पाठकलाई उर्जा र ज्ञान प्रदान गर्ने सशक्त कृर्ती ‘प्रवास डायरी’

0
65
  • रामबहादुर बुढा

२०७७ सालको असार महिनामा गंगा पौडेलजीले “प्रवास डायरी” शीर्षकको पुस्तक बजारमा ल्याउनुभएको छ । उहाँको मनभरि पढ्ने चाहना हुँदाहुँदै पनि परिस्थितिको बाध्यताले गर्दा सानै उमेरमा प्रवासिनुभएका पौडेलजीले आफ्नो जीवनका सबैभन्दा उर्जाशील उमेर भारतप्रवासमा बिताउनुभयो । रोजगारी गर्दा गर्दै भारत–प्रवासस्थित अखिल भारत नेपाली एकता समाजसँग जोडिनुभयो । राम्रो जागिरबाट राजीनामा दिएर सङ्गठनको होलटाइमर हुँदै त्यस सङ्गठनको महासचिवसम्म बन्नुभयो र पछि अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्षसमेत हुनुभयो । नेपाल फर्किएपछि पनि लगातार नेपालको वामपन्थी आन्दोलनमा योगदान पु¥याउँदै आउनुभएको छ । उहाँले प्रवासमा रहँदाका जीवन्त अनुभवलाई यस पुस्तकमा उतार्नुभएको छ । पाठकलाई यस पुस्तकले अवश्य पनि आनन्दानुभूति, उर्जा र ज्ञान प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।

यो पुस्तक पढ्दा मलाई दुई खाले मानिसको सम्झना भयो । एक प्रकारको मानिसहरू, जसले प्रवासमा बसेर स्वदेशको क्रान्ति तथा राष्ट्रियता र जनतन्त्रको सङ्घर्षमा योगदान पु¥याएका थिए र अर्को प्रकारका मानिसहरू, जसले जुन ठाउँमा पुगे, पनि त्यहाँको बारेमा लेखेका छन् ।
पहिलो प्रकारका मानिसहरू ः लेनिनले स्विटजरल्यान्डमा बसेर पनि रुसी समाजवादी क्रान्तिका लागि त्यसको सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक काम प्रशस्त गर्नुभएको थियो । डा. सनयात सेनले चीनमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्नका लागि प्रवासबाट लगातार चेतना फैलाउने काम गर्नुभएको थियो । किमइल सुङ कोरियाबाट भागेर चीन गएपछि चीनबाटै कोरियालीलाई सङ्गठित गर्दै कोरियाली क्रान्तिका लागि काम गर्नुभएको थियो । होची मिन्ह फ्रान्सलगायत प्रवासमा रहँदा लगातार भियतनामको क्रान्तिका लागि सङ्गठन निर्माणको काम गर्नुभयो । अखिल भारत नेपालीएकता समाज आफ्नो रोजीरोटीको समस्याले विदेशिएका नेपालीलाई सङ्गठित गर्दै एक, उनीहरूकै समस्यासित जुध्न प्रयत्न गर्ने र दुई, उनीहरूलाई नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनको पक्षमा योगदान पु¥याउन प्रेरित गर्ने उद्देश्यले गठन गरिएको सङ्गठन हो ।

अखिल भारत नेपाली एकता समाजको नाम सन् २००२ को पाँचौं अखिल भारत सम्मेलनबाट परिवर्तन गरेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बनाइएको थियो । प्रवासबाट पनि स्वदेशको राजनीतिक तथा सामाजिक आन्दोलनमा योगदान पु¥याउन सकिन्छ भन्ने कुराको गतिलो उदाहरण मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र त्यसका नेता–कार्यकर्ता हुन् । नेपालका पनि कैयौँ वामपन्थी र लोकतान्त्रिक आन्दोलनका नेताहरूले स्वदेशको राजनीतिक परिवर्तनमा भारतबाट ठुल्ठुला योगदान दिएका छन् । त्यो योगदानमा गंगा पौडेलको योगदान पनि मिसिएको छ भन्ने कुरा प्रस्तुत पुस्तकमा उल्लेखित तथ्यले स्पष्ट गरेका छन् ।

