प्रवासी नेपालीहरुको नेपाल फिर्ता : सम्भावना र चुनौती

0
224

(बागलुङ सेवा समाज युएईको आयोजनामा २०१८ मार्च १६ मा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रस्तुत आधार पत्र)

राजेन्द्र ढुङ्गाना
१. नेपालीहरु आफ्नो देश छाडेर नोकरी–पेशा, व्यवसाय, अध्ययन, भ्रमणका लागि कहिलेदेखि अर्को देशमा जान थाले ? निश्चय नै यो एउटा खोज र अध्ययनको विषय हो, तैपनि नेपालको तराई–मधेश क्षेत्रमा घना जङ्गल, मलेरियाको समस्या, ब्रिटिस शासित भारतले नेपालसँग राम्रोसित यातायात सम्बन्ध विकास गरी नसकेको अवस्थामा नेपालीहरुको बढी सम्बन्ध तिब्बतसित हुन्थ्यो भन्ने कुरा बुढापुरानाहरुले महिनौँदिन लगाएर भोटतिर नुन खरिद गर्न गएको कहानीबाट थाहा पाउन सकिन्छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेखेको चर्चित खण्डकाव्य “मुनामदन” ले नेपालीहरुको तिब्बततिर रोजगारी खोज्न जाने सामाजिक यथार्थतालाई बुझ्न मद्दत गर्दछ । युगौँयुग पहिलेदेखि तिब्बत र नेपालका बीचमा व्यापारिक कारोबार हुँदै आएको थियो । ब्रिटिसले भारतमा औपनिवेशिक शासन चलाई रहेका बेला कालिङपोङको बाटो व्यापारिक नाका खोल्यो र ब्रिटिसहरुले तिब्बतसित व्यापार गर्न थालेपछि तिब्बती र नेपालीहरुका बीचमा हुने व्यापार ह्वात्तै घट्यो । त्यसपछि तिब्बतसित भन्दा पनि भारततिरको सम्बन्ध ज्यादा हुन थाल्यो । दक्षिणतिरको भौगोलिक सहजता र यातायातको विकासका कारण नेपालीहरुको उत्तरतिरको सम्बन्ध पातलिदै र दक्षिणतिरको सम्बन्ध बाक्लो (गाढा) हुँदै गयो । नेपालीहरु नुन खरिद गर्न भोट जानु परेन । जागिर खोज्न पनि दक्षिणतिरै लागे ।

२. सन् १८१४–१६ मा नेपाल र ब्रिटिसका बीचमा युद्ध भएको थियो । ब्रिटिसहरुले नेपालीहरुको युद्ध कौशल, अनुशासन, परिश्रमी स्वभावलाई चिनेका थिए । खास गरी युद्धमा पराजित भएका तीन हजार गोर्खा युद्धबन्दीहरुलाई गोर्खा पल्टन बनाई उनीहरुले आफ्नो सेनाको काममा लगाउन सुरु गरेका थिए । नेपाल र ब्रिटिसका बीचमा १८१६ को सुगौली सन्धिपछि पनि गोर्खा पल्टन कायम राख्ने र नेपालीहरुलाई भर्ती गर्ने क्रम जारी रह्यो । १९४७ मा ब्रिटिसले भारत छोडेर गए पनि ब्रिटिस र भारतमा गोर्खाली पल्टन राख्ने कार्य कायम रह्यो । १८१६ को सुगौली सन्धिपछि गोर्खा भर्ती नेपालका लागि रेमिट्यान्स (विप्रेसण) को महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ । ब्रिटिस कालीन भारतमा गोर्खा पल्टनमा भर्ती भएका नेपालीहरुलाई तालिम दिने ठाउँ हाल पाकिस्तानको लाहोर थियो । भर्ती भएका सबैलाई लाहुरे भन्न थालियो । जुनसुकै देशमा भर्ती भएकालाई पनि लाहुरे भन्न थालियो । त्यसरी नेपालमा लाहुरे संस्कृतिको विकास भयो ।

