नेपाल कम्युनिष्ट पार्टी मसालको आठौं महाधिवेशन सम्पन्न महाधिवेशनद्धारा मोहनविक्रम सिंह पुन: महामन्त्रिमा निर्वाचित

0
411

जेठ २०७६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ महाधिवेशन यही २०७६ जेष्ठ महिनामा सम्पन्न भएको छ । महाधिवेशनले ८७ वर्षीय  मोहनविक्रम सिंहलाई पुन: महामन्त्रीमा चयन गरेको छ । यही जेठ २४ गते महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै सो पार्टीको महाधिवेशन सम्पन्न भएको र महाधिवेशनलेे आफ्नो नेतृत्वमा २७ पूर्ण ९ वैकल्पिक गरी ३६ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको जनाएका जनाएका छन् ।

वक्तव्यको पूूूणपाठ-
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ महाधिवेशन यही २०७६ जेष्ठमा सम्पन्न भएको छ । त्यो महाधिवेशनले राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, जाति, धर्म र संस्कृतिसम्बन्धी प्रस्ताव तथा पूरक प्रस्ताव सहित ६ वटा प्रस्तावहरू पास गरेको छ । महाधिवेशनले समसामयिक प्रस्तावहरू पारित गर्नुका साथै कामरेड मोहनविक्रम सिंह महामन्त्री रहेको २७ पूर्ण र ९ वैकल्पिक सदस्य भएको केन्द्रीय समितिको निर्वाचन गरेको छ । केन्द्रीय समितिले ९ जना सल्लाहकारहरू मनोनित गरेको छ । महाधिवेशनले २०० सदस्यीय राष्ट्रिय परिषद्को पनि गठन गरेको छ ।
महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनमा अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको विस्तृत रूपमा व्याख्या र विश्लेषण गरिएको छ । अन्तर्राष्ट्रिय रूपमा यो स्पष्ट गरिएको छ कि विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ । तर, त्यसको अर्थ त्यसको आधार र भविष्य नै समाप्त भएको छ भन्ने होइन । आज विश्व पुँजीवादभित्र लगातार बढ्दै गइरहेको आन्तरिक अन्तर्विरोध, आर्थिक सङ्कट, विश्वव्यापी रूपमा नै बढ्दै गएको मजदुर आन्दोलन तथा उत्पीडित राष्ट्रहरूमा साम्राज्यवादका विरुद्ध बढ्दै गएको असन्तोष र राष्ट्रिय मुक्ति आन्दोलनका कारणले त्यसको (विश्वपुँजीवादको) स्थिति धेरै नै कमजोर भएको छ र त्यसले गर्दा विश्व समाजवादी क्रान्तिको लागि वस्तुगत रूपमा क्रान्तिकारी परिस्थिति तयार भएको छ । तर, अर्कातिर क्रान्तिको आत्मगत परिस्थिति धेरै नै कमजोर छ । कम्युनिस्ट आन्दोलनमा देखापरेका विभिन्न प्रकारका सैद्धान्तिक भ्रम, विभिन्न देशका कम्युनिस्ट पार्टीमा देखापरेका उग्रवामपन्थी वा दक्षिणपन्थी भड्कावहरू र ती दुवै कारणले कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएकाले आज वस्तुगत रूपमा क्रान्तिका लागि वस्तुगत परिस्थिति धेरै नै बलियो भइसकेको भए पनि आत्मगत परिस्थिति धेरै नै कमजोर छ । त्यो अवस्थामा एकातिर कम्युनिस्ट आन्दोलनमा देखापरेका सबै सैद्धान्तिक भ्रम र भड्कावहरूका विरुद्ध सङ्घर्ष गरेर तथा, अर्कातिर, कम्युनिस्ट पार्टीहरूको सङ्गठनलाई विस्तार तथा सुदृढ पारेर क्रान्तिको आत्मगत परिस्थिति तयार पार्ने हाम्रो दायित्व हुन्छ । अन्तर्राष्ट्रिय रूपमा र राष्ट्रिय रूपमा पनि त्यसका लागि बढीभन्दा बढी प्रयत्न गर्ने वा योगदान दिने हाम्रो प्रयत्न हुनुपर्दछ ।