दोस्रो प्रकारका मानिस ती व्यक्तिहरू, जसले जहाँ पुगे, त्यहाँकै बारेमा लेखे । आफू अमेरिकी भइकन पनि रूस आएर जोन रिडले कम्युनिस्ट पार्टीमा संलग्न भएर १९१७ को अक्टोबर क्रान्तिलाई प्रत्यक्ष देखे र लेखे– “संसार हल्लाएका ती दश दिन” । अक्टोबर क्रान्ति सम्पन्न भएको एक सय वर्षभन्दा ज्यादा समय भइसक्यो । तर यो पुस्तक अक्टोबर क्रान्तिबारे जानकारी लिने महत्त्वपूर्ण पुस्तक मानिन्छ, अहिले पनि । भारतका प्रसिद्ध विद्वान राहुल साकृत्यानले जहाँ पुगे, त्यसबारे लेखे– “घुमक्कड स्वामी” लगायतका तमाम पुस्तक । भारतको प्राचीन इतिहासमा ग्रीक इतिहासविद् एवं कूटनीतिज्ञ मेगास्थानिज (ई.पू. २५०–२९०) को विशेष स्थान छ । भारतमा उनी मौर्य साम्राज्यको पालामा ग्रीकको राजदूत बनेर आएका थिए । उनले “इन्डिका” नामक कृति लेखेका छन् । त्यसबाट प्राचीन कालमा भारतमा कस्तो शासन, प्रशासन, धर्म, संस्कृति, रहनसहन, आर्थिक अवस्था थियो भन्ने कुरा थाहा हुन्छ । एड्गर स्नो र अन्नालुई स्ट्रङले चीनको क्रान्तिबारे लेखेका रचना त्यतिकै महत्त्पूर्ण छन् । करिब १६ सय वर्षपहिले चिनियाँ भिक्षु फाहियानले नेपाल भ्रमण गरेका थिए र नेपाली भिक्षु बुद्धभद्रले चीन भ्रमण गरेका थिए । तिनीहरूको यात्रा वर्णन र छैटौँ शताब्दीको अन्त्यदेखि सातौँ शताब्दीको सुरुवातताका नेपाल भ्रमण गरेका चिनियाँ यात्री हुयन साङको आत्मवृत्तान्तले नेपालको त्यतिबेलाको शासन, प्रशासन, सामाजिक अवस्था, धर्म, संस्कृतिका बारेमा जानकारी प्राप्त हुन्छ । आजभन्दा झण्डै एक सय वर्षपहिले नेपाल आई तीन महिना नेपाल बसेका फ्रान्सेली लेखक सिल्भिया लेभीले नेपालको इतिहास र अवस्था लेखेका छन् । नेपालको नापी र नक्सामा स्विटजरल्यान्डका टोनी हेगनको महत्त्वपूर्ण योगदान छ । उनले पनि नेपालबारे लेखे । विदेशी लेखकहरू हड्सन र कर्कप्याट्रिकले पनि नेपालबारे धेरै लेखेर छाडे ।

यहाँ केही लेखकका बारेमा सामान्य जानकारी राख्न किन खोजियो भने लेखन कार्य एउटा सामाजिक योगदान हो र त्यो एउटा शक्ति पनि । त्यो त्यस्तो शक्ति हो, जसबाट सयौँहजारौँ वर्ष पुराना कुराको जानकारी मिल्न सक्दछ र त्यसले वर्तमानमा पनि कार्यपथमा अगाडि बढ्न मानिसलाई प्रेरणा दिइरहन्छ । भारतमा गएका नेपालीले धेरै महत्त्वपूर्ण राजनीतिक तथा सामाजिक काम गरेका छन् । यदि तिनीहरूलाई लेखेर नराख्ने हो भने यत्तिकै स्मरणबाट हराउँदै जाने खतरा हुन्छ । भारतमा रहेर राजनीतिक तथा सामाजिक आन्दोलनको एउटा प्रत्यक्ष अगुवाको प्रवचनको रूपमा यो कृति पाठकको हातमा आएको छ भन्ने मैले महशुस गरेको छु ।

