फिडेल क्यास्त्रोको नेतृत्वमा क्युबामा कसरी समाजवाद टिक्न सक्यो ?

0
248

आफ्नै खुट्टामा उभिने नीतिकै कारण क्युवाको समाजवादी झण्डा आजसम्म फहरिरहेको हो ।

-प्रेम सुवाल

पार्टी र नेता इमानदार भए समानतासहितको सुन्दर समाज निर्माण हुन सकिने एक उदाहरणीय देश क्युवा हो । कोलम्बसले सन् १९४२ मा क्युवामा पाइला टेके र दैनिकीमा लेखे – ‘मानव जातिले देखेका टापुहरूमा सबैभन्दा सुन्दर टापू !’

क्युवाको क्रान्तिबारे चर्चा गर्दा फिडेल क्यास्ट्रो र क्युवाली वीरहरूको गाथा र लक्ष्य सम्झनुपर्दछ । फिडेल क्यास्ट्रो साम्राज्यवादविरोधी सङ्घर्षका एक योद्धा, स्वतन्त्रता र स्वाधीनताको लागि आन्दोलनरत संसारका जनताका एक प्रेरणा, न्याय र समानतामा आधारित समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत एक अथक लडाकू, सम्पन्न परिवारमा जन्मेर पनि कामदार वर्गको मुक्तिमा समर्पित नेता, सारा सम्पत्ति बेचेर देशको मुक्तिमा होमिनु भएका एक नायक, त्याग र बलिदानका एक नमुना हुनुहुन्छ । क्युवालीहरूको लक्ष्य समाजवाद या मुत्यु, हाम्रो पितृभूमि या मृत्यु, हाम्रो विजय हुने आदि हुन् । यी गाथा र लक्ष्य अनुकरणीय र प्रेरणादायी छन् ।

१६ औं शताब्दीको प्रारम्भमै क्युवामा स्पेनको एकछत्र उपनिवेश कायम भयो । दास बन्नुभन्दा मर्नु बेस ठानेर क्युवालीहरूले स्पेनको उपनिवेशको विरोधमा विद्रोह गरे । सन् १५३३ मा क्युवामा प्रथम दास विद्रोह भयो । सन् १५४८ मा तेस्रो दास विद्रोह भयो । सन् १७७६ मा बेलायती साम्राज्यवादबाट संरा अमेरिका स्वतन्त्र भयो र दक्षिण अमेरिकी महादेश पनि मुक्त भयो । पन्ध्रौं शताब्दीमा स्पेनले दक्षिण अमेरिकी महादेशमा फैलाएको साम्राज्य १९ औं शताब्दीको प्रारम्भमा ढल्दै गयो । सन् १८८३ मा क्युवामा पुनः स्पेनको साम्राज्य कायम भयो ।

सन् १८८६ मा क्युवामा झूठा दास प्रथा उन्मूलनको घोषणा भयो । नेपालमा पनि विसं २०५७ मा कमैया मुक्ति घोषणा गरियो । कमैयाहरूलाई जग्गाको जोताहा हकबाट बञ्चित गर्ने कमैया मुक्ति घोषणालाई नेपाल मजदुर किसान पार्टीले धोखा बताएको थियो । कमैयाहरू पुनः जमिनदारका घरमा फिर्ता भएबाट नेपालमा कमैया मुक्ति धोखा नै सावित भयो । यसबारे हाम्रो पार्टीले सडक र संसदमा पनि उठाएको हो ।

दास विद्रोहमा लागेकाहरूलाई स्पेनी साम्राज्यवादले एकजनामात्र विद्रोही बाँकी रहेसम्म मारिने घोषणा ग¥यो । क्युवाली स्वतन्त्रता सेनानीहरूले प्रत्येक घरमा चिहान खन्नु परे पनि हरहालतमा क्युवालाई स्वतन्त्र गरी छाड्ने सपथ खाए । क्युवाका ३५ लाख जनतामध्ये ५ लाख मारिए । स्पेनको उपनिवेशविरूद्ध उठेका देशभक्त क्रान्तिकारी क्युवाका सेनानायक जोसे मार्टी ४८ वर्षको उमेरमा सन् १८९५ मा मारिए । स्पेन युद्धबाट थाक्यो । तर संरा अमेरिकी साम्राज्यवादको गिद्धेदृष्टि क्युवामा प¥यो । सन् १८९८ मा अमेरिकी युद्धपोत हवानाको बन्दरगाहमा डुबाइयो र त्यसको आजसम्म पत्ता लागेको छैन ।

