भारत र चिन दुवै साम्राज्यवादी देश हुन 

0
331

– कृष्णराज पाण्डेय
ने.क.पा.(मसाल)को आठौँ महाधिवेशनमा प्रस्तुत राजनितीक प्रतिवेदनमा भारत र चिनलाई साम्राज्यवादी हुन वा होइनन् भन्ने विषयमा खुल्ला छलफल, बहस, चलिरहेको छ । यस विषयमा चर्चा गर्न चाहन्छु । लेनिनको पुस्तकमा साम्राज्यवाद भनेको पूँजिवादको चरम रुप हो वा पूँजिवादको एकाधिकार भन्ने अर्थ लाग्दछ । साम्राज्यवादको स्वरुप विभिन्न देशमा विभिन्न तरीकाले विकास हुन सक्छन । एउटै तरिकाले सवै देशमा साम्राज्यवादको विकास हुन्छ भन्ने हुदैन । वेलायतमा साम्राज्यवादको आफ्नै मौलिकता छ भने अमेरीकामा आफ्नै खालको मौलिकता छ । हिजो रोम साम्राज्यमा पनि आफ्नै खालको मौलिकता थियो ।

साम्राज्यवाद विभिन्न समयमा भिन्न कालखण्डमा विभिन्न देशमा विकास हुने भएकाले कुनै देशमा साम्राज्यवादको विकास यसरी नै भएको थियो भनेर त्यसैगरी अर्को देशमा हुन्छ भन्न मिल्दैन । यो देश अनुसार फरक पर्न जान्छ । तर उदेश्य एउटै हुन्छ ।

साम्राज्यवादको विभिन्न रुपले परीभाषीत गर्न सकिन्छ । एउटा विशाल राज्यले स–साना देशको सार्वभौमसत्ता आफ्नो हातमा लिन, साम्राज्य बढाउन छलछाम गर्ने, आर्थिक उपनिवेश बनाएर आफ्नो आधिपत्य कायम राख्ने सोच सहितको योजनालाई साम्राज्यवाद भनिन्छ ।

आज विश्वमा समाजवादी व्यवस्था कमजोर भएपछि साम्राज्यवादी शक्तिशाली र बलियो देखिएको छ । साम्राज्यवादी देशहरुको बीचमा तिव्र र अस्वस्थ प्रकारको प्रतिस्पर्धा भएको देखिन्छ । साना र कमजोर अल्पविकसीत देशलाई कस्ले नियन्त्रणमा राखने होडवाजि चलिरहेको देखिन्छ । तर अर्कोतिर वाहय रुपमा बलिया देखिए पनि आन्तरीक रुपमा साम्राज्यवादी देशहरु कमजोर नै छन । मुल रुपमा समाजवादी आन्दोलनका कमजोरीको फाइदा साम्राज्यवादीले लिएको पाइन्छ ।
भारत बृटिश साम्राज्यवादबाट स्वतन्त्र भएपछि हामिले भारतलाई विस्तारवादि देश भनेर परिभाषित गरेका थियौं । बृटिश साम्राज्यवादबाट भारत मुक्त भएको लामो समय भइसकेको छ र हामिले भारतलाई उही तरीकाले बुझ्नु अब जडसुत्रवादी सोचाई हुन्छ । अहिले भारतको आर्थिक वृद्धिदर उसको छिमेकी मुलुकसँगको सम्बन्ध, सैन्य क्षेत्रमा गरीएको तयारी, राजनितिक प्रभाव, सास्कृतिक प्रभाव र विश्व मानचित्रमा उसले खेलेको भुमिकाका आधारमा भारतलाई अब साम्राज्यवादी देश भन्न कुनै कठिनाई हुदैन ।

अर्कोतिर हामिले यो कुरामा ध्यान दिनु जरुरी छ की हरेक वस्तुको विकास हुनुमा उसको गतिशिलता र समय अनुसार परिवर्तन हुदै स्वरुप, आकार र गतिमा बुझ्न सकिएन भने ठोस परिस्थितीको ठोस विश्लेशन गर्ने माक्र्सवादी, लेनिनवादी सोचाईबाट विमुख भएर कतै जडसुत्रवादी सोचाईमा पुगेका हौँ कि ?
केहि साथिहरुको सोचाईमा यस्तो आएको छ की “भारत कृषि प्रधान देश हो । भारतबाट ठूलो संख्यामा काम गर्न विदेशी भूमीमा जान्छन । विदेशि लगानि भारतमा हावी छ, किसानहरु ऋण तिर्न नसकेर आत्मा हत्या गर्छन । भुटान र नेपाल वाहेक अन्य देशमा हैकम चल्दैन । ठूलो संख्यामा मागेर खाने मान्छेहरु छन त्यसैले भारतलाई साम्राज्यवादी होइन विस्तारवादि देश हो ” भन्ने सोचाइ जडसुत्रवादी र यथास्थितीवादी सोचाइ वाहेक अरु केहि होइन ।