सन् १९८० को २३ मा दरखास्त हाली १९८० कै जुन १ तारिखमा गंगा पौडेलले अखिल भारत नेपाली एकता समाजको सदस्यता प्राप्त गर्नुभएको थियो । १९७९ नोभेम्बर ७ मा एकता समाजको स्थापना भएको थियो । त्यसको झण्डै एक वर्षपछि गंगा पौडेल त्यो सङ्गठनमा जोडिएको तथ्यलाई हेर्दा उहाँ एकता समाजको प्रारम्भिक कालदेखि नै संलग्न भएको थाहा हुन्छ । त्यसको पाँच महिनापछि १९८० नोभेम्बर ७ मा मद्रासको चेटपेट नगर समितिको सचिवमा निर्वाचित हुनुभयो । १९८२ सेप्टेम्बर ५, ६ र ७ मा नयाँदिल्लीमा सम्पन्न अभानेएसको प्रथम अखिल भारत सम्मेलनमा उहाँ मद्रासबाट पर्यवेक्षकको रूपमा सहभागी हुनुभएको थियो । १९८५ डिसेम्बर १० देखि १४ सम्म दिल्लीमा सम्पन्न भएको अभानेएस दोस्रो अखिल भारत सम्मेलनमा उहाँ मद्रासबाट प्रतिनिधिको रूपमा सहभागी हुनुभएको थियो । १९८९ नोभेम्बर १३ देखि १६ सम्म कानपुरमा सम्पन्न भएको अभानेएसको तेस्रो अखिल भारत सम्मेलनमा उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । १९९५ फेब्रुअरी १५ देखि १९ सम्म नयाँदिल्लीमा सम्पन्न अभानेएसको चौथो अखिल भारत सम्मेलनबाट उहाँ केन्द्रीय कोषाध्यक्षमा निर्वाचित हुनुभयो । २००२ फ्रेबुअरी १० देखि १३ सम्म हैदरावादमा सम्पन्न अभाएसको पाँचौँ अखिल भारत सम्मेलनबाट उहाँ महासचिवमा निर्वाचित हुनुभयो, यद्यपि त्यसभन्दा पहिले नै सङ्गठनका अध्यक्ष लीलानाथ कुसुम केही समयसम्म सङ्गठन त्यागेर हिँडेकाले महासचिव गिरधारीलालले अध्यक्षको पद सम्हाल्नुपर्ने भएकाले १९९६ देखि नै उहाँले महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । २००९ सेप्टेम्बर १२ देखि १५ सम्म हरियाणा राज्यको फरिदावादमा सम्पन्न अभानेएसको छैटौँ अखिल भारत सम्मेलनबाट केन्द्रीय सल्लाहकारमा चयन हुनुभएको थियो । छैठौँ अखिलभारत सम्मेलन हुनुभन्दा पहिले उहाँ सङ्गठनको जिम्माले नेपाल आइसक्नुभएको थियो । २०१४ सेप्टेम्बर २१ देखि २३ सम्म लखनऊमा सम्पन्न अभानेएसको सातौँ अखिल भारत सम्मेलनमा उहाँ नेपालबाट अतिथिको रूपमा सहभागी बन्नुभएको थियो । यसरी उहाँ लगातार एकता समाजको सिङ्गो इतिहाससँग जोडिदैं आउनुभएको छ ।

लेखक गंगा पौडेलले यस पुस्तकलाई ४६ वटा शीर्षकमा राखेर विषयवस्तु प्रस्तुत गर्नुभएको छ । सुरुमै “परिचय” शीर्षक राखिएको छ । यो शीर्षकबाट लेखक गंगा पौडेल, उहाँको पारिवारिक पृष्ठभूमि र उहाँको जन्मभूमिको परिचय खुल्दछ । गंगा पौडेल २०१५ माघ १० गते पिता काशिराम उपाध्याय र आमा जालपादेवीको कोखबाट जन्मनुभएको थियो ।

