बधशाला जाँदा आउँदा

0
252
–पारिजात
“ए हजुर ! यता सुन्नस् त…”
                  यसो फर्केर हेर्छु, आकृति परिचित हो र यस्ता परिचित आकृतिहरूलाई कहाँ कुन समय, कुन बेशभूषामा के भन्दै गरेको आदि छिटोभन्दा छिटो रफ्तार सोचिसक्ने विलक्षण प्रतिभा छ ममा, यो प्रतिभा म आफैसम्म मात्र सीमित छ ।
                   मलाई पछिल्तिरबाट अचानक बोलाउने त्यस आकृतिको सबै बुंदा थाहा भइसकेपछि म भन्न थाल्छु, “आजभन्दा  तीन वर्षअघि मैले तपाईलाई यही याममा यही मोडमा भेटेको थिएँ, आज अड्डा जाँदैछु, त्यतिखेर पनि तपाईले यही कोट लगाउनु भएको थियो । शायद मयलपोस शुरूवाल यो होइन, कोट अलिक खुइलिएछ तीन वर्षमा म यति खुइलिन्छ नै ।”
त्यसपछि आफूले पनि त्यो साक्षात्कारदेखि आजसम्म त्यही स्वेटर लगाएको र त्यही अनुपातमा खुइलिएको कुरालाई मनमनमा स्वीकार्दै, लुकाउँदै भन्न थाल्छु “ त्यस समय तपाई खाली खुट्टा हुनुहुन्थ्यो र आ ज चप्पलमा र म त्य समय चप्पलमा थिएँ र आज यो … अँ …. के भन्छ चाइनीज जुत्तामा छु । तपाईको अनुहारमा कुनै खास परिवर्तन आएको छैन र तीनै वर्षको  अन्तरालमा कुनै खास अनुहारमा कुनै खास परिवर्तन आएको छैन र तीनै वर्षको अन्तरालमा कुनै खास परिवर्तन   आउँदैन पनि । ममा पनि आएको छैन, हामी दुवैजना अलिकति  पुरानो छौं बस त्यति हो ।
ऊ अवाक भएर मलाई हेरिरहेका छ र उसको हेराइको भाव यस्तो अर्थात् मप्रति उसको उत्सुकता  क्रमश: मर्दैछ । अब म आफ्नो संस्मरणको अन्तअन्ततिर  आइपुगेको छु, “ त्यसदिन पनि तपाईले ‘ए हजार यता सुन्नस् त’ –बाट नै आप्नो सम्बोधन शुरू गर्नु भएको थियो । तपाईले भन्नु भएका कुराहरू मलाई अक्षरश: थाहा छ । तपाईले भन्नुभएको थियो, ‘मेरो नाउँ चन्द्रधर उपाध्याय, घर पूर्व कोशीपारी । शहरतिर यसो सामान किन्न भनी आएको थिएँ, बाटैमा भरिया हरायो हजुर । साथमा दुई चार पैसा सिद्धिहाल्यो । जतासुकै मासु भने पनि यसो हेर्न हुने घरको उपाध्याय बाहुन । हजुरहरू जस्तो भलाद्मीहरूले यसो दुई–चार रूपियाँ सहयोग गर्नु भयो भने घर फर्कौं भनेको । ’ त्यसपछि अनुहारमा करूणा भाव ल्याएर तपाईले भूईतिर हेर्नुभयो अनि मैले तपाईको विवशतालाई मूल्यांकन गर्दै खल्तीको झिकी पाँच रूपियाँ दिएको थिएँ ।”
मेरो संस्मरण सुनिसकेपछि ऊ पहिले जस्तो आँखा झुकाउँदैन वा निमेषभरीलाई आँखा जुधाउँछ र चप्पल लगाएको दाहिने खुट्टा बेसकन बजार्दै भन्छ, “तपाई पनि क्या वाहियात मान्छे रेछ ।”
