‘बतासे नेताका बतासे नीति’ जनताले पाउलान् समृद्ध देश ?

0
391

गोबिन्द राज पोखरेल

गाउँमा कुखुराले अण्डा पारयो भने घरका मान्छेललाई थाहा हुन्छ त्यो अण्डा बतासे हो कि होइन भनेर । भाले नलागेको अण्डालाई बतासे अण्डा भनिन्छ । त्यस्तो अण्डाबाट चल्ला निस्कदैन तत्काल खानलाई त काम लाग्छ तर कुखुराको बृति बिकास हुँदैन । त्यसेले कुखुराको गुणबाट त्यस्तो अण्डा तुरुन्त हटाइन्छ । भाले लागेको अण्डामात्र गुणमा राखिन्छ । गुणमा राखिएको त्यस्ता अण्डाबाट कुखुरो ओथारो बसेको २१ दिन पछि मात्र कुखुराको चल्ला निस्कन्छ । यो कुखुराको बृति बिकास हुने प्राकृतिक अबस्था हो ।

मुलुकी संहिता ऐन २०७४ को दण्ड सजाएको महलमा भएको केही कुराहरुलाई सार्वजनिक सवारी चलाउने चालकहरुले ३ दिनसम्म यातायात सञ्चालन गरेनन । यातायातका साधन ठप्प भए । उक्त संहिताको बिरोध राज्यले मान्यता दिएको आधिकारिक मजदुर संगठन नभइ आन्दोलन गर्न कै लागी निर्माण भएको स्वतन्त्र चालक समुहको नाममा अबज्ञा आन्दोलनले एउटा रुप लिएको थियो । केहीले यसलाई बतासे संगठन भनेर पनि नामाकरण गरेका थिए । बतासे संगठनलाई यातायात व्यावसायीहरुले पनि सहयोग र साथ दिएका थिए फलतः सरकार त्यही संगठनसंग वार्ता गर्न झुक्यो उनका माग सम्बोधन गर्न बाध्य भयो । सोंच विचार नगरी ल्याइएका कानुन र कार्यान्वयनको लागी अगाडि सारिएका कानुनी प्राबधानहरु हरेक नागरिकले त आन्दोलन गर्न पाउँछ भने बतासे संगठनले गरेको आन्दोलनलाई अन्यथा भन्न पनि मिलेन ।
बाबुको पत्ता नलागेको छोराछोरीलाई पनि गाउँ घरको चलनमा बतासे भन्ने गरिन्छ । तुक नभएको कुरा कसैले गरयो भने त्यसलाई पनि बतासे भन्ने गरिन्छ । कर्मचारीहरुमा पनि त्यस्तै देखिन्छ । बिज्ञ र राम्रा व्यक्तिहरुलाई पछाडि पार्दै कमिसन र कार्टेलिंगमा पोखत कर्मचारीहरु नै बिज्ञ सुचिमा पर्दछन जसले बिज्ञ र दक्ष कर्मचारीहरुलाइ निर्देशित गर्दछन । यसरी वीचमा घुसाइएका र ल्याइएका राजनैतिक कार्यकर्ता बढी र राष्टसेवक कम भएका बतासे कर्मचारीले स्थायी सरकारको डोरो मेलो लगाउन सक्दैनन । बतासे कुखुरा, बतासे संगठन, बतासे छोराछोर , बतासे कर्मचारी केही उदाहरण मात्र हुन । यस प्रकारको बतासे सोंच, सिद्धान्त र विचारहरु बिबिध ढङ्गले अगाडि बढीरहेको छ । उनीहरुले कोरेका र नामाकरण गरिएका सबै सिद्धान्त, विचार र दर्शनहरु बर्तमान अबस्थामा बतासे रुपमा हावी भएर गएकोे छ । १० बर्षको जनयुद्ध पश्चात सामेल र इमान्दार कार्यकर्ताहरु हुन वा प्रजातन्त्रको लागी जीबनभर संघर्ष गरेका व्यक्तिहरुलाई पछाडि पारेर बतासे कार्यकता वीचैमा छिरेको अनुभुति यत्रतत्र गरेको देखिन्छ ।

