‘भू माफिया’ले जग्गा बेचिदिएपछि

0
364

बुटवल । आफ्ना बाबुले मोहियानी हक वापत् पाएको जग्गा अर्कै व्यक्तिले बिक्री गरिदिएपछि बुटवल रानीगञ्जकी एक थारु महिला यतिबेला न्यायको ढोका ढकढक्याउन पुगेकी छन् ।

साविक मोतिपुर–१ रानीगञ्ज, हाल बुटवल उपमहानगरपालिका–१७ निवासी नवमी थारुका बुबाले मोहियानी हक वापत् प्राप्त गरेको तीन बिगाहा बढी जग्गा ‘भू माफिया’ ले आफ्नो नाममा जग्गाधनी प्रमाण पुर्जा बनाएर बिक्री गरेको थाहा पाएपछि थारु अदालत धाउन बाध्य भएकी हुन् ।

वि.सं. २००४ सालदेखिका जोताहा किसान नवमीका बुबा स्वर्गीय घुराही थारुले स्थानीय जमिन्दार विक्रम शाहबाट मोहियानी हक वापत् प्राप्त गरेको तीन बिगाहा आठ कट्ठा जग्गा स्थानीय हरिलाल न्यौंपाने, चिन्तामणि पाण्डे लगायतका व्यक्तिहरुले ‘जालसाजी’ गरी प्लटिङ गरेर केही भाग बिक्री गरेको थाहा पाएपछि जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको नवमीले बताइन् ।

दाजुभाइ नभएका कारण विवाह पश्चात् पनि माइतमै बस्दै आएकी थारुले आफ्नो बुबाको जग्गा अर्कैले जालसाजी गरेर बेचेको थाहा पाएपछि जग्गा फिर्ता पाउँ भनी स्थानीय पुष्पा मल्ल, ढुण्डीराज भण्डारी, पद्मादेवी शर्मा लगायतको विरुद्धमा रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी दिइन् ।

पिता घुराही थारुको नाममा रहेको साविक मोतिपुर–१ को कि.नं. ३६ र ३७ अन्तर्गतको उक्त जग्गाको कित्ता परिवर्तन गरी कित्ताकाट समेत गरेर बिक्री–वितरण गरेको आरोपमा मुद्दा दायर गरेको उनको भनाइ छ ।

थारुले आफ्नो बाबुको जग्गामा बस्न अबरोध गरेको, रातारात घरगोठ जलाएर भगाउने प्रयास गरेको, मानसिक यातना दिने गरेको भन्दै स्थानीय ढुण्डीराज भण्डारी, शशि श्रेष्ठ, फर्सुराम पाण्डे लगायतको नाममा अर्को मुद्दा पनि दायर गरेको बताइन् ।

‘हरिलाल न्यौपाने, सन्त राना, लेखनाथ पाण्डे लगायतका केही मान्छेले ‘भू माफिया’ को पछि लागेर मलाई धपाउने र करोडौँ मूल्यको जग्गा हडप्ने प्रयास गरेका छन्’ आफ्नो बुबाको पालामा पाएको जोताहा पुर्जा देखाउँदै थारुले भनिन्– ‘मेरो बुबाले बााधा बसेर कमाएको जग्गा अरूलाई कसरी सुम्पने ?’ मुद्दाको तारेख लिँदै आएकी थारुले टहरो भने सोही जग्गामा बनाएर बसेकी छन् । केही समय बस्न अवरोध गरिए पनि हाल कसैले अवरोध नगरेको उनले बताइन् ।
नवमीका छिमेकी स्थानीय ७५ वर्षीय कल्लु चौधरीले उक्त जग्गा स्वर्गीय घुराही थारुकै भएको बताउँछन् । कल्लुले भने– ‘म १५ वर्षको हुँदा ५/६ वर्ष घुराहीकै हरुवा बसेको हुँ, घुराहीको मृत्यु भएपछि छोरा नभएकाले छोरीले जग्गा दावी गर्दैनन् भन्ने सोंचेर जालसाजी भएको छ, तर जग्गा जसको हो, उसैले पाउनु पर्छ ।’

उता चिन्तामणि पाण्डेले भने नवमीको जग्गा आफूहरुले प्रयोग नगरेको बताएका छन् । पाण्डेले भने– ‘हामीले सामूहिक रूपमा ११ बिगाहा जग्गा किनेका हौँ, प्लटिङ गरेर केही बिक्री पनि गरियो ।’ जग्गा आफ्नो नाममा नभएको पनि उनले बताए । हाल उक्त जग्गा सन्ध्या पन्त, सरस्वती पराजुली र अमृता पाण्डेको नाममा रहेको पाण्डेको भनाइ छ । (अनलाइन खबर डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here