‘पहिचान’ को शिकार

0
284

आनन्दराम पौडेल

भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। म अल्मलिएको देखेर उनैले आफ्नो परिचय दिइन्। परिचय पाउनासाथ टेलिभिजन र अखबारहरुमा देखेको उनको फोटो झलक्क सम्झें। कोलकाताको बनर्जी परिवारकी छोरी सुस्मिता बेनर्जी रहिछन्। जातिवादी, कट्टर साम्प्रदायिकहरुको शिकार भएको सुनेको थिएँ। जान्ने कौतुहल थियो। साम्प्रदायिक, जातिवादीहरुको अत्याचार र उनले गरेको सङ्घर्ष फटाफट बताइन्।

उनले भनिन्, “सन १९८९ भन्दा अघिको कुरो हो। त्यसबेला आफ्नो अध्ययन सकेर एउटा हेल्थ इन्स्टिच्युटमा काम गर्न थालेको थिएँ। व्यापारिक कामको शिलशिलामा अफगानी व्यापारी जाँवाज खान आइरहन्थे। हाम्रो हेल्थ इन्स्टिच्युटलाइ आवश्यक पर्ने सामगृ उनैले सप्लाइ गर्थे। मधुर स्वरमा बोल्ने, मितभाषी, जाँवाज खान ह्याण्डसम र सुदर्शन थिए। इन्स्टिच्युटमा हुने औपचारिक भेटघाटसँगै हामीले बाहिरपनि भेटघाट गर्न थाल्यौं। आकर्षण हार्दिकतामा र हार्दिकता प्रेममा रुपान्तर हुँदै गाढा प्रेममा पुगेपछि हामीले बिवाह गर्ने निधो ग-यौं। म बङ्गाली हिन्दू परिवारकी छोरीले इश्लाम धर्माबलम्बी जाँवाजसँग बिवाह गरेपनि कुनै असहज महसुस गरेकी थिइन। कोलकातामा मलाइ काबुलीवालाकी बङ्गाली पत्नी भन्थे।

बिवाह गरेपछि सन १८८९मा पति जाँवाजको घर खाराना गएँ। खाराना व्यापारिक केन्द्र मात्र हैन, पाक्तिका प्रान्तको राजधानी समेत् भएकोले ठूलै शहर हो। व्यापारिक घरानाका जाँवाज सम्पन्न परिवारका रहेछन्। जातीय कट्टरतावादीहरु हावी भैनसकेकाले त्यसबेला अफगानिस्तान सज्जन मान्छे बस्नलायक नै थियो। सन १९९३ मा जातीय कट्टरतावादीहरुले आफ्नो पकडमा राखेर दमनको जाँतो नचलाउञ्जेल वातावरण त्यति डरलाग्दो थिएन। त्यसबेलासम्म म घरमै औषधीपसल राखेर बिरामीको उपचार गर्थें र स्थानीय महिलाको जनजीवन र जीवनशैलिको भिडियो खिंच्थें। म त्यहाँको जनजीवनमा भिजिसकेको थिएँ। मलाइ त्यहाँ सयद कमला भन्थे। स

न १९९३ देखि तालिवानीहरुको दबदबा ह्वात्तै बढ्यो। जतिजति तालिबानीको प्रभाव बढ्यो त्यति नै जातीय कट्टरतावादीहरुको अमानवीय, कठोर र क्रुर व्यवहार देखिन थाल्यो। सन १९९३ को अन्तसम्ममा कट्टर जातिवादीहरुले मप्रति कठोर व्यवहार गर्न थालिसकेका थिए। १९९४ नलाग्दै मैले चलाएको औषधीपसलसमेत् बन्द गर्न आदेश गरे। तालिवानीहरुले जारी गरेका आचारसंहिता पूर्ण पालन नगरेको आरोप ममाथि लगाए। मलाइ बारम्बार धम्की दिनथाले। सन्त्रास र आतङ्कको तनावबाट उम्कनको लागि पर्खालमुनी सुरुङ खनेर भागें।

त्यहाँबाट उम्केर आएको केही समयपछि सबै घटनाबिबरण समेटेर लामो लेख लेखें। जुन सन १९९८ को आउटलुक पत्रिकामा प्रकाशित भयो। त्यो लेख यति चर्चित भयो कि त्यसले मलाइ आफ्नो संस्मरणमा आधारीत पुस्तक लेख्न अभिप्रेरीत गर्यो। २-३ बर्षसम्म उक्त पुस्तक भारतमा बेस्ट सेलर भैरह्यो। त्यही पुस्तकमै सन २००३मा “इस्केप फ्रम तालिवान” फिल्म बन्यो, जस्मा मनिषा कोइरालाले प्रमुख भूमिकाको जिम्मेवारी पूरा गरेकी छिन्।

यहाँसम्म त ठीकै थियो। स्थितिमा परिवर्तन आएको छ भन्ने सुनेर, भर्खर १ महिनाअघि पतिसँगै आफ्नो घर खाराना पुगेकी थिएँ। म त्यहाँ आएको कट्टर जातीवादीहरुले थाहा पाएछन्। उनीहरु मेरो घरमा आए। मेरो लोग्ने र परिवारका सदस्यलाइ बाँधे। मलाइ घिसार्दै बाहिर ल्याएर गोली ठोके, र मेरो शवलाइ नजिकैको धार्मिक स्कूलको प्राङ्गणमा फ्याँकिदिए।

टेपरिकर्डर चलेजस्तै सुस्मिता बेनर्जी एकोहोरो बोलिरहेकी थिइन्। म तन्द्रामै भएपनि देशदुनियाँ र आफैंलाइ समेत् भुली एकाग्र भएर सुनिरहेको थिएँ। टेपरिकर्डर एकछिन रोकियो र पुन: बोल्न थाल्यो। आफ्नो करुणकहानी सुनाइसकेपछि सुस्मिताले यत्ति मात्र भनिन्, “जातीय कट्टरताको भयावहता सुनिहाल्नुभयो। तपाईंको देशमा पनि कम्युनिष्ट पार्टीहरु जातपातको राजनीति गर्न कस्सिएर लागेका छन्। जनता झुक्याउन उनीहरुले “पहिचान” भनेपनि जातीय राजनीति नै हो। होस गर्नुहोला।”

यति भनेर सुस्मिता अँध्यारोमा गायब भइन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here