अहिले मुलुकमा त्यस्तै अबस्था श्रृजना भएको छ । गणतन्त्र पश्चात स्थापित निति सिद्धान्त बतासे रुपमा अगाडि बढेको छ । ४ बर्षमा बन्नु पर्ने संबिधान १० बर्ष लाग्यो । पहिलो संबिधान सभाको नेतृत्व सबैले आलो पालो गरे । दोस्रो संबिधान सभाको निर्वाचन गर्न सबै नेताहरु बतासे बने । कुखुराको गुणबाट अण्डा झिके झै चुनाब गराउन नसक्ने कोटीमा परे र खिलराज रेग्मीलाई अगाडि ल्याए । सम्पन्न चुनाव पछि गठीत सभासदहरुले संबिधानबादको मुल मर्म नै बिर्सिदिए । संबिधानको निर्माण पछि नितीगत निर्णयहरु एक पछि अर्को गर्दै खुइलिएका छन । कसैमा बिधि पुग्दैन कतै सोंच पुग्दैन । बिज्ञ सभासदहरु असरल्ल परेका छन । आफुले बनाएको संबिधान आफैलाई कार्यान्वयन गर्न गाह्रो छ ।
यस्तो किन भयो ? प्रत्येक चुनाबमा पृथक पृथक चुनावी घोषणा जारी गरे । चुनाबै पिच्छे व्यक्तिगत रुपमा आफना कार्यक्रम बदले । चुनावी मैदान एक पछि अर्को गर्दै परिवर्तन गरे । आम जनतामा एक पछि अर्को गर्दै आश्वासन बाँडे । बाँडिएका कुनै पनि आश्वासन , घोषणा पुरा गर्न नपर्ने थिति बसाले । राजनीतिलाई सामाजिक अभियन्ताको रुपमा नहेरेर धन कमाउने पेशाको रुपमा अंगिकार गरे यो भन्दा अभिशाप के हुन सक्छ ?

“राजा एक ठाउँमा पुजिन्छ तर बिद्वान सबै ठाउँमा पुजिन्छन” भन्ने सर्बव्यापी सिद्धान्तलाई पनि यिनीहरुले पछयाउन सकेनन । सिंहदरवारमा गठन हुने प्रबुद्ध बर्ग मेरो पार्टीको हुनु पर्ने जगबसाले । योजना आयोग जस्तो गरिमामय संस्थालाई अर्थ मन्त्रालयको बजेट स्वीकृति गर्ने निकायको रुपमा खडा गरे । पार्टी भित्र प्रबुद्ध बर्गको संगठन नै छैन । नाम बुद्धिजिबीको दिइन्छ तर पार्टीका निश्चित व्यक्तिहरुलाई पद मिलान गर्ने संस्था हुन्छ । सामुहिक निर्णय हुँदैन एकल निर्णयमा अभ्यस्त हुन्छन । देशका प्रत्येक वडासम्म यिनका संगठन छन तर देशको जल्दो बल्दो समस्याको बारेमा तलैसम्म राय लिने र त्यसैको आधारमा निती बनाउनु पर्ने हो त्यो पनि यिनीहरुसंग भएको देखिदैन । बिदेशको सेमिनार गोष्ठीमा गएको बेला होस वा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाले इलिक , मिलिक , झिलिक गरेर देखाएको पावर पोइन्टलाई सर्बज्ञाता सम्झेर जबरजस्त रुपमा देशको नितिको रुपमा राख्ने गरिन्छ । मौलिक हक र त्यसको प्रयोग राज्यको मुल नितिको रुपमा रहनु पर्ने हो तर त्यसको कार्यान्वयन गर्ने सजिलो अफठयारोको बारेमा कुनै लेखा जोखा छैन । मुल कानुनमा लेख्दैमा सबै प्राप्त हुन्छ भन्ने दिवा सपना देखाइन्छ । आफु अनुकुल नभएका कुराहरुलाई राज्यसंयन्त्र प्रयोग गरेर त्यस्ताको उछितो काढने गरिन्छ । आलोचना सुन्नै सक्दैनन आलोचना गर्नेलाई बैरी सम्झन्छन । कानुनी राजको प्रत्याभुति भन्दा अराजकतालाई प्रश्रय दिइने गरिन्छ । खुवी पनि नहुने गुदी पनि नहुने यस्ता नेतालाई बतासे नभनेर के भन्ने ?