हामी आफ्नो आफ्नो बाटो लाग्यौं । म सोच्न थाल्छु, यो त्यतिखेर ताजा पेशेवर थियो आज यसलाई काठमाडौंको हावाले जितिसकेछ । यस पेशाबाट कमाएको पैसाले ऊ आफ्नो लालाबाला पाल्छ कि मद्यपान गर्छ ? यसप्रश्नको भने मसँग उत्तर छैन । उसको पछि जासुस लाग्नु आवश्यक छ । पेशा त आजभोलि काठमाडौंमा …. कस्ता कस्ता छन् । कोटा, परमीट, पासपोर्ट, लेटरबक्स, टेलिफोन, नागरिक प्रमाणपत्र अनि अरू खतरनाक पेशाहरू  । अरू नसोचौं अहिले  मेरो पनि एउटा पेशा छ अर्थात् म छु ममाथि अर्को छ, त्यसमाथि अर्को त्यस्तै त्यस्तै विगत तीन वर्षभरीको मेरो जीवनक्रममा कुनै परिवर्तन आउको छैन । छोरोा तीन वर्ष पुगेको छ, रोगी छ सधै पहेंलो र ख्याउटे, स्वास्नी जागिर खान लायक छैन । डेरा जमाना हेरी सस्तै मान्नपर्छ कारण घर थोत्रो छ । घरपति काठमाडौं साबिक घरपतिहरू जस्तै । कहिलेकांही खुशी पारिदिनु पर्छ, बढी सहिदिनु पर्छ । तलब घर बहाल र रोगी छोरोको जोड घटाउको परिणाम मेरो खुइलिएको स्वेटर त्यो पेशेशवरको कोट जस्तै ।
प्राय: एक्लै हिंड्छु, बानी भनौं । यसरी एक्लै हिंड्दै कहिलेकांही म सम्भावित तर निकै डरलाग्दा कुराहरू सोच्ने गर्छु । यदि डाक्टरले तेरी छोरीलाई ब्लड क्यान्सर हुन्छ भनी दिए, म रातारात छोरीलाई विदेश पुर्‍याउन सक्दिन, जसरी यहाँका पहुँचवालाहरूले पुर्‍याउने गर्छन्, जसरी पहुँचवालाहरूले रगत साटेर आफ्ना छोराहरूलाई बचाउने गर्छन् मलाई पनि त्यसरी छोरा बचाउने चाहना हुन्छ । मायाको हिसाब एउटै हो । कहिले सोच्छु, मेरी स्वास्नी दोस्रोपल्ट भारी जिउको भएकी छे यदि डाक्टरले तेरी स्वास्नीको पाठेघरमा बच्चो अप्ठ्यारो किसिमले बसेको छ यहाँ उपचार हुन सक्दैन अन्त लैजाऊ भनिदिए ? म उसलाई रातारात पुर्‍याउन सक्दिन,  जसरी पहुँचवालाहरू सक्छन् । यहाँ पनि माया र चाहनाको हिसाब एउटै हो । म यसरी धेरैपल्ट आतंकित  भएको छु । मैले जीवनलाई उठ् जोगी फटकार छालाको  रूपमा लिन सकेको छैन । जीवनप्रति म लबस्तरो हुनै सक्दिन ।
यसरी म मनभित्र  थुप्रै शंका उपशंका पालेर आतंकित हुँदै  बाँचेको छु । यो मोडमा आएपछि आज बाध्य भएर म अर्को संसारमा दोहोर्‍याउन गइरहेछु । संस्मरण कुनै महत्वपूर्ण र सुखदायी पनि छै न। दुई वर्षअघि ठीक यही बाँसघारीनेर साँझ एकजना गरिब पहाडिया जस्तो देखिने मान्छेले अचानक मेरो बाटो छेक्यो र भन्यो, “मेरी सुत्केरी स्वास्नी विचेत छे त्यो बागमति पार्टीमा, ओढ्ने ओछ्याउने केही छैन लौन हजुर मर्दै होली मुखमा माड हाल्ने पैसा पनि छैन ।” त्यसपछि ऊ धोत्रे स्वरले रोएको थियो । उसको आँशु सक्कली थियो कि नक्कली के जानुँ, अति सम्भव ऊ पनि पेशावाल नै थियो । त्यसदिन मेरो खल्तीमात्र खल्ती थियो । कसैले छामेदेखि ऊ विसंगत नै हुन्थ्यो होला त्यसै हामीबीच लिनुदिनु केही भएन । विशेष त म उसको नाटकप्रति बढी सचेत पनि थिएँ । यो छोटो संस्मरण यहीं टुगिन्छ ।