३. देश छाडेर विदेशमा गई धन कमाउनु समाजमा एउटा इज्जतको विषय बन्यो । “लाहुरे” बन्नु प्रतिष्ठाको चिज भयो । नेपाली समाजमा हुर्किएको लाहुरे संस्कृतिले नेपालीहरुको घर खर्च चलाउनु, आफ्ना पारिवारिक दु:ख घटाउन, निजी जीवनलाई सञ्चालन गर्न केही हदसम्म सजिलो त बनायो । तर स्वदेशमै केही गर्नु पर्छ, हाम्रो सिप र पसिनालाई आफ्नै धर्तीमा पोखेर हामी आत्मनिर्भर बन्नु पर्दछ र हाम्रो देशलाई आत्मनिर्भर बनाउनु पर्दछ भन्ने भावना अत्यन्त कमजोर भयो । परिणामत: हाम्रो देश सधैँ परनिर्भर बन्न पुग्यो । यसमा दु:खी गरिब जनताको खासै दोष छैन । नीति निर्माण गर्ने शासकहरु नै यसका मुख्य दोषी हुन् । आफ्ना देशका जनतालाई विदेश पठाएर आफूले नेपालमा शासन गर्न सजिलो ठान्ने नेपाली राजनीतिज्ञ र शासकहरु यसका दोषी हुन् ।

४. सकभर पल्टनमा भर्ती हुने, त्यसो हुन नसके कारखाना, होटेल, सडक, कोठी जहाँ पनि कर्मचारी, मजदुरी, चौकिदारी गर्ने, त्यस प्रकारको लाहुरे संस्कृति नेपाली समाजमा व्याप्त बन्यो, जो अहिले पनि कायमै छ । लामो समयसम्म भारत त्यसका लागि मुख्य गन्तव्य थियो । २०४६ को राजनीतिक परिवर्तनभन्दा पहिले पनि नेपालीहरु मजदुरीका लागि खाडी मुलुकमा जान थालेका थिए । खास गरी २०४६ को राजनीतिक परिवर्तनपछि सरकारको पनि धेरैभन्दा धेरै नेपालीहरुलाई विदेश पठाउने नीति बन्यो र खाडीतिर जानेहरुको सङ्ख्या ह्वात्तै बढ्यो । दश वर्ष द्वन्द्वकालमा त विदेश जानेको सङ्ख्यामा कैयौँ गुणा वृद्धि भयो । अहिले पनि करिब एक हजारको सङ्ख्यामा प्रत्येक दिन नेपालीहरु खाडी मुलुकतिर मजदुरीका लागि उड्ने गर्दछन् । पछिल्लो समयमा ठुलो रकम जुटाउन सक्नेहरु रोजगारी, विद्यार्थी भिसा प्रयोग गरेर, टुरिस्ट भिसा प्रयोग गरेर युरोप, जापान, अमेरिकातिर जानेको सङ्ख्या पनि बढ्दो छ । विभिन्न कामविशेषले नेपालीहरु झण्डै १३० देशका कानुनी वा गैर कानुनी हिसाबले पुगेका छन् भन्ने अनुमान गरिन्छ ।

