प्रधानमन्त्रि ज्यु नैतिकता सम्झाउने कि स्वीकार्ने

0
393
  • गोबिन्द राज पोखरेल
    नैतिकताको खडेरीले मुलुक र्चुलुम्म डुबेको छ । गाउँ–घर, शहर–बजार जताततै नैतिकताकै बारेमा चर्चा चलिरहेको छ । बुद्धको देश, राम राज्य, कृष्ण चरित्र, महाभारत पर्व, बेद, पुराण, मिमाँसा, बाइबल, कुरान, धर्मयुद्ध आदि जति पनि युग पुरुष वा धार्मिक ग्रन्थका बारेमा चर्चा गरिन्छ ति सबै नैतिकवान मान्छे र नैतिकताको बारेमा सिकाइएको नालीबेली नै हो । बर्तमान राजनैतिक बृतमा नैतिकता सम्झाउनको लागी गरिएका साना ठुला आन्दोलन मात्र हुन । यिनै आन्दोलनको माध्यमबाट नैतिकता सम्झाएका मात्र हुन जब नैतिकता स्वीकार्न लगाइन्छ त्यसले सकारात्मक पाटो समात्छ जसले स्वीकार्दैनन तब राजनैतिक नेतृत्व, सत्ता, व्यबस्था सबै परिबर्तन हुन पुग्दछ । सत्ता र सम्पत्तिमा नैतिकता गुमाउनेहरुले अरुलाई बलि बेदीमा चढाउँछन् र आफुलाई सर्बज्ञ ठान्ने गर्दछन् । यो प्रबृतिगत अबस्था हो जसलाई नैकिता सम्झाएर पनि हुँदैन, सिकाएर पनि हुँदैन उसले समाज त के आफै पनि परिवर्तन हुँदैन ।

नैतिकता एउटा पसल हो जसलाई बजारबाट किन्न पाइन्छ जस्तो गरी उर्दी जारी गर्ने होइन । यो त आफैले देखाउने व्यबहार पनि हो । प्रधानमन्त्रि ओलीले स्व. नेता पोष्ट बहादुर बोगटीको स्मृतिमा आफना पार्टीका कार्यकर्तालाई राजनैतिक बृत वा प्रधानमन्त्रि बिरुद्ध बोल्नेको हकमा अरिङ्गाल जसरी जाइलाग्न अह्राए । उनको सोंचाइमा उनले बोलेका सबै बाक्यहरु महानबाणी हुन त्यसैले उनका बाणीलाई स्वीकार्नै पर्दछ । उनले सिकाएको नियमहरु नैतिक शिक्षा हो वा उर्दी हो कसैले पनि फेर बदल गर्न हुँदैन कसैले फेरबदल गरेमा उ दण्डभागी हुनेछ । नैतिकता, सभ्यता र संस्कृति सिकाउने व्यक्तिका भाषाहरु समाजमा पाच्यखालको हुनु पर्दछ । आफुलाई सत्य नैतिकवान देख्ने र अरुलाई असत्य अनैतिक देख्ने प्रधानमन्त्रिको बोली पाच्य खालको छैन । यस्ता विचारले स्थिति बाँधने होइन शासन लोप, बंश लोप हुने हो । प्रधानमन्त्रिलाई राजा चुनेको होइन आबधिक समयको लागी नेता चुनेको हो प्रधानमन्त्रि बनाएको हो ।

नैतिकताले एउटा प्रथा पनि बसालेको छ जसलाई पींडी दरपींडीले मान्दै आएको छ । कतिलाई राम्रै कामको लागी सिकाएको छ कतिलाई आफु मालिक र अरुलाई दासत्व स्वीकार्ने गराउनको लागी प्रयोग गरिन्छ । नैतिकता कसलाई सम्झाउने, सिकाउने वा स्वीकार्न लगाउने त्यो आफैमा स्पष्ट छ राम्रा कार्यको लागी स्थिति बाँध्नु र त्यसलाई अबलम्बन गर्दै जानाले एउटा रुप धारण गर्दछ । समय परिस्थितिले त्यो राम्रो मानिन्छ कालान्तरमा त्यो अस्वाभाविक र बेरुप पनि हुन सक्दछ तर पनि समाजले सहजै पचाउँदछ ।