अन्तर्राष्ट्रिय परिस्थिति वा साम्राज्यवादका स्वरूपबारे विचार गर्दा हाम्रो पार्टी चीन र भारत दुवै देशहरू साम्राज्यवादी भएको निष्कर्षमा पुगेको छ । चीन पहिले समाजवादी देश थियो । तर, त्यहाँ प्रतिक्रान्ति भएपछि त्यो पुँजीवादी देशमा बद्लिएको थियो । तर, अब त्यो साम्राज्यवादी देश बनिसकेको छ । भारतलाई हामीले पहिले विस्तारवादी देशको रूपमा नै विश्लेषण गर्दै आएका थियौँ । तर, एकातिर, त्यहाँ विस्तारवादले अरू उच्च र नाङ्गो रूप लिंदै गएकाले र अर्कातिर, त्यहाँ एकाधिकार पुँजीवादको धेरै नै विकास भइसकेकाले त्यो साम्राज्यवादी देश बन्न पुगेको छ । भारत साम्राज्यवादी देश भएको हुनाले त्यसका विरुद्धको सङ्घर्षलाई अरू उच्च र व्यापक रूपमा बढाउनुपर्ने आवश्यकता छ । तर, त्यसरी भारतीय साम्राज्यवादका विरुद्धको सङ्घर्षमा जोड दिने बेलामा भारत वा त्यहाँका जनतासित मैत्रीपूर्ण सम्बन्ध बढाउनुपर्ने आवश्यकतामा पनि हामीले सँधै जोड दिइराख्नुपर्ने आवश्यकता छ । किनभने कुनै पनि देशका जनता साम्राज्यवादी वा प्रतिक्रियावादी हुँदैनन् र त्यसैले, कुनै देशका प्रतिक्रियावादी शासकहरूका विरुद्ध सङ्घर्षमा जोड दिए पनि त्यहाँका जनतासित घनिष्ट सम्बन्ध राख्ने र त्यहाँको प्रगतिशील वा क्रान्तिकारी आन्दोलनलाई समर्थन गर्ने हाम्रो नीति मात्र होइन, दायित्व पनि हुन्छ । यही सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्त हो । त्यही कुरा भारतका सन्दर्भमा पनि सत्य हो ।
चीन र भारत दुवै साम्राज्यवादी देशहरू भए पनि नेपालको विशिष्ट भूराजनीतिक अवस्थामा उनीहरूप्रति बेग्लाबेग्लै नीति अपनाउनुपर्ने आवश्यकतामा हाम्रो महाधिवेशनले निर्णय गरेको छ । चीन साम्राज्यवादी देश भए पनि त्यसले नेपालप्रति विस्तारवादी नीति अपनाउने गरेको छैन । त्यति मात्र होइन, भारतीय साम्राज्यवादले नेपालप्रति राजनीतिक वा आर्थिक रूपले गर्ने विभिन्न प्रकारका हस्तक्षेप, नाकाबन्दी वा नेपालको राष्ट्रियतामाथि गर्ने अतिक्रमण समेतका विरुद्ध उत्तरमा चीनको उपस्थिति वा त्यससितको मैत्रीपूर्ण सम्बन्धले नेपालका लागि सकारात्मक महत्व राख्दछ भन्ने निष्कर्षमा हाम्रो आठौँ महाधिवेशन पुगेको छ । महाधिवेशनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध र भ्रत्र्सन गर्ने निर्णय पनि गरेको छ ।
देशभित्रको राजनीतिक स्थितिलाई पनि महाधिवेशनले विस्तृत र गहन प्रकारले विश्लेषण गरेको छ । नेपालका राजनीतिक शक्तिहरूलाई हाम्रो पार्टीले तीन भागमा बाँडेर विश्लेषण गरेको छ । प्रथम, सर्वहारावर्गको प्रतिनिधित्व गर्ने पार्टी । द्वितीय, निम्न पुँजीपति वर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक सङ्गठनहरू । तृतीय, सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी वा सङ्गठनहरू । त्यो विश्लेषणअनुसार प्रथम प्रकारको शक्ति देशको माक्र्सवादी–लेनिनवादी सङ्गठन हो । द्वितीय प्रकारका शक्तिहरू देशभक्त जनतान्त्रिक र वामपन्थी शक्तिहरू तथा मित्र शक्तिहरू हुन् र तृतीय प्रकारका शक्तिहरू प्रतिक्रियावादी वा दुश्मन शक्तिहरू हुन् । त्यसरी ने.क.पा. (मसाल)ले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भएकाले यो माक्र्सवादी–लेनिनवादी पार्टी हो । क्रान्तिकारी माओवादी, नेकपा (विप्लब), नेपाल मजदुर किसान पार्टी, नेकपा (माले) र नेकपा आदिले निम्न पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने भएकाले तिनीहरू देशभक्त, जनतान्त्रिक, वामपन्थी तथा मित्र शक्तिहरू हुन् । ने.