भारतीय सेना प्रमुखको मन्तव्यबारे नेकपा (मसाल) को धारणा

0
391

काठमाडौँ । नेकपा (मसाल) ले भारतीय सेना प्रमुखको अभिव्यक्तिलाई भारतीय विस्तारवादी नीतिकै निरन्तरता बताएको छ । हालै भारतको पुणेमा भएको भनिएको कथित बिम्स्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नभएको सन्दर्भमा भारतीय सेना प्रमुख विपिन रावतले नेपाल र भुटान भारतभन्दा टाढा जान नसक्ने वा भारतप्रति नै झुकाव राख्नु पर्ने अभिव्यक्तिको सन्दर्भमा पार्टीको यस्तो धारणा आएको हो ।

महामन्त्री मोहन विक्रम सिंहले २०७५ असोज २ गते प्रेस वक्तव्य जारी गर्दै पार्टीको यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । वक्तव्यमा नेपालको नक्सामा लिम्पियाधुरा हटाइएको, सोही नक्सा निशान छापमा प्रयोग भएको र यही नक्सा नेपालका कार्यालयमा समेत प्रयोग भएको सन्दर्भमा उच्च स्तरीय छानबिन गरी दोष्ीलाई सजाय दिनु पर्ने र भारतबाट प्रकाशित भएको नक्साको हकमा कूटनीतिक स्तरमा वार्ता गरेर सो गलत नक्सा सच्याउनु पर्ने बताइएको छ ।

कञ्चनपुरको निर्मला पन्तको बलात्कार र हत्या हत्या प्रकरणमा सरकारद्वारा छिट्टै कारवाहीको कामना गरिएको सो वक्तव्यमा अगाडि भनिएको छ– “नेपालको सुदूर पश्चिमको कालापानी समेतको नक्साबारे आएको विवादप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । प्राप्त जानकारी अनुसार राष्ट्रिय निशान छापद्वारा प्रकाशित नक्सामा कालापानी लिपुलेक लिम्पियाधुरा समेतका भूमिहरुलाई नेपालको नक्सामा देखाइएको छैन । भारतद्वारा प्रकाशित नक्सामा ती क्षेत्रहरु नेपालमा नभएको देखाइएको छ । यो कुरा बुझ्न गाह्रो पर्दैन कि भारतीय प्रभावमा नै नेपालबाट प्रकाशित नक्सामा कालापानी समेतका स्थानहरुलाई नेपालको नक्साबाट हटाइएको छ । भारतले कालापानीमाथि कब्जा जमाएको छ भने सुस्ता सहित नेपालका कैयौा सीमाहरुमा अतिक्रमण गरेको छ । त्यसको नेपालको नक्सामा हेरफेर गर्ने कार्य र नेपालका राष्ट्रिय निशान छाप समेत कतिपय सरकारी निकायहरुद्वारा नेपालको नक्सामा फेरबदल गर्ने कार्य भारतीय विस्तारवादी योजना अनुसार नै गरिएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यस अनुसार नेपालको ३१० वर्गमीटर जमिन नेपालबाट हटाउने कार्य गरिएको छ ।

नेपालको नक्सामा हेरफेर गर्ने जुनकार्य गरिएको छ, त्यो नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध भएको कुरा प्रष्ट छ । त्यसकारण नेपालको नक्सामा हेरफेर गर्ने कार्यमा संलग्न व्यक्तिहरुबारे छानबिन गरेर दोषीलाई कडा सजाय दिनुका साथै गलत प्रकारले प्रकाशित गरिएका नक्साहरुलाई सच्चाउनु पर्ने, त्यस प्रकारका नक्साहरुको बिक्री– वितरणमा प्रतिबन्ध लगाउनु पर्ने तथा भारतसित कूटनीतिक स्तरमा उच्च स्तरीय वार्ता गरेर त्यसद्वारा प्रकाशित नक्सालाई सच्चाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

भारतीय सेना प्रमुख विपिन रावतले आफ्नो एउटा वक्तव्यमा नेपाल र भुटान जस्ता देशहरु भारतभन्दा टाढा जान नसक्ने र भारतप्रति नै झुकाव राख्नु पर्ने कुरा बताएका छन् । त्यस सिलसिलामा उनले नेपालको आफ्नो भौगोलिक स्थितिका कारणले नै चीनतिर फर्कन नसक्ने र नहुने कुरा पनि बताएका छन् । त्यो बेला कतिपय भारतीय उच्च अधिकारीहरुले बिम्स्टेक सम्मेलनको संयुक्त सैनिक अभ्यासमा भाग नलिएको र अर्कोतिर चीनको छेङमा ‘सगरमाथा फ्रेन्डसिप–२’ नामक संयुक्त सैन्य अभ्यासमा भाग लिएकोमा समेत नेपालको आलोचना गरिएको थियो ।