अब मेरो अड्डा आइपुगिसकेको छ । यो अड्डा मेरो परिभाषामा म जस्ता मान्छेका भावनाहरूको वधशाला हो नभए पनि समय बिताउँदै बुढो हुँदै जाने यन्त्रशाला हो । यहाँ कुर्सीहरूको आफ्नो आफ्नो तह छ, अरू ठाउँ जस्तै र … मेरो पनि एउटा निश्चित कुर्सी छ दर्ता फाँटमा घुम्ने होइन भाँचिने सम्भावना भएको ।  कुनै समय म अलिक दुब्लाएको बेला म यस कुर्सीमाथि शारीरिक यातना खप्छु, जुन यातनालाई मेरो कामको व्यस्तताले एकरत्ति पनि भाँड्न सकेको हुँदैन ।
अति निरस, एकरस काम हो यो । हात बसिसकेपछि गाह्रो  भने छैन । यो विभाग नै यस्तो, यहाँ कुर्सीमा बसिसकेपपछि आफूलाई प्राकृतिक आवश्यकता नपरेसम्म उठ्न पाउँदैन । साथीको घडीमा हेर्छु साढे दश भइसकेछ । मेरो सामुन्ने फेरि उही अनुहार देखापर्छ । हो तीन दिनअघि त्यो यही निलो ट्रयाक सुटमा  आएको थियो र हातमा याक चुरोटको बट्टा यसरी नै समातेको थियो ।
अनावश्यक आत्मीयता देखाउँदै ऊ भन्छ, “अस्तिको काम भइसक्यो ?”
“अस्तिको काम त अस्ति नै भइसक्यो ”
“यो आज फेरि दर्ता गरिदिनुस् है”
“हवस्”
“यहाँबाट यो फाइल कहाँ जान्छ ?”
उसलाई मन मनमा खप्पीस नभइसकेको मान्छे ठान्दै म जवाफ दिन्छु, “उता”
मैले संकेत गरेको देब्रेतिरको कोठा हेर्दै ऊ सोध्छ, “त्यसपछि ?”
म फेरि आफ्नो शिरमाथि संकेत गर्दै भन्छु, “माथि”
“त्यो कागत त्यहाँ पुग्नालाई कति लाग्छ ?”
मलाई आफैभित्र कता–कता केही अस्तव्यस्त हुँदैछ जस्तो लाग्छ  त्यसैले केही झर्को  मानेर भनिदिन्छु, “घटीमा छ महिना”
तीन शब्दको मेरो प्रत्युत्तरले उसलाई निकै अत्याएछ क्यारे ऊ अचानक यस्तो काममा  हाँस्न पर्ने प्रचलित हाँसो हाँस्दै  भन्छ, “होइन अलिक चाँडो गरिदिनोस् न, धन्दा किन मान्नुहुन्छ, तपाई हाम्रो छँदैछ नि ।”
अब म दर्ता फाँटको कुर्सीवाल विशुद्ध मा न्छे भएर आफैबाट बाहिर निस्कन्छु र भनौं एक किसिमले विस्फोट नै भइदिन्छु, “तपाई हाम्रो  छँदैछ नि, के छ तपाई हाम्रो ? खोई के छ ? त्यो वाक्य यहाँ प्रयोग हुँदैन ज्यू, उता हुन्छ, माथि हुन्छ, यहाँ हुँदैन । नयाँ मान्छे जस्तो लाग्नु हुन्छ नि ।”
मेरो पड्काइले एकछिन त उसलाई विस्मित पार्छ । त्यसपछि मलाई केही थाहा हुँदैन । अघि निस्केको  विशुद्ध मान्छे म फेरि  दर्तावालको खोलभित्र पसिसकेको हुन्छु समय बित्छ थाहै नपाई, आखिर चारै बझ्नु न हो । बधशाला बाहिर निस्केपछि यसो खल्ती छाम्छु र शंका उपशंकाहरूले ग्रस्त हुँदै एकपल्ट घर सम्झन्छु । छोरालाई बदाम लैजाऊँ र रायोको साग…. ।
ठीक त्यति नै खेर पेटीमा उभिएको एक जोडा युवकलाई म गम्भीर कुराकानी गरिरहेको सुन्छु । मेरो कान त्यतै एकाग्र हुन्छ । सामान्य परिस्थितिमा दुवैजना एकसाथ त बोल्दैनन् त्यसैले एकजना, जो दुइमध्ये बढी व्यक्तित्वशाली देखिन्छ बोलिरहेको छ ।
“कुनै बस  कम्पनीको मालिक चिन्नु भएको छ ?”
