मई दिवसको इतिहास र आजको अवश्यकता

0
432

सुरेशकुमार पाण्डे

मई दिवस बारे दुई फरक फरक बिचार

यो वर्ष पनि दुनियाँभरिका श्रमजिविहरुले बिभिन्न कार्यक्रम गरेर १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँने तैयारी गर्दैछन् । अन्तर्राष्ट्रिय मजदूर दिवस मनाउँने संसारभरिमा एउटा परमपरा जस्तो बनेको छ । एकदिन मात्रै यो दिनको गुनगान गाएर औपचारिकता पुरा गर्दैमा समस्या सुल्झिदैन । एकातिर मई दिवसको आयोजना गरेका छन् अर्काेतिर अन्तर्राष्ट्रिय मजदूर दिवसको ऐतिहासिक मर्मलाई बुझ्न सकिराखेका छैनन् वा औपचारिक र परम्पराको रुपमा त्यो दिन मनाएकाछन् । मई दिवसको यथार्थ मर्मलाई नबुझ्नेहो भने यसलाई एकदिन मनाएर मात्रै मजदूरहरुको बिचमा भ्रम किन छर्ने ? यावत प्रश्नहरु आज हाम्रो बिचमा तेर्छिएका छन् ।

मई दिवस केहो र यस्लाई मनाउँने उदेश्य केहो ? यसबारे आज ब्यापक छलफल गर्नु आबस्याकता छ । यसलाई मनाउँने पनि दुई प्रकारका उदेश्य छन् । प्रथम जनतामा त्यो ऐतिहाशिक दिनको सत्य र तथ्य कुरा ओर्लाएर बर्तमान प्रतिकृयावादी ब्यबस्थालाई प्रहार गर्ने हुन्छ । द्वितीय जनताको आँखामा भ्रम छरेर आफ्नो स्वार्थपुरा गर्नलाई अवसरवादिहरुले आफ्नै ब्यबस्थालाई गालि गरेको जस्तो गरेर मज्दूरहरुको अधिकारलाई कुन्ठित गर्ने उदेश्यका साथ मनाएका हुन्छन् ।

आजको एक्काईसौं शताब्दीको आधुनिक बैज्ञानिक युगमा श्रमजिवीहरुको स्थान मेसिनले लिएको अबस्थामा मजदूरहरुको समस्यामा झन् बृद्धिभएको छ । यस्तो अबस्थामा श्रमजिवी बर्गको एकता र उनैको नेतृत्वमा वर्ग संघर्षद्वारा नै श्रमजिवी बर्गको हकहितको रक्षागर्न र नैसर्गिक अधिकार प्राप्त गर्न सक्ने विषयलाई पनि हामीले गम्भीर रुपमा लिनु पर्ने आवश्यकता छ ।

मजदुरहरुको अवस्था र शोषण

साम्राज्यावाद र त्यस्का पिछलग्गु बिस्तारवादी देशहरुले जस्तासुकै कानून् बनाएर मजदूरका समस्या समाधानका गफ छाँटे पनि त्यो हात्तिको देखाउने दाँत मात्र साबित हुनेछन् । किन की उनीहरुको ब्यबहारिक पक्षले सधैभरि गरिब मेहनतकस बर्गको हित बिपरित काम गरेको हुन्छ । ठेकेदारी प्रथा, निजिकरण, उद्धारीकरणले गर्दा मजदूरहरुलाई भोकै मार्ने अबस्थालाई श्रृजना गरेको छ भने मजदूरहरुले कामको खोजिमा देश बिदेशमा नारकिय जीवन बिताएका छन् । असंगठित अबस्था र स्वयं उनीहरुमा भएको निम्न पुँजिवादी चिन्तन, आपसमै मतभेद र एकता हुन नसक्दा बहुसंख्याक गरिवहरु कमजोर हुने गर्छन् । मुट्ठिभर शोषकले उनीहरु माथि रजाई गरेका हुन्छन् ।