५. प्रवासन (देश छाडेर विदेश जाने) आजको युगको विश्वव्यापी आयाम हो । गरी खाने जमिनको अभाव, रोजगारीको अवसरको खोजी, स्वदेशमा भन्दा विदेशमा धेरै ज्याला पाइने आशा, द्वन्द्वयुद्ध आदिबाट बच्न, नयाँ नयाँ ठाउँमा पेशा–व्यवसाय सञ्चालन, अध्ययन अनुसन्धान, जीवन बिताउन सजिलो ठाउँमा बसाइँसराइ, ठुलाठुला प्राकृतिक प्रकोपबाट विस्थापन वा त्यसबाट बच्न बसाइँसराइ—यी यावत कारणहरुले गर्दा मानिसहरु एउटा देशबाट अर्को देशमा जाने गर्दछन् । सबैभन्दा धेरै नोकरी र रोजगारीका लागि त्यसपछि अध्ययन र व्यवसायका लागि विदेश जान्छन् । नेपालीहरु प्रवासीहरु दुई प्रकारका हुन्छन्– स्थायी र अस्थायी । जस्तो कि दोस्रो विश्वयुद्धमा ब्रिटिस गोर्खा पल्टनबाट मलायामा पुगेका कतिपय नेपालीहरु उतैका स्थायी वासिन्दा भए । मल्लकालमा काठमाडौँ खाल्डोबाट सिकर्मी, डकर्मी र मजदुर बनेर भुटान पुगेका नेपालीहरु उतैका स्थायी वासिन्दा बने तर १९९० को दशकमा साम्प्रदायिक द्वन्द्व भड्किएपछि एक लाखभन्दा बढी नेपाली भुटानबाट नेपालतिर लखेटिएका थिए । कैयौँ नेपालीहरु भारतमा रोजगारी गर्न गए, उतै स्थायी वासिन्दा भएर बसे । संसारका विभिन्न ठाउँमा त्यसरी कतिपय नेपालीहरु उतैका वासिन्दा बनेर गएका छन् । तर नेपालमै फर्कने गरी विदेश गएका नेपालीहरुको सङ्ख्या निकै ठुलो छ । नेपालीहरुको सबभन्दा ठुलो सङ्ख्या वैदेशिक रोजगारीका लागि जानेहरुको छ ।

६. नेपाल राष्ट्र बैङ्कको हालैको अध्ययन अनुसार वैदेशिक रोजगारमा गएकामध्ये ७३.१ प्रतिशत म्यानपावर कम्पनीबाट, १६.६ प्रतिशत आफन्त तथा साथीभाइको माध्यमबाट र १०.३ प्रतिशत अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेहरु छन् । त्यसरी वैदेशिक रोजगारीमा जानेहरुमध्ये ३३.५ प्रतिशत अदक्ष श्रमिक, १३.६ प्रतिशत सुरक्षा गार्ड, २.३ कृषि मजदुर, १.५ प्रतिशत घरेलु कामदारका रूपमा जाने गरेका छन् । बाँकी अन्य पेशा क्षेत्रमा जाने गरेका छन् । नेपाल जीवन स्तर सर्वेक्षणका अनुसार विदेशबाट आएको रेमिट्यान्स ७९ प्रतिशत घरायसी उपभोगमा, ४ प्रतिशत शिक्षामा र करिब ३ प्रतिशत उत्पादनमूलक कार्यमा खर्च भएका छन् । नेपाल राष्ट्र बैङ्कले दिएको तथ्याङ्क अनुसार नेपाल सरकारको वार्षिक बजेट करिब रु. ६ खरबको हाराहारीमा वर्षेनी नेपालमा रेमिट्यान्स भित्रिन्छ । बैङकिङ कारोवार बाहेक हुण्डी वा अन्य माध्यमबाट आएको हिसाब राष्ट्र बैङ्कले राख्न सक्दैन । हामीले के देख्छौँ भने विदेशबाट आएको कमाइ (रेमिट्यान्स) पहिलो विदेश जाँदा लिएको ऋण तिर्नमा खर्च, दोस्रो, घरायसी खाने, लाउने लगायतमा खर्च, तेस्रो, बचेखुचेको रकम घडेरी किन्ने र घर बनाउने काममा खर्च गरेको पाइन्छ । उत्पादनमूलक कार्यमा त अत्यन्त कम लगानी हुने गरेको देखिन्छ ।