पर्वत जिल्लाको फलेवास देवीस्थान वडा नं. २ उहाँको पुख्र्यौली थलो हो । उहाँ ४ भाइ, ३ बहिनीमध्ये एक बहिनी सानैमा देहान्त भएको थियो र उहाँ कान्छो हुनुहुन्थ्यो । चार वर्षको नाबालकको अवस्थामा पिता काशीराम उपाध्यायको मृत्यु भएकाले बाल्यकालमा टुहुरो भएर बाँच्नुप¥यो । उहाँलाई गरिबी र अभावका कारण नेपालमा ८ कक्षाभन्दा माथि पढ्न पाउनुभएन ।

लेखक गंगा पौडेलको जागिरे जीवन पनि रोचक कहानीले भरिएको छ । २०३० सालमा गोरखपुरबाट रेलगाडी चढेर उहाँ मद्रास पुग्नुभयो । उमेर सानै भएकाले र तमिल भाषा पनि नजान्ने भएकाले जागिर पाउन पनि मुस्किल भयो । दुःखका साथ तमिल भाषा सिक्न खोज्नुभयो र हल्काफुल्का तमिल पत्रिका पढ्न सक्ने बन्नुभयो । एउटा बरफ उत्पादन गर्ने कम्पनीमा बरफ तौलेर ग्राहकलाई दिने जागिर पाउनुभयो । तलब मासिक भारु १५० थियो । कम्पनी बन्द भएपछि उहाँ घरमा चौकीदार गर्ने जागिरमा लाग्नुभयो ।

केही समयपछि १९७७ मा तमिलनाडु हाइवे डिपार्टमेन्ट अफिसमा उहाँले सरकारी जागिर पाउनुभयो । मासिक तलब भारु २४० थियो । १९८१ मा उहाँले खाइरहेको जागिरभन्दा राम्रो जागिर पाउनु भयो । तदनुरूप उहाँ तमिलनाडु गुड्स ट्रान्सपोर्ट कर्पोरेसन लिमिटेडमा सेक्युरिटी पोस्टमा जागिर पाउनुभयो । करिब १४ वर्षपछि त्यो कम्पनी बन्द भयो । तर कार्यरत कर्मचारीलाई सरकारले तमिलनाडुका विभिन्न जिल्लामा सञ्चालित बस ट्रान्सपोर्टमा पुरानै सेवा कायम रहने गरी स्थानान्तरण गरेको थियो । उहाँ सुपरभाइजर र एमडी चेम्बरसम्म बढुवा हुनुभयो । त्यसभन्दा पहिले नै उहाँले इलाहावाद बोर्डबाट हाइस्कुलको परीक्षा पास गरिसक्नुभएको थियो । वाराणसीबाट इन्टरसम्मको पढाइ पूरा गर्नुभयो । दुई वर्षपछि जागिरको पेन्सनको व्यवस्था हुँदै थियो । तर सङ्गठनको आवश्यकताले १९९९ जनवरी १ तारिखका दिन जागिरबाट अवकाश लिएर सङ्गठनको होलटाइमरका रूपमा काम गर्नतिर लाग्नुभयो । छँदाछँदैको जागिर त्याग गरेर आन्दोलनमा होमिने मानिस सीमित हुन्छन्, ती सीमित मानिसमध्ये एक जना गंगा पौडेल पनि हुनुहुन्छ ।