का., राप्रपा, मधेशवादी आदिले प्रतिक्रियावादी वर्गहरूको प्रतिनिधित्व गर्ने भएकाले तिनीहरू प्रतिक्रियावादी र दुश्मन शक्तिहरू हुन् । तर, यी बेग्लाबेग्लै शक्तिहरूसित हाम्रो सम्बन्ध राजनीतिक स्थितिमा हुने परिवर्तनअनुसार निश्चित हुँदै जानेछ । नेकपा आदि हाम्रा मित्र शक्तिहरू भए पनि आवश्यकतानुसार उनीहरूसित सङ्घर्ष गर्नुपर्ने तथा प्रतिक्रियावादी वा दुश्मन शक्तिहरूसित पनि एकता गर्नुपर्ने आवश्यकता हुने गर्दछ । तर, मित्र शक्तिहरूसित एकता र दुश्मन शक्तिहरूसित सङ्घर्षको पक्ष नै प्रधान हुनेछ । हामीले नेकपालाई मित्रशक्ति माने पनि त्यो ढुलमुल, अवसरवादी र सम्झौतापरस्त शक्ति नै हो भनेर पनि स्पष्ट गरेका छौँ ।
हाम्रो पार्टी यो निष्कर्षमा पुगेको छ कि आजको आधारभूत कार्यक्रम नयाँ जनवादी क्रान्ति नै हो र त्यो पूरा नभइकन जनताका आधारभूत समस्याहरूको समाधान वा वास्तविक अर्थमा पुँजीवादी प्रजातान्त्रिक प्रणालीको पनि स्थापना सम्भव छैन । त्यसैले हाम्रो पार्टीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने वा त्यसको लागि आधार तयार पार्नुपर्ने आवश्यकतामा नै मुख्य जोड दिन्छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नको लागि सर्वहारा वर्गको पार्टीको नेतृत्व, दीर्घकालीन जनयुद्ध र क्रान्तिकारी संयुक्त मोर्चाहरू अनिवार्य छन् भन्ने हाम्रो दृढ विश्वास छ । तर, कुनै खास बेलाको कार्यनीति वा तात्कालिक राजनीतिक लाइन निश्चित गर्दा त्यो बेलाको ठोस परिस्थितिको विश्लेषण गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसरी विचार गर्दा तत्कालको स्थितिमा नयाँ जनवादी क्रान्तिलाई तात्कालिक कार्यदिशा बनाउने वा तुरुन्त सशस्त्र सङ्घर्ष शुरु गर्ने अवस्था छैन र तात्कालिक रूपमा शान्तिपूर्ण जनसङ्घर्ष नै हाम्रो आन्दोलनको प्रधान पक्ष हुन्छ र हुनुपर्दछ भन्ने हाम्रो आठौँ महाधिवेशनको ठहर छ । निश्चय नै जनसङ्घर्ष बेग्लाबेग्लै प्रकारको स्थिति र आवश्यकतानुसार वैधानिक र अवैधानिक दुवै प्रकारका हुन सक्दछन् । त्यसै गरेर पार्टीले बेग्लाबेग्लै प्रकारको स्थिति र आवश्यकतानुसार चुनावको बहिष्कार वा उपयोग दुवै गर्न सक्दछ । तर, अहिलेको स्थितिमा चुनावको उपयोग गर्ने नै हाम्रो नीति रहेको छ ।
अहिलेको संविधान वा अहिले देशमा कायम भएको गणतन्त्र अर्धसामन्ती र अर्ध औपनिवेशिक व्यवस्थाअन्तर्गतका र बुर्जुवा प्रकारका हुन् । त्यसकारण रणनीतिक दृष्टिकोणले तिनीहरूका विरुद्धको सङ्घर्ष नै प्रधान पक्ष हुनेछ र विद्यमान व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हाम्रो उद्देश्य हुनेछ । तर, कार्यनीतिक दृष्टिकोणले विद्यमान संविधान र गणतन्त्रको रक्षामा जोड दिने हाम्रो नीति छ । अहिले देशमा संविधान, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्न देशीय प्रतिगामी र भारतीय साम्राज्यवाद समेत प्रयत्नशील छन् । त्यो अवस्थामा तिनीहरू, अर्थात् विद्यमान संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । संविधान, गणतन्त्र वा धर्मनिरपेक्षताको रक्षाको लागि सङ्घर्षमा जोड दिने बेलामा संविधानमा व्यवस्था गरिएको सङ्घीयताको विरुद्धको सङ्घर्षलाई लगातार, दृढतापूर्वक र सम्झौताहीन किसिमले अगाडि बढाउने निर्णय महाधिवेशनले गरेको छ ।
