बलात्कृत नारी

0
235

– दुर्गा पौडेल
नेपाल आमाकी कोपिला म
फक्रन खोज्दै थिएँ
ढकमक्क फुल्नेछु भन्ने सपना बुन्दै थिएँ
पूर्वमा सूर्यको लालिमा उदाउन नपाउँदै
चराहरूको बिहानीको आवाज गुन्जन नपाउँदै
धर्तीमा एउटा विस्फोट भए जस्तो लाग्यो ।
चारै दिशामा हाहाकार मच्चिए जस्तो लाग्यो
एउटा दुष्टले बज्र प्रहार गरे जस्तो लाग्यो
कतैबाट आएको एउटा दुष्टपापीले
मेरो अङ्गअङ्गमा आगो बल्ने गरी
पीडा दियो मलाई
निर्वस्त्र पारी बुटले कुल्च्यो मलाई
कति छटपटिएँ हुम्ला
कति तड्पिएँ हुम्ला
मेरो मनभरि
आँशुका कति भेल उठे होलान्
बाँच्ने अभिलाषा लिएर
कति लडे
कति गुहार मागेँ
मेरो मुख थुनिदिए
मेरा हातगोडा बाधिदिए
बोटी बोटी बनाएर काट्यो मलाई
के अपराध गरे मैले ?
नारी भई जन्मनु मेरो अपराध हो ?
पुरुष बराबर नारीको अधिकार हुन्छ भन्नु पाप हो ?
के नारीलाई बाच्ने अधिकार छैन ?
के नारीको कुनै इज्ज्त छैन?
यो पृथ्वी
यो धर्ती
यो आकाश
त्यो प्रकाश
तिनीहरूमाथि के नारीको पनि अधिकार छैन ?
मेरो दोष के थियो ?
किन मलाई गिद्धको झुण्ड आएर लुछ्दै खायौ ?
मेरो ढुकढुक गर्दै गरेको प्राणलाई
किन सदाका लागि बन्द गरिदियौ
मलाइ न्याय चाहियो
मेरा आँखाबाट झर्ने प्रत्येक थोपाले
न्यायको माग गरेको छ
मेरो शरीरबाट झरेर माटोमा फैलिएका प्रत्येक थोपाले
न्यायको प्रतीक्षा गरिरहेका छन् ।
तर तर….
अब केही बुझ्न थालेकी छु मैले
न्याय पाउनका लागि
शायद म आफै अगाडि बढ्नु पर्नेछ
शायद आफै लड्नु पर्नेछ
शायद त्यसपछि मात्र मैले न्याय पाउने छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here