चलाइएको हो । न त पार्टीमा यो कुरा आएको हो न त उहाँ राष्ट्रपति बन्न तयार नै हुनुहुन्थ्यो ।


मेरो माइती त्यहीँ हो

हो,चुनाव लड्दै गर्दा मलाई प्युठानबासी हुँदै होइन भन्ने हल्ला चल्यो । तर,यस्ता हल्लाले मलाई खासै अप्ठ्यारो परेन । किनकि प्युठानको चुँदा मेरो माइती हो । पछि त्यहाँबाट मेरा बाबाहरु कपिलबस्तुमा सर्नुभयो । मेरो विवाहपछि ओखरकोटमा अहिले पनि हाम्रो घर छ । त्यसकारण विपक्षीले एक प्रकारको भ्रम फैलाउने काम गरे तर त्यसले उनीहरुलाई नै घाटा पुग्यो । तर, त्यो भन्दा पनि मलाई प्रत्यक्षको निर्वाचन महिलाका हकमा भन्नुपर्दा धेरै कठिन देखें । खर्चिलो अवस्था, पुरुष प्रधान पिछिडिएको मानसिकता, महिलालाई हेर्ने दृष्ट्रिकोण नै फरक छ ।

उम्मेदवार भएर लड्ने एउटा पक्ष भयो तर महिला उम्मेदवार भएर लड्न थप उर्जा आवश्यक पर्ने हुन्छ । साँघुरो सोच र हेर्ने दृष्ट्रिकोणलाई चिर्नका लागि थप उर्जा सहित लड्नुपर्दाेरहेछ । चुनावी मैदानमा होमिन पुरुष उम्मेदवारलाई जति सहजता हुन्छ त्यति सहजता महिला उम्मेदवारलाई नुहँदो रहेछ । बुझेका भनिएका पुरुष समेत अहिले पनि महिलाले केही गर्न सक्दैनन् भनेर महिलाका विरुद्ध हल्ला फिजाँउदा रहेछन् । त्यस प्रकारको पाटोलाई पनि चिर्न पर्ने रहेछ यो मेरो आफ्नै अनुभव सुनाँउदैछु ।
अत्यन्त खर्चिलो, अत्यन्त भड्किलो भयो चुनाव । कतिपय मिडियाहरुलाई पैसाले किन्ने, २१ औं शताव्दीमा पनि विवेकले मतदान गर्न नपाउने, मत किन्ने परिपाटी पनि देखियो । यी सबै पाटो हेर्दा प्रत्यक्ष लड्दा धेरै जटिल महशुश गरें । प्युठान जिल्ला सुरुदेखिनै वामपन्थीहरुलाई रुचाउने जिल्ला, त्यहाँ स्थानीय तहको निर्वाचनमा नौ मध्य आठवटा गाविसमा बहुमतले वामपन्थीहरुले जितेको ठाँउ हो । मतदाताले उम्मेदवार कस्तो हो, उस्को व्याकराउण्ड बुझ्नुभयो, तुलना गर्नुभयो । प्युठानी जनताहरुको त्यो विवेकलाई उच्च सम्मान गर्छु । त्यतिधेरै चलखेलका बीचमा पनि वाम गठबन्धनका उम्मेद्धारलाई उहाँहरुले विजयी गराउनुभयो । विवेकले तुलना गरेर मतदान दिनुभयो । त्यस्को जति नै सम्मान गरे पनि कम हुन्छ ।

उम्मेद्वारको ब्याकग्राउण्ड हेरियो

गोविन्द पोखरेल, जो छँदा खाँदाको सरकारी जागिर छोडेर मसँग प्रतिष्पर्धा गर्न मैदानमा उत्रिनुभयो । राजनीतिक सरकारी जागिर खाएजस्तो होइन । उहाँलाई त्यस्तो महशुस भएको र महिलालाई त पछार्न सकिन्छ भनेर मैदानमा उत्रिनुभयो । पार्टीले पनि सहजै टिकट हातमा थमाइदिएछ । उहाँजस्तो बलियो उम्मेदवारसँग मलाई मैदानमा लड्नुको मज्जा नै बेग्लै भयो । तर, अहिलेको भड्किलो र खर्चिलो परिस्थिती हेर्दा कता कता नमीठो लाग्थ्यो । उहाँले पैसा पेलेको देख्नेले त चुनाव आँखा चिम्लेर जित्छ भन्ने पनि सुनियो । तर, प्युठानबासी जनताले उम्मेद्धारको व्याकग्राउण्ड हेर्नुभयो । सोचेको के थिए, ‘प्रतिस्पर्धी कमजोर भयो भने त्यो लडाँइ बास्तविक लडाँइ हुन्न । वास्त्विक लडाँइको मज्जा त त्यो बेला हुन्छ जतिखेर प्रतिस्पर्धी पनि बलियो हुन्छ । बास्तवमै प्युठानी जनता धेरै सचेत हुनुहुदो रहेछ । उसको विगत कस्तो थियो भनेर जनताले मुल्यांकन गरे । जुन भरोसाका आडमा म उठेको थिए मेरो भरोसा डगमगाउन पाएन् । चुनाव जितिसकेपछि पनि सुनेको अर्कै थियो अर्कै रिजल्ट आयो पनि भने । प्रचार त्यसरी गरिएको थियो तर प्रचारको आधारमा मत खस्दो रहेनछ भन्ने कुराको ज्वलन्त उदाहरण त म आफैं हुँ । नोमेनेसियन दर्ता गरेकै दिन गोविन्द पोखरेलले मेरो जित त पक्का छ म्याडम भनेर हात मिलाउन आउनुभएको थियो । तर मतदाताले विवेकको मत प्रयोग गर्नुभयो । त्यहाँका मतदाताप्रति धेरै आभारी छु ।’

