पुस्तक ‘माइतीघरको फूल’ विमोचन, लेखकलाई नै पत्तो थिएन

0
243

शायद यो नेपालको मात्र होइन, विश्वकै नौलो घटना हुनसक्छ । कविताको पुस्तक विमोचन हुनेबेलामा मात्र आफ्नो पुस्तक निस्केको थाहा पाउनु – ज्यादै रहस्यपूर्ण घटना ! निम्तारुहरूलाई समेत निम्तोमा आउँदासम्म थाहा छैन पुस्तक कसले लेखेको ? 

नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको ‘आइडिया’ । पुस्तक लेखिका (कवि) सुमन थापा (बर्दिया) ले बेलाबेलामा कविता लेखेर फेसबुकमा राख्दिरहिछन् । तिनै कविता गोप्यरूपमा संकलन गरी सुमनकी बहिनी करुणा थापा र उनकै ३ छोरीले सुमनको जन्मदिनमा उपहार दिने भनेर स्रष्टाहरू पवन आलोक र विधान आचार्यसँग सल्लाह गरेछन् । पुस्तक गोप्यरूपमा तयार भयो । ५५ कविता सँगालिए । किताब राम्रोसँग नै छापियो । रु. २५० मूल्य पनि राखियो । पवन, विधान, ३ छोरी र करुणाबाहेक यो कुरा कसैलाई थाहा छैन । स्वयम् लेखिका सुमनलाई समेत पत्तो छैन । अचम्म ! विमोचन हुने घडीसम्म पनि थाहा छैन । झन् अचम्म !

सुमनको जन्मदिन, २०७५ माघ ३ गते विहीवार । बानेश्वरको रत्नराज्य पुस्तकालयमा २:३० बजे साहित्यकारहरुको भेला भयो । कार्यक्रम आयोजना नेपाल स्रष्टा समाजले गरिदियो । भेलामा करिब ४० जना स्रष्टा उपस्थित भए । हलमा कार्यक्रम आरम्भ भयो । एकाएक उदघोषण भयो ‘कवि सुमन थापाको पुस्तक विमोचन हुने’ भनेर । उदघोषक थिए कवि नवराज तिमिल्सिना ‘अवदोषी’ । जन्मदिन भनेर अगाडि बोलाएर बधाई दिँदै बडो भाका मिलाएर कुरा लुकाई–लुकाई त्यो रहस्य एकाएक खोल्न थाले : कवि सुमन थापाको पुस्तक ! भावुकताले सुमन रोइन् । खुसी र भावुकताको अपूर्व संगम देखियो रत्नराज्यको पुस्तकालय हलमा !

कान्छी छोरी (कक्षा ९ अध्ययनरत) साथमा थिइन् । बहिनी करुणा थिइन्, भाइ पनि थिए र साथमा बुबा पनि हुनुहुन्थ्यो । सुमनका दुई छोरी विदेशमा रहेको कुरा पनि जानकारी गराइयो । हलको त्यो भावुकताको ‘सागर’ र सुमनका लागि असीम खुसीको ‘सगर’ देख्दा यस्तो लाग्थ्यो – सायद यो नेपालको लागि मात्र होइन, विश्वकै लागि अनौठो घटना हो– लेखकलाई थाहै नभई कविता सँगालोको पुस्तक प्रकाशित हुनु, अनि जन्मदिनको ‘उपहार’को रूपमा । कस्तो राम्रो उपहार ! जीवनदायी उपहार ! कालजयी उपहार ! यो जिन्दगीमा मात्र होइन, अर्को ‘जुनी’मा पनि बिर्सन नमिल्ने अमूल्य उपहार ! सुमनका हर्षाश्रु देखेर भावुकताको पोखरीमा अरु पनि केही छिन डुबे । गज्जबको माहोल बनायो नेपाल स्रष्टा समाजले एक छिन । 

यो हिजो रत्नराज्यको सार्वजनिक पुस्तकालयमा कविता सङ्ग्रह ‘माइतीघरको फूल’को विमोचन विवरण नेपाल स्रष्टा समाजका पूर्व महासचिव चेतनाथ कणेलले फेसबुकमा लेख्नुभएको जस्ताको तस्तै ‘शब्दपथ’मा राखियो |

कविताकृतिका बारेमा प्रा.डा. गोविन्दमानसिंह कार्कीले निकै राम्रो बोल्नुभयो । अनि युवास्रष्टा तर्कना शर्माको चोटिलो समीक्षात्मक टिप्पणी पनि आजको विशेष ‘उपहार’ थियो । वरिष्ठ कथाकार तथा प्राज्ञ माया ठकुरीले प्रमुख अतिथिको रूपमा कविताकृतिको विमोचन गर्दै सबैको हार्दिक प्रशंसा गर्नुभयो । पवन आलोक, विधान आचार्य र पुष्पा खनालले पनि मन्तव्य राख्नुभयो । लेखिका सुमन थापा र उहाँकी बहिनी करुणा थापाले पनि आफ्ना भनाइ राख्नुभयो । कान्छी छोरी कृशलाले पनि आमाको जन्मदिनको शुभकामना कविता पढेर सुनाउनुभयो । कार्यक्रम निकै रोचक रह्यो । छोटो कार्यक्रम भए पनि तानाबाना निकै मिलाइएको थियो ।

साहित्यकारहरू ध्रुव मधिकर्मी, विजयध्वज थापा, ललिता दोषी, गोकुल अधिकारी, शंकर भारती, नन्दु उप्रेती, देविका तिमल्सिना, राजेश खनाल, गीता कार्की, सरिता अर्याल, पुष्पराज लुईटेल, रञ्जना निरौला, सुमन वर्षालगायतको उपस्थितिले सुमनको पुस्तकमा थप ओज बढाएको थियो ।

“शब्दपथ” फेसबुक पेजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here