मजदूरहरुलाई कम्पनीमा अब सिधै काम मिल्दैन । उनीहरुले मजदूरी गर्न दलाल ठेकेदारसँग काम माग्नु पर्छ । ठेकेदारको मातहातमा कम्पनी मजदूरले दलाललाई घुस दिएर मात्र नोकरी लाग्नु पर्ने हुन्छ । अब कम्पनीले मजदूरहरुको नाउँमा १२ हजार दियो भने ठेकेदार र दलाललाई दिएर उसले आठ हजार पाउँछ । यानि की तिन हिस्सामा एक हिस्सा उसले दलाल ठेकेदारलाई आफ्नो कमाईबाट चुकाउनु पर्छ । हिंजोका दिनहरुमा मालिकले मात्रै शोषण गर्दथ्यो भने आज त्यो मजदूरलाई ठेकेदार दलाल र मालिक समेतले लुट्छन् ।

मजदूरले अतिरिक्त मेहिनत गरेर थप अरु दुईजनालाई दिन्छन् । यस्तो अबस्थामा सिप तथा कारिगरी नभएका मजदूरले दश–बाह्र घण्टा काम गरेपछि मुस्किलले महिनाको सात आठ हजार तलव हात पार्छन् । अब उसले त्यो रकमबाट बालबच्चाको लालनपालन तथा शिक्षा, स्वास्थ्यको समस्यालाई कसरी समाधान गर्ला ? घरभाडा, परिवारमा आपइपर्ने स्वास्थ्य उपचार कसरी गर्ला ? महंगाईले आकास छोएको छ । यो जटिल अबस्थाले मजदूरलाई शारीरिक र मानसिक दुबैरुपबाट कम्जोर बनाएको हुन्छ ।

नेपाली मजदुरहरुको अवस्था

हाम्रो देशका जनताले यो भन्दा पनि जटिल समस्यासँग जुझ्नुपरेको छ । किन कि प्रवासी मजदूरहरुका अतिरिक्त समस्याहरु हुन्छन् । हामीले काम दाम, समय सबै अरुले मालिकले तोकेकोमा गर्न बध्याताहुन्छ । हामी खासगरि बिदेशमा आउँदा बाटा खर्च बल्लतल्ल खोजेर आएका हुन्छौं र आउँदा बित्तिकै हामीलाई कामको खाँचो पर्छ । काम अलिदिन नमिलेपछी भोकै मर्नुपर्ने अबस्था श्रृजिना हुने भएकोले कहिले काहिं त खानका लागि मात्रै भए पनि अर्काको काम गर्ने अबस्था आउँछ । यसरी गरिब मजदूरहरुको दिनपिच्छे दिन जरजर अबस्था भेट्टिन्छ ।

आज सरकारी क्षेत्रमा पनि नियम कानुन्हरु घुल्दै गयकाछन् । आफिसरहरुको दलाली गरेर वा चापलुसी गरेर चौबिस घण्टा उनको जिहुजूरीमा खटेका वा जनतालाई लुटेर आफिसरहरुको स्वार्थ पुरागराई दिन तल्लिनरहेकाहरु बाहेकको अबस्था दयनिय देखिन्छ । उनीहरुले आफ्नो तलवबाट गुजारा गर्ने र त्यो तलव भन्दा कयौँगुणा घुस लिएर ऐयासि गर्नेको अबस्था भिखारी र शाहुकारको जस्तो भएको छ । आज आठ घण्टा कामका कुराहरु होइन बरु कामको समयलाई लम्बाएर आफिसरको दलाली गर्ने र पैसाकमाउने प्रतिश्प्रधा चलेको छ । यहाँ पनि गहुँसँगै घुन पिसिन्छ । मजदूरहरुको त्यो बलिदानिपूर्ण संघर्षको परिणाम प्राप्त अधिकार समेत धरापमा परेकोछ । यो ब्यबस्थालाई बदलेर मात्र मजदूरहरुको अधिकार प्राप्त गर्न सकिन्छ ।

मई दिवसको इतिहास

मई दिवसको ईतिहास धेरै लामो छ त्यो भन्दा लामो ईतिहास त्यो दिनसम्म पुग्नलाई गरेको संघर्षको छ । यसको अटूट सम्बन्ध कामका घण्टाहरुलाई कम गर्ने आन्दोलनसँग जोडिएको छ । मई दिवसको ईतिहासलाई ठिकसँग अध्ययन र मनन् गरेर मात्र त्यो महान र ऐतिहासिक देनको रक्षा गर्न सक्नेछौँ ।