७. जनताको सङ्घर्षले नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरु हुँदै आएका छन् । २०६२–६३ को जन आन्दोलनको जगमा २०६४ मा पहिलो पटक संविधान सभाको निर्वाचन भयो । पहिलो संविधा सभाले संविधान निर्माण गर्न नसकेपछि २०७० मा दोस्रो संविधान सभाको निर्वाचन भयो । संविधान सभाबाट २०७२ असोज ३ मा नयाँ संविधान घोषणा भयो । नयाँ संविधानले गणतन्त्र, धर्म निरपेक्षता, समावेशी व्यवस्था र जनताका कैयौँ मौलिक अधिकारहरुको व्यवस्था गरेको छ । राज्यको पुनर्संरचना गरिएको छ । स्थानीय तह, गाउँपालिका र नगरपालिकालाई विकेन्द्रीकरण र स्थानीय स्वायत्तताको अधिकार अन्तर्गत कैयौँ अधिकारहरु दिइएको छ । शिक्षा, जल, जमिन, जङ्गल, सहकारी, कृषि, सिँचाइ लगायतका विषयहरुमा स्थानीय तहले आफ्नो नियम, कानुन आफै बनाउन सक्ने व्यवस्था गरिएका छन् । परिवर्तित राजनीतिक परिस्थितिमा प्राप्त भएका अधिकारहरुलाई प्रयोग गर्ने सन्दर्भमा विदेशमा रहने नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा के कति इोगदान पुर्‍याउन सकिन्छ ? स्वदेशमै रोजगारी सृजना गरेर सिप, श्रमशक्ति पलायनलाई रोक्न के गरिनु पर्दछ ? विदेशमा गरेको कमाइ र सिपलाई स्वदेशमा प्रयोग गर्न के के गरिनु पर्दछ ? यी अहम् प्रश्नहरु हाम्रा अगाडि छन् ।

८. नेपालमा रोजगारीको व्यवस्था हुन सक्ने हो भने ठुलो पैमानामा विश्वभरिका श्रम बजारमा विक्री भई रहेको नेपाली सिप र श्रम नेपाली धर्तीमा प्रयोग हुन सक्थ्यो । विदेशका गएका नेपालीहरु स्वदेश फर्किएर काम गर्न सक्ने स्थिति रहन्थ्यो । त्यसका निम्ति निम्न चुनौतीहरु छन्–

(क) नेपालको सिप र श्रमशक्तिलाई विदेश पलायन हुन नदिई स्वदेशमा खपत हुन सक्ने र युवाहरुलई स्वदेश फर्किने वातावरण बनाउन राज्यले राष्ट्रिय नीति बनाउँछ कि बनाउँदैन ? राष्ट्रिय नीति बनेर मात्र पुग्दैन, त्यसलाई कार्यान्वयन गर्ने तत्परता हुन्छ कि हुँदैन ? विदेशमा रहने युवाहरुलाई स्वदेशमा फिर्ता गर्नका लागि सबभन्दा पहिलो चुनौती यही हो ।

(ख) मित्रराष्ट्र चीन र तत्कालीन सोभियत सङ्घले नेपालमा निर्माण गरी दिएका कैयौँ उद्योगहरु २०४६ को राजनीतिक परिवर्तनपछि कौडीको मूल्यमा विक्री गरियो । वीरगञ्ज चिनी कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, गैँडाकोटको भृकुटी कागज कारखाना, हैटौँडाको कपडा कारखाना लगायत उद्योग बिक्री गरिए र समाप्त पारिए । यदि ती राज्यले नै अनुशासित रूपमा भ्रष्टाचार नगरिकन चलाउँदै गएको र थप उद्योगहरु निर्माण गर्दै गएको भए यति धेरै नेपालीहरु रोजगारीका लागि विदेश जानु पर्ने थिएन । २०४६ देखि आजसम्म सरकारले सरकारको तर्फबाट उद्योग चलाउने कुनै योजना बनाएको छैन । के अबको सरकार सानै पैमानामा किन नहोस्, आफै उद्योग चलाउनेतिर कदम चाल्ने छ ? यी युवाहरुका लागि स्वदेश फिर्तीको निम्ति अर्को चुनौती हो ।

