भुमण्डलीकरणको बारेमा

0
215
  • प्रकाश थापा मगर
1. परिभाषा:
भुमण्डलीकरण साम्राज्यवादको नयाँ आर्थिक अस्त्रबाहेक अरू केही होइन । त्यसको इतिहासको सामान्य जानकारी राख्ने जो-कसैलाई पनि थाहा छ कि ब्रिटनहुड्स सम्झौता सोभियत अर्थतन्त्रको विकल्पमा उभ्याइएको हो । सारांशमा भन्ने हो भने सोभियत सङ्घमा निजी सम्पत्तिमाथिको सामुहिक, सहकारी र राजकीय स्वामित्वको स्थिति देखेपछि साम्राज्यवादीहरू यति भयभित भए कि उनीहरूले आफ्नो रक्षाका लागि तत्कालै ठोस कदम उठाउँनुपर्ने आवश्यकता महसुस गरे । त्यसैको प्रतिफल थियो ब्रिटनहुड्स सम्झौता । आज, जबकि सोभियत सङ्घ र चिनियाँ समाजवादी व्यवस्था पतन भैसकेको छ, साम्राज्यवादीहरूलाई आफ्नो उक्त नीतिमा अगाडि बढ्न अपेक्षाकृत सजिलो बनेको छ । यद्यपि राज्यसत्ताको तर्फबाट नभएपनि आम जनताको स्तरबाट र वस्तुगत स्थितिले उनीहरूका अगाडि चुनौती उत्पन्न गरिरहेको स्थिति छ ।
2. राज्यसत्ताको भुमिका:
साम्राज्यवादीहरूका सामु दुनियाँभरीका राज्यसत्ताबाट भुमण्डलीकरणलाई लागु गर्नमा खासै अप्ठेरोको सामना गर्नुपरिरहेको छैन । त्यसको कारण प्रष्ट छ, दुनियाँभरीमा पुँजीवादी विचार बोकेका शक्तिहरू सत्तासिन छन् । उनीहरूको आफ्नै वर्गचरित्रका हिसाबले पनि निजी सम्पत्तिको राजकीयकरण तथा राष्ट्रियकरण अनुचित बन्न जान्छ । त्यसको स्वभाविक फाइदा साम्राज्यवादीहरूलाई भएको छ । त्यसका बावजुद यदि राज्यसत्ताको तर्फबाट कुनै कठिनाई छ भने खालि यो कि सम्बन्धित देशमा कसरी यसलाई ”लोक-कल्याणकारी योजना“, ”राष्ट्र हित“, ”स्वाभिमान“ जस्ता आवरणले ढाकेर लागु गर्ने ? दुनियाँभरीका पुँजीवादी अर्थशास्त्रीहरूले यसै क्षेत्रमा दिमाग खियाइरहेका छन् । त्यसमध्ये कतिपयले त पुरस्कार पनि पाइसकेका छन् ।
आज पुँजीवादी अर्थशास्त्रीहरू राजकीय खर्च कम गर्ने एकसूत्रीय एजेण्डामा काम गरिरहेका छन् तर उनीहरूले यो तथ्यलाई योजनाबद्ध तरिकाले पृष्ठभुमिमा पारिरहेका छन् कि जनताप्रतिको जिम्मेवारी नै राज्यको त्यो प्रमुख पक्ष हो, जसले राजकीय खर्च या आम्दानीको प्रयोजनबारे फैसला गर्दछ । यस क्रममा पुँजीवादी अर्थशास्त्रीहरूले सरकारले दिइरहेको अनुदान (Subsidy) कटौती गर्ने सुझाव दिइरहेका छन् । उनीहरूको यो नराम्रो नियतले दिइएको राम्रो सुझावको प्रष्ट परिणाम यही हुँनेछ कि जनताका लागि राज्यले दिने सेवा, सुविधाहरू कटौटी हुँनेछन् तथा स्वदेश निर्मित वस्तुहरूको मुल्य बृद्धि हुँनेछ । यी सबैको परिणाम यही हुँनेछ कि विश्व बजारका शक्तिशाली अवयवहरूले स्वदेशको वस्तु तथा सेवालाई