पृथ्वीनारायण शाहको भूमिकाको अवमुल्यांकन गर्नु सहि हुँदैन : सिंह

0
678

पौष २७ गते देशमा गणतन्त्र आएको ११ वर्ष पछि नेपाल सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाएको छ । सो दिन विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुमा सरकारी विदा समेत दिइएको थियो ।

उक्त दिनको कतिपय राजनीतिक संघ संस्थाहरुले विरोध गरे । कतिपय जातिवादी वा पहिचानवादीहरुले त शाहको तस्वीरमा दूव्र्यवहा नै गरे । केही त कम्यूनिष्ट पार्टीका मान्यजनहरुबाट समेत विरोधको झिनो स्वर मचाउने कोशिस समेत गरे । खैर, इतिहास इतिहास नै हो, कसैले मेटाउँदैमा मेटिन्न ।

तर अधिकांश नेपाली जनले उत्साह जनक समर्थन सहित हर्षाेल्लासका साथ एकिकरण दिवसको रुपमा मनाए । यसै सन्दर्भमा नेपाल कम्यूनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले आफ्नो भ्वाईस म्यासेज मार्फत पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा ऐतिहाँसिक भूमिका रहेको बताएका छन् । भ्वाईस म्यासेजमा सिंहले बोलेका बाक्यांशहरुलाई हामीले सम्भवत: जस्ताको तस्तै प्रस्तुत गर्ने कोशिस गरेका छौं ।

“पृथ्वी नारायण शाहको नेपाल एकिकरणमा ऐतिहाँसिक र प्रशंसनीय भूमिका रहेको छ, त्यो भूमिकालाई हामीले समर्थन गर्दछौं । किन भने पृथ्वीनारायण को हुन्, के हुन्, कस्ता हुन्, उनको भूमिका के हो भन्ने कुरा अहिलेको परिप्रेक्षमा मुल्यांकन गर्ने होइन । त्यस वेलाको ऐतिहाँसिक परिप्रेक्षमा हामीले मुल्यांकन गर्नु पर्दछ । जस्तै उदाहरणको लागि पूँजिवादको के भूमिका के थियो ? भन्ने विषयमा माक्र्सले कम्यूनिष्ट घोषणा पत्रमा क्रान्तिकारी थियो भनेर मुल्यांकन गरेका छन् । किन भने त्यो वेलाको परिप्रेक्षमा उनले मुल्यांकन गरेका हुन् । त्यसको अर्थ माक्र्सको त्यो भनाई गलत थियो भनेर अहिलेको परिप्रेक्षमा हामीले भन्न सक्दैनौं । कुनै वेला सामान्तवादी व्यवस्थाको पनि इतिहासमा प्रशंसनीय भूमिका रहेको छ । माक्र्सले पनि भनेका छन् कि कुनै वेला दासयुगको तुलनामा सामन्तवाद वा राजतन्त्रको प्रशंसनीय भूमिका रहेको छ ।

त्यसकारण हामीले के भन्दछौं भने, हाम्रो स्पष्टदृढमत के छ भने नेपालको त्यसवेलाको स्थितिमा पृथ्वीनारायण शाहको अत्यन्त महत्वपूर्ण भूमिका रहेको थियो । पृथ्वीनारायण शाहले यहाँका साना तिना राज्यहरुलाई मिलाएर एकिकरण गर्ने प्रयत्न गरे । यदि पृथ्वीनारायण शाहले त्यस प्रकारको भूमिका नखेलेको भए इंडियामा अंग्रेजले सबैतिर कब्जा गर्दै आएको थियो र नेपाल पनि ब्रिटिस शासनको अंग बन्थ्यो । संसारका विभिन्न देशहरुमा कुनै कालखण्डमा त्यहाँ भएका साना तिना राज्यहरुलाई एकिकरण गर्ने, क्लोथ इकोनोमिकको ठाउँमा व्यापारि इकोनोमिकको विकास हुँदै जान्छ, त्यसमा मानिसहरुको समझमा विस्तार हुँदै जान्छ । त्यसमा साना राज्यहरुको अस्तित्व सम्भव हुन्न । त्यसकरण गएर एकिकरण हुन्छ, यो ऐतिहाँसिक आवश्यकता हो । त्यस प्रकारको ऐतिहाँसिक आवश्यकताको भूमिका नेपालमा पृथ्वीनारायणले पूरा गरेका छन् ।

हो, निश्चित रुपमा उनले त्यो काम क्रान्तिकारी उदेश्यले त्यो काम गरेका छैनन । राज्य विस्तारको इच्छाले वा सामन्ती उदेश्यले गरेका थिए । जे भएता पनि …. । जस्तै भनौं माक्र्सले भनेका छन्– भारतमा ब्रिटिस साम्राज्यवादले त्यहाँको सामन्तवादी व्यवस्थालाई समाप्त गर्न एउटा महत्वपूर्ण भूमिका खेल्यो । त्यसैले त्यस अवस्थामा त्यसको प्रशंसनीय भूमिका रह्यो ।

त्यसैले पृथ्वीनारायण शाहको जो भूमिका हो, त्यो भूमिका ऐतिहाँसिक थियो, त्यसले आवश्यकता पुरा गरेको थियो । त्यसको हामी प्रशंसा गर्दछौं । पृथ्वी नारायणको जुन विरोध भईरहेको छ, त्यसलाई हामीले गलत मान्दछौं ।

कम्यूनिष्टहरुले कमसिकम एउटा माक्र्सवादी दर्शनको आधार बनाएर आफ्नो मान्यताहरुलाई प्रयोग गर्नु पर्ने हो, त्यसप्रकारको विश्वव्यापी रुपमा जुन मान्यताहरु अपनाउने गरेका छन् त्यो भन्दा पनि स्वयं स्फूर्त रुपमा आफ्ना विचारहरुलाई परिणत गरेका छन् । चिजलाई गहिराइमा नबुझिकन तिनीहरुले पृथ्वीनारायणको विषयमा कम्यूनिष्ट पक्षबाट पनि जुन प्रकारको विरोध भइराखेको छ, त्यो स्वयं माक्र्सवाद–ंलेनिनवाद विचार सम्मत, माक्र्सवादी दर्शन सम्मत छैन । त्यसकारण त्यो गलत छ ।

जन्म जयन्ती त कुन वेला कस्को मनाउने, सरकारी विदा दिने नदिने भन्ने विषयमा हाम्रो कुनै टिप्पणी छैन । तर मूल रुपमा मैले भन्न खोजेको कुरा के भने त्यस्ता विषयमा जानु भन्दा मूल रुपमा पृथ्वीनारायण शाहको जो भूमिका थियो, त्यो ऐतिहासिक भूमिका थियो र प्रशंसनीय भूमिका थियो, त्यसलाई अवमुल्यांकन गर्नु सहि हुँदैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here