प्युठानमा शर्माको गीति गर्जन- “भारतीय सेनाहरु नेपाल भूमि छोड्”

0
495

सरोज न्यौपाने, प्यूठान । 
रक्तिम सांस्कृतिक अभियानका संस्थापक एवं निवर्तमान अध्यक्ष जीवन शर्माले आफ्नो गीत मार्फत भारतीय भू-हस्तक्षेपको बिरोध गर्दै भारतीय सेनालाई नेपाली भूमि छोड्न चेतावनी दिएका छन् ।

प्युठान उद्योग वाणिज्य संघको निमन्त्रणामा सोमबार अतिथि कलाकारको रूपमा प्युठान आएका शर्माले मंचबाटै भारतीय पक्षबाट भएको भूमि अतिक्रम एवं हस्तक्षेपका विरुद्ध गीतबाट चर्को आक्रोश पोखे ।
साथै उनले कुनै पनि राष्ट्रियता सीमाना र दूरीले सानोठुलो नहुने भन्दै “एउटा सानो राष्ट्रले आँट गरेमा ठुला ठुला साम्राज्य ढालिदिन्छ, यो देश बनाउन खाँचो परेमा तीन करोड नेपाली एक हुन्छ” भन्दै नेपाल र नेपाली स्वाभिमानलाई कमजोर नआँक्न साम्राज्यवादका नाइकेहरुलाई चेतावनी दिए ।

देशप्रेम, क्रान्तिकारी, दलाल एवं सामन्तवाद विरोधी भावनाले ओतप्रोत गीत मार्फत बर्गविहिन समाज निर्माणको अभियानमा प्रगतिशील संगीत मार्फत अभूत्पुर्ब योगदान गर्दै आएका शर्मालाई हेर्न हजारौंको भीड लागेको थियो । अतिथि कलाकारहरुमा शर्मासँगै मन्जु पौडेल, जानकी तारामी मगर, चित्र अविरल, श्रीकृष्ण क्षेत्री, सुनिल थापा लगायतका रहनुभएको थियो ।

बहुचर्चित जनवादी गायक जीवन शर्माको प्रस्तुति हेर्न हजारौंको संख्यामा स्थानीय बासी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, व्यापार व्यवसायी, संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियोे । शर्माले “मधेसी पहाडी हिमालका हिमाली, सिमली छायामा बसी भरीया लामो सास फेरेको, चाहिँदैन मलाई सिसाको महल, छोड् छोड् विस्तारवाद नेपाल भूमी छोड् भारतीय सेनाहरु कालापानी छोड्” लगायतका आधादर्जन बढी गीत गाएका थिए ।

फाल्गुन ८ गतेबाट सुरु भएको महोत्सवको पाचौं दिनको कार्यक्रमको प्रमुख अतिथि झिम्रुक गाउँ पालिकाका अध्यक्ष तिलक जिसि रहनुभएको थियो । महोत्सव १० दिनसम्म चल्ने छ । महोत्सवबाट करिब ८ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवबाट प्राप्त हुने रकम प्युठान कै नमुना आधुनिक वाणिज्य हल निर्माणमा प्रयोग गरिने उद्योग वाणिज्य संघ प्युठानका महासचिव कृष्णभक्त गिरिले जानकारी दिनुभयो ।

“उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनवर्ष २०२० सफल पारौं ” भन्ने नारासहित सुरु भएको चौथो स्वर्गद्वारी प्युठान महोत्सवको उद्घाटन ५ नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माननीय लीला गिरिले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here