नेपालको शताब्दी कम्युनिस्ट का. खगुलाल गुरुङ

0
2434
–खगुलाल गुरुङ

– राम प्रकाश पुरी,
केन्दीय प्रवक्ता नेकपा (मसाल)

पृष्ठभूमि
खगुलाल गुरुङ प्युठानको कम्युनिस्ट आन्दोलनका एक महत्त्वपूर्ण व्यक्तित्व हुनु हुन्छ । प्युठानमा वि.स. २०१० मा प्रभावशाली किसान आन्दोलन चलेको थियो । उक्त किसान आन्दोलन वर्ग सङ्घर्षको एउटा स्वरूप थियो । प्युठानको कम्युनिस्ट आन्दोलनको जन्म भएको थियो । सबैलाई विदितै छ कि प्युठानको कम्युनिस्ट आन्दोलन नेपाली कम्युनिस्ट आन्दोलनको एक महत्त्वपूर्ण अङ्ग हो । नेपाली कम्युनिस्ट आन्दोलनबारे अध्ययन र अनुसन्धान गर्ने बेलामा प्युठानको कम्युनिस्ट आन्दोलनको अध्यायलाई छोड्न मिल्दैन । किनभने प्युठानको किसान सङ्घर्षले नेपाली कम्युनिस्ट आन्दोलनका उद्देश्यहरुलाई आफ्नो जीवनमा लागु गर्ने प्रयास गरेको थियो । उक्त किसान आन्दोलनमा खगुलाल गुरुङको सक्रियता महत्त्वपूर्ण रहेको थियो । त्यसरी प्युठान कम्युनिस्ट आन्दोलनका साथसाथै देशको कम्युनिस्ट आन्दोलनसँग पनि उहाँको घनिष्ठ सम्बन्ध रहेको कुरा स्पष्ट छ । सबभन्दा महत्त्वपूर्ण र अनुकरणीय पक्ष हो : आफ्नो एक शताब्दी उमेरमध्ये जुन दिन उहाँले आफूलाई कम्युनिस्ट आन्दोलनमा समर्पित गर्नु भएको थियो, त्यस दिनदेखि नै निरन्तर कम्युनिस्ट आन्दोलन र पार्टीप्रति प्रति वफादार रहँदै नेपालको कम्युनिस्ट आन्दोलनसँग अटुट नाता कायमा राख्नु भएको छ । त्यसो गर्दा उहाँले आफूलाई क्रान्तिकारी धारमा उभ्याउनु भयो र आफ्नो बलबुता तथा क्षमताले भ्याएसम्म निश्कलङ्क र स्वच्छ भावनाले कम्युनिस्ट आन्दोलनमा योगदान दिनु भएको छ । उहाँ कहिल्यै पनि पद–प्रतिष्ठाको निम्ति कुण्ठाग्रस्त बन्नु भएन र क्षणिक फाइदाका लागि सम्झौताको बाटो लिनु भएन । यसरी उहाँको जीवन एउटा महत्त्वपूर्ण किताब बन्न गएको छ ।

जन्म, बाल्यकाल र बसाइँसराइ

खगुलालको जन्म १९७५ भदौ २८ गते तत्कालीन बाग्लुङ जिल्लाको खारा (हाल प्युठान जिल्ला अन्तर्गतको गौमुखी गाउँपालिकामा पर्ने) मा भएको थियो । पछि उहाँको बसाइँसराइ नारीकोट कोइरामा भएको थियो । बुबा नर बहादुर गुरुङ र आमा हस्तीदेवी गुरुङको साइलो सन्तानको रूपमा जन्मिनु भएका खगुलालको बाल्यकाल सङ्घर्षपूर्ण ढङ्गले व्यतित भएको थियो ।

