पियारी–तारा नै समानुपातिक सांसद

0
1427

राष्ट्रिय जनमोर्चाले देशमा चलिरहेका विभिन्न राजनीतिक घटनाक्रम र आफ्ना अवधारणा बारे एक प्रेस विज्ञप्ती जारी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेको सो विज्ञप्ती छुट्टाछुट्टै विषय ३ बुंदामा रहेको छ ।

प्रदेश राजधानी बारे
विज्ञप्तीमा प्रदेश राजधानीका लागि बेग्लाबेग्लै प्रदेशहरुमा बेग्लाबेग्लै विज्ञहरुको अधिकार सम्पन्न आयोगहरु बनाई ती आयोगहरुको सिफारीसको आधारमा प्रदेशहरुको राजधानी तोक्नु सही हुने ठहर गरेको छ ।

“प्रदेश राजधानीको विषयलाई लिएर विभिन्न जिल्लाहरुमा संघर्ष चलिरहेको छ । सरकारले अस्थायी राजधानी तोक्न गृहकार्य गरेको कुरा समाचारमा आएका छन् । त्यसप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । यसबारेमा हाम्रो के स्पष्ट धारणा रहँदै आएको छ भने बेग्लाबेग्लै प्रदेशहरुमा बेग्लाबेग्लै विज्ञहरुको अधिकार सम्पन्न आयोगहरु बनाई ती आयोगहरुको सिफारीसको आधारमा प्रदेशहरुको राजधानी तोक्नु सही हुन्छ । सरकारले त्यस अनुसार काम नगर्दा नै प्रादेशिक राजधानीको प्रश्नलाई लिएर जिल्ला जिल्लाहरुमा अशान्तिको वातावरण बनेको छ र पछि यो लगातार बढ्दै जाने सम्भावना छ । यसप्रति सम्बन्धित सबैलाई जिम्मेवार बन्न हामीले आग्रह गर्दछौं ।”

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिको राष्ट्रिय जनमोर्चाले सोही विज्ञप्ती मार्फत विरोध जनाएको छ । “हालै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिको हाम्रो पार्टीले तिव्र विरोध गर्दछ । जनताको आयमा कुनैबृद्धि भएको छैन, तर दैनिक उपभोग्य वस्तुहरु लगायत सबै कुरामा छिटो–छिटो मूल्य बृद्धि हुँदै गएको छ । यस्तो अवस्थामा सरकारले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर जनविरोधी काम गरेको छ । उक्त मूल्य बृद्धि तत्काल फिर्ता लिन हाम्रो पार्टीले माग गर्दछ ।”

प्रदेश सभामा समानुपातिक सांसद :
प्रदेश सभा समानुपातिक सांसदको लागि ४ मा पियारी थापा (सुप्रभा) र ५ मा तारा जिसीलाई छनौट गरि निर्वाचन आयोगमा पठाइएको उल्लेख गरिएको छ । “राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन तर्फ ४ र ५ नं. प्रदेशहरुमा १/१ जना सदस्यहरु जितेको छ । निर्वाचन आयोगले ठेगान गरेको नियम अनुसार प्रदेश नं. ४ मा आदिवासी जनजाति महिला क्लस्टरको १ नं. मा सूचिकृत र प्रदेश नं. ५ मा खस आर्य महिला क्लस्टरको १ नं.मा सूचिकृत उमेदवारलाई नै सिफारीस गर्नु पर्ने व्यवस्था भए अनुसार ४ नंं प्रदेशसभा सदस्यमा पियारी थापा (सुप्रभा), बाग्लुङ र प्रदेश नं. ५ मा तारा जिसी, प्यूठानलाई छनौट गरी निर्वाचन आयोगमा पठाइएको छ ।”

संघीय संसद समिति:
अध्यक्ष चित्र बहादुर केसीको इन्चार्जमा संसदीय समिति चयन गरिएको समेत विज्ञप्तीमा उल्लेख छ । “यो बैठकले संघीय संसद, ४ नं. प्रादेशिक सभा र ५ नं. प्रादेशिक सभाका संसदीय समितिहरुको गठन गरेको छ । संघीय संसदको संसदीय समितिको इन्चार्ज चित्रबहादुर के.सी., सदस्यहरुमा रश्मीराज नेपाली र दुर्गा पौडेल हुनुहुन्छ । ४ नं. प्रदेशको संसदीय समितिमा इन्चार्ज शंकर बराल, सदस्यहरुमा कृष्ण अधिकारी, अमर थापा, कृष्ण थापा, टेकबहादुर घर्ती र पियारी थापा (सुप्रभा) हुनुहुन्छ । त्यस्तै ५ नं. प्रदेशको संसदीय समितिमा इन्चार्ज रश्मीराज नेपाली, सदस्यहरुमा बोमबहादुर खत्री र तारा जिसी हुनुहुन्छ ।”

राष्ट्रियसभा निर्वाचन

“आगामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नं. ४ र ५ मा भाग लिने निर्णय भएको छ । उक्त प्रदेशहरुमा अन्य पार्टी वा गठबन्धनसँग तालमेल गरेर निर्वाचन लड्ने हाम्रो प्रयास हुनेछ । तालमेल नभएको अवस्थामा पनि हाम्रा उमेदवारहरु खडा गरेर निर्वाचनमा भाग लिने छौं ।”

राष्ट्रिय जनमोर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here