काठमाडौं । विदेशमा कुनै नेपाली दुर्घटनामा पर्दा विरामी वा मृत्यु हुँदा उनीहरूका अन्तर्राष्ट्रिय मानवीय कानूनले व्यवस्था गरेका अधिकारहरूलाई सुरक्षित गर्न पहल गर्नु नेपाल सरकारको दायित्व हुनु पर्नेमा मसालले जोड दिएको छ । पार्टी पर्वक्ता रामप्रकाश पुरीले एक विज्ञप्ती जारी गर्दै नेपालको सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै हालै नेपाल आयल निगमद्वारा पोट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको मसालले विरोध जनाउँदै मुल्यवृद्धि फिर्ता लिन समेत जोड दिएको छ । वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यका कारण सर्वसाधारण जनता र आम उपभोक्ताहरूले चर्को भाडादर र महङ्गी व्योहोर्नु पर्ने स्थिति श्रृजना भएको सो पार्टीले बताएको छ ।
“रोजगारका लागि कतारमा गएका कतिपय नेपालीहरू कैंयौँ वर्षदेखि त्यहाँका विभिन्न अस्पतालहरूका कोमामा रहेको समाचारहरू सार्वजनिक भएका छन् । उनीहरूको उपचार र स्वदेश फर्कने व्यवस्था समेत नहुँदा उनीहरूले धेरै कष्टको जीवन बिताउन परिरहेको छ । यससम्बन्धी नेपाल सरकारले अपनाएको व्यवहारले आफ्ना नागरिक प्रतिको गैर–जिम्मेवार नीतिलाई बताउँछ । विदेशमा कुनै नेपाली दुर्घटनामा पर्दा विरामी वा मृत्यु समेत हुँदा उनीहरूका अन्तर्राष्ट्रिय मानवीय कानूनले व्यवस्था गरेका अधिकारहरूलाई सुरक्षित गर्न पहल गर्नु नेपाल सरकारको दायित्व हुन्छ । त्यसकारण कतार स्थित पीडित नेपालीहरूको उपचार र स्वदेशमा फर्कन समेत आवश्यक व्यवस्था मिलाउन ने.क.पा. (मसाल)ले नेपाल सरकारसित माग गर्दछ ।
हालै आयल निगमद्वारा वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यका कारण सर्वसाधारण जनता र आम उपभोक्ताहरूले चर्को भाडादर र महङ्गी व्योहोर्नु पर्ने स्थिति श्रृजना भएको छ । हाम्रो पार्टीले पेट्रोलियम पदार्थमा त्यसरी भएको मूल्य वृद्धिको विरोध गर्दै उक्त निर्णय फिर्ता गराउन नेपाल सरकारसित माग गर्दछ ।”