प्यासफिक सम्मेलनमा सरकारको सहभागिताको स्पष्टिकरण प्रधानमन्त्रीले दिनु पर्छ : चित्र बहादुर केसी

0
619

काठमाडौं । हालै काठमाडौँमा कतिपय विदेशी राष्ट्रप्रमुखहरू सहितको युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को एशिया प्यासफिक सम्मेलनमा सरकारको सहभागिताको राष्ट्रिय जनमोर्चाले तीव्र शब्दमा विरोध र भत्र्सना गरेको छ । वास्तवमा त्यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारको कार्यक्रम नै भएको पार्टीको ठहर छ । धर्मनिरपेक्षता घोषणा गरेको देशमा त्यस प्रकारको कार्यक्रममा सरकारको सहभागिता संविधानको स्प्रीटका विरुद्ध भएको पार्टी अध्यक्ष चित्र बहादुर केसीद्वारा हस्ताक्षरित एक विज्ञप्तीमा उल्लेख छ ।

“त्यो कार्यक्रममा उपस्थित हुनको लागि प्रधानमन्त्रीको नामबाट नै गाउँपालिका र नगरपालिकाका पदाधिकारीहरू तथा सांसदहरू सहित निर्वाचित जनप्रतिनिधिहरूलाई निमन्त्रणा पठाईएको थियो ।” विज्ञप्तीमा भनिएको छ ः “त्यो कार्यक्रममा व्यापक जनसहभागिता गराउनको लागि विशेष राष्ट्रिय कार्यक्रमहरूमा व्यवस्था गरिए जस्तै राजधानीमा सार्वजनिक यातायात सञ्चालनको लागि जोर–विजोर प्रणाली अन्तर्गत गाडीहरू सञ्चालन गर्ने निर्देशन दिइएको थियो ।”

केसीले विज्ञप्तीमा अगाडि भन्नु भएको छः– “यी कुराहरूबाट सरकारले त्यो कार्यक्रमलाई कति धेरै महत्व दिएको थियो भन्नेकुरा पनि प्रष्ट हुन्छ । त्यो बेला कथित इसामसिहकी कथित छोरीका हातबाट दिएको जलपान गर्ने पनि व्यवस्था गरिएको थियो ।” केसीले अगाडि भन्नु भएको छः– “बताईरहनु पर्ने आवश्यकता छैन कि त्यो सम्पूर्ण कारवाही देशका लागि नै अत्यन्त शर्मनाक कार्य थियो । त्यो कार्यक्रममा प्रधानमन्त्रीद्वारा पुरस्कार ग्रहण गर्ने काम पनि गरिएको थियो ।” कानून अनुसार प्रधानन्त्रीले सरकारको निर्णय बिना कुनै पुरस्कार ग्रहण गर्न नमिल्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ । यस प्रकारको सम्पूर्ण गतिविधिका लागि प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने आवश्यकतामा राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।

हालै सरकारले ल्याएको सामाजिक सुरक्षा योजनालाई राष्ट्रिय जनमोर्चाले स्वागत गरेको छ । त्यस प्रकारको योजनाको धेरै पहिलेदेखि नै आवश्यकता भएको र ढिलै भएपनि त्यो दिशामा सरकारले महत्वपूर्ण कदम चालेकोमा केसीको ठहर छ । तर सरकारका कैयौँ योजनाहरू जस्तै यो योजनाको पनि कार्यान्वयन हुने कुरामा शङ्का रहेको केसीले विज्ञप्तीमा जनाउनु भएको छ । जनदवावको सृजना गरेर त्यो योजनालाई कार्यान्वयन गर्नुपर्ने आवश्कतामा हाम्रो पार्टीले जोड दिन्छ केसीले भन्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here