प्रारम्भिक कम्युनिष्ट शिक्षा

0
144
  • दुर्गानाथ खरेल

हामी बस्ने समाजमा दुई थरीका मान्छेहरु हुन्छन् । एक थरीले आफैले मेहनत गर्दछन् । मेहनतबाट आएको रकमले गुजारा चलाउँदछन् । तिनीहरुलाई परिश्रमी वर्ग भनिन्छ । अर्काे थरीका मान्छेहरु आफूले गरेको मेहनतबाट भन्दा अरुले गरेको मेहनतबाट आउने रकम लिएर उच्चस्तरको सुविधा र मोज–मज्जा लिने गर्दछन् । तिनीहरुलाई शोषक वर्ग भनिन्छ । किसान शोषित वर्गमा पर्दछन् र सामन्त शोषक वर्गमा पर्दछन् । त्यस्तै मजदूर वर्ग शोषित वर्गमा पर्दछन् र पूँजीपति शोषक वर्गमा पर्दछन् । चाहे शहर बजारमा होस् अथवा गाउँ घरमा होस्, हरेक ठाउँमा शोषक वर्ग र शोषित वर्ग पाइन्छन् । यी दुवै वर्गका आफ्ना–आफ्ना वर्गस्वार्थ हुन्छन् । परिश्रमी वर्गका मानिसहरु सधैं आफूले गरेको कामको सट्टामा आफ्नो आवश्यकता पूर्ति हुने गरी पैसा पाइयोस् भन्ने चाहन्छन् । शोषक वर्गले सधैं परिश्रम गर्नेलाई सकेसम्म थोरै पारिश्रमिक दिएर उनीहरुको मेहनतबाट आफूले धेरै आम्दानी गरेर उच्च सुविधा र धेरै व्यक्तिगत सम्पत्ति जम्मा गर्न चाहन्छन् । त्यसैले शोषक वर्ग र शोषित वर्गको वर्गस्वार्थ एक अर्कको स्वार्थको विरोधी हुन्छ । किन भने परिश्रमी वर्गले बढी सुविधा पाउने हो भने शोषक वर्गले बढी सुविधा र धेरै व्यक्तिगत सम्पत्ति जम्मा गर्न पाउन्न । फेरि शोषक वर्गले बढी सुविधा र व्यक्तिगत सम्पत्ति थुपार्नको लागि शोषित वर्गबाट बढी आम्दानी आफ्नो हात नपार्ने हो भने त्यो पनि सम्भव छैन ।

आफ्नो वर्ग स्वार्थ पूरा गर्न जुन बाटो तयार गरिन्छ, त्यसैलाई राजनीति भनिन्छ । राजनीति गर्नुको उद्देश्य राज्य सत्तामा आफ्नो वर्गको कब्जा जमाएर विरोधी वर्ग माथि शासन चलाउने हो । जुन वर्गले आफ्नो राजनैतिक सत्ता कायम गर्छ उसैको वर्ग स्वार्थ पूरा हुन्छ । आजकल हाम्रो देशमा शोषक वर्गको राजनैतिक सत्ता कायम छ । त्यसै कारण गाउँ र शहर सबै ठाउँमा शोषक वर्गको स्वार्थ मात्रै पूरा भैरहेको छ । मिहेनत गर्ने मान्छेहरु सर्वत्र हैरानीको जिन्दगी बिताई रहेका छन् । किनभने एक समयमा एउटै मात्र वर्गस्वार्थ पूरा हुन सक्छ । दुवै वर्गको वर्गस्वार्थ एकै साथ पूरा हुन सक्दैन । शोषक वर्गले युगौं युग देखि आफ्नो राजनैतिक सत्ता ओगटेको छ । युग बदलिदै गए शोषक वर्गका रुप बदलिदै गए, शोषण बदलिएन । जस्तो पहिलो हुन्थ्यो आज पनि उस्तै भैरहेको छ । दास व्यवस्थाबाट पूँजीवादी व्यवस्थासम्म आइपुग्दा पनि शोषणकारुप मात्र बदलिए तर शोषण बदलिएन ।

