महान यात्रामा निस्केका किशोर, तिमी अझै आएनौ

0
202
  • दुर्गा शर्मा

२०६२/६३ को ऐतिहासिक जनआन्दोलन सफलता पश्चात दलहरु सत्ताको लुछाचुँडीमा अल्झिएर संविधानसभाको निर्वाचन अनिश्चित बन्दै गैरहेको थियो । समयमै संविधानसभाको निर्वाचन हुन नसक्दा आन्दोलनबाट प्राप्त उपलव्धीहरु संस्थागत हुन सकिरहेको थिएन । महान जनआन्दोलनका उपलब्धिहरु संस्थागत गर्न संविधानसभाको चुनावको सुनिश्चितता अनिवार्य थियो । यही परिस्थितिमा “संविधानसभाको निर्वाचनको सुनिश्चितता राष्ट्रियताको रक्षा र संघीयताको खारेजी”को लागि अ.ने.रा.स्व.वि.यु. (छैठौं) केन्द्रीय समितिको आयोजनामा “मेचि महाकाली साइकल मार्च २०६४” संचालन गरिएको थियो ।

युनियनका तत्कालिन अध्यक्ष राजेन्द्र ढुंगानाको नेतृत्वमा २०६४ जेष्ठ १० गते चितवनको नारायणगढदेखि शूरू गरिएको उक्त साइकल मार्च(२०६४) कार्यक्रम अनेकौ बाधा र व्यवधान हरुलाई पन्छाउँदै जेष्ठ २५ गते कन्चनपुरको गड्डाचौकी पुगेर समापन भएको थियो । भने नारायणगढदेखी पूर्व मेची सम्मको अभियान तत्कालीन अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा सञ्चालन गरिएको थियो ।

नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा अनेरास्ववियु छैटौंले संचालन गरेको “मेची-महाकाली साइकलमा मार्च” एउटा महत्वपूर्ण ऐतिहासिक कार्यक्रम थियो । राष्ट्र र राष्ट्रियताको लागि तय गरिएको एउटा महान यात्रा थियो ।

उक्त ऐतिहासिक महान यात्राको एक अथक यात्री थिए किशोर आचार्य । यात्राका एक ईमान्दार, सक्रिय, जुझारु एवं कर्तव्यनिष्ठ सदस्य थिए किशोर । सबै साथीहरु संग सहजै घुलमिल हुन सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने एक कुशल सदस्य थिए किशोर ।

जेष्ठ १० गते नारायणगढबाट सुरु भएको उक्त साईकल मार्च सोह्रौं दिनमा महाकालीको गड्डाचौकीमा पुगेर औपचारिकरूपमा कार्यक्रम समापन गरिएको थियो । समापन पस्चात विभिन्न जिल्लाबाट साइकल मार्चमा सहभागी साथिहरुलाई आ-आफ्नो पायक पर्ने ठाउँबाट विदाइ गर्दै टोली २६ गते राति टोली बुटवल आईपुगेको थियो । बुटवल आईपुग्दा धेरै साथीहरु आफुलाई पायक पर्ने ठाउँबाट घर गैसक्नु भएको थियो । बाँकी साथीहरुलाई बुटवल कार्यालयमा बस्ने ब्यबस्था मिलाईएको थियो । साथीहरुको विदाई एवं बसाईको व्यवस्थापनको जिम्मेवारी अध्यक्ष ढुंगानाले नै निर्वाह गर्नुभएको थियो ।

उक्त दिन रातको करिव १० बजेतिर राजेन्द्र ढुंगानाले “आज यहीं बसौं भोलि विहान संगै बाग्लुङ जाउँला” भन्दा “भो धेरै दिन भैसक्यो आज नाईटबसमा गएँ भने त भोलिविहान त म बाग्लुङ पुगिसक्छु” भन्दै बुटवलबाट बाग्लुङको बस चढेका किशोर आजसम्म पनि तिमी आईपुगेनौ । प्रिय किशोर, आज परिवार, समाज र सिंगो संगठनलाई तिम्रो अभाव खड्किरहेको छ । हामी संधै सम्झिरहेका छौं ।

(दुर्गा शर्मा अखिल छैठौंका पूर्व अध्यक्ष हुनुहुन्छ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here