नेपाल कम्युनिस्ट पार्टीः टाउको र शरीरभन्दा गणितको एकता

0
571

श्याम श्रेष्ठ

नेकपा एमाले र माओवादी केन्द्रको एकताले नेपालमा यति ठूलो कम्युनिष्ट पार्टी तयार भएको छ कि यस्तो उदाहरण धेरै देखिँदैन ।

यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

चुनावबाट, भोटबाट सत्तामा आएको पार्टीको हिसाबमा यो एसियाकै ठूलो पार्टी हो । पार्टीको आकारको हिसाबले कम्युनिष्ट पार्टीको इतिहासमा अनुकरणीय नै हो ।

सत्तागत हिसाबले भन्ने हो भने केन्द्रमा झण्डै दुई तिहाइ बहुमत नजिक, ५२ प्रतिशत जनमत, ७ मध्ये ६ वटा प्रदेशमा बहुमतको सरकार छ । ७५३ स्थानीय सरकारमध्ये ४ सय वटामा आफ्नो बहुमतसहितको सरकार छ ।

राजनीतिक हिसाबले भन्दा नेपालमा कम्युनिष्ट पार्टीको संख्या कम हुने भयो । यीमध्ये कुनैतिर मिल्छन् ।

यो पार्टी बनेपछि राजनीतिक स्थायित्वको समस्या हल हु्न्छ जस्तो लाग्छ । सरकार पाँच वर्षसम्म मजाले जान्छ । राम्रो काम गरेर देखाएर अरु थुप्रै वर्षसम्म जान सक्छ ।

राजनीतिक स्थायीत्व हुने भएकाले समतामूलक विकासको लागि काम गर्ने वातावरण तयार हुन्छ ।

यो एकता टिक्छ कि टिक्दैन ?

मुख्य चुनौती भनेको यो एकता टिक्छ कि टिक्दैन भन्ने हो ।

जुन ढंगले दिगो कम्युनिष्ट पार्टीका लागि काम गर्नुपर्ने हो, त्यो गरेको देखिँदैन । मोटो-मोटो काममात्र गरेको देखिन्छ ।

जस्तै मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने, रेसियो ५५/४५ हुने भन्नेमात्रै मिलाएको देखिन्छ ।

यहाँ एमालेले बुझेको मार्क्सवाद र माओवादीले बुझेको मार्क्सवाद अझै पनि फरक नै देखिन्छ । त्यसमा जुन ढंगको छलफल गर्नुपर्ने हो त्यो गरेको देखिँदैन ।

त्यसैले यो टाउको र शरीरको भन्दा पनि गणितको एकता बढी देखिन्छ । उतापट्टीका -एमालेका) २४१ जना र  यतापट्टकिा -माओवादीका) २०० जनाको टुपी एकै ठाउँमा बाँधेर ‘लौ पार्टी एकता यही हो’, भनेको देखिन्छ ।

पार्टी एकताका लागि हुनुपर्ने सैद्धान्तिक, वैचारिक, सांस्कृतिक विषयवस्तुको छलफलको अभाव सबैभन्दा कमजोर पक्ष हो । यो सबै विषयमा छलफल गरेको भए पार्टी ज्यादा टिकाउ हुन्थ्यो । नहुँदा पदहरुको विभाजनको केमेष्ट्री मिलेसम्म एकता मजाले जाला तर त्यो केमेष्ट्रीमा खटपट आउनेबित्तिकै एकतामा पनि चुनौती र समस्या खडा हुने देख्छु ।

दुईतिरका मानिसहरुको अंकगणित अहिलेसम्म मिलाएर ल्याएको देखिन्छ ।

संघ र प्रदेशको चुनावमा मिलाएर ल्याइयो । केन्द्रीय समिति पनि मिलेको देखिन्छ ।

तर एकता भनेपछि जनवर्गीय संगठन अरु संगठनको कुरा आउला । त्यहाँ पनि गणित मिल्नु्पर्‍यो ।

त्यसबाहेक विचारको समस्या आउँदा माओवादीले एक ढंगले, एमालेले अर्को ढंगले बोल्ने हुनसक्छ । किनभने त्यसमा एकरुपता पैदा गरिएको छैन । त्यसले घरीघरी चुनौती थपिरहन्छ ।

के पार्टी फुट्न सक्छ ?

फुटमा पुग्छ कि पुग्दैन भनेर चाहिँ भन्न सकिँदैन । तर समस्या गम्भीर हुने देख्छु म । किनभने सैद्धान्तिक र वैचारिक हिसाबले गरिएको एकता होइन यो ।

किनभने माओवादीको रङ रातोबाट खुइलिएर खैरो-खैरो भएको, एमालेको रङ पनि पनि रातोबाट खुइलिएर कैलो-कैलो भएको छ । कैलो र खैरोबीच सामिप्यता ज्यादा हुने हुनाले एकता सम्भव भएको देखिन्छ ।

यद्यपि एकता राजनीतिक हिसाबले ठूलो अर्थ लाग्छ । आर्थिक हिसाबले पनि ठूलो अर्थ राख्ला । तर यसले गर्नुपर्ने कामहरु ठूलै छन् । ती काम गर्छ कि गर्दैन बाँकी नै छ ।

अहिलेसम्म नेपालको परिवर्तन गाउँमा, गरिबहरुकोमा गरिखानेकोमा पुगेकै छैन । शहरमा, सदरमु्काम र सम्भ्रान्त वर्गकोमा मात्रै फन्को लगाएर बसिरहेको छ । यो फन्को लगाउने कामलाई पार्टी एकताले अन्त लगाउन सक्छ कि सुक्दैन ? ठूलो चुनौती देखेको छु ।

दुई पार्टीको चुनावी घोषणापत्रको कार्यान्वयन नै म चुनौती देख्छु । ५ वर्षमा पूर्व-पश्चिम रेल भनिएको छ, खाद्यान्नमा आत्मनिर्भर हुने भनिएको छ, यस्ता कुराहरु टन्नै छन् । यो काम त १२ वर्षमा कार्यान्वयन गरे पनि ठूलो हुन्छ ।

तर नेपालमा ठूलो कम्युनिष्ट पार्टी बनेपछि नेपाली कांग्रेस किनारमा धकेलिने देख्छु । त्यसै त सानो थियो, झन् दुई पार्टी एक भएपछि कता हो कता सानो हुन्छ ।

उसले पनि प्रोग्रेसिभ नारा नलिए फेरि सरकार बनाउने चान्स नआउन पनि सक्छ ।

(कुराकानीमा आधारित)

अनलाईन खबरबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here