सुर्य उदायदेखि सुर्य अस्ताउँदासम्म काम गराउँने परम्पराको बिरुद्धमा उन्नाईसौं शताब्दी तिर अमेरिकामा मजदूरहरुले आवाज उठाए । त्यो बेला १८–२० घण्टासम्म कजाउँने प्रथा सामन्या थियो । सन १८०६ मा अमेरिकाको सरकारले फिलाडेल्फियाका हढताली मोचिहरुका नेताहरुलाई साजिसको मुकद्दा चलाए । यिनै मुकद्दाहरुमा यो बिषय प्रष्ट भयो । मजदूरहरुलाई १९–२० घण्टासम्म काम गराईन्थ्यो । उन्नाईस वि सदिको दोस्रो र तेस्रो दशकमा कामको समय (घण्टा) कमगर्नको लागि गरिएको हड्ताल लेभरियका थिए । कयौँ औद्योगिक केन्द्रमा ता कामको निश्चित घण्टा दश गर्ने माग पनि उठेका थिए ।

“मैकिनिक्स युनियन आँफ फिलाडेल्फिया“लाई दुनियाँको पहिलो ट्रेड युनियन मान्निन्छ । जो १८२७मा फिलाडेल्फियाले कामको समय दश घण्टाको गर्नको लागि निर्माण उद्योगमा एउटा हढताल गराउँने श्रेय पनि त्यसलाई जान्छ । सन १८३४ न्युयार्कमा नानबाईहरुको हढतालको दौरान “बर्किगं मेन्श, नामको अखवारले छापेको थियो भन्निन्छ (पाउरोटी उद्योगमा लागेका कारिगरहरुलाई बर्षौं मिस्रका गुलामहरुलाई भन्दा पनि बढी यातना झेल्नु पर्दथ्यो । उनीहरुलाई १८–२०घण्टासम्म त्यहाँ काम गराईन्थ्यो ।

जहाँ अत्याचार हुन्छ त्यहाँ बिद्रोह पनि हुन्छ । यो ईलाकाहरुमा छिट्टै दश घण्टाको कार्यदिवशको मागले आन्दोलनको रुपलियो । यो आन्दोलनमा हुनत १८३७ को त्यो संकटले बाधा पुरायो तर पनि आन्दोलन दिन प्रति दिन बिकसित हुँदैगयो । यहि दौरान बान ब्युरेनको संघीय सरकारले आफ्ना क्रमचारीहरुलाई कामको समय दश घण्टाको घोषणा गर्नुपर्यो । यस पछि संसारभरीमा कामको समय दश घण्टाको मागलाई लिएर अगाडिका दशकहरु मैं संघर्ष सुरु भए ।

जसैजसै केहि उद्योगिक क्षेत्रमा यो माग मानियो त्यहिप्रकारले उनीहरुले आठ घण्टा कामको निश्चित गर्न दवाब दिनथाले । पचासको दशकमा लेवर युनियनलाई संगठित गर्ने गतिबिधीहरुले पनि यो नयाँ मागलाई बल मिल्यो । हुनता १८५७ को संकटले यसमा पनि अपरोध नआएको होईन तर यो मागलाई केहि सु–संगठित औद्योगिक क्षेत्रहरुमा यो संकट आउनु अघिनै मानिएको थियो । यो आन्दोलन अमेरिकामा मात्र सिमित थिएन । बरु हर ठाउँमा प्रचलित र प्रदर्शित हुँदैगयो जहाँ पुँजिवादमा उभार आउँन थालेका थिए र त्यहाँ मजदूरहरुको शोषण भएको थियो । यो कुरा यसरी पनि प्रष्टहुन्छ अमेरिकाबाट पृथ्वीको आर्को टुप्पोमास्थित अष्ट्रेलियामा निर्माण उद्योगका मजदूरहरुले यो नारा दिएका थिएकी “आठ घण्टा काम, आठ घण्टा मनोरंजन, आठ घण्टा आराम, यो उनीहरुको माग पनि सन १८५६ मा मानिएको थियो । यसरी संघर्षको परिणाम मजदूरहरुले थोरै भए पनि आफ्नो अधिकार खोस्न सफल भएका थिए ।