निरङकुशताका बिरुद्ध जन आन्दोलन भए । व्यबस्था परिबर्तनको लागी ससश्त्र युद्ध भए । फरक फरक समयमा धेरैले आफनो ज्यानको आहुति दिए । कहिले प्रजातन्त्रको नाममा कहिले गास बास कपासको नाममा धेरै जना बलि बेदीमा चढे । सबैका असहमतीका वीच सहमतिको दस्तावेज निर्माण गरे । जसलाई मुलुकको मुल कानुन भन्ने गरे । चाल , चलन , व्यबहार बिधि पद्दती भन्दा बाहिर गएमा आफनै प्रकारको व्याख्या गरे । उनीहरु आफैले बनाएको सहमतीमा बनाएको मुल कानुनको समेत अपव्याख्या गर्ने पद्दती खडा गर्दैछन । फरक दलको प्रतिनिधित्व हुन्छ भने पनि त्यसलाई स्वीकार्दैनन । चित्त नबुझने प्रमुख एबं पदाधिकारी माथि उनीहरुसंग भएको लठ्ठी बर्षाउँछन । नाङलो ठटाउँछन हात्ति तर्षाउँछन । शुशिला कार्की माथि दर्ज गरिएको महाअभियोग होस वा दीपक जोशी माथि गरिएको सुनुवाई , लेनिन बिष्ट हुन वा कुल प्रसाद कोइराला माथि गरिएको व्यबहार सबै रिस फेर्ने माध्यमको रुपमा राज्य संयन्त्र प्रयोग गर्ने निति बतासे नभनेर के भन्ने ? जीवन भर समाजवादी आन्दोलनको नाम पुकारेर आफुलाई अव्वल नेताको रुपमा दर्ज गरेका , तत्कालिन सरकारले कारागार चलान गरी जेल जीवन विताएको भन्ने प्रमाण पत्र हासिल गरेका धुपौरे राजनीतिमा अब्बल सम्झेका र त्यसैको प्रमाण पत्र धारीले आफुलाई सर्बज्ञान सम्पन्न भएको दलिल पेश गर्ने गर्दछन । यसरी पेश भएको प्रमाण पत्र नै देश विकाशको निति बनाउन खोज्दछन । समाज परिवर्तनको लागी आफनै चेला चपेटा अघि पछि लगाउने र त्यसैको तडक भडकमा रमाउने परिपाटी नै अव्वल मान्दैछन । समाज परिवर्तन गर्न हिंडेका आफनै दर्शन चिन्तन बिर्सेर अर्को ढङ्गले परिचालिते राजनैतिक नेतृत्वलाई बतासे नभनेर के भन्ने ? संबिधानमा लेखिएको समाजवाद उन्मुख शव्द कुन चाहिं दर्शन र चिन्तनबाट निर्देशित हो थाहै छैन । बर्तमान अबस्थामा लिएको आर्थिक निति समाजवादी हो वा आर्थिक उदारिकरण वा सरकारी , नीजि साझेदारी निति हो कसरी एकिन गर्ने हुन त्यो पनि थाहा छैन ।

प्रकृतिले श्रृजना गरेको अबस्थालाई बैज्ञानिकहरुले कुखुरामा पाइने सबै तत्व रहने गरी बर्तमान अबस्थामा हेचरी मेसिनको माध्यमबाट मासुको लागी मात्र हो वा अण्डाको लागी मात्र हो चल्ला निकाल्छन । यसले विकासका ढोका , रोजगारीका ढोका खुल्दै जान्छन । प्रकृतिले दिएका कुरालाई ज्ञान हासिल गरेर बिकासको फडको मार्ने नै मुलुकको प्रमुख लक्ष त्यही हो तर बतासे नेता भएसम्म बतासे निति हुने हो बतासे निति भएसम्म मुलुकले फडको मार्न सक्दैन बतासे नेताको हातमा मुलुकलाई सुम्पने हो वा बतासे अण्डा झिके जसरी झिक्ने हो हाम्रै हातमा छ । २०७५ ।०६। ०९

pokharel.govind@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here