भारतीय सेना प्रमुख समेतको उपर्युक्त भनाइले भारतले दशकौादेखि नेपालप्रति अपनाउँदै आएको विस्तारवादी नीतिलाई नै खुलासा गर्दछ । उनीहरुले सधौ यो कुरामा जोड दिदै आएका छन् कि नेपालले सधौ भारतपरस्त नीति नै अपनाउनु पर्दछ । त्यस सन्दर्भमा उनीहरुको प्रयत्न सधौ रहने गरेको छ कि भारतीय परराष्ट्र नीति वा सुरक्षा नीतिको सीमा बाहिर गएर कुनै देशसित स्वतन्त्र प्रकारले सम्बन्ध विस्तार गर्ने नेपाललाई कुनै अधिकार छैन । त्यही नीति अन्तर्गत नै उनीहरुले बिम्स्टेकको संयुक्त सैन्य सम्मेलनमा भाग लिन अस्वीकार गरेको र चीनसितको संयुक्त सैनिक अभ्यासमा भाग लिएको कार्य उनीहरुको लागि असह्य हुन गएको छ । भारतीय सेना प्रमुख समेतको त्यस प्रकारको अभिव्यक्तिले प्रकट र बाह्य रूपमा उनीहरुले जतिसुकै मैत्रीपूर्ण कुरा गरे पनि उनीहरुको वास्तविक उद्देश्य नेपाललाई आफ्नो अधिनमा राख्ने नै हो भन्ने कुरामा कुनै शङ्का रहन्न । भारतको त्यस प्रकारको विस्तारवादी नीति विरुद्ध आवाज उठाउन र उच्च प्रकारको सतर्कताको नीति अपनाउन हाम्रो पार्टीले सबै देशभक्त शक्ति, राजनीतिक दल सङ्घ/संस्था, व्यक्तित्व, आम जनता र सरकारसित पनि अपिल गर्दछ ।

कञ्चनपुरको निर्मला पन्त बलात्कार र हत्यासित सम्बन्धीत अपराधीहरुलाई अहिलेसम्म पत्ता लगाउन नसकेकोमा हाम्रो पार्टीले सरकार, प्रशासन र प्रहरी समेतको तीव्र आलोचना गर्दछ । त्यसबाट सरकार, प्रशासन र प्रहरी समेतको कार्यप्रणाली कुनै गम्भीर कमजोरी भएको कुरालाई बताउँछ । यदि त्यस प्रकारको कमजोरी सुधार गरिएन भने त्यसको देशमा चौतर्फी असर पर्नेछ । जे होस्, सरकारले कञ्चनपुरको बलात्कार र हत्याबारे छानबिनका लागि उठाएका कदमहरुलाई हामीले सकारात्मक रूपमा लिन्छौं । त्यस सम्बन्धी प्रधानमन्त्री र गृहमन्त्रीका अभिव्यक्तिहरुलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौा । तर अहिलेसम्मको घटनाक्रमबाट यो कुरा प्रष्ट हुन्छ कि उक्त घटनासित सम्बन्धित अपराधीहरुलाई लुकाउनका लागि योजनाबद्ध प्रकारले नै प्रयत्न भइरहेको छ । त्यस प्रकारका प्रयत्नहरुलाई असफल पारेर सत्य र तथ्यमा पुग्न सरकार प्रशासन वा प्रहरी सफल हुने छन् वा छैनन् ? त्यो सम्पूर्ण देशका लागि नै अत्यन्त गम्भीर र महत्त्वपूर्ण प्रश्न भएको छ । यदि आफ्ना प्रयत्नहरुमा सरकार असफल हुन्छ भने त्यसबाट सरकार र सम्पूर्ण प्रशासन यन्त्रभन्दा अपराध जगत नै शक्तिशाली भएको कुरा प्रमाणित हुनेछ र त्यो कुरा सरकार मात्र होइन, सम्पूर्ण देशका लागि नै अत्यन्त खतरनाक हुनेछ । तर हामीले कामना गर्दछौं, त्यस्तो हुने छैन र छिट्टै उनीहरुलाई पत्ता लगाएर उनीहरुलाई दण्ड–सजाय गर्ने कार्य गरिने छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here