मानव समाजको शुरुमा मानिसहरु जमातमा रहन्थे । त्यो जमात रक्त सम्बन्धको आधारमा बन्दथ्यो । जमीन, जंगल, पानी, जहाँबाट भोजन जम्मा भए पनि ती सबै कुरा माथि सबैको अधिकार हुन्थ्यो । जसले सिकार फलफूल, कन्दमूल ल्याएपनि सबै मिलेर खान्थे । सबै मिलेरसंगै बस्ने गर्दथे । मानिसले विस्तारै विस्तारै जीवनसंग सम्बन्धित चीजहरु पत्ता लगाउँदै गयो । पशुपंक्षीहरुलाई पाल्न र जमिन जोतेर त्यसमा बालि विरुवा लगाउन सिक्यो । उसलाई विभिन्न ठाउँमा घुमिरहन जरुरी पनि भएन । आफ्ना आवश्यकताहरु एक निश्चित ठाउँमा बसेर नै पूरा गर्नसक्ने भयो । बस्नको लागि मान्छेले घर पनि बनाउन थाल्यो । विस्तारै–विस्तारै गाउँ पनि बसाउन थाले । जुन व्यक्तिले जुन काम राम्रोसंग गर्दथ्यो त्यसलाई त्यही काम गर्ने जिम्मेवारी दिइन्थ्यो । कसैले पशुपालन, कसैले खेतिपाती र कसैले दस्तकारीको काम गर्न थाले । यसप्रकार श्रमको विभाजन शुरु भयो । एक कविलाले जब कुनै चीज पैदा गर्दथ्यो, उसले उपभोग गरेर बाँकी रहेको त्यो चीज अर्काे कविलाको बाँकी रहेको चीजसंग साटासाट गर्दथ्यो । त्यही साटासाटलाई विनीमय भनिन्थ्यो । त्यसबेला पैदा हुने सबै चीजहरुलाई मानिसहरु आपसमा प्राप्त गर्दथे । यो आदिम साम्यवादी व्यवस्था थियो ।

विस्तारै–विस्तारै जनसंख्या पनि बढ्यो र उब्जनी पनि बढ्यो । हरेक चीज माथि हरेक व्यक्तिको अधिकार असम्भव हुन थाल्यो । चिजवीजहरु माथि निजी मालिकको भावना पैदा हुन थाल्यो । कविलाहरुमा पनि अगुवाहरु हुन थाले अगुवाले अह्राए पछि सबै काम हुन थाल्यो । सबै कुराको फैसला गर्ने अगुवाहरु नै हुन थाले । उसले आफ्नो इच्छा अनुसार काम गर्ने कोशिस गर्दथ्यो । तब उ नै सबै कुराको मालिक हुन थाल्यो । सबै कुराको रेख–देख उसैले गर्न थाल्यो । अरु सबै मान्छेले अगुवाले अह्राएको काम गर्ने गर्न थाले । अगुवाले जे जति दिथ्यो, त्यसैमा उनीहरुले चित्त बुझाउन पर्दथ्यो । यहीबाट वर्गको उदय भएको थियो । अगुवा र उनका आफ्ना मान्छेहरुले अथवा अगुवा वर्गले जंगल, जमिन, पानी, जनावर तथा तिनीहरुबाट उत्पादन गर्ने चीजहरु हतियार, औजार, आदि माथि आफ्नो पूर्ण अधिकार देखाउदै आएका थिए । उनीहरु मालिकवर्ग बने । अह्राएको काम मात्र गर्ने र जे जति दिइन्थ्यो त्यसैमा गुजारा गर्ने मान्छेहरु सम्पत्तिहीन वर्ग बने । गुजारा चलाउन मालिकबाट बाँकी लिएर तिर्न नसक्नेहरु क्रमश: दास बन्दै गए । लडाई लडेर हार्नेहरु पनि दास बनेर बाच्न पाउने व्यवस्था गरियो । मालिकहरु दासहरुमाथि आफ्नो नियम कानून फौज, जेल, कर्मचारी खडा गेरर सत्ता जमाउन शुरु गरे । यो काम गर्नको लागि पुरेत बनाउन थालियो । पुरेतहरु सर्वसाधारण जनताका बीचमा मालिक वर्गलाई ईश्वरीय शक्तिले पठाएको प्रचार गर्न थाले । उनीहरुकै आज्ञा मानेर चल्ने पुरेतले बाँकी जनतालाई मालिकको कुरालाई ईश्वरीय कुरा भनेर भन्न थाले । मालिकहरुले आफ्नो सम्पत्तिको हिफाजतको लागि र दासहरुलाई दबाउनको लागि विभिन्न किसिमका उपायहरु निकाल्दै प्रयोग गर्दै गर्न थाले । दमनका लागि सेना र हतियार बढाउदै पनि लगियो । यसरी नै राज्य सत्ता बलियो बनाउदै लगियो । यो दास व्यवस्था थियो । यसमा मुख्य उत्पादक शक्ति दासहरु थिए । उनीहरु पनि मालिकका सम्पत्ति नै थिए ।