“सङ्गठनको सिलसिलमा पुगेका स्थान” शीर्षकमा उहाँ लेखकले भारतमा सङ्गठनको कामले पुगेका स्थानको नाम दिनुभएको छ । उहाँ भारतका २४ वटा राज्यका कैयौँ सहर र ग्रामीण क्षेत्रमा पुग्नुभएको रहेछ । “भारतमा दुई थरि नेपाली” शीर्षकमा लेखकले १८१६ को सुगौली सन्धिअनुसार भारतीय भूमितर्फ परेका नेपाली मूलका भारतीय नागरिक र रोजगारी, पेसा–व्यवसाय वा आफ्नो व्यक्तिगत कामले अस्थायी रूपले भारतमा रहेका नेपाली नागरिकका बारेमा चर्चा गर्नुभएको छ । यस पुस्तकमा लेखकले सन् १९७९ मा आसामबाट र १९८७ मा मेघालयबाट लखेटिएका दुःखपूर्ण घटनाको उल्लेख गर्दै २०१९ अगस्त ३१ मा भारत सरकारले जारी गरेको एनआरसीसम्बन्धी सूचनाबाट पनि लाखौँ नेपाली मूलका भारतीय नागरिकताविहीन बन्ने कुरा पनि स्पष्ट गर्नुभएको छ । भारतमा नेपालीभाषीले भाषिक अधिकार माग गर्दा तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईले “नेपाल भाषा चाहिए नेपाल जानू” भनेर दिएको तितो जवाफसमेत लेखक पौडेलले आफ्नो पुस्तकमा राख्नुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतमा नेपाली र नेपाली मूलका भारतीयको अधिकारका पक्षमा लगातार सङ्घर्ष गर्दै आएको छ ।

“सङ्गठनले गरेका उद्दार कार्य” शीर्षकमा वेश्यालयमा बेचिएका चेलीको उद्दार, दुर्घटनामा परेको, चोर, ठग र मालिकबाट लुटिएका ठगिएकाको उद्दार र क्षतिपूर्ति, असहाय बिरामीको सहयोगलगायतका उद्दारकार्यको लामो सूची पुस्तकमा दिइएको छ । हेमराज–आरुषी हत्याकाण्ड (२००८), बर्दिया निवासी मोतिराज सुनारकी छोरीको सामूहिक बलात्कार (२०१५) का विरुद्ध मूल प्रवाहले गरेका सङ्घर्ष विशेष उल्लेखनीय छन् ।

“आन्दोलन, सङ्घर्षका कार्यक्रम” शीर्षकमा एकता समाजले गरेका सङ्घर्षको सङ्क्षिप्त विवरण प्रस्तुत गरिएको छ । १९८३ मा पञ्चायती व्यवस्थाका विरुद्धमा भारतका विभिन्न सहरमा गरिएका प्रदर्शन, १९८५ मार्च २५ मा दिल्लीस्थित नेपाली दूतावासअगाडि नेपालमा चलिरहेका शिक्षकको सङ्घर्षको समर्थनमा एकता समाज, युवक, विद्यार्थी मोर्चाको संयुक्त प्रदर्शन, पञ्चायती व्यवस्थाका विरुद्धमा १९८६ को प्रदर्शन र त्यो प्रदर्शनमाथि दमनपछि ८५ पुरुष तथा १० महिलासहित ९५ जनालाई जेलचलान, १९८६ मै नेपालको “पौष १” लाई कालो दिवसको रूपमा मनाइएको, २०४४ फागुन २९ गतेको काठमाडौँको रङ्गशाला काण्ड विरुद्धको कार्यक्रम, १९८९ अप्रिल ५ मा १९५० को असमान सन्धि विरुद्ध प्रदर्शन, १२ मे काण्डको मुद्दा खारेजीका लागि सङ्घर्ष, संविधान सभा चुनावको माग गर्दै प्रदर्शन, २०४६ को जनआन्दोलनको समर्थनमा प्रदर्शन, १९९८ मा चितवनमा काङ्ग्रेसद्वारा अखिल (छैठौँ) को सम्मेलनमा गरिएको आक्रमणलाई विरोध गर्दै प्रदर्शन, सुमित्रा हत्याकाण्ड विरुद्धको सङ्घर्ष, १९९९ मा कार्गिल घटनाको विरोधमा प्रदर्शन, सन् २००० मा उग्रवादीद्वारा आसाममा नेपालीमाथि गरिएको हत्या, आतङ्कको विरोधमा प्रदर्शन, सिमानामा हुने लुटपाटका विरुद्ध सङ्घर्ष, नेपालको राष्ट्रियताको पक्षमा सङ्घर्ष, कुल्लु–मनालीमा अस्थायी मजदुरलाई स्थायी गर्नका लागि सङ्घर्ष र सफलतालगायतका विवरण लेखकले यस पुस्तकमा उल्लेख गर्नुभएको छ ।