अमेरिकी संसदबाटै सन् १८९८ अप्रिलमा क्युवा एक स्वतन्त्र र स्वाधीन राज्य भएको र अमेरिकी जनता स्वतन्त्रता सङ्ग्राममा लडिरहेका क्युवाली जनताको साथमा रहेको घोषणा भयो । अमेरिकाले स्पेनविरूद्ध युद्धको घोषणा ग¥यो र युद्धमा स्पेन हा¥यो । डिसेम्बर १९९८ मा पेरिसमा अमेरिका र क्युवाको सम्झौता भयो र देखावटीरूपमा क्युवा स्वतन्त्र भएको घोषणा भयो । तर क्युवा अमेरिकाको नयाँ उपनिवेश बन्यो ।

विद्यालय र कलेज जीवनमै फिडेलले क्युवालगायत दक्षिण अमेरिकाको भूगोल, इतिहास र अन्य विषयको अध्ययन गर्नुभयो । हवाना विश्वविद्यालयमा पढ्दा उहाँले लेनिन र स्तालिनको  रचना अध्ययन गर्नुभयो । उहाँले आफ्नो प्रेरणाको स्रोत देशभक्त जोसे मार्टी बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्न आफ्नो सम्पत्ति बेचेर जहाज र हतियार खरिद गर्नुभयो । कानुनमा स्नातक गरेपछि उहाँ अधिवक्ता बन्नुभयो र क्युवाको जेलमा परेका राजनैतिक बन्दीहरूलाई रिहा गर्न मुद्दा लड्नुभयो । भारतीय विस्तारवादले नेपालको ७१ ठाउँमा गरेको सीमा अतिक्रमण र नेपाली भूमि डुवानमा पर्ने गरी बनाएका बाँध, तटबन्ध र सडकजस्तो बाँध भत्काउन नेपालका वकिलहरूले अन्तर्राष्ट्रिय अदालतमा उजुरी दिनु आवश्यक छ ।

सन् १९५२ मार्च २० मा संरा अमेरिकाको बलमा सैनिक विद्रोह गरी अमेरिकी कठपुतली फूल्जैनसिओ वातिस्ता क्युवाको सत्तामा पुगे । सन् १९५७ मा वातिस्ताको साथी अमेरिकी एडवार्ड टेलर स्मिथ क्युवाको राजदूतमा नियुक्त भए । उनका अर्का साथी अमेरिकी जुवाडे र डाँकु मेयर लान्स्की हवाना र अन्य सहरमा ठूला होटल र जुवाघर (क्यासिनो) का मालिक थिए । उनले आफ्नो आम्दानीको आधा रकम वातिस्तालाई दिन्थे ।

फिडेल राजनेताको साथै उच्चकोटीका कृषिविज्ञ हुनुहुन्थ्यो । उहाँले सोभियत सङ्घ विघटनपछि प्राङ्गारिक खेतीको विकास गरी देशलाई आत्मनिर्भर बनाउन सहरका युवालाई गाउँमा आकर्षित गर्नुभयो । सन् १९५९ जनवरी १ मा क्युवाको नेतृत्व गरेपछि नेता फिडेलले समाजवादी नीतिअनुरुप स्तरीय र निःशुल्क स्वास्थ्य र शिक्षा, गाँस, बास र कपडाको प्रत्याभूति गर्नुभयो । रङ्गभेद, जातिभेद, कुरीति उन्मूलन गर्नुभयो ।  सुसंस्कृत समाज निर्माण, सम्पत्तिको समान वितरण, समान अवसर, क्रान्तिकारी भूमिसुधार, निरक्षरता उन्मूलन गर्नुभयो भने घरभाडा ५० प्रतिशत घटाउने र टेलिफोन, सञ्चार, पानीमा अमेरिकी एकाधिकारको अन्त्य गर्नुभयो । उहाँले घर घरमा नोकर चाकर राख्ने प्रथा अन्त्य गर्नुभयो र वातावरण संरक्षण गर्न वृक्षारोपण तीव्र पार्नुभयो । उहाँले सन् १९६० जुलाईमा क्युवा–चीन सम्झौता व्यापार, सन् १९६१ मा क्युवा र चीन दौत्य सम्बन्ध, सन् १९६१ मा प्रजग कोरिया, उत्तर भियतनाम, अफ्रिकी महादेशको कंगोसँग कूटनीतिक र व्यापारीक सम्झौता गर्नुभयो ।