नेकपालाई हाम्रो पार्टीले कम्युनिस्ट मान्दैन र त्यसैले वर्तमान सरकारलाई पनि कम्युनिस्ट सरकार मान्दैन । तर, नेकपाले निम्नपुँजीपति वर्गको प्रतिनिधित्व गर्ने भएको हुनाले त्यो सङ्गठन र त्यसको नेतृत्वमा बनेको सरकारको चरित्र देशभक्त, जनतान्त्रिक र वामपन्थी प्रकारको छ । त्यसैले हाम्रो पार्टीको महाधिवेशनले वर्तमान सरकारलाई समर्थन गर्ने निर्देशन दिएको छ । तर, त्यसका साथै वर्तमान सरकारको सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्ग, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद समेत प्रतिको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीतिको विरोध गर्ने हाम्रो नीति हुनेछ । त्यसै गरेर हाम्रो महाधिवेशन यो निष्कर्षमा पुगेको छ कि वर्तमान सरकार देशमा बढिरहेको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महङ्गी, प्रशासनीय अव्यवस्था आदिमाथि नियन्त्रण गर्न, सफल भएको छैन । विकास कार्यहरूलाई अगाडि बढाउन देशमा राष्ट्रिय उद्योगहरूको विकासका लागि ठोस नीति अपनाउन, साम्राज्यवादी वा बहुराष्ट्रिय कम्पनीहरूको बढ्दो प्रभावलाई नियन्त्रण गर्न नागरिकता समेतबारे सही नीति अपनाउन सरकार असमर्थ भएको छ । सरकारका त्यसप्रकारका सबै नीति, कार्यशैली वा क्रियाकलापहरूका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्ने हाम्रो नीति हुनेछ । तर, त्यसो गर्दा वर्तमान सरकारलाई अपदस्त गरेर प्रतिगामी शक्तिहरूको सरकारको स्थापनाका लागि भइरहेका प्रयत्न वा अभियानबाट आफूलाई अलग राख्ने पनि हाम्रो स्पष्ट नीति हुनेछ ।
देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका अगाडि पनि गम्भीर खतरा छ । खास गरेर भारतीय साम्राज्यवादबाट त्यसप्रकारको खतरा देखा परेको छ । त्यो स्थितिमा एकातिर देशीय सामन्तवाद र अर्कातिर, भारतीय साम्राज्यवादसितको अन्तर्विरोध नै नेपाली जनताको प्रधान अन्तर्विरोध भएको कुरा महाधिवेशनले ठेगान गरेको छ । अन्तर्राष्ट्रिय रूपमा अमेरिकी साम्राज्यवादको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध हो । त्यसका साथै दलाल र नोकरशाही पुँजीपति वर्गसित पनि नेपाली जनताका अन्तर्विरोध रहेका छन् । यी सबै प्रश्नहरूमा हामीले आन्दोलन सङ्गठित गर्नुपर्ने आवश्यकता छ । साम्राज्यवादका विरुद्धको सङ्घर्षका लागि अन्तर्राष्ट्रिय संयुक्त मोर्चा बनाउनुपर्ने आवश्यकतामा पनि महाधिवेशनले जोड दिएको छ । मजदुर, किसान र जनताका विभिन्न समस्या र मागहरूका लागि सङ्घर्ष गर्ने पनि ठेगान भएको छ ।
आठौँ महाधिवेशनको उद्घाटन कार्यक्रम नेकपा (मसाल)का पीवीएम का. सहजको अध्यक्षता र का. अग्निको सञ्चालनमा अगाडि बढेको थियो । नेकपा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहको आसन ग्रहणपश्चात् भाइचारा पार्टीका अतिथिहरू जर्मन कम्युनिस्ट पार्टी एमएलपीडीका केन्द्रीय सदस्य का. पिटर, भारतको सीपीआईएमएलका पीवीएम का. शङ्करदास र बङ्गलादेश कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य का. सदिकुर रहमानले अतिथिको आसन ग्रहण गर्नुभएको थियो । बैधानिक मोर्चाकातर्फबाट का. शेरसिंहको आसन ग्रहण भइसकेपछि लामो समयदेखि अटल आस्था, विश्वास र निष्ठाका साथ पार्टीको झण्डामुनि रहेर काम गरेका आमन्त्रित अतिथिहरू का. भिम जि.