न्यायपालिका स्वतन्त्र राख्न बार सक्षम र सवल हुनु पर्छ

0
157

अधिवक्ता चुरामणि भुसाल, केन्द्रीय सदस्य, अखिल नेपाल कानुन व्यवसायी संघ

(२०२९ सालमा अर्घाखाँची जिल्लाको तत्कालीन ढाकावाङ गाउँ विकास समितिको वडा नं. ७, हाल भूमिकास्थान नगरपालिका वडा नं. २ मा जन्मनु भई राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नु भएका अधिवक्ता चुरामणि भुसाल २०५४ सालदेखि वकालत पेशा सुरु गर्नु भई निरन्तर सोही पेशामा रहँदै आउनु भएको छ । प्युठान जिल्ला अदालत बार एसोसिएसनको दुई पटक सचिव, दुई पटक उपाध्यक्ष र दुई पटक केन्द्रीय पार्षद समेत भई बारमा योगदान दिनु भएका भुसाल हाल उच्च अदालत बार एसोसियसन पाटनमा आबद्ध हुनु हुन्छ । वकालत व्यवसायको अतिरिक्त नवोदित कानुन व्यवसायी तथा कानुनका विद्यार्थीहरुलाई ल प्राक्टिस तालिम समेत सञ्चालन गर्दै आउनु भएको छ अधिवक्ता भुसालले । उहाँ २०७५ चैत्र १६ गते सम्पन्न हुने नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिको निर्वाचनमा अखिल नेपाल कानुन व्यवसायी सङ्घको तर्फबाट खुला सदस्य पदको उम्मेदवार हुनु हुन्छ । बार एसोसिएसनको आसन्न निर्वाचन र उहाँको उम्मेदवारीको सन्दर्भमा उहाँसँग गरिएको कुराकानीको सारसङ्क्षेप )

० बार निर्वाचनको तयारी कसरी अगाडि बढिरहेको छ ?

– चुनाव प्रचारप्रसारको क्रममा अखिल नेपाल कानुन व्यवसायी सङ्घका साथीहरु उपत्यकामा र देशका विभिन्न ठाउँमा निरन्तर खटिरहनु भएको छ । यसै क्रममा प्रचार प्रसार टोलीले काठमाडौँ जिल्ला अदालत, उच्च अदालत पाटन, ललितपुर जिलला अदालत, सर्वोच्च अदालत, भक्तपुर जिल्ला अदालत र काभे्रेपलाञ्चोक जिल्ला अदालतमा गई वरिष्ठ अधिवक्ता तथा अधिवक्ता, अभिवक्ता लगायतका दिनहुँ सयौँ कानुन–व्यवसायीहरुसँग भेटघाट गरी हाम्रो एजेन्डा तथा बारमा हाम्रो उपस्थितिको अनिवार्यतालाई प्रष्ट पार्ने काम गरेको छ । म उपत्यका बाहिरका जिल्ला अदालत बार र उच्च अदालत बार गरी २० वटा बारमा पुगी प्रचारप्रसार गरी उपत्यकामा फर्किएँ । म उपत्यकामा आइसकेपछि म सहित अखिल नेपाल कानुन व्यवसायी सङ्घको प्रचारप्रसार टोलीले चैत्र ७ गतेदेखि चाबहिल, कलङ्कीस्थित ल फर्महरुका कानुन व्यवसायी, निःशुल्क कानुनी सहायता एवं महिला हक–अधिकारको सम्बन्धमा क्रियाशील संस्थाहरु कानुनी सहयोग तथा परामर्श केन्द्र (एल.ए.सी.सी.), एफ.डब्लू.एल.डी. तथा राष्ट्रिय मानव अधिकार आयोग, ग्लोबल आई.एम.ई. बैङ्कसँग सम्बन्धित कानुन–व्यवसायीहरुसँग साथै अन्य कानुन व्यवसायीहरुसँग भेटघाट सम्पन्न गरेको छ । सार्वजनिक सरोकारको मुद्दालाई सशक्त रूपमा उठान गर्ने संस्थाहरु जनहित संरक्षण मञ्च (प्रो–पब्लिक), जुरीसँग सम्बन्धित कानुन व्यवसायीसँग समन्वय भइरहेको छ । एकता ग्रुपका साथी, चुरामणि भुसाल जिताऔँ अभियानका साथी, चुरामणि भुसाल जिताउका साथीहरु समेत ब्यापक रूपमा प्रचार प्रसारमा लागिरहनु भएको छ ।