दास व्यवस्थाको गर्भबाट सामन्ती व्यवस्था पैदा भयो । पुरानो तरिकाले दासहरुलाई उपभोग गरिरहन मालिकहरुको लागि सम्भव नभएपछि सामन्ति व्यवस्था दास मालिकहरुले शुरु गरेका हुन् । दासहरुले पुरानो ढाँचामा काम गरिरहन असमर्थता जनाए । उनीहरुले ठूला–ठूला आन्दोलन र विद्रोहहरु गरे । उनीहरुको विद्रोहले दास व्यवस्था टिक्न नसके पनि उनीहरुको राजनैतिक कार्यक्रम आफ्नो नभएको हुनाले मालिक वर्गले सहुलियत स्वरुप उनीहरुलाई जमिनका स–साना टुक्रा दिन थाले । त्यही टुक्रालाई खनजोत गर्ने र बालि उब्जाएर खाइ गुजारा चलाउँथे । त्यसको सट्टामा जमिन्दारको जग्गामा उनीहरुले सित्तैमा काम पनि गर्न पर्दथ्यो । जमिनका मालिक सामन्त हुन्थे र खेति गर्ने किसान हुन्थ्ये । किसानले खास आफ्नो जिन्दगीसंग सम्बन्धित कुनै काम गर्नुपर्दा सामन्तसंग अनुमति लिन जरुरी थियो । त्यस समयमा चिजहरुको साटासाट गर्ने मानिसलाई व्यापारी भनिन्थ्यो । व्यापारीहरुले साना–साना मेसिन चलाएर विस्तारै–विस्तारै उद्योग धन्दा शुरु गरे । यी मेसिनहरुका ठाउँमा बिस्तारै–बिस्तारै ठूला–ठूला कारखाना उभिए । ती उद्योगपतिले गाउँबाट आफ्ना समर्थकहरुलाई शहरमा झिकाएर तालिम र सुविधा दिंदै उद्योग चलाउन थाले । सामन्तका नियम कानूनले उद्योग व्यापारमा बाधा खडा गरेको हुनाले आफ्ना कामदार (मजदूर)को नेतृत्व आफैले गरेर सामन्तका विरुद्ध आक्रमण गरेर राज्य सत्ता कब्जा गरेर मजदूरको शोषण गर्न लागे । यसरी सामन्ति व्यवस्थाको गर्भबाट पूँजीवादी व्यवस्थाको जन्म भएको हो । कारखानाका केन्द्रहरु नै शहर बने । यी शहरहरुमा धनसम्पत्तिको खेलो भयो । व्यक्तिगत सम्पत्ति नभएकाहरु र कारखानामा काम गर्नेहरु सर्वहारा वर्ग भए । तिनीहरुलाई मजदूर वर्ग भनिन्छ । कारखानामा मालिकहरुलाई पूँजीपति वर्ग भनिन्छ । सर्वहारासंग केवल आफ्ना हातपाखुराको मात्र साहारा हुन्छ उद्योगमा काम गरेर नै आफ्नो गुजारा चलाउन पर्दछ ।