सन् १९६१ अप्रिल १५ मा फ्लोरिडामा शरण बसेका क्रान्तिविरोधीहरूले हवानामा आक्रमण गरेपछि त्यसको भोलिपल्ट सन् १९६१ अप्रिल १६ मा माक्र्सवादी–लेनिनवादी समाजवादी देश क्युवा घोषणा गर्नुभयो । सन् १९६२ अक्टोबर २८ मा सोभियत सङ्घका नेता ख्रुश्चेभले क्युवामा हतियार राखिएकोबारे संयुक्त राष्ट्र सङ्घको निरीक्षण गराउने केनेडीसँगको शर्तलाई नेता फिडेलले अस्वीकार गर्नुभयो । फिडेलले क्युवा विश्वको बुद्धिचालको गोटी बन्न चाहँदैन बरु सार्वभौमसत्ता सम्पन्न देश हो, हामी कसैको भूउपग्रह होइन भनी दृढ अडान राख्नुभयो ।

स्वतन्त्र विदेश नीति वा अन्तर्राष्ट्रिय राजनीतिको दृष्टिकोण भएका फिडेलले सन् १९५६ मा सोभियत कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले स्तालिनको विरोध गर्दै संसदीय बाटोबाट समाजवाद स्थापना गर्ने नीति पारित गरेकोमा उहाँले विरोध गर्नुभयो र सन् १९५७ को मस्कोमा भएको बैठकमा चीनले सोभियत सङ्घको संशोधनवादी बाटोको विरोध गर्नुभयो ।  नेपालमा सरकारमा गएका पार्टीहरू नेका, एमाले र माओवादी सार्वभौमिकताको कुरा गर्ने तर सन् १९५० लगायत असमान सन्धि खारेज होइन पुनरावलोकन गर्ने चुनावी घोषणापत्र तयार गर्छन् । असमान सन्धि खारेज नभएसम्म नेपाल सार्वभौम साँचो रुपमा हुनेछैन । नेकाले भारतीय एकाधिकार पूँजीलाई कोशी र गण्डक दियो, एमालेले टनकपुर समझदारीको विरोध ग¥यो तर महाकाली भारतलाई दियो, माओवादी केन्द्रले कर्णाली र अरुण भारतलाई दियो ।

रुसी संशोधनवादले बर्मेली र अरु देशका कम्युनिष्टलाई हतियार छोड्न र शान्तिपूर्ण उपायमा लाग्न हुकुम दियो । नेपालमा पनि सशस्त्र द्वन्द्वमा लागेका माओवादीलाई भारतीय विस्तारवादले नै सहयोग र आश्रय दियो । यो यथार्थ माओवादी नेताहरू प्रचण्ड र बाबुरामले नै स्वीकार गरेका हुन् भने भारतीय नेता प्रणव मुखर्जी र प्राध्यापक एसडी मुनीले खुलासा  गरेका छन् । यसरी माओवादी भारतको ट्रोजन हर्स सावित भयो ।

दक्षिण अमेरिकामा रुस समर्थक कम्युनिष्टहरू संसदीय बाटोमा अग्रसर भए तर नेता फिडेल सशस्त्र सङ्घर्षबाटै क्रान्ति चाहनुहुन्थ्यो । सन् १९६७ मार्च १३ मा फिडेलले भन्नुभयो, ‘सच्चा क्रान्तिकारी भावना नभएकाहरूलाई कम्युनिष्ट मान्न सकिंदैन । आफ्नो पखेटामा एउटा प्वाँखसम्म नभएकाले आफूलाई बाज भन्न सक्दैन । शान्तिपूर्ण तरिकाले सत्ता प्राप्त हुने सपना नदेखे हुन्छ ।’

फिडेलले सोभियत सङ्घसँग सहयोग लिनुभयो तर माक्र्सवादी सिद्धान्तलाई छोड्नु भएन र ठूलो राष्ट्र अहँकारवादसँग घुँडा टेक्नुभएन । आफ्नै खुट्टामा उभिने नीतिकै कारण क्युवाको समाजवादी झण्डा आजसम्म फहरिरहेको हो ।