चैत्र ११ गतेबाट वरिष्ठ अधिवक्ताज्यूहरु लगायत अन्य कानुन–व्यवसायीहरुलाई भेटघाट गर्ने डोर टू डोर कार्यक्रम सञ्चालन भइरहेको छ । “बारमा सबैको सहभागिता र समावेशिताको सुनिश्चितता गरौँ, स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त न्यायपालिका र राष्ट्रिय एकताको पक्षमा मतदान गरौँ” भन्ने हाम्रो मूल नारालाई हामीले दिनहुँ सयौँ कानुन–व्यवसायीहरु समक्ष पुर्याई प्रचारप्रचार कार्यक्रम सञ्चालन गरिरहेका छौँ । म उपत्यकामा आइसकेपछि प्रचार प्रसार कार्यक्रम अत्यन्तै तीव्र रूपमा अगाडि बढिरहेको छ । सबै साथीहरु अत्यन्तै उत्साह एवं एकाग्रताका साथ तीव्र रूपमा लागिरहनु भएको छ ।

० यो निर्वाचनमा तपाईहरुको चुनावी एजेन्डा के के हुन ?

– हाम्रा चुनावी एजेन्डा धेरै छन । नेपालका कानुन निर्माण, विकास, परिमार्जनका लागि विषयविज्ञको रूपमा नेपाल बार एसोसिएसनको अनिवार्य सहभागिताका लागि पहल गर्ने, गरिब, विपन्न, उत्पीडित, जनजाति, जनसमुदाय एवं दूरदराजका आम नागरिकलाई न्यायमा सहज पहुँचका लागि आवश्यक व्यवस्थाको पहल गर्ने, भ्रष्टाचारमुक्त, जवाफदेही एवं प्रभावकारी न्यायालयको सुनिश्चितताका लागि आवश्यक पहल गर्ने, सबै तहका अदालतमा माननीय न्यायाधीशको नियुक्तिमा पचास प्रतिशत कानुन–व्यवसायीबाट नियुक्तिको सुनिश्चितता गर्न पहल गर्ने, लैङगिक विभेद अन्त्य गर्न बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयनमा आवश्यक पहल गर्ने, नवोदित कानुन व्यवसायी तथा साना फर्महरु पेशाबाट पलायन हुने अवस्थाको अन्यक व्यवस्था गर्न विशेष पहल गर्ने, लैङ्गिक विभेद अन्त्य गर्न बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयनमा आवश्यक पहल गर्ने, बृद्घ एवं अशक्त कानुन–व्यवसायीको वृत्तिका आवश्यक कोष एवं स्वास्थ्य बिमाको व्यवस्था गर्न पहल गर्ने, सम्पूर्ण कानुन व्यवसायीहरुका लागि नेपाल बारमा कानुन व्यवसायी हित कोष तत्काल स्थापना गर्न विशेष पहल गर्ने, कानुन व्यवसायीको क्षमता अभिवृद्घिका लागि आवश्यक पाठ्यक्रमको विकास गरी कार्यान्वयन गर्न पहल गर्ने, कम्पनी दर्ता, अद्यावधिक र खारेजीका लागि गरिने सम्पूर्ण काम, सहकारी दर्ता, संस्था दर्ता, उद्योग–व्यवसाय दर्ताका लागि कानुन–व्यवसायीको अनिवार्यतालाई सुनिश्चित गर्न पहल गर्ने आदि लगायतका मूल एजेन्डा हाम्रा चुनावी एजेन्डाहरु हुन् ।

० संयुक्त रूपमा चुनावी अभियानमा किन नजानु भएको हो ?

– २०७२ सालको निर्वाचनभन्दा अगाडिका निर्वाचनहरुमा हामी वामपन्थी-प्रगतिशील प्यानलमा संयुक्त रूपमा जाने गरेका थियौँ । ती निर्वाचनमा हाम्रो सङ्गठनको तर्फबाट अधिवक्ता पदम रोका सदस्य पदमा उम्मेदवारी दिई संयुक्त रूपमा चुनावी अभियानमा गएका थियौँ । गत २०७२ सालको निर्वाचनमा आफूलाई वामपन्थी रएवं प्रगतिशील बताउने कानुन–व्यवसायी सङ्गठनले हामीहरुलाई प्यानलमा समाहित गरेर लैजाने कुनै प्रयत्नको सट्टा उल्टै उम्मेदवारी फिर्ता लिनु होस् भनेपछि हामी आफ्नै किसिमले निर्वाचनमा भाग लिएका थियौँ । सोही कारणले उनीहरुले नराम्रोसँग पराजित हुनु परेको थियो । यस निर्वाचनमा पनि आफूलाई बामपन्थी एवं प्रगतिशील पक्ष दावी गर्ने कानुन–व्यवसायी सङ्गठनले हामीहरुलाई प्यानलमा समाहित गरेर लैजाने कुनै पहल नै गर्नु भएन । त्यस किसिमको उनीहरुको गैरजिम्मेवार दृष्टिकोण र व्यवहारको स्वाभाविक परिणाम यो हुन गयो कि हाम्रो कारणले नभई उनीहरुकै कारणले बारको निर्वाचनमा हामी हाम्रो तर्फबाट छुट्टै अभियानमा लागिरहेका छौँ । उनीहरुले सबै वामपन्थीको प्यानल हो भनेर भ्रामक प्रचार गरेको म उपत्यका बाहिरको प्रचार प्रसारमा गएको बेला थुपै्र कानुन व्यवसायीहरुबाट जानकारी हुन आयो ।