वर्ग त्यतिखेर पैदा भयो जब सम्पत्ति माथि निजी मालिकत्व पैदा भयो । शोषक वर्गले सधै शोषित वर्गको परिश्रम माथि नै ऐस आरामको महल खडा गर्‍यो । धेरै युग बदलिएर गए तर श्रमजीवीहरुलाई लुट्ने काम कहिल्यै बन्द भएन । यसको कारण शोषक वर्गको राजनैतिक सत्ताको ढाँचामा एउटा शोषक मर्‍यो त अर्काे आयो । लुट भई रह्यो । दुई वटै वर्गहरुको वर्ग स्वार्थ एक अर्काेमा पकड बलियो गरी जोगाएर राख्नु आवश्यक हुन्छ । श्रमजीवी वर्ग यस कुरामा पछि परेको छ । श्रमजीवी शोषित वर्गले पनि आफ्नो राजनीतिलाई जोगाएर अगाडि बढाउनु पर्छ । वर्ग स्वार्थ त हरेक समयमा एक अर्कासंग टक्कर खाइ रहन्छ । आ–आफ्नो वर्ग स्वार्थका लागि दुवै वर्गले आ–आफ्ना हात खुट्टा दिल दिमाग दौडाइ रहन्छ । यसैलाई वर्ग संघर्ष भनिन्छ ।

कम्युनिष्ट समाजमा शोषित या श्रमजीवी जनताको वर्ग स्वार्थ पूरा हुन सक्ने छ । अरु कुनै समाजमा पनि सम्भव छैन । यसकारण कम्युनिष्ट समाज बनाउने जिम्मेवारी शोषित वर्ग कै हो । कम्युनिष्ट समाजमा काम गर्नका लागि शोषक वर्गको मानिसहरु आउने छैनन् । कम्युनिष्ट समाजमा काम गर्नु श्रमजीवी जनताको राजनैतिक उद्देश्य हो कार्लमाक्र्सले पहिलो पटक दुनियाँका अन्य हरेक चीजमा जस्तै मानव समाजमा पनि विकास र परिवर्तन भै रहन्छ भन्नु भएको थियो । वर्तमान समाजमा पनि परिवर्तन हुने छ । परिवर्तन त्यस बेलासम्म भै रहन्छ जब सम्म समाजमा वर्गहरु रहनेछन् । विरोधी वर्गहरुको बीच संघर्ष भैरहन्छ । त्यसले नै समाजमा विकास र परिवर्तन ल्याउँछ । कम्युनिष्ट समाज स्थापना हुनु वास्तविकता हो । कम्युनिष्टहरुको शीप दक्षता जनताप्रतिको उत्तरदायित्व र नेतृत्वको योग्यता र कला आदि सबैका कारणले ढिलो या छिटो हुन मात्र सक्ने छ । आज शोषण र लुटमा टिकेको पूँजीवादी समाज छ । यसमा परिवर्तन आयो भने शोषण र लुट विनाको समाज बन्ने छ । शोषण र लुट खतम हुने छ । शोषक वर्गको विकासको गतिलाई रोक्ने भएकोले उसलाई प्रतिक्रियावादी भनिन्छ । जसले विकासको गतिलाई अगाडि बढाउँछ उसलाई प्रगतिशील भनिन्छ । जसले समाजको आमूल परिवर्तन गर्ने उद्देश्य राखेर परिवर्तनमा मद्दत पुर्‍याउँछ उसलाई क्रान्तिकारी भनिन्छ ।

सन् १८४८ मा कार्ल माक्र्स र उहाँका अभिन्न साथी ऐंगेल्स मिलेर कम्युनिष्ट घोषणाा पत्र तैयार पार्नु भयो । यही घोषणापत्र मजदूर वर्गको राजनीतिको आधार हो । माक्र्सवाद नै परिश्रमी वर्गको राजनीति हो । श्रमजीवी शोषित वर्ग माक्र्सवादले सुसज्जित भयो भने आफ्नो शत्रु वर्गको वर्ग स्वार्थलाई ध्वस्त पार्न सक्ने छ । कम्युनिष्ट समाज स्थापना र संचालन गर्न सक्ने छ । श्रमजीवी व्यक्तिमा वर्ग संघर्षको भावनाको विकास भएर वर्ग स्वार्थलाई चिन्ने गरी विकास भयो भने त्यसलाई वर्ग चेतना भनिन्छ । शोषक या पूँजीजिवी वर्गले आफ्नो वर्ग स्वार्थलाई छोड्न तैयार हँुदैन । सही फैसला दुवै वर्ग बीच हुने वर्ग संघर्ष बाटै हुन्छ । एक युगबाट अर्को युगमा हुने परिवर्तन वर्ग संघर्षकै नतिजा हो । वर्ग संघर्षको अन्तिम फैसला अहिलेसम्म भएको छैन । राजनैतिक हतियारको कमीले गर्दा हाल सम्मका वर्ग संघर्षहरुको उपयोग एउटा शोषक वर्गले अर्काे शोषक वर्गको विरुद्ध आफूलाई गद्धिमा बसाउनमा नै गर्‍यो । शोषक वर्गको आर्शिवादले पालिने इतिहासकारहरुले उनीहरुको वीरता र उदारताको गीत नगाउने, इतिहास नलेख्ने हो भने श्रमजीवी जनतामा रीस र घृणा पैदा हुन्छ । वर्ग संघर्षको अखाडामा श्रमजीवी जनताको मनोबल कमजोर बनाउनको लागि त्यस्तो इतिहास कोरिने गर्दछ । वीरताका गाथाको बयान गरिने गरिन्छ । वर्गीय शत्रुसंग जति बढी घृणा हुनेछ उसंग लड्ने भावना त्यतिकै प्रबल हुने छ । धर्म भाग्य र पुर्नजन्मका कुरा शोषक वर्गले आफू विजयी बन्नको लागि रचना गरेका हुन् । यी सबैले आफ्नो गरीबीसंग संघर्ष गर्न होइन, सम्झौता गर्न सिकाउँछन् ।