हामीले भारतका बारेमा आफनो धारण बनाउनु भन्दा पहिला भारत सरकारको मुल चरित्र के हो भन्ने कुरामा ध्यान जान जरुरी छ । भारतको मुल चरीत्र पुजिवाद , आर्थिक उदारीकरण भएपछि पुजिवादी व्यवस्थाले धनी दिन प्रतिदिन धनी बन्ने, गरीव दिन प्रतिदिन गरीव बन्न्ो राज्यको मूल चरित्र हो । अर्कोतिर साना उद्योगधन्दा विस्थापीत हुदै पूँजिको केन्द्रिकरण हुन्छ त्यही रुपमा भारत अहिले अगाडि बढिरहेको छ । भारत सरकारले अहिले किसानहरुलाई सहुलियतमा न ऋण दिन सक्छ नत किसानहरुलाई दिएको ऋण मिनाह गर्न सक्छ । बरु भारत सरकारले ठूल्ठूला उद्योगपतिहरु विजय मालिया,  मुकेश अम्वानि, लक्ष्मी मित्तल, अजिम प्रेमजी, साबित्री जिण्दल, अनिल अम्वानि, कुमार विरला जस्ता ठूला उद्योगपतिहरुलाइ सहुलियतमा ऋण दिने र ऋण मिनाह गर्ने गरेको छ तर किसानहरुलाई लाखौको ऋण दिन र दिएको ऋण मिनाह गर्न सक्दैन । जसका कारणले भारतमा वार्षिक सयांै किसानहरुले आत्महत्या गर्ने गरेका छन । यो भारत सरकारको पूजिवादी चरित्र हो  । अर्कोतिर ठूल्ठूला उद्योगपतिहरुलाई ऋण दिएर विश्व बजारमा लगानिमा साझेदारीको विकास गरी विश्वमा आफनो बजार बनाउदै छ । यो साम्रज्यवाद अन्तरगतकै कार्यशैली भित्र  पर्दछ  ।

अहिले भारत सैनिक शक्तिको  विकासमा ठूलो धनराशि खर्च गरेको देखिन्छ । यो विश्वको पाचौँ देश भित्र पर्दछ । हामि यसैलाइ सहज अनुमान लगाउन सक्छौ कि ऊ विश्वका अरु साम्राज्यवादी देश भन्दा कम छैन भन्ने संकेत हो अर्कोतिर साना र अल्पविकशित देश माथि सैनिक बलका आधारमा जल, जमिन, पा्रकृतिक स्रोत माथिको दोहन गरी आफ्नो साम्राज्यवादी चरित्रको प्रर्दशन गरीरहेको छ । हालै एक प्रतिवेदनका अनुसार अमेरीकामा मात्र लगानि गर्ने विश्वको चौथो मुलुकमा भारत प्रर्दछ  । भारतीय प्रधानमंत्रि नरेन्द्र मोदिले मेकिङ इन्डिया नाम दिएर  करिब छ सय वटा कम्पनीमा लगानि गरिरहेको छ । भारतले संसार भरिका विभिन्न मुलुकमा साझेदारी वा एक्लै व्यापारमा लगानि गरेको छ । अर्को तिर हाम्रो यो कुरामा ध्यान जान जरुरी छ कि साम्राज्यवादी देशका आम नागरिक सबै धनी र सुखी हुन्छन भन्ने धारणा गलत हुन्छ ।