यसरी प्रतिनिधितर्फ एक सिट जित्न सफल भएपनि राजमोले समानुपातिक तर्फ भने ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसकेपछि दुर्गा पौडेल स्वतन्त्र सांसद भएर संसदमा पुगेकी छिन् । चुनावताका एमाले–माओवादीसँग मिल्दा चुनाव जितेपनि राष्ट्रिय पार्टी बन्न असफल रह्यो । अन्तिममा उनलाई फेरि त्यहीँ प्रश्न तेर्सीयो,‘बाम गठबन्धकै सहयोगले चुनाव जित्नुभयो । एकतामा सामेल त हुनुहुन्न नै होला ?’

अहिले संविधान निर्माणका लागि संघर्ष गरिएको ६ दशक लामो समय भयो । गणतन्त्र धरापमा पर्नु हुँदैन भन्ने अडानका साथमा देशमा संघीयताको सवालमा बिमती राख्दै आएका छौँ । हामी यो लडाई विश्राम गराउने छैनौैँ । निरन्तर अगाडि बढाउछौं । तर यस्ता विमतीका वावजुद पनि संविधानलाई समर्थन गरेर जानुपर्दछ र गणतन्त्रलाई सस्थागत गर्नुपर्दछ भन्ने हामीले परिस्थिति अनुकुल स्पष्ट विचार व्यक्त गर्दै आएका छौँ । संविधान घोषणा गर्दाको बखतमा पनि संघीयतासम्बन्धी हरेक च्पाइटरमा हामीले संशोधन राखेका छौं । संशोधन राख्दै संविधानलाई घोषणा गर्र्यौ । संघीयताप्रतिको हाम्रो विचार स्पष्ट थियो । संघीयताले यो देशलाई टुक्राएर लैजान्छ । तर,जनताले चाहेको स्वतन्त्र अधिकार हो । मलाई राज्य टुक्राएर दे भनेर जनताले कहिले पनि माग गरेनन् । प्रजान्त्रिक विक्रेन्द्रीकरणमा आधारित एकात्मक शासन व्यवस्था हुनुपर्दछ र स्थानीय तह बढी मजबुत बनाउनु पर्दछ भन्यौं । अर्कातिर संघीयता ल्याइसकेपछि संघीयता ल्याउनेहरुले नै तलका स्थानीय तहका प्रमुख उपप्रमुखहरुले अपर हाउसमा मतदान गर्न नपाउने गरी अधिकार कटौती गर्न खोजेका थिए । त्यसको विरोध हामीले गर्यौं । एक सय २७ भन्दा बढी जातजाती भाषाभाषी भएको देशलाई टुक्राउने, संघीयताको नाम लिने वित्तिकै वैमनश्य पैदा भइसकेको अवस्थालाई हेर्दा यो एक प्रकारको स्लो पोइजन नै हो । यो विषवृक्षलाई राख्न हुँदैन । यस्ले सिद्धाउछ । या त हामीले यस्लाई सिद्धाउनुपर्दछ या त यस्ले देशलाई नै सिद्धाईदिन्छ ।

हिजो हाम्रो जुन स्पष्ट धारणा थियो त्यो अहिले पनि छ । संघीयताको विरोध गर्दै जाँदा हाम्रै अध्यक्ष(चित्रबहादुर केसी) सरकारमा पनि जानुभयो । तर पहाड र तराईलाई अलग बनाउने विषय आउँदा उहाँले आफ्नो विमती राख्नुभयो । विपक्षमा हस्ताक्षर पनि गर्नुभयो । तसर्थ आफ्नो विचारको पक्षमा हामी स्पष्ट अडानमा छौं । त्यही प्रकारले हामी जान्छौं । जहाँसम्म विकास र सम्बृद्धिको पाटो छ त्यसमा हाम्रो केही विमती रहँदैन । संघीयताको सबालमा हामी एकरत्ति पनि पछि हट्ने छैनौँ । अब, कुरा छर्लंगै छ ।

…त्यसपछि अन्तिममा फेरि बोलिन्,‘हामीसँग स्पष्ट विचार छ । भनिसकेका छौँ, उहाँहरुसँग सामेल हुन गाह्रै देखिन्छ ।’

(मकालुखबरबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here