बागलुङ तिम्रो सम्झनामा

0
268

–नारायण शर्मा

बागलुङ !
तिम्रो वीरताको गाथा
म कसरी कोरूँ ?
म अलमल छु
तर पनि कलम चलाई रहेछु
सगरमाथा जस्तै तिम्रो अगिडपनको
अभिव्यक्ति दिने मसँग शब्द छैन
तर पनि म लेखी रहेछु ।
शोषक विरोधी तिम्रो लडाइँ
मैले साथीहरूसँगबाट सुनेको थिएँ
त्यसैले तिमीमाथि दृष्टि लगाउन
मेरो मन आतुर थियो
जब प्रतिक्षाको घडी पार गरेर
मैले तिमीलाई भेटेँ
म कसरी बताऊँ ?
मेरो मन कति हर्षित थियो ?
म खुशीले गद्गद् थिएँ
धौलागिरीको जस्तै तिम्रो अडान देखेर
त्यसैले त मैलै कैयौँ पहाडहरूलाई
पाइतलाहरूमुनि कुल्चिएको पत्तै पाइनँ
जब पिँढी कुर्ने बृद्धा आमालाई भेटेँ
मलाई यस्तो लाग्दथ्यो
गोर्कीले बनाएको पाभेलको आमा
मेरो अगाडि बोल्दै हुनु हुन्छ
साच्चै !
कति मजबुत रहेछन् तिम्रा अङ्गहरू
बाराकोट, ज्यामिरेघाट र निसीमा
पाइला राखेपछि मैले थाहा पाएँ
तिम्रा अङ्गहरू जहाँ कमजोर छन्
त्यही दुश्मनको दृष्टि पर्ने गर्छ
त्यसैले
बासखोला र आँखेतलाई
स्वाभिमानी बन्न सिकाऊ
ता कि
वीरकोट र काँडेबासको भरमा
उनीहरू बाच्नु नपरोस्
बागलुङ !
दुश्मनहरूप्रतिको तिम्रो हेराइ
गद्दारहरूप्रतिको तिम्रो दृष्टि
जनतासँगको तिम्रो सम्बन्ध
कति आक्रोशित, घृणित र सुमधुर थिए
जुन मेरा आँखाका नानीमा सजिएर बसेका छन्
प्रतिक्रियावादीहरूले जतिसुकै जाल बुनुन्
त्यसलाई च्यात्न तिमी सिपालु छौ
इतिहासबाट पाठ सिकेर तिमी लड्दै जाऊ
मेरो जस्तै सबैको आँखाको नानी
बन्दै जाऊ—बन्दै जाऊ !
– २०५३ पौष २० गते, बुटवल
(“रक्तिम–यात्रा” बाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here