सी., का. प्रदीप, का. अनन्त, का. मानसिंह, का. मान बहादुर, का. सपोट, का. इन्द्रदेव, का. घनश्याम, का. पूरा र का. आलेलाई आसन ग्रहण गराइएको थियो । त्यसपछि विभिन्न जनवर्गीय सङ्गठनहरूका प्रतिनिधिहरूको आसन ग्रहण भयो । त्यसरी आसन ग्रहण गर्नेहरूमा युवक मोर्चाबाट का. प्रवाह, मजदुर मोर्चाबाट का. प्रकाश, किसान मोर्चाबाट का. राजेन्द्र, महिला मोर्चाबाट का. सरला, विद्यार्थी मोर्चाबाट का. सञ्जय, जनजाति मोर्चाबाट का. प्रविण, समता मोर्चाबाट का. सागर, मूल प्रवाह मोर्चाबाट का. विशाल, शिक्षक मोर्चाबाट का. पुञ्ज, बुद्धिजीवि मोर्चाबाट का. चेतन, कानुन व्यवसायी मोर्चाबाट का. प्रज्वल, तराई मधेश मोर्चाबाट का. अविरल र सांस्कृतिक मोर्चाबाट का. रक्तिम हुनुहुन्थ्यो । त्यस्तै, नेपाली एकता समाज कतारबाट का. किरण, नेपाली एकता समाज जापानबाट का. तोमुचुवु, नेपाली एकता समाज दुबईबाट का. मौसम र नेपाली एकता समाज हङकङबाट का. सन्तोषले अतिथिको आसन ग्रहण गर्नु भएको थियो ।
आठौँ महाधिवेशनको ऐतिहासिक क्षणमा सम्पूर्ण क्रान्तिकारी, लोकतान्त्रिक र विभिन्न जनसङ्घर्षहरूका क्रममा सहिद भएका सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गर्न एक मिनट मौनधारण भयो । यसपछि विश्वभरका कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय गीत गाइयो । ने.क.पा. (मसाल)का प्रवक्ता का. रामप्रकाश पुरीले महाधिवेशनमा आउनु भएका अतिथि, प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक कामरेडहरूलाई पार्टीको केन्द्रीय समितिकोतर्फबाट स्वागत मन्तव्य राख्नु भयो ।
आठौँ महाधिवेशनको व्यानर, पार्टीको झण्डा र कम्युनिस्टका अन्तर्राष्ट्रिय नेताका तस्वीरले सजाइएको मञ्चमा आमन्त्रित अतिथि, प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक समेतको उपस्थितिमा तालीको सघन आवाजको बीचमा नेकपा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहले पानसमा बत्ति बाली आठौँ महाधिवेशनको उद्घाटन गर्नुभयो । आमन्त्रित अतिथि तथा भाइचारा पार्टीका अतिथि कामरेडहरूलाई महामन्त्री का. मोहनविक्रम सिंहले दोसल्ला ओढाएर सम्मान गर्नु भयो । भाइचारा पार्टीका अतिथिकातर्फबाट पनि उपहार प्रदान भएको थियो । प्रतिनिधि तथा पर्यवेक्षककोतर्फबाट का. बरियो, का. विपना र का. एकताले आठौँ महाधिवेशनको सफलताको लागि शुभकामना दिनु भयो । विभिन्न मोर्चाहरूकोतर्फबाट आएका प्रतिनिधि, भाइचारा पार्टीहरूबाट आएका अतिथि कामरेडहरूले महाधिवेशनको सफलताको शुभकामना दिनु भयो । जर्मन कम्युनिस्ट पार्टी (एमएलपीडी)का अध्यक्ष का. गाभीले पठाएको शुभकामना सन्देश, भारतीय कम्युनिस्ट पार्टी सीपीआईएमएलका महासचिव का. के.एन. रामचन्द्रनको सन्देश र बङ्गलादेश कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूको लिखित शुभकामना पत्र वाचन गरेर सुनाइएको थियो ।
शुभकामना मन्तव्यपछि महामन्त्री का. मोहनविक्रम सिंहले उद्घाटन भाषण गर्नुभयो । त्यस क्रममा उहाँको लिखित विस्तृत उद्घाटन भाषण प्रवक्ता का. रामप्रकाश पुरीले वाचन गरेर सुनाउनु भयो । यो उद्घाटन भाषण बिभिन्न सञ्चारमाध्ययमहरूमा सार्वजनिक गरिने छ । उद्घाटन सत्रको अन्तमा यस सत्रका अध्यक्ष का. सहजले मन्तव्य सहित उद्घाटन सत्र सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।
