“भनौ भने गाउँको मुख्खे, नभनौं त कुखुरा सक्किए”

0
18
चंखेसागर

दिल्लीबजारको एउटा साँघुरो गल्ली । एउटा मोटर साइकल मात्रै छिर्न सक्छ । दुई जना विपरीत दिशाबाट आउने मानिस छोइएला जस्तो । त्यही साँगुरो गल्लीमा एक जना मानिस खुट्टो तेर्साएर बसेको छ । उ केही भनिरहेको छ– एक जना पैदल यात्रीसित । चंखे त्यो देखेर नजिकै पुग्छ । त्यो मानिसले पैदल यात्रीलाई कुनै हालतमा पार गर्न नदिने दृढता प्रकट गरेको छ । देख्दा मान्छे हुने खाने घरको जस्तो छ । कोट, पाइन्ट र सेतो सर्ट लगाएको छ । जुत्ता काला छन् । उ रक्सीले मात्तिएको छ । भन्दैछ “यो बाटो मेरो हो । यो घर मेरो भएपछि बाटो पनि मेरै नभएर कस्को हुन्छ ? कोही माइकालाल यो बाटोमा हिंडन् पाउँदैन ।” चंखेलाई बडो अचम्म लाग्यो । ए मेरी आम्मै, आजसम्म बाटो मेरो हो , मैले यो बाटो हिंड्न दिंदैन भन्ने मान्छे त मैले देखेकै थिइन । यो कुनै पावरफुल मान्छे होला भन्ठाने, नजिकै पुगेर हेरेको रक्सी त धेरै नै चढेको रैछ, बा !

त्यो मान्छेको नजिकै बसेर सोधें, “तपाई को हो, यो बाटो छेक्ने ? मान्छे बाटोमा त हिंड्न पाउनु पर्यो नि !” उसले झोक्किएर भन्यो, “म पृथ्वीनारायण शाहको पन्धौं पुस्ताको सन्तान, म यहाँको राजा, राज्य नभएर के भयो त ? म मेरो घरको राजा, मैले बाटो दिन्न भनेपछि दिन्न, एक दिन्न, दुई दिन्न, तीन दिन्न, दिन्न दिन्न दिन्न!” मैले भने, “ए, हजुर राजा ! राजतन्त्र त जनताले फाली सके, तपाई के को राजा ? कसले मान्छ तपाईलाई राजा । आफूले आफैलाई राजा भनेर कसैले तपाईलाई राजा मान्छ ? वाहियात कुरा !” मैले त्यति भन्ना साथ त्यो जडयाहले त पाखुरा सुर्कि हाल्यो, “तँ को होस् मलाई राजा नमान्ने ! तैले राजा नमानेर मलाई केही फरक पर्दैन । म राजा नै हो । लौ, तैंले यो बाटो खोलेर देखाई त !” मैले भने, “धेरै फूर्ति नदेखाउ भाई ! यो देशमा अब कोही राजा छैन । सबै नागरिक बराबर । नागरिकको सरकार छ । थाहा छैन ?” त्यो जड्याहा हा हा हा हा…. गर्दै हाँस्यो । “बेबकुफ ! तँ कुन दुनियाँमा छस यार ? हेर त, अहिले त देशमा चप्पल लाएर हिंडनेहरु राजा बनिसके । पंजेरो, बलेरो बिना हिंड्दैनन् । कहीं कार्यक्रममा गइयो भने त्यहाँ एउटा पिर्कामाथि रातो कार्पेट राखेर त्यसमाथि उभिएर प्रहरीको सलामी लिन्छन् नेताहरुले ।

राजा महेन्द्रलाई “बुलेट प्रुफ घरमा बसेको देख्या थिइस, नौ करोडको कारमा चढेको देख्या थिइस, आफ्ना अंगरक्षकहरुलाई जुत्ता बोकाएको देख्या थिइस् ? शितल निवासबाट एअर पोर्टसम्म हेलिकोप्टरमा चढेको देख्या थिइस ?” मैले टाउको हल्लाउँदै, “अहँ देख्या थिइन” भने । राजाले सवारी चलाउँदा रोड खाली गराउँदा जनताले राजालाई गाली गर्थे । अहिले तेरो नागरिक राष्ट्रपतिले र तेरो प्रधानमन्त्रीले सवारी चलाउँदा पनि सडक खाली गराउनु पर्ने ? यही हो तेरो नागरिक सरकार ? हात्ती छाप चप्पल लगाएर गाउँमा हिंड्ने मान्छे आज नौं दश करोडको गाडीमा हिंड्छन् । कहीं कार्यक्रमको बेला रातो कार्पेटमा उभिएर प्रहरीको सलामी लिन्छन् । बैठक बस्दा मार्क्स लेनिनका फोटा राख्ने ठाउँमा आफ्ना फोटा राखेर हामी नै मार्क्स र लेनिन हौं भन्ने जनाउ दिन्छन् । राजा बन्ने रहर त सबैलाई हुँदो रैछ नि । म त राजाको सन्तान नै हो । अरुले यो राज्य मेरो हो, मैले जे गरे पनि हुन्छ भन्छन् । मैले म मेरो घरको राजा बन्न पनि नपाउने ? रक्सी पिएको छु भनेर मलाई हेप्नी ? रक्सी पिए पनि मलाई रक्सी ला’कै छैन । एक पटक राष्ट्रपति भए पछि जीवनभरी घर, बंगला, गाडी, भत्ता, कर्मचारी पाइने । गृहमन्त्री भएपछि जिन्दगीभरि सुरक्षा गार्ड, गाडी, कर्मचारी पाइने । देखियो तेरो नागरिक सरकार ! यो कुरा मैले रक्सी खाएर बोल्या छैन । देखेको कुरा हो , सुनेकै कुरा हो, मलाई भन्न के को डर !”