(ग) नेपालका निजी क्षेत्रका जो धनाढ्यहरु छन्, उनीहरु उद्योग सञ्चालन गर्नुभन्दा विदेशीहरुले उत्पादन गरी दिएका मालहरु बिक्री गर्नतिर बढी ध्यान दिन्छन् । उत्पादन गरेको सामानका लागि बजार खोज, नाफा आउने हो कि हैन ? यो तनाव खेप्नुभन्दा विदेशीहरुले उत्पादन गरी दिएको सामान बिक्री गर्‍यो, नाफा कमायो । यत्तिकैमा उनीहरुले सन्तोष लिन्छन् । राष्ट्रिय पँुजीको विकास गर्न, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न आफ्नै स्वदेशको प्राकृतिक श्रोत–साधनको उपयोग गर्नु पर्छ । स्वदेशी उत्पादनलाई विकास गर्नु पर्छ भन्ने सोचाइ नेपाली पँुजीपतिहरुमा छैन । उनीहरुको यो दलाल मानसिकता र पँुजीपतिहरुको यो दलाल चिन्तनलाई संरक्षण गर्ने शासकहरुको दलाल पँुजीवादी चिन्तन परिवर्तन हुन्छ कि हुँदैन ? युवाहरु स्वदेशमा अड्ने र विदेशमा गएकाहरु स्वदेश फिर्ता हुने वातावरण बन्नका लागि यो एउटा ठुलो चुनौती हो ।

(घ) विदेशमा दु:ख गर्न तयार हुने तर त्यहीँ दु:ख वा श्रम गर्न स्वदेशमा तयार नहुने हामी नेपालीहरुको सोचाइ र आनीबानी छ । युवाहरुको स्वदेशमा अड्ने र विदेश गएका फिर्ता हुनका लागि श्रमप्रतिको हाम्रो गलत सोचाइ अर्को चुनौती हो ।
(ङ) रेमिट्यान्सलाई नेपालमा अनावश्यक मनोरञ्जन, विलासिताका सामान खरिद, फजुल खर्चमा प्रयोग गर्ने काम पनि भई रहेको छ । खर्चको यो तरिका पनि अर्को चुनौती हो ।
(च) विदेशको कमाइलाई कहाँ, कसरी लगानी गर्ने ज्ञान र अनुभवको कमी अर्को चुनौती हो ।
(छ) राजनीतिक एवं सामाजिक वातावरण अर्को चुनौती हुन सक्छ ।
यी तमाम चुनौतीहरुको पहिचान गर्ने र ती चुनौतीहरुलाई हटाउनेतिर नीति, कार्यक्रम, योजना बनेमा नै युवाहरुको विदेश पलायन रोकिने र स्वदेश फिर्ता हुन सम्भव हुने छ ।

९. रेमिट्यान्सले आर्थिक असमानता कम गर्न, पँुजी निर्माण गर्न, बेरोजगारी घटाउन इोगदान पुर्‍याई रहेको छ । अहिले नेपालको कुल उत्पादनमा रेमिट्यान्सले २५ प्रतिशत इोगदान पुर्‍याएको छ । रेमिट्यान्सको अवस्था सधैँभरि एकनास रहने कुनै ठेगान हुँदैन । मुख्य र स्थायी कुरा स्वदेशको उत्पादन हो । नेपालको व्यापार घाटा यति भयावह छ कि अहिले एक रुपैयाको सामान निर्यात गर्दा १३ रुपैयाको सामान हामीले आयात गरी रहेका छौँ । कृषि भूमि या त खेती गर्न छाडेर बाझो बन्दै गएका छन्, या त प्लटिङ र नयाँ घर निर्माणले सखाप हुँदैछन् । यी सबै कुरालाई ध्यान दिएर सरकार, जनता, राजनीतिक दलहरु सबैको ध्यान स्वदेशी उत्पादन बढाउने र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतिर हुनु पर्दछ । विदेशमा सिकेका सिप र कमाइ स्वदेशमा प्रयोग गर्न थालेको, विदेश जाने युवाहरुको सङ्ख्यामा कमी आएको र स्वदेशमै केही न केही उद्यम गर्न थालेको यो पछिल्लो अवस्था हो । निश्चय नै राष्ट्रिय आत्मनिर्भरताको दृष्टिकोणबाट यो खुशीको कुरा हो ।