० बारमा पुग्नु नै भयो भने पनि तपाई एक्लो व्यक्तिको प्रयत्नले के परिवर्तन गर्न सक्नु हुन्छ ?

– अहिलेको बारको भूमिका गणतन्त्र अगाडिको बारको भन्दा हरेक क्षेत्रमा न्यून रहेको छ, बार हरेक हिसाबले भूमिकाविहीन हुन पुगेको छ । सुधार गर्नु पर्ने कुरा धेरै छन् तर पनि यदि मलाई मतदाता कानुन–व्यवसायीहरुले निर्वाचित हुने मौका प्रदान गर्नु भयो भने पहिलो बैठकमा नै कानुन–व्यवसायी हित कोषको व्यवस्था गर्न प्रस्ताव लैजाने छु । नेपालको राष्ट्रिय एकता नै खतरामा पर्न लागिरहेको वर्तमान जटिल परिस्थितिमा मातृभूमि नेपालको रक्षाका लागि राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि विखण्डनवादी एजेन्डा बारभित्र संस्थागत हुन नदिने, हामी नेपालीलाई नेपालभित्रै अल्पमतमा पार्ने सुनियोजित रूपमा ल्याउन लागिएको नागरिकता विधेयक लगायतका मातृभूमि नेपालको राष्ट्रिय एकता खल्बल्याउने, सदियौँदेखि मिलेर बसेका हामी नेपालीहरुका बीचमा वैरभाव पैदा गर्ने एवं नेपाललाई खण्डीकरण गर्ने प्रकारको जुनसुकै विधेयक, कानुनको विरुद्घ आवाज उठाई त्यस्ता विषयमा बारलाई आवाज उठाउन सचेत पार्ने, न्यायपालिकालाई स्वतन्त्र राख्न बारभित्र आवाज बुलन्द गर्ने, सो बिषयमा कानुन व्यवसायीहरु बीचमा छलफल चलाई निरन्तर सम्झौताहीन सङ्घर्ष गर्ने, सचेत पार्ने, कानुन व्यवसायीको भूमिका र गरिमालाई सदा उच्च राख्ने कार्यहरुको साथै हाम्रो चुनावी घोषणा पत्रमा उल्लेखित कार्य गर्न गराउन निरन्तर अगाडि बढ्ने छु । सही विचार हामीले बोकेको र निस्वार्थ रूपमा बारमा जान लागेकाले केही परिवर्तन गर्न सकिन्छ भन्ने मलाई विश्वास छ । किनकि एउटै व्यक्तिले पनि स्थिति बदलेका थुपै्र उदाहरणहरु छन् । अर्कातर्फ सदैव सचेत गराउने हाम्रो बौद्घिक सङ्गठन पनि त छ ।

० निर्वाचन प्रचारप्रसारमा विभिन्न जिल्लामा गएर फर्कनु भएको छ । कस्तो पाउनु भएको छ, त्यहाँका कानुन व्यवसायीको धारणा ?