“एकता समाजमा विभाजन” शीर्षकमा लेखकले सङ्गठन विभाजनका बेलामा विजय शर्माले पठाएको चिठी र त्यसबाट प्रभावित नभएको, कलकत्ता सम्मेलनमा नगई दिल्ली सम्मेलनमा गएको अनुभव बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस, प्रवासमा रहने नेपालीको सम्बन्धित देशबाटै मताधिकारको व्यवस्थाका लागि गरिएका सङ्घर्ष, सङ्घीयता विरुद्ध सङ्घर्ष, प्रशिक्षण कार्यक्रम, युवा, विद्यार्थी, रक्तिम, महिला, दलित, जनजाति मोर्चाको गतिविधि, एकता समाजको भौतिक सम्पत्ति, भारत गएका नेता, भारतबाट नेपाल आएका पेशेवर कार्यकर्ता, हाल भारतमा रहेका पेशेवर कार्यकर्ता, हरिलाल शर्मासित सङ्गत, कलाकारसितको यात्रालगायतका विषयमाथि लेखकले निकै रोचक तरिकाले वर्णन गर्नुभएको छ ।

“प्रवास डायरी” मा केवल भारतमा लेखकले लिएका अनुभव र त्यहाँको सङ्गठन र सङ्घर्षको इतिहास मात्र राखिएको छैन । लेखकले अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्षको हैसियतले सन् २०१४ मा कतार र दुबई भ्रमण गरेको र त्यहाँको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गरेका विवरण पनि दिनु भएको छ । “विदेशमा नेपालीको जीवनस्तर” शीर्षकमा लेखकले प्रवास गएका नेपालीको अवस्था चित्रण गर्नुभएको छ ।

लेखकले यस पुस्तकमा एकता समाजको क्षेत्रीय सम्मेलनको जानकारी दिनुको साथै एकता समाजको स्थापनाबाट पहिलो अखिल भारत सम्मेलन हुँदै सातौँ अखिल भारत सम्मेलनसम्मको इतिहासलाई लिपिबद्ध गरेर महत्त्पूर्ण काम गर्नुभएको छ । शशिधर भण्डारीले त्रिभुवन विश्वविद्यालय मानविकी सङ्काय इतिहास विभागबाट “मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहास” माथि एमएको शोधपत्र लेख्नुभएको छ । गंगा पौडेलजीको यो पुस्तक शोधार्थीका लागि एउटा आधिकारिक स्रोत हुने छ भन्ने कुरामा द्विविधा राख्नुपर्दैन ।

यस पुस्तकको भूमिका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले लेख्नुभएको छ । वामपन्थी नेता कृष्णराज पौडेल, नेकपा (मसाल) का पूर्व प्रवक्ता विमल शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व सभापति डिलाराम आचार्य र अर्का पूर्व सभापति गिरधारीलाल न्यौपाने, रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जीवन शर्मा, अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाका पूर्व अध्यक्ष दीपक पाण्डे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका वर्तमान केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल र रक्तिम सांस्कृतिक अभियान बागलुङका पूर्व अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य थुमराज ढुङ्गानाले यस पुस्तकमाथि शुभकामना दिनुभएको छ ।

यस पुस्तकको प्रकाशकीय जिम्मेवारी सरस्वती पौडेलले लिनुभएको छ । पुस्तकको मूल्य नेरु २५० र भारु १५० राखिएको छ । अहिलेको प्रचलित पुस्तक मूल्यलाई हेर्दा यसमा सस्तो मूल्य राखिएको छ । यस पुस्तकको अर्को महत्त्पूर्ण विशेषता भनेको पुस्तकभित्र विभिन्न कालखण्ड र घटनाक्रमलाई दर्शाउने १२१ फोटा राखिएका छन् ।