महाधिवेशनको दोश्रो चरणको कार्यक्रम बन्दसत्र रहेको थियो । बन्दसत्रको लागि का. प्रकाश, का. रक्षा, का. अरूण, का. बोध, का. कुमार राई, का. क्षितिज र का. सन्तोषको ७ सदस्यीय अध्यक्षमण्डलको गठन भएको थियो । अध्यक्षमण्डलले बन्दसत्र सञ्चालनको लागि केही नियम बनाई त्यसको हाउसद्वारा अनुमोदन भएपछि बन्दसत्रको कार्यतालिका प्रस्तुत गरेको थियो । कार्यतालिकाअनुसार का. मोहनत्रिवmम सिंहद्वारा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र पूरक प्रस्ताव, का. सहजद्वारा न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, का. अग्निद्वारा विधानमा संशोधनसम्बन्धी प्रस्ताव, का. प्रतिविम्बद्वारा जाति, भाषा, धर्म र संस्कृतिसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएका थिए । राजनीतिक र सङ्गठनात्मक प्रस्तावहरूलाई प्रतिनिधि तथा पर्यवेक्षकहरूलाई ९ वटा समूहमा विभाजन गरी विस्तृत छलफल र अन्य प्रस्तावहरू सामान्य छलफलपछि पारित गरिएका थिए । विभिन्न प्रस्तावहरूमा आएका संशोधन प्रस्तावहरूबारे पनि विस्तृत रूपले छलफल गरेर निर्णयहरू गरिएका थिए । साथै हाउसबाट केन्द्रीय समिति र बिभिन्न केन्द्रीय सदस्यहरूबारे पनि आलोचनाहरू भए । ती आलोचनाहरूमा सम्बन्धित कामरेडहरूले स्पष्टीकरण दिने काम गर्नुभयो । महामन्त्री का. मोहनविक्रम सिंह सहित केन्द्रीय सदस्यहरूमाथि आएका आरोपहरूबारे पनि सम्बन्धित कामरेडहरूद्वारा स्पष्टिकरण दिने काम गरियो ।
माथिका कार्यक्रमहरू सम्पन्न भएपछि केन्द्रीय समितिबाट नयाँ केन्द्रीय समितिका लागि प्यानल प्रस्तुत गर्ने काम भयो र त्यो प्यानल सर्वसम्मतिले पारित गरियो । बन्दसत्रको अन्तमा का. उत्तमले समसामयिक प्रस्तावहरू प्रस्तुत गर्नुभयो । ती प्रस्तावहरूलाई सर्वसम्मतबाट पारित गरियो । विभिन्न चरणका कार्यक्रमहरूका विभिन्न शेसनहरूका बीच–बीचमा रक्तिम सांस्कृतिक टोली र महाधिवेशनका प्रतिनिधि, पर्यवेक्षकद्वारा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
बन्दसत्र समाप्त भएपछि समापन समारोहको अध्यक्षता का. आकाशले र सञ्चालन का. सवलले गर्नुभयो । समापन समारोहमा हाउसबाट का. सरिता र स्वयं सेवककोतर्फबाट का. अरूण, एमएलपीडीका का. थोमस, कम्युनिस्ट पार्टी अफ बङ्गलादेशका केन्द्रीय सदस्य का. सदेकुर रहमान र का. सहजले नयाँ केन्द्रीय समितिलाई बधाइ र शुभकामना ज्ञापन गर्नुभएको थियो । आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिकोतर्फबाट नवनिर्वाचित महामन्त्री का. मोहनविक्रम सिंहले सबै प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, भाइचारा प्रतिनिधिहरू, अतिथिहरू तथा महाधिवेशन सफल पार्न सहयोग गर्ने पार्टी र जनवर्गीय सङ्गठनहरूका सबै सदस्य र समर्थक तथा पार्टी बाहिरका सुभेच्छुकहरू समेतलाई धन्यवाद दिंदै मन्तव्य दिनुभएको थियो । त्यसपछि समापन समारोहका अध्यक्ष का. आकाशले आफ्ना भनाइसहित समारोह अन्त्य भएको घोषणा गर्नु भएको थियो । यसरी सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक पूरा भएर आठौँ महाधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ ।
२०७६ जेष्ठ २४ गते
मोहनविक्रम सिंह
महामन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here