खगुलालको जीवन सङ्घर्ष र आदर्शले भरिएको छ । आफ्नो पिताको दिमाग बिग्रिएको कुरा उहाँ स्वयम्ले उल्लेख गर्नु भएको छ । पिताको दिमाग बिग्रिएको पीडा त खेप्नु परेको थियो नै, तर त्यसमाथि उहाँले १० वर्षको उमेरमा नै आमा पनि गुमाउनु परेको थियो । जीवनको एउटा यस्तो कहालीलाग्दो क्षण, जसले कलिलो मस्तिस्कमा गम्भीर आघात पुर्‍याउँदै उपेक्षा र व्यङ्ग्यपूर्ण ठट्टा गर्दछ, त्यसको मनोवैज्ञानिक असरले जीवनको धरातल हल्लाउँछ । हरेक पटक पीडाको बोध गराएर जीवनलाई अभिशापको रूपमा परिभाषित गर्न खोज्दछ । यो मनोवैज्ञानिक प्रभावको सामना एउटा अबोध बालकले कसरी गर्न सक्छ ? भन्ने प्रश्न हाम्रो अगाडि उभिन्छ । तर वास्तवमा यो एउटा यथार्थता थियो, जसको सामना खगुलाल गुरुङले आफू १० वर्षको उमेरमा हुँदा बेहोर्नु परेको थियो । उहाँले स्मरण गर्दै लेख्नु भएको छ– “हामी खाराबाट बसाइँ सरेर कोइरामा आएको करिब ५ महिना नबित्दै मेरी आमाको मृत्यु भयो । मेरो पिताको दिमाग बिग्रिएको थियो । यसरी हामी ठुलो समस्यामा थियौँ ।” वास्तवमा खगुलाल गुरुङको जीवनको यो क्षण चारैतिर अँध्यारोले घेरा हालेको क्षण थियो ।

आजभन्दा ९० वर्ष अगाडिको समयलाई आजको हाम्रो सन्दर्भबाट सोच्यौँ भने पनि शिक्षा, विकास र प्रविधिका दृष्टिले नेपालको स्थिति कहाँ थियो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ । त्यसबेलाको जनजीवन पशुपालन र खेतीमा नै पूर्ण रूपमा आधारित थियो । त्यस कारण पुर्खाको त्यो पेशाबाट का. खगुलाल गुरुङ पनि विमुख हुनु हुन्थेन । आफ्नो विगतको जीवनका बारेमा उहाँले यसरी याद गर्नुभएको छ– “खाराबाट कोइरा आउनु परेको खास कारण छन् । मेरो पिता नरुको दिमाग बिग्रिएको थियो । ६ वर्षसम्म धामीझाँक्री गर्दा पनि केही पनि उपाय लागेन । कोइरा भन्ने स्थानमा घोर स्थानमा घोर (घना, बाक्लो) जङ्गल रहेछ । पिताजीले त्यो जङ्गलमा बसाइँसराइ गर्ने विचार गर्नु भएछ । स्वर्गद्वारीका प्रभु महाराजले उहाँलाई दिएको सल्लाह बमोजिम हामी त्यहाँ बसाइँ सरेका थियौँ । मलाई अगाडि लगाएर यहाँ बसाइँसराइ गर्न सकिने प्रभु महाराजको सल्लाह थियो रे घ् त्यही अनुसार १९८४ पौष १५ गते १० भेडा लिएर मैले कोइरामा प्रवेश गरेको थिएँ । १९८५ वैशाखमा मेरा मातापिता सबै यहाँ आउनु भएको थियो । त्यसबेलामा १६ वटा भैँसी, १ हल गोरु, १८ मुरी जौँ लिएर हामी यहाँ आएका थियौँ ।”

हामीलाई जानकारी प्राप्त हुन्छ कि उहाँको बाल्यकाल सङ्घर्षमय मात्र थिएन, वियोग र उदेकको उपस्थितिबाट परिभाषित पनि थियो ।

आत्मसङ्घर्षको यात्रामा तन्नेरी खगुलाल
आमाको मृत्यु भएको २ महिनापछि का. खगुलालको दाइ भारतीय सेनामा भर्ना हुनु भएको थियो । त्यसबेलामा पुरा भारत ब्रिटिसको उपनिवेश थियो भने नेपालमा राणा शासन चली रहेको थियो । त्यसैले त्यस बेला भारतीय सेना हुनु भनेको इस्ट इन्डिया कम्पनी सरकारको सेना हुनु नै थियो । त्यसको ४ वर्षपछि उहाँका दाजु भर्ती टोली लिएर नेपाल आउनु भएको थियो । त्यसमा भर्ना हुनका लागि खगुलाल पनि जानु भयो तर अङ्ग्रेजी फौजी ब्रिगेडरले घुँडा जोडिएको भन्दै भर्ना लिन मानेन । त्यसपछि केही वर्षसम्म उहाँ सेनामा भर्ना हुन जानु भएन ।