अमेरिकामा सन १८८४ मा “कामको घण्टा आठ गराउँ” आन्दोलनबाट सुरुभयो । हुनत यो भन्दा पहिलो पिढिले पनि एउटा राष्ट्रिय श्रम संगठन (नेश्नल लेवर यूनियन) ले एउटा जुझारु संगठानिक केन्द्रको रुपमा बिकसित हुने आश जगाएको थियो । छोटो कार्य दिवसको लागि आवाज उठाएको थियो, साथै उसले यसैमा एउटा आन्दोलन पनि खडागर्ने प्रस्ताव पनि राखेको थियो । गृहयुद्धको प्रथम बर्ष (१८६१–६२)ले केहि राष्ट्रिय ट्रेड युनिनयन लोपहुँदै गएको पनि देखियो । यो संगठन युद्ध शुरु हुने भन्दा ठिक पहिला बनेको थियो । यसमा “मोल्डर्स यूनियन, मेकिनिस्ट्रस र ब्लैकास्मिथस यूनियन, प्रमुख थिए । अगाडिका केही बर्षहरुमा केही स्थानीय श्रमिक संगठनहरुको राष्ट्रिय स्तरमा एकिकरण पनि भएको थियो । ति यूनियनहरुलाई एउटा राष्ट्रिय संघको आबस्यकता देखापर्यो । २० अगस्त १८६६ मा नेश्नल लेवर यूनियन बनाउने वाला तीन ट्रेड युनियनका प्रतिनिधि बाल्टिमोरमा भेटभए, राष्ट्रिय संगठन निर्माणका लागि जुन आन्दोलन चलेको थियो त्यसको नेतृत्व बिलियम एच सिल्विसले गरेका थिए । त्यो पुनरगठित “मोल्डर्स यूनियन“का नेता थिए ।

अमेरिकामा १८८९मा पहिलो मईलाई त्यो दिनको रुप दिईयो जुन दिन दुनिया भरिका मजदूर आ–आफ्ना राजनीतिक पार्टी र ट्रेडयूनियनको रुपमा संगठित हुन र आफ्नो सबैभन्दा महत्वपूर्ण राजनैतिक माग आठ घण्टाको कार्यदिवसको मागको लागि संघर्ष गरुन् । पेरिस काँग्रेसको यो महत्वपूर्ण निर्णय शिकागोमा पाँच बर्ष पहिले लिइसकेको एउटा निर्णयबाट प्रभाबित थियो । यो निर्णय पाँच बर्ष पहिले शिकागोमा एउटा नवनिर्मित अमेरिकी मजदूर संगठन (द फैड्रेशन आँफ अर्गनाईज्ड ट्रेड एण्ड लेबर यूनियन आँफ द युनाईटेड स्टेटस एण्ड कैनाडा “जसले पछि आफ्नो नाम बदलेर शंक्षिप्त नाम “द अमेरिकन फैड्रेशन आँफ लेवर”को नामले प्रशिद्ध भयो । यसका प्रतिनिधिहरुले लिएका थिए । ७ अक्टुवर सन १८८४ मा यो संगठनको चौथो सम्मेलनमा निम्न निर्णयहरु भएका थिए (“फैड्रेशन आँफ अर्गेनाईज्ड ट्रेड एण्ड लेवर यूनियन्स आँफ द यूनाईटेड स्टेस एण्ड क्नाडा” यो तय गर्दछ की पहिलो मई १८८६बाट आठ घण्टाको कार्यदिवश बैद्द कार्यदिवस हुनेछ र हामी मजदूर संगठनहरुसँग आग्रह गर्दछौँ कि ईनिहरूले आ–आफ्नो अधिकार क्षेत्रको अनुसार कार्य क्षेत्रमा आफ्नो नियमलाई यस्तो निर्धारित गरुन् कि यो पारित प्रश्ताबको अनुकूल होस ।”