– बारको निर्वाचनको प्रचार प्रसारको क्रममा मोरङ, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, प्युठान, अर्घाखाँचीका, जिल्ला र उच्च गरी २० वटा बार एकाई एवं कानुन–व्यवसायीहरुबीच मेरो चुनावी कार्यक्रम र भेटघाट सम्पन्न भएको छ । मोफसलका कानुन व्यवसायीहरुले हिम्मतसाथ उम्मेदवारी दिनु भएकोमा सम्मान गछौँ । लामो समय मोफसलमा बसी व्यवसाय गर्नु भएकाले हाम्रो पीडा तपाईलाई थाहा छ, तपाईहरुको राष्ट्रिय एकताको एजेन्डा स्थापित भइसकेको छ । न्यायपालिकालाई स्वतन्त्र राख्न तपाईहरुको सङ्गठन एवं तपाईको बारमा प्रतिनिधित्व अनिवार्य छ, त्यसैले चुनावमा सहयोग गछौँ भन्ने धारणा धेरै कानुन–व्यवसायीहरुको पाइयो । उपत्यका बाहिरका कानुन–व्यवसायीहरु मात्र प्यानलमा मत हाली अनुशासनमा बस्नु पर्ने तर उपत्यकाका कानुन व्यवसायीले प्यानलगत अनुशासनको पालना गर्नु नपर्ने ¤ अर्कोतर्फ बारमा जितेर गएपछि बारको हितमा काम गर्नुको सट्टा भएभरका आफ्ना व्यक्तिगत स्वार्थ पुरा गर्नु पर्ने, त्यसैले हामी सधँैभरि चुनावी भर्याङ भयौँ अब भर्याङ बन्दैनौँ । प्यानल होइन, व्यक्तिको एजेन्डा, योग्यता र भूमिका हेरेर भोट दिन्छौँ भन्ने धारणा अन्य प्यानलका सङ्गठनमा आस्था राख्ने कानुन व्यवसायीहरुको पनि प्रशस्त पाइयो । त्यसका साथै प्रगतिशील प्यानलमा तपाईको सङ्गठनलाई पनि अनिवार्य रूपमा सहभागी गराएर चुनावमा जानु पर्नेमा सहभागी नगराउनु गम्भीर गल्ती भएको छ भन्ने धारणा पनि पाइयो ।

० निर्वाचनको सङ्घारमा देशभरिका कानुन व्यसायीहरुलाई के भन्न चाहनु हुन्छ ?

– बार एसोसिएसनले हाल आफ्नो स्थापना कालको उद्देश्य अनुरूपको काम गर्न सकिरहेको छैन । कानुन व्यसायीको हितमा बारले काम गर्न सकेको छैन । अशक्त भएर पेशा छोड्दा बारबाट उसले कुनै सम्मान एवं राहत पाउने परिपाटीको सुरुवात नै बारले गर्न सकेको छैन । त्यसो हुनुमा निर्वाचित भएर जाने पदाधिकारी नै जिम्मेवार हुनु हुन्छ । त्यसैले न्यायपालिकालाई स्वतन्त्र राख्ने हो भने हामी कानुन व्यवसायी पेशागत आचरणलाई पालन गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउनु पर्छ । हामी पहिले नेपाली, त्यसपछि वकिल हौँ । त्यसैले हामीले नेपालआमा विरुद्घ हुने कुनै पनि क्रियाकलापमा आवाज उठाउन सकेनौँ भने कुनै पनि बेला नेपालआमाको कुनै न कुनै अङ्ग काटिने खतरा छ । त्यसपछि ती आमाको सिङ्गो शरीर हामीले कहिल्यै देख्न पाउने छैनौँ । त्यसकारण आमाको सम्पूर्ण शरीर एवं जीवनरक्षाका लागि हामी विद्वान कानुन व्यवसायी आस्थाभन्दा माथि उठेर सुझाव दिने, आवाज उठाउने हिम्मत गर्नु पर्ने समय आएको छ । न्यायपालिकालाई स्वतन्त्र राख्न बार सक्षम र सवल हुनु पर्दछ । राष्ट्रिय एकता र स्वाधीनताका लागि सङ्घीयता होइन, प्रजातान्त्रिक विपकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित शासन प्रणालीे र सोही वमोजिमको न्याय प्रणाली नै अहिले नेपालका लागि ठिक रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ । कानुन व्यवसायीको गरिमालाई बचाउन र न्यायपालिकालाई स्वतन्त्र राख्न निस्वार्थी सङ्गठनको व्यक्ति बारमा जानु आवश्यक छ । हामी केही सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले बारमा जान उम्मेदवारी दिएका हौँ । त्यसैले विद्वान वरिष्ठ अधिवक्ताज्यू, अग्रज अधिवक्ताज्यू तथा अन्य सम्पूर्ण कानुन व्यवसायी मित्रहरु समक्ष यस पटकको निर्वाचनमा बारमा जिम्मेवार भूमिका निर्वाह गर्न जाने हामी जस्ता निस्वार्थ सङ्गठनका उम्मेदवारलाई मत दिई सेवा गर्ने अवसर दिनु होस भन्ने विनम्र अनुरोध गर्दछु ।

(साभारः हाँक साप्ताहिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here