समाप्त गरिदिनेछ । त्यसका साथै पुँजीवादी अर्थशास्त्रीहरूले राजकीय स्वामित्वको सेयर बिक्री गरेर त्यसलाई निजी प्रतिष्ठानहरूसितको प्रतिस्पर्धामा लैजानुपर्ने आवश्यकतामा जोड दिन्छन् । यसको आसय प्रष्टैरुपमा राजकीय सम्पत्तिको निजीकरण अथवा बहुराष्ट्रिय पुँजीको स्वामित्व रहँनेगरी निजीकरण नै हुन्छ । आज विश्वमा त्यही भैरहेको छ ।
पुँजीवादी चिन्तन अपनाएका राज्यसत्ताहरूको उपर्युक्त भुमिकाबाट साम्राज्यवादीहरूलाई भुमण्डलीकरणको नीतिलाई लागु गर्न धेरै कठिनाई बाँकी रहन्न । फेरी पनि केही कठिनाई उत्पन्न हुन्छ भने उनीहरू सिधै सम्बन्धित देशमा हस्तक्षेप गरेर समस्याको ”समाधान“ खोजिहाल्छन् । भारत र अमेरिकाबीचको परमाणु सम्झौतालाई पारित गर्नका लागि तत्कालिन अमेरिकी राष्ट्रप्रतिद्वारा स्वयं तत्कालिन प्रतिपक्षी दल भारतीय जनता पार्टीका नेताहरूसितको फोन वार्ता र नेपालमा महाकाली सन्धी पारित गर्दा भारतले खेलेको भुमिकाबाट साम्राज्यवादीहरूको उपर्युक्त भुमिकाबारे कुनै शङ्का रहन्न ।
3. आम जनताको भुमिका:
आम जनताको सवाल नै साम्राज्यवादीहरूका लागि सबैभन्दा बढी टाउकोदुखाईको विषय हो । उनीहरूलाई यो थाहा छ कि सामान्यतः राज्यसत्ताको चरित्र जुनप्रकारको हुन्छ, जनताको चिन्तन पनि त्यहीप्रकारको हुन्छ । त्यसका साथै यो पनि थाहा छ कि जनविरोधी नीति तथा कार्यक्रमका कारणले राज्यसत्ता र जनताको बीचमा हमेशा अन्तरविरोध रहेको हुन्छ र राज्यसत्ताविरोधी तत्वहरू र जनताका बीचमा घोषित/अघोषित सामिप्यता, एकता भैरहेको हुन्छ ।
उपर्युक्त नियमका अतिरिक्त आम जनताका आफ्नै अनुभवले उनीहरू सरकारका गलत नीतिको विरोध गर्न बाध्य हुन्छन् । यही कारणले गर्दा साम्राज्यवादीहरू विपक्षीहरू, अथवा वास्तविक विपक्षी शक्तिहरूमाथि कठोर अधिनायकत्व लागु गर्न खोज्छन् तर इतिहासको नियम यस्तो छ कि सत्य र न्याय दमनभन्दा जेठा हुन्छन् । साम्राज्यवादीहरू यही मार खान्छन् ।
भुमण्डलीकरणका विरुद्ध स्वयं विकसित देशहरूमा भैरहेको विरोधले त्यही कुरा पुष्टी गर्दछ । तुलनात्मकरुपमा हेर्ने हो भने भुमण्डलीकरणको विरोध विकसित देशहरूमा नै बढी भएको पाइन्छ । कारण यही हो कि त्यहाँका जनता कुनै प्रतिपक्षी राजनीतिक दलको एजेण्डालाई समर्थन गरेर होइन बरू आफ्नै अनुभवका कारणले विरोधमा उत्रिएका हुन्छन् । त्यसका बिपरित विकासोन्मुख देशहरूमा भुमण्डलीकरणको परिणाम विस्तारै प्रकट हुन्छ वा जनताका पिछडिएका चेतनाका कारणले उनीहरूले त्यसको परिणामलाई ढिलो बुझ्दछन्, तर अपरिहार्यरुपमा बुझ्दछन्-यो वास्तविकता हो ।
