फरीदावाद, २१ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समितिको १८ औं नगर सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको छ । केसीले उद्घाटन मन्तव्यमा एकता समाजको सबैभन्दा पुरानो नगर समिति फरीदावाद रहेको बताउनु भएको थियो । वहाँले भन्नु भयो– “भारत प्रवासमा एकता समाजको स्थापना भएको १५ दिन पछि गठन भएको यो नगर समितिले आज आफ्नो इतिहाँसिक १८ औं सम्मेलन सम्पन्न पार्न गइरहेकोमा सम्पूर्ण कार्यकर्ताहरुलाई बधाई तथा शुभकामना प्रकट गर्दछु ।” राष्ट्र र राष्ट्रियतामाथि खतरा मडारी रहेको परिवेशमा सम्पन्न यो नगर सम्मेलन अभियानको अत्यन्तै महत्व राख्ने बताउनु भयो ।
नगर अध्यक्ष वि. शंकर पराजुलीको अध्यक्षता र सचिव चन्द्र अधिकारीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य बासुदेव पोख्रेलले संगठनात्मक अनुशासन र वर्तमान राजनीतिक परिस्थितिको बारेमा मन्तव्य दिनु भएको थियो ।
मूल प्रवाहका केन्द्रीय सचिव ठाकुर खनाल, क्षेत्रीय अध्यक्ष लाल चन्द पंत र अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष अजय रेश्मीको आतिथ्यता रहेको थियो । लालचन्द पन्तले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । उद्घाटन समारोहमा उपस्थित प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरुलाई सुर्य बहादुर क्षेत्रीले स्वागत गर्नुभएको थियो ।