१०. विदेश गएका युवाहरुलाई स्वदेश फिर्ता गर्ने र रोजगारी सृजना गर्ने सम्भावनाको खोजी गर्न जरुरी छ । त्यसका निम्ति निम्न कुराहरुमा ध्यान दिइनु पर्दछ :
(क) उत्पादनमूलक राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकारले पहलकदमी लिनु पर्दछ । त्यसका लागि जनस्तरबाट पनि दबाब सृजना गरिनु पर्दछ ।

(ख) नेपालकै प्राकृतिक श्रोत–साधनको उपयोग गरी उद्योग–व्यवसाय चलाउनेतिर सरकारको तर्फबाट, सामुदायिक रूपमा, सहकारीका तर्फबाट र निजी स्तरबाट पहलकदमी लिनु पर्दछ ।

(ग) सरकारले विदेशमा सिकेको सिपको परीक्षण गरी सिप अनुसारको प्रमाण पत्र दिने र त्यस खालको काम स्वदेशमै दिने वातावरण निर्माण गर्ने नीति बनाएको छ । सिकेको सिप कहाँ प्रयोग गर्ने ? कसरी प्रयोग गर्ने ? सरकारले त्यसको वातावरण बनाउनेतर्फ अत्यन्त कम ध्यान गएको छ । जनस्तरबाट र सबैतर्फबाट त्यसका लागि सरकारलाई झकझक्इँउन जरुरी छ ।

(घ) कृषि र उद्योगलाई जोड्ने नीति बनाइनु पर्दछ । कृषिमा आधारित उद्योग स्थापना र सञ्चालनमा ध्यान दिइनु पर्दछ ।

(ङ) शिक्षालाई कृषि र कारखानासाग जोड्ने नीति बनाइनु पर्दछ, जसले दक्ष जनशक्ति निर्माणमा योगदान पुर्‍याउने छ ।

१२. प्रवासी नेपालीहरुले काम गरी रहेका कम्पनी वा फार्महरुबाट नेपालीहरुलाई कम्पनीले कम तलब दिने, तलब समयमै नदिने, बिरामी, दुर्घटना जस्ता समस्यामा सहुलियत नदिने, महिला श्रमिकमाथि व्यापक शोषण गर्ने गरेका थुप्रै उदाहरणहरु छन् । यसमा नेपाल सरकार तथा नेपाली दूतावासको पनि गैर जिम्मेवार व्यवहार देखिन्छ । नेपालीहरुको हक, हितको विषयमा सरकार र दूतावासको ध्यानाकर्षण गराउनका लागि नेपालीहरुको व्इँपक एकता, सङ्गठन र जनदबाबको आवश्यक पर्दछ ।