मई दिवसलाई राजनीतिकरण

३–४मईको घटना “हे,मार्किट कांडबाट चिन्निन्छ, प्रष्टैछ यो घटना पहिलो मेईको हड्तालको परिणाम थियो । ४मईमा “हे” मार्किट स्क्वायरमा भएको प्रदर्शनमा मे ३ को मैककार्मिक रिपर वक्र्समा मजदूरहरुको एउटा सभामा पुलिसको बरबर दमनमा ६ जना मजदूरहरु मारिएका थिए र कयौँ घायल भएका थिए । यसको बिरुद्धमा भएको सभाको अन्त्य हुनै आँटेको बेला अचानक पुलिसहरुको दमन र त्यहि सन्दर्भमा एउटा बम बिस्फोट भयो । जस्मा ४ मजदूर र सात जना पुलिस कर्मि पनि मारिएका थिए । हे, मार्किटको भयंकर रक्तपात मजदूर नेताहरु पार्सन्श, स्याइश, फिसर र ऐन्जेल्शलाई फाँसी र शिकागोका तमाम जुझारु नेताहरुलाई कैद, संघर्षरत मजदूरहरुलाई शिकागोका मालिकहरुले १८८५–८६को आन्दोलनको दौरान आफुबाट गुमेको आफ्नो पुरानै स्थितिलाई फेरि प्राप्त गर्न धेरै आक्रमक रुख अपनाएका थिए ।

नाईटस आँफ लेबर पार्टीका नेतृत्वको खुला गद्धारीको बावजुद १८८६ मा लगभग पाँच लाख मजदूरहरु आठ घण्टा समयको मागको लागि (कामका घण्टा आठ गरौं) आन्दोलनमा प्रत्यक्ष सहभागी भए । हड्तालको केन्द्र शिकागो थियो । यँहा सबैभन्दा बढी हड्ताल भएको थियो ।

अमेरिकन फेड्रेशन आँफ लेवरले दिसम्वर १८८८मा आफ्नो प्रेन्ट लुई सम्मेलनमा पहिले नै यस्तो प्रदर्शनको लागि पहिलो मई सन १८९०को दिनलाई तय गरिसकेको थियो । यसैले यो दिनलाई अन्तर्राष्ट्रिय प्रदर्शनको लागि स्वीकार गरिन्छ । बिभिन्न देशका मजदूरहरुलाई आ–आफ्नो देशको मौजूदा परिस्थिति अनुसार यो प्रदर्शनलाई अनिवार्य प्रदर्शन गर्नु पर्दछ ।

सार

संसार भरिका देशहरुमा मुक्तिकर्मीहरुले यो दिनलाई एउटा प्रेणाको रुपमा याद गर्दछन्, सम्मानित गर्दछन् र बर्ग संघर्षमा जोड दिन्छन् । आर्को तीर छदम भेषिहरुले यसैको ओतमा मजदूर दिवसलाई आ–आफ्नो स्वार्थ पुरागर्ने उदेश्यले यसलाई उपयोग गर्ने गरेका छन् ।

मजदूरहरुले आफ्नो तागतलाई अझै पनि चिन्न सकेका छैनौं । पुँजिपतीहरुको सिको गर्नखोज्दा आफ्नो त्यो पुर्खालाई विर्सेका हुन्छौँ । जस्ले गर्दा सिंगो वर्ग संघर्षलाई कम्जोर पारेका हुन्छौ, जो हाम्रो मूलबाटो हो । आज मजदूरका छोराछोरीले केहि लेख्न पढ्न सिकेपछी आफूलाई मजदूर भन्न र बन्न लाज मान्छन्, हालांकि त्यो नै सत्य हो । जसमा उनीहरुलाई गौरभ हुनुपर्ने तर त्यस्तो आज अपबादछ । हिंजो हाम्रा पूर्वजहरुले गुलामीको जिन्दगीबाट निस्किन आफ्नो प्राणको बलिदान दिए ताकि आउँने पिढिले त्यो गुलामी भोग्न नपरोस्, तर आज उनीहरूकै सन्तानले आज स्वयं त्यो गुलामीको बाटो रोज्न खोजेका छन् । मजदूर भनाउन आफुलाई हिनता बोध भएको महशुस गर्छन् । अनि कसरी समानता आउन सक्छ ? वास्तबमा आज में दिवसलाई आफ्नो बर्गको हितमा लड्ने हथियार बनाउन सकिन्छ । हामीले बर्ग संघर्षको बाटोमा डोराउन सक्यौँ भने मात्र यो दिनले गरिखाने बर्गको हित गर्ने छ । मई दिवसको आन्तरिक सार पनि यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here