फूलमायाको बयानमा हुरी

0
335

जयन्ती मगर सरगम

कविता

महोदय
टिपियोस् एकएक गरी मेरो बयान
यतिबेला महोदय सामु
यसरी उभ्याइँदा कठघरामा
मैले स्वीकार्नै पर्छ मेरो अपराध
म फूलमाया
वर्ष २४
जे बोल्ने छु, साँचो बोल्नेछु ।

छाउगोठमा बलिरहेको तर निभ्नै लागेको
टुकीजस्तै जिन्दगी,
आफ्नो अस्तित्व निभ्न नदिन
आफ्नै छातीले छोपेर बचाइरहेकी थिएँ
तर गोठसँगै जलाइएँ छिमेकी काकाको हातबाट
र त्यहीँबाट निस्केकी हुँ
स्वाभिमानको राप बोकेर

मेलापात गर्दै गर्दा
टालिएको चोलीमा आँखा गाड्ने
साहुबाको आँखा फुटाएँ
र, देख्न थालेँ आउँदो समृद्धिको सपना

साँझ–बिहान घर–वन, वन–घर
गरिरहने बाटो छेक्ने बिर्खेको
खुट्टा भाँचिदिएँ
र, बढाएकी हुँ पैतालाहरू गन्तव्यतिर
यसरी पटक–पटक लडिरहेँ
आफैं अस्तित्वको लडाइँ

तर, अहँ कहिल्यै पोखिनँ मनको घाउ
कुरीतिले ग्रसित बहिरो समाजसँग
कहिल्यै मागिन गुहार
आँखामा पट्टी बाँधेको
यो रतन्धो संविधानसँग

यदि गुहार मागेकै भए
–समाजसँग
–कानुनसँग
मागिन्थो मसँग सबुत
मेरो अस्तित्वको उडाइन्थ्यो खिल्ली
र, राखिन्थ्यो फेरि मलाई अग्निपरीक्षामा
समाजमा
र्‍याल चुहाउँदै गरेका काकाहरू विरुद्ध
गिद्धे नजर भएका साहुबाहरू विरुद्ध
बाटो ढुकिरहेका कुरूप डरलाग्दा छाया विरुद्ध
अस्तित्वको लडाइँ लड्ने दुस्साहस गरेकी हुँ ।

ज्यू ! महोदय तिम्रो
यो साँघुरो कानुनभित्रै बसेर
विस्फोट भएकी हुँ
अस्तित्वको लडाइँ लड्ने दुस्साहस गरेकी हुँ ।

सक्छौ भने फाँसी देऊ
होइन भने तयार होऊ
सिंगो मोर्चाको सामना गर्न
किनकि चुपचापको ताल्चा खुलिसकेको छ
तिम्रो अदालत बाहिर !

अन्नपूर्ण पोष्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here