१३. बागलुङ जिल्ला नक्साका हिसाबले मिनी नेपालका साथै झोलुङ्गे पुलको जिल्ला भनेर पनि चिनिन्छ । साथै यो जिल्ला विकासका हिसाबले थुप्रै सम्भावनाहरु बोकेको जिल्ला पनि हो । बागलुङको शिरमा सालझण्डीदेखि ढोरपाटन जोड्ने सडक, यसको पाउमा कालीगण्डकी कोरिडोर र यसको बीच भागबाट पुरै पूर्व–पश्चिम मध्य–पहाडी लोकमार्ग जस्ता तीन वटा ठुला राजमार्गहरु निर्माणाधीन अवस्थामा छन् । त्यस बाहेक प्युठान, गुल्मी, म्याग्दी र पर्वत जोड्ने र अन्य भित्री महत्त्वपूर्ण सडकहरु पनि छँदैछन् । बडीघाट र कालीगण्डकी बागलुङको सबभन्दा ठुला जलश्रोत हुन् । उर्जाखोलाको नामले चिनिने ठेउलेखोला पनि उर्जाको महत्त्वपूर्ण श्रोत हो । उत्तरगङ्गाको साढे आठ सय मेगावाटको विद्युत परियोजना निर्माणको प्रक्रिया अगाडि बढी रहेको छ । दरमखोला लगायत जिल्लाका प्रशस्त जलश्रोतहरुलाई प्रयोग गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्ष विश्वकै नमूना शिकार आरक्ष हो । यो ठुलो पर्यटकीय गन्तव्य बनाउने सम्भावना बोकेको क्षेत्र पनि हो । धार्मिक पर्यटनका हिसाबले पञ्चकोट धाम, सर्वसिद्ध धाम, कालिका भगवति मन्दिर, भैरवस्थान, माइकास्थान, सत्यवति मन्दिर, त्यस्तै घुम्टेको लेक, हाँडीकोटको धुरी, गाजाको दह, बराहताल, भकुण्डेताल लगायतका क्षेत्रहरु पनि प्रशिद्ध धार्मिक तथा पर्यटक भित्राउने सम्भावना बोकेका स्थलहरु हुन् । जटामसी, यार्सागुम्बा, सतुवा, बिखमा जस्ता जडीबुटी प्रशोधनको सम्भावनाका साथै पहाडे कागज जस्ता वस्तुहरुको प्रशस्त सम्भावना बोकेका क्षेत्रहरु बागलुङमा छन् । बागलुङका दशवटै स्थानीय तहमा कृषि, भेटेनरी, प्राविधिक, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गरी यिनै क्षेत्रमा जनशक्ति खपत गर्ने कार्ययोजना र लगानी गर्ने प्रारम्भिक तयारी विज्ञहरु सहितको एक टोलीले तयारी थाली सकेको छ । स्थानीय सरकार, निजी क्षेत्रको संयुक्त पहलमा समग्र बागलुङ जिल्लाको प्रोफाइल तयार गरी कार्यारम्भ गर्ने तयारी समेत काम भएको छ । स्थानीय सरकारले विदेशमा कमाइ गरी रहेका नेपालीहरुको सल्लाह, सहमति र सहभागितामा कम्पनी ऐन अन्तर्गत सहकारीको माध्यम वा अन्य विधिबाट सामूहिक कोष निर्माण गरी त्यो कोष परिचालन गर्ने गरी युवाहरुलाई स्थानीय रूपमा रोजगारी सृजना गर्ने र युवाहरुलाई विभिन्न उत्पादनमूलक काममा लगाउन सकिन्छ ।

१४. प्रवासमा रहने नेपालीहरुको नेपालको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनमा ठुलो योगदान छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई सकेको अवस्थामा पनि उनीहरुको मतदानको अधिकारलाई सुनिश्चित गर्ने काम नहुनु दु:खको कुरा हो । कैयौँ देशहरुले प्रवासमा रहने आफ्ना नागरिकहरुलाई मतदान र प्रतिनिधिहरुको व्यवस्था गरेका हुन्छन् । २०३७ को जनमत सङ्ग्रहमा भारतमा रहने कर्मचारीलाई भारतबाटै मतदान गर्ने व्यवस्था गरिएको थियाँे । कार्यस्थलबाटै मतदान र प्रतिनिधित्वको व्यवस्थाको अधिकारका लागि सङ्घर्ष जारी राख्न आवश्यक छ ।

१५. प्रवासमा रहेका नागरिकता त्यागेर उतै स्थायी बसोबास गरेका नेपालीहरुको पनि वंशज, स्थानीय तहबाट के कस्तो पहल हुन आवश्यक छ ? यस अन्तरक्रिया कार्यक्रमको तपाईहरुबाट हामीले महत्त्वपूर्ण सल्लाह र सुझावको आशा गरेका छौँ । तपाईहरुको सल्लाह, सुझावले हामीलाई काममा बल पुग्ने छ, प्रेरणा प्राप्त हुने छ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

अधिकारका लागि सबै प्रवासी जुटनुस्ः ढुंगाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here