सन् १९६६ जनवरीमा अफ्रो एसियाली र ल्याटिन अमेरिकी जनताको ऐक्यबद्धता सङ्गठनको सम्मेलनमा फिडेलले संसारको कुनै ठाउँमा हुने अमेरिकी साम्राज्यवादविरोधी क्रान्तिकारी आन्दोलनमा क्युवाको निःशर्त सहयोग हुने घोषणा गर्नुभयो । सन् १९६८ मा फिडेलले तेस्रो विश्वलाई दबाब राख्ने आणविक हतियार अप्रसार सन्धिमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभयो । सन् १९८५ मा हवानामा ऋणको समस्याबारे ५ वटा सम्मेलन भए । त्यसमा नेता फिडेलले पहिलो विश्वका बैङ्कहरू र सरकारहरूले तेस्रोे विश्वका मुलुकहरूलाई दिएको ऋणबाट ती देशहरू कहिल्यै मुक्त हुन नसक्ने चर्चा गर्दै ती बैङ्क र सरकारहरूले ऋणमाथि ऋण थप्दै जाने शोषणको विरोध गर्नुभयो ।

नेपालमा पनि एडीबीको ऋणमा मेलम्चीको पानी काठमाडौं ल्याइँदै छ । ऋणको सावाँ र ब्याजको मूल्य पानी खाने जनताले तिर्नुपर्नेछ । हाम्रो पार्टीले विदेशी लगानी र ऋणसँग विदेशी नीति र सेना आउने तथा देश नवउपनिवेश हुने विषय उठाउँदै आएको हो । तर सरकारहरू सचेत भएनन् । सन् १९९० मा निकारागुआमा संरा अमेरिकी समर्थक राष्ट्रिय विपक्षी सङ्घले चुनाव जित्यो । नेपालमा पनि अहिले साम्राज्यवाद र विस्तारवादका दलाल पाटीले धेरै स्थानमा जित्दै सरकार गठन गर्दैछन् । भारतीय साम्प्रदायिक सङ्गठन शिव सेनाबाट प्राप्त रु. ७ करोड र भूकम्प पीडितको लागि उठाएको करोडौं रकम चुनावमा आचारसंहिताविपरीत खर्च गरको पार्टी र उम्मेदवार जितेका छन् । यो राम्रो सङ्केत होइन ।

सोभियत सङ्घको विघटनपछि क्युवाको त्योसँगको व्यापार अन्त्य भयो । नेता फिडेलले पेट्रोलबाट चल्ने गाडीको ठाउँमा चीनबाट बाइसाइकल आयात गर्नुभयो । दाउरा बालेर खाना पकाउन सुरू गराउँदै ट्राक्टरको सट्टा हलो जोताइयो । उहाँले देशलाई आत्मनिर्भर बनाउनुभयो ।समाजवादी क्युवाको विरोधमा सन् १९६१ मा हवाना विमानस्थलमा आक्रमण, सन् १९८० मा केही क्युवालीहरू हवानाको पेरूको राजदूतावासमा शरण लिन पुगे र सन् १९९४ मा २–३ सय जना क्युवाली मियामीमा बस्न जाने माग राखे । ती सबै विद्रोहलाई कुनै क्षति नहुने गरी समधान गरियो ।

सन् २००१ मा फिडेलले संरा अमेरिकाबाट खाद्यान्न किन्ने प्रस्ताव राख्नुभयो तर अमेरिकाले दिएन । सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कको जुम्ल्याहा भवनमा हवाई आक्रमणको निन्दा गरी फिडेलले अमेरिकाप्रति मानवता देखाउनुभयो ।

आज क्युवा प्रजातन्त्र र मानव अधिकारको उत्कृष्ट नमुना भएको छ । संरा अमेरिकी निर्देशनमा नेता फिडेलको जम्मा ६३८ पटक हत्या प्रयास भयो । संयुक्त राष्ट्र सङ्घको महासभामा क्युवाविरूद्धको नाकाबन्दी हटाउन पटक–पटक प्रस्ताव पारित भयो । सन् २०१७ को नोभेम्बर १ मा पनि महासभाले दुईको विरूद्ध १९१ देशको मतसहित क्युवाविरूद्धको नाकाबन्दी हटाउनुपर्ने पक्षमा फैसला ग¥यो । यो मत २२ औं पटक हो । संरा अमेरिकी र इजरायलले मात्र नाकाबन्दीको समर्थन गरे ।

सोभियत सङ्घको विघटनपछि चिनियाँ विशेषताको समाजवाद, कोरियाली शैलीको समाजवाद र क्युवाको समाजवादको झण्डा फहराइरहेका छन् ।

सुवाल नेमकिपाका सचिव हुन् । यहाँ व्यक्त उनका नीजि विचार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here