बसन्त आएको बेला

0
209
मनु विक

– मनु वि.क.
जब हावा बग्न थाल्छ मन्दमन्द
पालुवाले वनै बन्छ बदलिदो
वनचरीको चिरविरले मुग्ध बन्छन् सबै
खोलानालाले गाउन थाल्छन्
लठ्याउने पाराका भाकाहरु
फुल्न थाल्छन् गुहेली र चौतारीहरु
झुल्न थाल्छन् भँ भँ गर्दै भँमराहरु
डुल्न थाल्छन् फुरफुर गर्दै
रङ्गीबिरङ्गी पुतलीहरु
पुतली र भँमराका जोडी हेरेर
बिती रहे उसका वसन्तहरु ।

उसको आगमनभन्दा पहिले आए वसन्तहरु
यसले धेरै कुरा दियो तर
के हिसाब छ र ?
फेरि आयो वसन्त अनेक रुपरङ्ग सहित
रह्यो अनेक सौगात सुम्पँदै
उसको आगमनमा फुरुङ छन् भँमरा र पुतलीहरु
फुरफुर परेका छन् वनचरी र भँगेरीहरु
लेकबेशी र फाँटहरु
भञ्ज्याङ पाखा र हिमालहरु
यिनीहरु जस्तै सजिएर
भित्रिएकी थिई ऊ नयाँ बेहुली बनेर
वसन्तको सिर्सिरसँगै
उर्लिएर आएको यौवनलाई
पोखेका थिए एक–अर्कामा
फुर्फुर परेकी थिई ऊ मायाको सागरमा
चरी जस्तै उडेका थिए
दुवै स्वच्छ निर्मल आकाशमा
पुगेका थिए कतै सपनाको संसारमा ।

तर परिस्थितिको बज्रपात
कठै झ्
ऊ भित्रिएको केही दिनमै
भिसा आयो प्रेमीको
साथ टुटी सक्यो लोग्नेको
ऊ अँगालोमा बाँधिएको केही दिनमै
उडी सक्यो विदेशी मुलुक
धागो चुटिएर हराएको चङ्गा जस्तै
कहाँ हो ? कहाँ ?
कुन ठाउँ हो ? कुन ठाउँ पुगी सकेछ ऊ
यता र उता उस्तै छ हालत
पर्खाइको पीडामा छटपटाएकी छे ऊ
फर्काइको पर्खाइमा छटपटाएको छे ऊ
थाहा छैन
एउटा मुटुलाई टुक्राउँदा कस्तो हुन्छ होला ?
जीवन कसरी जिउँछ होला ?
तर जिई रहेकै छन् उनीहरु
पटक पटक झस्किएर
पटक पटक तर्सिएर
स्थानको दूरीमा
फरक फरक परिस्थितिमा
फकाईको आस मात्र बोकेर मनमा
वसन्तको हावासँगै
नाच्दै आउँछन् पुतलीहरु
भुनभुनाउँदै आउँछन् भँमराहरु
भँमरा र पुतलीको लीला हेरेर
हरेक दिन टोलाइरहन्छे ऊ
उसलाई कस्तो होला भनेर बोलाइरहन्छे ऊ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here