“छैन”
“कुनै स्टाफ ?”
“अहँ”
“कुनै बस ड्राइभर पनि ?”
“ड्राइभर त खोजे चिनिएला”
त्यसो भए तपाई यसो गर्नुस्, बस पार्क जानुस् टिकटको दलाली गर्नुस् । केही गर्नुपर्दैन, टेक्निक ड्राइभर मार्फत सिकिहाल्नु हुन्छ । दिनको केही नभए पनि तीस रूपियाँ त कमाउन सक्नुहुन्छ ।
सुन्ने युवक केही सोचेर जुत्ताको नकले भुइँ कोट्याउँछ । बिना कुनै सार्थकताले प्रेरित म त्यो बोल्ने युवकसँग आफूलाई दाँज्न खोज्छु, दाँज्नै नपर्ने तर दाँज्छु । पहिरन, हावभावको बोलीचालीको छाँट केहीको पनि हामी दुईबीच सामञ्जस्य छैन कारण म निरपेक्ष गरिबीको रेखामुनि परेको मान्छे हुँ ममा त्यस्तो व्यक्तित्व हुनै सक्दैन । तथापि म आज आफ्नो मानिसकतामा दश प्रतिशत आश्वस्त छु । साग र बदाम बोकेर फर्कन लाग्दा मलाई एउटा युवक आकृतिको सम्झना आउँछ, जो तीनवर्षदेखि बेकार छ, ठाउँ–ठाउँ जानु र काम खोज्नु नै उसको पेशा भइसकेको छ । हप्ताको एकपल्ट ऊ म कहाँ आउने गर्छ र भन्छ, “लौ न मलाई पनि तान्नुस् न तपाईको शाखातिर ।”
मेरा शक्तिहीनताप्रति अचेत छैन ऊ तथापि ऊ मलाई झिज्याउँछ । उसको आकृतिको सम्झना नै आजभोलि मलाई एउटा थप मानसिक पीडा भएको छ ।
घरमा पुगेर चिया दिइसकेपछि परिचित पाराले ढोका उघ्रन्छ र परिचित आवाज आउँछ, “आइपुग्नु भयो दाई ?” म स्थिति सिर्जना गर्छु आफूलाई त्यस विशिष्ट युवकको नक्कल उतार्न तयार पार्छु, मलाई थाहा छ म गरिबको व्यक्तित्व कुनै विन्दुमा पनि त्यस युवकको व्यक्तित्वसँग मेल खाँदैन तथापि सोच्छु, नक्कलसम्मै न हो कोशिस गरौं ।
एकछिन सोचे जस्तो गरी म भन्छु, “कुनै बस कम्पनीको मालिक चिन्नु भएको छ ?”
“छैन”
“कुनै स्टाफ”
“अहँ”
“कुनै बस ड्राइभर पनि ?”
“ड्राइभर भने…यसो हेरौं”
“त्यसो भए तपाई यसो गर्नुस्, बसपार्क जानुस् टिकटको दलाली गर्नुस् । केही गर्नुपर्दैन ड्राइभर मार्फत सिकिहाल्नु हुन्छ । केही नभए पनि दिनको तीस रूपियाँ त कमाउन सक्नुहुन्छ ।”
कुन्नि के सोचेर हो ऊ एकछिन घोप्टो पर्‍यो । मैले कसलाई कसलाई आश्वस्त पारें यसप्रश्नको अघि म निर्वाक छु । म एकाएक सोच्न पुग्छु । म जस्तो निरपेक्ष गरिबीको रेखामुनि परेको व्यक्तित्वहीन बधशाला खप्ने मान्छे यहाँ कति छन् ? एकपल्ट कतारमा उभिन पाए हुने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here