प्रसस्तै मात्रामा नेपालीहरु स्टकोट र ढाका टोपीमा ठाँटीएर हिंडेको देख्दा कतै आफ्नै देश नेपालमा त छैन झ् भन्ने भान पर्दो रहेछ । तारादेवीको “शिरमा लाउने ढाका टोपी, पाउमा लाउने जुता, मन त मेरो दोमन भयो एता जाउँकी उता ।” भने जस्तै दोधारे भइयो । तर थिएन त्यो देश हाम्रो, नता मातृभूमि नै, थियो त केवल गास, बास, कपासको अभावमा प्रवासीन बाध्य पारिकाहरुका माझ ।
गत १६ जुलाईका दिन कुनै कामले हामी हिमाचलको कुल्लु मनालीमा पुगेका थियौं । त्यहाँ नेपालीहरु श्रमिकहरुको अवस्था थियो, मैले माथि उल्लेख गरेको दृश्य ।
मनालीमा प्रसस्तै नेपालीहरु ढाका टोपीमा र स्टकोटमा सजिंदा रहेछन् । नेपाली राष्ट्रियताको पहिचान बोकेको ढाका टोपी र स्टकोटको पहिरन देख्ने वित्तीकै कति धेरै राष्ट्रियता प्रतिको संझना हुँदो रहेछ । भरखरै उसँग मागेरै भए पनि त्यो टोपी आफ्नो शिरमा उभ्याउन पाए आफूलाई कति धेरै भाग्यमानी मानिन्थ्यो होला भन्ने लाग्दो रहेछ ।
तर हिमाचलमा ढाका टोपी र स्टकोट इमान्दारीताको ‘लोगो’को रुपमा उपयोग भएको महशुस गरें मैले । फेरी पनि गर्व लाग्यो ढाका टोपी र स्टकोट लगाउने मान्छे नेपाली हुन्, उनीहरु इमान्दार हुन्छन् भन्ने सन्देश विदेश विदेशकामा पनि जानकारी हुनुले ।
भरखर भरखरका कलिला युवाहरु जसको हातमा देश बनाउने क्षमता छ, निर्माणको कार्यमा लाग्ने ताकत छ, बढ्दो खुन छ जसले राष्ट्र र राष्ट्रियालाई रक्षा गर्न सक्छ । दु:ख साथ भन्नु पर्छ उ विदेशमा प्रवासमा भारती बोकेर परिवार पाल्न बाध्य छ । हामीले उनै भारी बोक्ने मध्यका एक नगेन्द्र आरसीसँग सोधेका थियौं– “यति सानै उमेरमा किन भारतमा भारी बोक्नु आउनु भो ?”
उनी भन्छन्– देशमा रोजगारको अभाव, सामान्य ठेक्का पट्टा गरेको पनि समय अनुकुलको बेतन पाइंदैन । यही भारी बोक्ने पेशा पनि हामीले आफ्नै देशमा लगातार पाउने हो भने हामीलाई यो अर्काको देशमा आएर श्रम बेच्न आवश्यक थिएन ।
उनै श्रमिकहरुको बीचमा छलफलको दौरानमा हामीलाई जानकारी भयो कि, त्यो कामको कुनै ठेक्का पट्टा हुँदो रहेनछ, न त कुनै ठेकेदार नै । त्यसैले पनि स्वतन्त्र मजदुरको रुपमा नेपालीहरु भारी बोक्ने काममा हिमाचल लगायत भारतको विभिन्न राज्यहरुमा पुग्दा रहेछन् ।
सरकारको भाषणले बोल्दछ रोजगारी स्वदेशमा सबै युवाहरुले पाउँछन् । तर यही सरकारले अरु १९ देशमा श्रमसंझौता गर्नु पर्ने धारणा बाहिर ल्याउँछ । अनि कसरी स्वदेश मै युवाहरुले रोजगारी पाउलान् ?