4. कम्युनिष्ट क्रान्तिकारीहरूको भुमिका:
वास्तविक अर्थमा भुमण्डलीकरणका विरोधी कम्युनिष्ट क्रान्तिकारीहरू हुन् । जस्तो कि माथि नै चर्चा गरिसकिएको छ कि तत्कालिन सोभियत समाजवादी अर्थतन्त्रका विरुद्धमा नै भुमण्डलीकरणको सुरुवात भएको थियो । क्रान्तिकारी कम्युनिष्टहरूको अर्थतन्त्रसम्बन्धी मोडेल अहिले पनि त्यही नै हो, अथवा निजी सम्पत्तिको राष्ट्रियकरण । कम्युनिष्टहरू बहुसङ्ख्यक शोषित-पीडित जनतामाथि मुट्ठीभर शोषकहरूको हालीमुहालीको विरोध गर्दछन् । त्यसकारण स्वामित्वको क्षेत्रमा पनि निजी स्वामित्व होइन, राजकीय तथा राष्ट्रिय स्वामित्वको पक्ष लिन्छन । त्यसका लागि कम्युनिष्ट व्यवस्थामा सहकारी, सामाजिक, राजकीय स्वामित्व हुँदै राष्ट्रिकरणतिर जान्छन् । सामाजिक आवश्यकता पुर्ति गर्नका लागि अहिलेको भन्दा कैयौँ गुना बढी उत्पादन हुँनुपर्दछ, जसले गर्दा समाजका प्रत्येक व्यक्तिका समस्यालाई समाधान गर्न सकियोस् । त्यो प्रक्रियामा निजी स्वामित्व बाधक बन्दछ । उत्पादनलाई व्यवस्थित र योजनावद्ध तरिकाले उच्च नबनाइकन सामाजिक आवश्यकतानुरुपको पुर्ति प्राप्त गर्न सकिदैन । त्यसकारण कम्युनिष्टहरू स्वामित्वको सम्बन्धमा निजी स्वामित्वको विरोध गर्दै राष्ट्रियकरणको पक्ष लिन्छन् । कम्युनिष्ट क्रान्तिकारीहरूका लागि भुमण्डलीकरणको प्रश्न स्वामित्वसित जोडिएको केन्द्रीय प्रश्न हो । जसले भुमण्डलीकरणको विरोध गर्दैनन्, उनीहरू ढुलमुल वामपन्थी त होलान तर क्रान्तिकारी कम्युनिष्ट हुन सक्दैनन् । त्यसकारण त्यसको उनीहरूले भरपूर विरोध गर्नुपर्दछ र गरिरहेका छन् पनि ।
5. भुमण्डलीकरणका विरुद्ध सङ्घर्षको सवाल:
भुमण्डलीकरणले निजी स्वामित्वलाई बढावा दिन्छ । यो आधारभुत तथ्य हो तर मुख्य निष्कर्ष यो हो कि यसले पुँजीवादी साम्राज्यवादीहरूको हितसाधन गर्दछ । दुनियाँभरीका श्रोत र साधनहरूलाई उपयोग गर्दै मुट्ठीभर पुँजीपतिहरूको पोल्टामा नाफा सुरक्षित गर्नका लागि भुमण्डलीकरणलाई अगाडि सारिएको छ । यसले खालि आम जनताको विरुद्धमा मात्र प्रतिफल दिने होइन कि साना, मध्यम र कतिपय स्थानमा धनी व्यक्तिहरूको हितको विरुद्धमा पनि भुमिका खेल्छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई ध्वस्त पार्दछ- विकासशील देशहरूमा पनि मुट्ठीभर पुँजीपतिहरूलाई धनी बनाइदिन्छ; साना, मध्यम र धनी तप्कालाई पछाडि धकेलिदिन्छ, मजदुर वा सर्वहारा वर्गको त के चर्चा गर्नु ! अर्कोतिर, यसले गरिव देशलाई राष्ट्रियरुपमा नै धरासयी बनाउँछ । हाम्रोजस्तो पुँजीको विकास नभएको देशमा उसले राम्ररी