हामीले कुनै पनि देश प्रतिको धारणा बनाउदा देशको मुल निति माथि आधारति रहेर बनाउनु वैज्ञानिक हुन्छ र हुनु पर्दछ । तर केहि बिचारहरु त्यहाँका आम जनताको जिबन स्तरलाई आधार मानी बनाइयो भने यो गलत हुन जाने छ । सामाजवादी व्यवस्था भएका देशहरुमा मात्रै त्यहाका आम जनताको जिबन स्तर अनुसार राज्यको मुल चरित्र मुखरित हुन्छ । तर पुंजीवादी ,साम्राज्यवादी देशहरुमा राज्य र जनताको बीचको अन्तर आकाश र जमिन जस्तै हुन्छ । त्यस कारणले हामीले भारतीय जनताको जिबन स्तरलाई हेरेर होइन भारत सरकारको मुल चरित्रलाई आधार मानी विश्लेशन गर्न पुग्यौ भने भारतलाई साम्राज्यवादी देश भन्नलाई कुनै कठिनाई हुने छैन । अर्को तिर भारतले सार्क मुलूकहरुमाथि जुन रवैया अपनाएको छ  यसले अझ हामीलाई थप भारत साम्राज्यवादी देश हो भन्ने दिशामा अगाडि लैजाने छ ।जस अन्तर्गत छिमेकी मुलुक भुटानलाई भारतले आफ्नो वफरस्टेट बनाएको छ , नेपालको सार्वभौमसत्ता र राजकीयसत्तामा पटकपटक हमला गर्दै आइरहेको छ । बँगलादेश ,श्रीलंका , मालदिप्स माथि आन्तरीक रुपमा र वाह्य रुपमा हस्तक्षेप गरिरहेको छ । संयुक्त राष्ट्रसंघमा कश्मिरका विषयमा भारत र पाकिस्तानको वीचमा जनमत संग्रह गर्ने समझदारी भएको थियो तर भारतले अहिले सम्म यो समझदारीलाइ पालना गर्नु भन्दा कश्मिर माथि सौनिक बलको माध्यमले दमन गरीरहेको छ । आज कश्मिरको आन्दोलन दवाउने नाममा पकिस्तान माथि अनेकौँ प्रकारले हमला हुदै आएका छन । यसले के बुझाउछ भने दक्षिण एसियामा भारतीय साम्राज्यवाद हावि भएको र उनिहरुको सार्वभौमिकता भारतिय साम्राज्यको केन्द्रमा कैद भएको देखिन्छ । अर्कोतिर जनसंख्याका हिसावले विश्वको दोस्रो ठूलो मुलूक भारत हो ।

भारतीय मूलका मानिसहरु आज विभिन्न देशहरुमा बसोबास गरी त्याहाँका नागरीक बनेर त्यहाँको राज्य सत्ता कब्जा गर्दै आएका छन । उदाहरणका लागि सिक्किम भारतमा विलय भइसकेको छ । फिजि भारतीय मूलको कब्जामा छ । नेपाललाई पनि नागरीकताको बहानामा, राज्यको पुर्नसंरचनाका बहानामा सिकिम र फिजि जस्तै गरी भारतीयमा महासंघमा मिलाउने गुरुयोजना निरन्तर अगाडि बढाइरहेको छ । आज नेपालको विकासको उन्नती प्रगतिको बाधक भारतीय एकाधिकार नै हो । नेपाल भारतको आर्थिक, राजनैतिक ,सांस्कृतिक र भाषिक अतिक्रमणको चपेटामा छ भन्दा अनुपयूक्त नहोला ।

भारत र चिन दुबै साम्राज्यवादी देश हुन । तर नेपालको सन्दर्भमा दुबै देशको नितिमा अन्तर छ । नेपालमा भारतको निकै स्वार्थ जोडिएको छ । तर चिनको यी सबै विषयमा जोडिएको छैन । लिपु लेकका विषयमा दुबै देशको स्वार्थ जोडिएको छ । यसमा दुबैको साम्राज्यवादी चरीत्र नेपालमा मुखरित हुन्छ । अर्को कुरा चिनले तिब्बतको आन्तरीक समस्याले गर्दा नेपाल स्वतन्त्र भएको देख्न चाहन्छ । किनभने यो कुरा चिनको आन्तरीक स्वार्थसंग जोडिएको छ । अर्को कुरा भारत भन्दा चिन नेपालको सन्दर्भमा प्रगतिशील साम्राज्यवाद जस्तो देखिन्छ । चिन भन्दा भारतलाई नेपालमाथि भाषिक, सांस्कृतिक र भौगोलिक सहजता मिलेको छ । त्यस कारणले भारतीय साम्राज्यवाद भन्दा चिनिया साम्राज्यवादको प्रभाव कम देखिन्छ । अर्कोतिर भारतीय साम्राज्यवाद नेपालमा हावी भयो भने चिनको आन्तरीक राजनितिमा समस्या पैदा हुने देखिन्छ ।  त्यसकारणले चिन नेपाललाई स्वतन्त्र राज्य भएको देख्न चाहन्छ । सारमा चिन भारत दुबैको चरित्र साम्राज्यवादी नै हो । उनीहरुले आफनो साम्राज्यवादी चरित्र बलियो बनाउन अरु देश संगको नीति आफ्नै ढंगले अख्तियार गर्छन । यसरी हामि यो कुरामा प्रस्ट हुन जरुरी छ कि भारत र चिन दुबै साम्राज्यवादी देश हुन ।

(लेखक अखिल नेपाल युवक संघका महासचिव हुन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here