त्यहाँ रोकिएको पैदल यात्री पनि चुप रहन सकेन । “हैन दाई, यो भाईले भन्या कुरो त ठीकै छ त । मैले त यो जड्याहले जे पनि बकबक गर्छ भन्या थें । हेर्नोस न, अहिले गएको दशैंमा प्रधानमन्त्री केपी ओली राष्ट्रपतिको निवासमा गएर पुतुक्क धनुष झैं नुगेर टिका थापे । राष्ट्रपतिले आफू महारानी जस्तो गरी टिका लगाई दिइन । ठूला ठूला भीआईपी गएर टिका लगाएको देख्दा त उहिलेका दरबारका भारदारहरु जस्तै देखिन्थे । कोही राजा जस्तै हुनु पर्ने, कोही राजाका भारदार जस्तो हुनु पर्ने ! यो के भएको हो दाई ? यो कुरो त मैले पनि बुझ्न सकेको छैन । दाई ! मैले अर्को कुरा पनि भनौं ?” “भन न भाई” “दाई, यिनी छोटे राजाहरुले राजाको पालामा झैं बोल्न र लेख्न नपाउने कानुन पनि बनाउँदै छन् रे, हो ? थाहा पाउनु भएको छ ?” “अँ सुनेको छु”

जडयाहा राजाले बाटो छेकेपछि फर्कनुको विकल्प थिएन । चंखेले यसो निधार खुम्चाएर सोंच्यो, “यो देशमा के भएको होला ? एउटा जडयाहाले त आफूलाई राजा ठान्छ भने नेताहरुले आफूलाई राजा ठान्नु के अनौठो भयो र ? शितल निवासमा श्रीपेच विनाका राजा देखिए पछि सिंहदरबार तथा प्रदेश र गाउँ नगरमा छोटे राजाहरु देखिनु पनि के अनौठो कुरा भयो र ! गल्लीको राजाले त बाटो मात्र छेक्यो । छोटे राजाहरुले त देशै बेच्ने हुन कि भन्ने डर भयो । भनौं भने गाउँको मुख्खे, नभनौं त कुखुरा सक्किए” भने झैं भईसक्यो ! पहिले पहिले राजदरबारले मात्र भ्रष्टाचार गथ्र्यो । अहिले त भ्रष्टाचार नगर्ने चामलको बिंगा जत्ति होलान् । उहिले राजा हुनका लागि राजाको छोरो नै भएर जन्मनु पथ्र्यो । अहिले भ्रष्टाचार गरेर सम्पत्ति कमाएपछि निर्वाचनमा खर्च गर्ने चुनाव जित्ने अनि छोटे राजा बन्ने ! त्यसपछि फेरि कमाउने ! यस्तो पो रैछ त गणतन्त्र !” मेरो पछि पछि त्यो भाई पनि आएको थियो । उ एक्कासी बोल्यो, “दाई मैले एउटा कुरा सोध्छु” “सोध न” “श्रीपेच विनाको राजतन्त्र भन्दा त श्रीपेचसितको राजा ठीक हुँदैन र ? चंखेलाई त्यो ठिटाको कुरोले चसक्क पोल्यो । त्यो ठिटोलाई सम्झाउन मन लाग्यो । “हेर भाई, तिमी र म दुई जना मात्र भएको हुनाले त्यो जडयाह राजालाई बाटोबाट उठाउन सकेनौं । धेरै मान्छेले उठाउन आएको भए त्यो पाजीलाई घोक्राएर पठाइन्थ्यो । राजा न साजा, श्रीपेच विनाका राजाहरु पनि सबैले भोट दिएर राजा जस्ता भएका हुन । सबैले राजा न साजा, गणतन्त्रमा पनि के को राजा भनेर मुड्की बजार्ने हो भने यिनी छोटे राजाहरुलाई तह लगाउन सकिन्थ्यो । तर के गर्नु ? सबैलाई राजा हुनु पर्या छ । त्यही भएर त ब्रिटेन र फ्रान्समा श्रीपेच सितको राजा फेरि फर्केर राज चलाथ्यो रे ! तिमी हामीले पनि “राजा न साजा बजाई दिउँला बाजा” भनेर साँच्चै कस्सिने हो भने छोटे राजाहरुलाई सपनाबाट बिउँझाउन सकिन्छ ।” भाईले कुरो बुझेछ कि क्या हो, अनि झोक्किएर भन्यो, “म त दाई अब कस्सिएर लाग्छु, श्रीपेचसितका राजालाई त फालियो , श्रीपेच विनाका राजा कहाँका के हुन र ? राजा न साजा भनेर जनता जागेपछि असम्भव केही छैन । एउटाले भन्दै थियो, “अरिंगाल खाएँ, बाछ्यँु खाएँ, जाबो भुसे बारुलो,” राजा न साजा, जनता कहिले जाग्ने होलान् ? जनताले शक्ति कहिले देखाउने होलान् ?” भन्दै त्यो भाई पुतली सडकतिर लाग्यो, यो चंखे नक्सालतिर ।(हाँक साप्ताहीकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here