नेपालको साँस्कृतिक इतिहासमा ४ । ५ बर्षको बालिका जसलाई कुमारीको रुपमा जिउदो देवी भनेर पुजा गरिन्छ । उनले झुटो बोलदिनन, इश्र्या गर्दिनन, लोभ लालच केही छैन । उनी रजाश्वला हुने समय अगावै अर्को कुमारी खोजिन्छ । उनलाई नैतिकता सिकाइन्छ । नैतिकता सम्झाइन्छ । त्यस्तै बौद्ध धर्म मान्नेहरुका लागी झुमा बनाइन्छ । उनीहरुलाई पनि नैतिकता सम्झाइन्छ सिकाइन्छ । त्यस्तै अबोध बालिकालाई देउतीको रुपमा चढाइन्छ नैतिकता सिकाइन्छ, सम्झाइन्छ । यि पृथक पृथक छन् जुन एक अर्काको संस्कार, चाल चलन र व्यबहार फरक कोणबाट हेर्ने गरिन्छ । तर यिनलाई सिकाउने अबिभावक हुन्छन् उनले सिकाउँछन् ति बालिकाले सिक्छन् र नैतिकता स्वीकार्छन । तर प्रधानमन्त्रि ओली आम नागरिकका अबिभावक हुन प्रधानमन्त्रि पद कुनै पार्टी बिशेषको होइन तर विपक्षीहरुलाई आक्रमण गर्न अरिङ्गालको बुद्धि सापट लिएका छन् उनको समर्थनको लागी सबै कार्यकर्ताहरु अरिङ्गाल बनेर जाइलाग्न निर्देश दिएका छन् यस घडीमा उनलाई नैतिकता सिकाउने कि उनी आफैले नैतिकता स्वीकार्ने हो ? उनको व्यबहारले अनुत्तरित छ ।

हाम्रा धार्मिक ग्रन्थले सिकाएको एउटा पाटो पाप र धर्म हो । पाप अनैतिकता हो धर्म नैतिकता हो । धर्मको नाममा अरु माथि गरिने चरम शोषण र दमन अनैतिकता हो । समाजले तत्काल त नबुझला तर यसलाई बिस्तारै अबश्य बुझछ जब बुझछ टाउकै नउठने गरी थचार्छ ओली कमरेडले कसरी बुझेका छन् कौतुहलताको बिषय पनि हो ।

ओलीलाई अहिले स्थिति बाँध्ने र उनले बाँधेका थिती पींडी दरपींडीले अंगिकार गर्दै लैजाने मौका छ । उनलाई युग युगमा प्राप्त हुने अबसर प्राप्त भएको छ तर उनलाई त्यस्तो सदबुद्धि कसले दिने हो ? परापुर्वकालमा धार्मिक रुपमा नैतिकताको बारेमा व्याख्या गर्ने गरिन्थ्यो र धर्मकै नाममा शासन हुन्थे । जुन राजा बन्छ त्यसलाई देवको दुतको रुपमा व्याख्या गर्दथे । जो राजा बन्यो उसले आफुलाई देवत्व सम्झन्थ्योे अरुलाई रैती सम्झन्थ्यो । फलतः नैतिकतामा खडेरी पर्दथ्यो । यसले राजा र रैतीको वीचमा लँडाइ गराउँथ्यो लँडाइले समाज छिया छिया बनाउँथ्यो । समाज विकासका क्रममा राजा बनेर पनि राम्रो र नैतिक चरित्र निर्माण गर्न सक्षम व्यक्तित्वहरु पनि छन् सत्चरित्र र नैतिकवानमा बुद्ध बने । राम बने । धार्मिक गुरुहरु जिसस क्राइस, पैगम्बर महमद बने । उनीहरुले राम्रा काम र समाजलाई नैतिकवान बनाउने स्थिति बाधने कार्य गरे परिणाम स्वरुप अहिले उनीहरु युग परुषको रुपमा दर्ज भएका छन् । तर ओली कमरेड राम्रो काम गर्लान भनेको अरिङ्गाल खेज्दैछन् । आफना विचारसंग असहमत हुनेहरुलाई लखेटदैछन् । जेलबन्दि बनाउदँै छन् हतकडी लगाउदँै छन् ।