आजका कर्मचारी, फौजी, जेल कानून, अदालत आदि सबै राज्य सत्ताका कल पुर्जा हुन् । यी सबैले श्रमजीवी जनतालाई आपसमा लडाउने गर्छन् । श्रमजीवी जनताका विद्रोही भावनाहरुलाई शोषक पूँजीजिवी वर्गको विरुद्ध संगठीत भै उठन् नदिने काममा उपयोग हुन्छन् । श्रमजीवी जनताले आफ्नो क्रान्तिकारी पार्टीमा भरोसा गर्नुपर्छ । प्रतिक्रियावादी हिंसाको मुकाविला आफ्नो क्रान्तिकारी हिंसा द्वारा हुनु पर्दछ । शोषक वर्गको बन्दुकको भरमा टिकेको राज्यसत्तालाई बन्दुकको बलले नै हटाउन सकिन्छ । राज्यसत्ता परिवर्तन गर्ने र समाज परिवर्तन गर्ने एउटै कुरा होइन । बन्दुकको बलले राज्यसत्ता परिवर्तन गर्न सकिए पनि समाज परिवर्तन गर्न चेतनाको विकास गर्नु पर्छ ।

उत्पादन सामुहिक प्रयत्नबाट हुने तर वितरण व्यक्तिगत मालिकत्वको आधारमा गर्ने कारणले गर्दा नै शोषणको लागि प्रसस्त ठाउँ भएको हो । त्यसैले श्रमजीवी जनता आफैले शासनसत्ताको स्थापना र संचालनमा भाग लिनको लागि योग्यता अनुसारको काम र काम अनुसारको दामको व्यवहारिक प्रयोग गर्नु पर्छ । काम गर्नेको आधारभूत आवश्यकता पूरा हुने ग्यारेन्टी हुनु पर्छ । जसले श्रमजीवी जनताको हित गर्ने काममा जति उच्च स्तरको योग्यता लगाउँछ उसको जीवनस्तर त्यति नै उच्च स्तरको हुनु पर्दछ । पूँजीलगाएँ भन्दैमा श्रमजीवी जनतालाई शोषण गर्न पाउनु हुन्न । पूँजी सामुहिक श्रमबाट उत्पादन हुने हुनाले व्यक्तिगत पूजीपति बन्नु हुन्न । त्यसैको लागि सचेत र संगठीत हुनु पर्दछ । समाजका सबै व्यक्ति बुद्धिजीवी बन्नु पर्छ र सबै बुद्धिजीवीहरुले शारिरीक श्रम गर्न इन्कार गर्न हुन्न । त्यसो गर्न र गराउनमानै हाम्रो ध्यान केन्द्रीत गर्नु पर्छ । त्यसो भयो भने मात्रै मान्छे मान्छे बीचको शोषण र भेदभाव मेटिने छ । सबै मान्छे बीच माया प्रेम र सद्भाव कायम हुनेछ । प्रकृतिसंग मात्रै संघर्ष तिब्र भै मान्छेका आवश्यकताहरु पूर्ति गर्न कुनै समस्या पर्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here