भाडावृद्धि फिर्ता गर्न राष्ट्रिय जनमोर्चाको माग

0
383

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सार्वजनिक यातायात भाडामा हालै गरिएको दश प्रतिशत बृद्धिलाई तुरुन्त फिर्ता लिन माग गरेको छ । सरकार र यातायात व्यवसायीहरुका बीचमा हालै भएको सम्झौता पश्चात् सार्वजनिक यातायातमा दश प्रतिशतले भाडा बृद्धि गरिएको छ । राजमोले सार्वजनिक यातायात क्षेत्रमा भाडा बृद्धि गर्ने कदमबाट सरकार जनघाती मार्गतर्फ उन्मुख हुँदै गएको प्रष्ट भएको बताएको छ । सरकारले सम्झौतापरस्त र गलत कार्यशैली अपनाउँदै गएको बताउँदै राजमोले उक्त कार्यशैलीमा व्यापक सुधार ल्याउनु पर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

राजमो उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलद्वारा २०७५ असोज ९ गते जारी प्रेस वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ । उपाध्यक्ष एवं प्रवक्ता पौडेलद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ–“हालै सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले वृद्धि गरिएकोप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर रूपमा ध्यान आकर्षित भएको छ । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने घोषणा गरिरहेका बेला सार्वजनिक यातायातमा अहिले गरिएको भाडा वृद्धिले सरकारको सम्झौतापरस्त नीतिलाई प्रष्ट पारेको छ । दशौ–तिहार जस्तो चाडवाडको बेला यात्रुहरुलाई गम्भीर असर पर्ने गरी गरिएको भाडा वृद्धिलाई तुरुन्त फिर्ता लिन राष्ट्रिय जनमोर्चा माग गर्दछ ।

यो कुनै छिपेको तथ्य होइन कि सरकार र यातायात व्यवसायीका बीचमा भएको सम्झौतापछि नै सार्वजनिक यातायातमा यसरी भाडा वृद्धि गरिएको छ । सरकारले यस अघि पेट्रोलियम पदार्थमा पटक पटक मूल्यवृद्धि गर्दै आएको थियो । दशैं–तिहार जस्ता चाडपर्वहरु हिन्दू नेपालीहरुले निकै धुमधामका साथ मनाउने गर्छन् र यस्तो बेला सर्वाधिक मानिसहरु सार्वजनिक यातायातमा ओहोरदोहर गर्दछन् । यस्तो बेलामा गरिएको यातायात क्षेत्रमा भाडा वृद्धिले सर्वसाधारण जनताको जीवनमा गम्भीर असर पर्ने निश्चित छ । सरकारको यातायात क्षेत्रमा सिन्डिकेट अन्त्यको घोषणा एक सकारात्मक कार्य थियो । तर अहिले यातायात व्यवसायीसँग सम्झौता गरेर यातायातमा १० प्रतिशतले भाडा वृद्धि गर्न दिनुले सरकारको सम्झौतापरस्त नीतिलाई नै उजागर गरेको छ । यसरी पछिल्लो समयमा सरकारले अपनाउँदै गएको सम्झौतापरस्त नीति र गलत कार्यशैलीले ऊ जनघाती मार्गतर्फ उन्मुख हुँदै गएको नै प्रष्ट पार्दछ । हाम्रो पार्टी सरकारले अपनाइरहेको गलत कार्यशैली र सम्झौतापरस्त चरित्रमा व्यापक सुधार ल्याउनु पर्ने आवश्यकतामा पनि जोड दिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here