घर जमाउँछ । उदाहरणका लागि भुमण्डलीकरणले प्याटेण्टको नीति अगाडि सारेको छ । खालि बिउको उदाहरण लिने हो भने पनि प्याटेण्टले किसानहरूलाई आफ्नो बालीको बिउ आफै सुरक्षित राख्ने परम्पराबाट बन्चित गर्दछ । एकपटक बाली लगाइसकेपछि अर्कोपटक बाली लगाउनका लागि पुनः बिउ खरिद गर्नुपर्ने अवस्थाको सृजना गर्दछ । यसरी प्रत्येक सिजनमा बिउ बिक्रीका साथै मुट्ठीभर पुँजीपतिहरू मौलाउँदै जान्छन् ।
भुमण्डलीकरणका असरको बारेमा उल्लेख गर्नका लागि छुट्टै पुस्तकको आवश्यकता पर्नेछ । यहाँ त्यसबारे सङ्क्षिप्तमा चर्चा गरिएको छ । फेरी पनि यो सत्य हो कि भुमण्डलीकरणको असरबारे मानिसहरू दिन-प्रतिदिन स्पष्ट हुँदै गैरहेका छन् । उनीहरूको विरोध प्रदर्शन पनि अगाडि आइरहेको छ तर यहाँनेर उल्लेखनीय तथ्य यो छ कि भुमण्डलीकरणका विरुद्धका यी विरोधमा स्वामित्वको प्रश्नलाई महत्व दिइँने गरिएको छैन बरू ‘स्वदेशी’ र ‘विदेशी’ को आवरणमा त्यसलाई लपेटिने गरिएको छ, जबकि यसका जरा धेरै गहिरा छन्; यो सीधै दुई विश्व व्यवस्थासित जोडिएको छ । यहाँनेर भुमण्डलीकरणको सवालमा दृष्टिकोणको समस्या प्रष्ट देखिन्छ । त्यसकारण यससम्बन्धमा यो पक्षप्रति ध्यान दिनुपर्ने आवश्यकता छ । यदि भुमण्डलीकरणलाई खालि ‘स्वदेशी’ र ‘विदेशी’ को आवरणमा ढाकेर राखिन्छ भने त्यो सत्यभन्दा टाढै रहनेछ । त्यसैगरी, यसलाई अस्थायी र तात्कालिक समस्याको रुपमा लिइन्छ भने पनि गलत हुँनेछ । साम्राज्यवादीहरूले अहिले भुमण्डलीकरणको नीतिलाई अगाडि सारेका छन् तर यो असफल हुन्छ भने पनि अर्को नीति अगाडि सार्नेछन् । यो प्राकृतिक नियम नै हो कि बाच्नका लागि हरेकले सङ्घर्ष गर्दछ, पुँजीपति वर्गले पनि अवश्य गर्नेछ ।
6. निष्कर्ष:
भुमण्डलीकरण सीधै दुई बिपरित विश्व व्यवस्थासित जोडिएको हुनाले त्यसका विरुद्धको सङ्घर्ष पनि अन्ततः सर्वहारा र पुँजीपति वर्गबीचको सङ्घर्ष नै हो । यदि यसका विरुद्ध सङ्घर्ष चर्काउँनुछ भने त्यसको नेतृत्व सर्वहारा वर्गले नगर्दासम्म सङ्घर्षले अन्तिम टुङ्गो लगाउन सक्ने छैन । फेरी पनि देशभक्ति तथा राष्ट्रिय र स्वदेशी अर्थतन्त्रको कोणबाट जति पनि यसको विरोध हुन्छ, त्यसलाई समर्थन गरिनुपर्दछ; उनीहरूलाई लिएर भुमण्डलीकरणविरोधी, अन्ततः साम्राज्यवादविरोधी मोर्चा कायम गरिनुपर्दछ तर त्यसका साथै उनीहरूलाई यो विषय स्वामित्वसित जोडिएको छ भनेर पनि चेतना दिदै जानुपर्दछ । वास्तविकरुपमा भुमण्डलीकरणको पराजय समाजवादका लागि गरिने सङ्घर्षमा एउटा सफलता नै हुँनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here