पाठशालाको वार्षिकोत्सवमा बालबालिकाहरुको सशक्त प्रस्तुती

0
272

बार्सिलोना/ नेपाली पाठशाला बार्सिलोनामा आफ्नो छैटौं वार्षिकोत्सव कार्यक्रम शुक्रबार बार्सिलोनामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन बालबालिकाले मैनबत्ती प्रज्वलन गरेर गरेका थिए । पाठशालाको वार्षिक उत्सव कार्यक्रममा पाठशालामा अध्ययनसत बालबालिकाहरुले विभिन्न प्रस्तुतिहरु राखेका थिए ।

पर्यटकीय शहर बार्सिलोनाको सेदेताहलमा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाहरुले प्रस्तुत गरेको नेपाली कला संस्कृति र भेषभुसा सहितको सशक्त प्रस्तुती नै कार्यक्रमको मुख्य आकर्षणको केन्द्र बनेको थियो । अभिभावकहरु पनि आफ्ना नानीबाबुहरुको प्रस्तुतीबाट नतमस्तक देखिन्थे ।

बालबालिकाहरुले राष्ट्रिय गित “सयौं थुंगा फुलका हामी एउटै माला नेपाली” गाएर कार्यक्रमको शुरुवात गरेका थिए । त्यसको लगत्तै “मै बच्चा नेपाली कसरी बढौ अघि, क ख ग घ पढ्दै जाँदा बस्यो पढ्ने बानी” बोलको पाठसालाको गित गाएका थिए । पाठशालाका विभिन्न चार समुहमा अध्ययनरत विद्यार्थीहरुले सामुहिक तथा एकल प्रस्तुति गरेका थिए ।

कार्यक्रममा इसिका अधिकारी, लिदीया भुसाल, प्रशंसा गुरुङ, साहिल गुरुङ, प्रणय गुरुङ, विशिका सापकोटा, नेइशा श्रेष्ठ भ्यालेनटिना श्रेष्ठ र प्रेरक गुरुङले भिभिन्न गीतमा एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । यसैगरी आजीव कार्की र आयाम कार्कीले गीत प्रस्तुत गरेका थिए भने स्तुती कटुवालले “आमा” शिर्षकमा कविता बाचनन गरेकी थिइन । साना नानीबाबुहरुले सामुहिकरुपमा “ताराबाजी लै लै” गीत गाएका थिए । यसै गरी लुवी केसी, अभिदय घिमिरे र इसिका अधिकारीले नेपालको बारेमा जानकारीमूलक सामग्री प्रस्तुत गरेका थिए । यसैगरीे विशिका सापकोटा र इसा अधिकारीले म्याउँ म्याउँ विरालो गित गाएका थिए ।

शिक्षक शिक्षिका सम्मानितः
कार्यक्रममा पाठशालाका अभिभावक एवं एनआरएनए स्पेनका संरक्षक डिक कार्कीले पाठशालाका शिक्षक शिक्षिकाहरुलाई सम्मान गर्नुभएको थियो । उहाँले शिक्षण सिकाई प्रक्रियामा शिक्षकको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्दै बालमनोविज्ञानलाई बुझेर न्यानो मायाका साथ शिक्षण सिकाई प्रक्रिया अगाडि बढाउनुभएकोमा खुसी व्यक्त गर्दै शिक्षक शिक्षिकाहरुलाई थप प्रोत्सान मिलोस भनेर आफूले सम्मान गरेको बताउनुभयो ।

कार्यक्रममा अभिभावक शितल भुर्तेल भुसाल र सन्तोष पौडेल, शिक्षक दिनेश राज रेग्मी, नृत्य प्रशिक्षक अजय लोप्चन, शिक्षिका मनिषा भट्ट र पत्रकार बसन्त रानाभाटले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी अभिभावक सन्ध्या घिमिरेले पनि नृत्य प्रस्तुत गर्दै बालबालिकालाई हौसला प्रदान गर्नुभएको थियो ।

पाठशालाका संयोजक सरला सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पाठशालाकी छात्रा मिसन शर्मा र छात्र साहिल गुरुङले गरेका थिए । यसैगरी छात्रा लिदीया भुसालले स्वागत मन्तव्य र अर्की छात्रा इसा अधिकारीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा बालबालिकाहरूलाई प्रोत्साहन स्वरुप कापी-कलम वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here