भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणप्रति राजमोको विरोध

0
394

के भन्नु हुन्छ, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गरेको छ । मोदी प्रधानमन्त्री भएपछि नेपालप्रति अपनाइएको नीति र व्यवहार राष्ट्रिय हित, सम्मान र सार्वभौम सत्ताका विरुद्ध भएको बताउँदै राजमोले पनि सो भ्रमणको विरोध गरेको हो ।

राजमो अध्यक्ष चित्र बहादुर केसीले २०७५ वैशाख १७ गते प्रेस वक्तव्य जारी गर्दै मोदीको नेपाल भ्रमण भारतीय विस्तारवादी योजना अनुसार नै हुन थालेको दावी गरिएको छ । वक्तव्यमा भारतको विस्तारवादी योजना अनुसार नै सङ्घीय व्यवस्था लाद्न, आत्म निर्णयको अधिकार सहितको सङ्घीय व्यवस्था निर्माण गर्न, नेपाललाई बहुराष्ट्रिय वा द्विराष्ट्रिय देश घोषणा गर्न, त्यस आधारमा सम्पूर्ण तराई क्षेत्रको एक प्रदेश निर्माण गर्न, त्यसका लागि मधेशका मुट्ठीभर विखण्डनकारीहरुलाई अघि सारेर अराजक र विखण्डनकारी गतिविधि सञ्चालन गर्न खोजिएको विश्लेषण गरिएको छ । मोदीको नेपाल भ्रमणको सम्पूर्ण देशभक्त नेपाली जनताले विरोध गर्ने आशा व्यक्त गर्दै अध्यक्ष केसीद्वारा जारी वक्तव्यमा मोदीलाई सरकारी स्तरबाट गर्ने स्वागतको पनि विरोध गर्नु पर्ने आवश्यकतामा जोड दिइएको छ । अध्यक्ष केसीद्वारा जारी वक्तव्यमा अगाडि भनिएको छ–

“भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यति बेला नेपाल भ्रमणमा आउने कुरालाई हामीले गम्भीर रूपमा लिएका छौँ । भारतको प्रधानमन्त्री भए पश्चात् उनले नेपालप्रति अपनाएका नीति र व्यवहार नेपालको राष्ट्रिय हित, सम्मान र सार्वभौम सत्ताका विरुद्ध छन् । यी नीति र व्यवहारलाई भविष्यमा पनि उनले अर्को कोणबाट अघि बढाउने छन् । त्यसकारण यो भ्रमण नेपालको पक्षमा हुने छैन । हामीले यो भ्रमणको विरोध गर्दछौँ ।

विशेष गरी संविधान निर्माणको कालमा उनको सरकारले भारतीय विस्तारवादी नीति अनुसार नेपालमा सङ्घीय व्यवस्था लाद्न, आत्म निर्णयको अधिकार सहितको सङ्घीय व्यवस्था निर्माण गर्न, नेपाललाई बहुराष्ट्रिय वा द्विराष्ट्रिय देश घोषणा गर्न, त्यस आधारमा सम्पूर्ण तराई क्षेत्रको एक प्रदेश निर्माण गर्न, त्यसका लागि मधेशका मुट्ठीभर विखण्डनकारीहरुलाई अघि सारेर अराजक र विखण्डनकारी गतिविधि सञ्चालन गर्‍यो । सङ्घीय शासन प्रणाली भए पनि भारतीय विस्तारवादले चाहे जस्तो संविधान निर्माण भएन र उनले उक्त संविधानको घोषणालाई रोक्न प्रयत्न गरे । त्यसमा पनि उनी सफल भएनन् । त्यसपछि उनको सरकारले नेपालका विरुद्ध नाकाबन्दी लगायो । त्यो नाकाबन्दीले भर्खर भिषण भूकम्पबाट भएको व्यापक जनधनको नोक्सानी भएको बेला नेपाली जनतालाई झन मर्माहत तुल्यायो । त्यतिबेलाको नाकाबन्दी कुनै दुश्मनको व्यवहार भन्दा कम थिएन । त्यो अत्यन्त निर्मम र अमानवीय थियो । त्यति मात्र होइन, नेपाली जनताले प्रथम पटक आफैले निर्माण गरेको संविधानका विरुद्ध उनले अन्तर्राष्ट्रिय अभियान चलाए । उनको सरकारका ती नीति र व्यवहारलाई तात्कालिक नेपाल सरकार र नेपाली जनताले धैर्य र साहसका साथ सामना गरे । नेपालले चीनसँग सम्बन्ध विस्तार गर्न प्रयत्न गर्‍यो । उनले नेपालप्रति अपनाएका नीति र व्यवहारको उनकै देशमा आलोचना भयो । त्यसपछि मात्र उनले नेपालप्रति सकारात्मक भएको नाटक गर्न थाले । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्ता गरेर उनलाई सम्मान गरे । यसका पछाडिको उनको उद्देश्य सकारात्मक छैन । त्यसकारण उनलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय हित, स्वाभिमान र सम्मानका विरुद्ध हुन्छ ।

नेपालको संविधान जारी भएपछि उनले उक्त संविधान नेपालको हित विपरीत र राष्ट्रिय विखण्डन गर्ने प्रकारले संशोधन गराउन प्रयत्न गर्दै आएका छन् । त्यसका लागि आफ्ना दलाल शक्तिको गठबन्धन गराई गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बहुमत ल्याउन सहयोग गरे । त्यसमा पनि उनी असफल भए । त्यसपछि वाम पक्षीय गठबन्धनलाई नै उपयोग गर्ने उनको प्रयास छ । भारतसँगका कैयन् असमान सन्धि–सम्झौता यथावत छन् । सीमा अतिक्रमण कायम छ । नेपालको बजारमा भारतीय एकाधिकार कायम छ । यसलाई सुदृढ पार्न उनी नेपाल आउँदैछन् । नेपालप्रतिको भारतीय नीतिमा कुनै सकारात्मक बदलाव आएको छैन । नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमणकै बेला नेपालको अरूण तेस्रो जलविद्युत परियोजनाको संयुक्त शिलन्यास गर्ने तयारी थियो । त्यसको हामीले तत्काल विरोध गर्‍यौँ । जनताबाट पनि विरोध प्रकट भयो । तब उक्त शिलन्यास कार्यक्रम स्थगित गरियो । सम्भवत: उनी नेपाल आउँदा उक्त शिलन्यास हुन सक्छ । विद्यमान स्थितिमा यदि कुनै सन्धि–सम्झौता भए पनि नेपालको हितमा हुने छैनन् । तसर्थ, उनको नेपाल भ्रमणको सम्पूर्ण देशभक्त नेपाली जनताले विरोध गर्नेछन् । उनलाई सरकारी स्तरबाट गर्ने स्वागतको पनि हामीले विरोध गर्दछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here