हत्या, हिंसा, बलत्कार, भ्रष्ट्राचारले समाज अक्रान्त छ । सेवा गर्नेले सेवा बिक्रि गर्दैछन् । स्थिति बाँधनेले स्थिति बिक्रि गर्दैछन् । उनले स्थिति नेपालको भुगोल गुम्दा पनि बाँधन सकेका छैनन, बच्चा लुटिदा पनि सकेका छैनन । सिंउदो रित्तिदा पनि सकेका छैनन कोख रित्तिदा पनि सकेका छैनन । उनले लिएको विचारले फेरो समाउन जानेन । उनका बोलीले डील बनाउन सकेको छैन बरु ५० डिग्रीको तातोमा आप्mनो पौरख बजार्न तयार छन् उनको फेरो समाउन खोजेका छैनन । अरुको लागी बोद्धिक खुराक पश्किरहेका छन् तर उनले उदघोष गरेका कुनै पनि क्रियाकलापमा सामेल हुन मानेका छैनन ।

कुनै सिद्धान्तको फेर समाएर गरेको उदघोष हुन्थ्यो भने अहिले मुलुकले फेर समाइ सक्दथ्यो । गणतन्त्रको अनुभुत जनताले गरिसक्दथे । उटपटयाङ भाषा र बोलीकै कारण न्याय दिने व्यक्ति सडकमा आएर न्याय माग्दैछ । सुरक्षा दिने अधिकारी पञ्चमुख फर्काएर बसेका छन् । राजनैतिक दर्शन र चिन्तन घरको न घाटको छ । उनले हिजो के बोले उनैलाई थाहा छैन भोलीको लागी के गर्दै छन् त्यो पनि थाहा छैन । उनले बिगतलाई गाली गर्दछन् । बर्तमानलाई धिर्काछन् तर भबिश्यको कुनै खाका छैन ।

नेतृत्व कार्टेलिंगमा छ । विचारको कार्यान्वयन कार्टेलिंगमा छ । शान्ति सुव्यबस्था खलबलिएको छ । अंश भोज र बंश भोजमा रमाइरहने र अरुलाई धारेहात लगाएर नैतिकवान बनिदैन । देश खुशीले हाँसेको छ भन्ने ठाउँ देखिदैन । खुशी छन् भने आशेपासे कमिशनखोर र दलालहरु नै छन् । समय फेरिएको छ जीवन फेरिएको छैन । प्रधानमन्त्रिलाई नैतिकता सिकाउन सडक सडकमा ¥यालीहरु निस्केका छन् । नागरिक समाजले बाटो देखाउने कोशिष गरेको छ तर पनि प्रधानमन्त्रिमा नैतिकताको चेत खुलेको छैन ।

जीवनमा सधै अवसर आउँदैन । राजा जनकले जनक बंश बाँधे तर कारलले जनक बंश नै समाप्त गरे । ७० बर्षको संघर्ष पछि प्राप्त भएको गणतन्त्र जोगाउने अबिभारा सुम्पेको छ । जनताले गणतन्त्रको अनुभव गरुन भनेर दुई तिहाइको जनमतका साथ सत्तामा पुराएका छन् । उटपटयाङ भाषा प्रयोग गर्ने र सबैले संघर्ष गरि ल्याएको गणतन्त्रलाई अबसान गराउने अधिकार प्रधानमन्त्रि भएको नाताले ओलीलाई छैन । नैतिकता कुमारी, झुमा र देउतीलाई जस्तै सिकाउने, सम्झाउने होइन । आफैले स्वीकार्ने हो । प्रधानमन्त्रि ज्यु त्यस्तो चेतना कहिले आउँछ ?
साभार बुटवल टुडे २०७५ । ०६ । ०५

pokharel.govind@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here