हिमाचलको भावनगर सुङ्ग्रामा गिट्टी कुट्दै गरेका नेपाली दिदीबहिनी, शिमला र शिलोङमा भारी बोक्ने, गाडीमा सामान लोड÷अनलोड गर्ने नेपाली भरिया, कुल्लुमनाली र शिमलामा काम नपाएर भौतारिएका नेपालीको फोटो देखेर हरेक पाठक भावुक हुने छन् । फोटाले मूल प्रवाहका गतिविधि र प्रवासी नेपालीको दुःखान्त दशा बोलिरहका छन् । कतिपय फोटामा मिति खुलेको छैन । मिति स्पष्ट हुन नसकेर पनि होला । मिति सकभर राखिदिएको भए राम्रो हुन्थ्यो ।

पुस्तकको साजसज्जा र कम्प्युटर टाइपिङ डिजाइनिङमा गोविन्द शर्मा र प्रगति शर्माले राम्रै मिहिनेत गर्नुभएको छ । यो पुस्तक प्रवासमा रहने नेपाली दाजुभाइ, दिदीबहिनीलाई प्रशिक्षण गर्नका लागि सन्दर्भ पुस्तक बन्ने छ ।

यस पुस्तकको २४० पृष्ठ रहेको छ । यो पुस्तक “प्रवास डायरी” भनिए पनि स्वदेशका विभिन्न राजनीतिक घटनाक्रम पनि सन्दर्भवस उठाइएका छन् र नेपाल फर्किएपछि लेखकले खेलेको भूमिका पनि यस पुस्तकमा परेका छन् । प्रवासमा काम गर्दागर्दै जीवन गुमाउनेको पनि जानकारी दिइएको छ ।

गंगा पौडेलजी प्रगतिशील सोच मात्र राख्नु हुन्न, व्यवहारमा पनि सोचाइलाई प्रयोग गर्नुहुन्छ । छोरी रोशनी र छोरा निर्मलको प्रगतिशील विवाह गराउनुभयो । गंगा पौडेल पार्टीभित्र पाएको जिम्मा ओगटेर मात्र बस्ने हैन, काम पूरा गरेर छाड्ने नेता हुनुहुन्छ । चाहे भारतमा काम गर्दा होस् वा नेपाल फर्किएर काम गर्दाको अवस्थामा होस्, उहाँले पाएको जिम्मा फत्ते गरेर छाड्नु हुन्छ । कार्यालय व्यवस्थापन होस् वा युगदर्शन प्रकाशन वा वैधानिक पत्रिकाको अध्यक्ष र व्यवस्थापकीय जिम्मा होस् वा बुटवल भवनको रङ्गरोगनको जिम्मा उहाँले आफ्ना काम पूरा गरेरै छाड्नुभयो । २०६६ वैशाखमा काठमाडौँकेन्द्रित आन्दोलनका बेला मलाई कीर्तिपुर क्याम्पसको जिम्मा थियो । ५–६ दिनपछि उहाँ त्यहाँ पुग्नुभयो । उहाँले व्यवस्थापकीय पाटामा ठोस योजना लिएर जानुभएको थियो । अहिले किताब लेख्ने योजना बनाएपछि त्यो काम पनि पूरा गरेरै छाड्नुभयो । उहाँले अन्य विधामा पनि कलम चलाउने भन्नुभएको छ । काममा लागेपछि काम गरेरै छाड्ने उहाँको बानी छ । त्यसकारण आगामी दिनमा लेखकीय र प्रकाशकीय काममा योगदान पु¥याउनु हुने छ भन्ने हामी अपेक्षा गर्दछौँ ।

नेपालीमा एउटा उखान छ ‘बोल्ने बिराउँछ’ भनेजस्तै लेख्नेका पनिकमजोरी हुन्छन् । जानकार पाठकहरूले औल्याउने कमजोरीबाट लेखकलाई आगामी दिनमा सुधार गर्न अवसर हुने छ । गंगा पौडेलजीले अहिलेसम्म प्राप्त गरेका सैद्धान्तिक, साङ्गठनिक र व्यवस्थापकीय अनुभवलाई आगामी दिनमा देश, जनता, पार्टी, क्रान्ति र समाजको हितमा प्रयोग गर्नु हुने छ भन्ने आशा गर्दछौँ । राजनीतिक, साङ्गठनिक, लेखकीय, प्रकाशकीय र सामाजिक परिवर्तनको क्षेत्रमा यहाँको योगदान थपिँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here