सेनामा भर्ना हुन नसके पनि अरू केही काम गर्नु पर्ने जिम्मेवारी उहाँको काँधमा छँदै थियो । त्यसैले उहाँ चिराइनाकामा खर काट्न जानु भयो । १९९६ फागुन महिनामा आफ्नै गाउँको एकजना साथी तने कुँवरसँग घरबाट भागेर भारतको कलकत्तामा पुग्नु भयो । २ महिनासम्म फाल्तु बसेपछि हावडा रेलवेको एकजना आर.टी.ओ. भन्ने सिकडाको घरमा ५ महिनासम्म नोकर भएर बस्नु भएको थियो । त्यहाँ उहाँले भाँडा माझ्ने र केटाकेटी हेर्ने गर्नु हुन्थ्यो । यो काम गरे वापत् उहाँले मासिक ५ रुपैया तलब पाउनु हुन्थ्यो । यो नोकरीले जीवनको निर्वाह हुन्न भन्ने बुझी सकेको यो तन्नेरीले अरू कामको खोजतलास गर्दै रहेको थियो । त्यस्तै, काम खोज्ने सिलसिलामा कलकत्ता खिचरीपुर ट्रेनिङ कम्पनीमा आर्मी पुलिसमा भर्ना हुन पुगेको गरुङ ठिटो यसबेला भने अरू साथीहरु भर्नामा असफल हुँदा सफल हुन पुग्यो । आफ्नो फौजी जीवनमा रहँदा खगुलाल डी.एल. इन्सपेक्टर सम्म हुनु भयो । त्यो समयमा उहाँ आउँ, हर्षा जस्ता रोगहरुले सताइनु भयो र तालिम र खेलमा घाइते हुँदा कैयौँ महिनसम्म अस्पतालमा भर्ना भई उपचार गर्नु परेको थियो । उहाँले आफ्नो जीवनको समयमध्ये करिब ६ वर्ष ८ महिना फौँजीमा खर्चिनु भयो । २००२ को जेष्ठतिर उहाँले आफ्नो फौजी जीवन परित्याग गर्नु भयो र प्युठान नारीकोटको कोइरामा फर्किनु भयो ।

कोइरामा फर्किएपछि उहाँले त्यहाँ खोरिया खन्न सुरु गर्नु भयो र पर्खाल लगाएर त्यसको संरक्षण गर्न थाल्नु भयो । उहाँको यो कार्यप्रति गाउँका कैयौँ फटाहाहरु सन्तुष्ट थिएनन् । उनीहरुले खगुलालको परिश्रमप्रति डाहा गरेका थिए । त्यसैले कोइरालाको जग्गा खगुलाललाई हुन नदिनका लागि उनीहरुले अनेक प्रपञ्च गरेका थिए । त्यसबेलाको राणा शासन अनुदारवादी भएकोले गाउँका फटाहाले पोल लगाउने बित्तिकै जनताले दण्डित हुनु पर्ने अवस्था थियो । त्यसैले खगुलालले पनि दण्डित हुने अवस्थाबाट बच्नका लागि अनेक प्रयास गर्नका साथै सफलता समेत हात पार्ने प्रयास गर्नु भयो । यसमा उहाँले खिम विक्रमको भरपुर सहयोग प्राप्त गर्नु भएको थियो । किनभने खिम विक्रमबाट विभिन्न फटाहाहरुसित अनेक प्रकारले बदला लिने र आफ्नो हैकमको निर्माण गर्ने काम भई रहेको थियो । यसो भई रहँदा अन्यायमा परेको पक्षलाई खिम विक्रमको मद्दत उपलब्ध हुन्थ्यो । खगुलालले पनि त्यो मद्दत प्राप्त गर्नु भएको थियो र उक्त मद्दतको सार्थकता पनि सिद्ध भएको थियो । यस विषयमा उहाँले यस प्रकारको स्मरण गर्नु भएको छ– “त्यसबेलामा खिम विक्रम र म समेत त्यस डोर बसेको ठाउँमा आयौँ । अनि ती फटाहाको शिर नुगे । खिम विक्रमले भने– सुब्दार साहेब माथिबाट के तोक आदेश छ ? त्यो तोक आदेश हेरौँ त ? तोक आदेश हेर्दा कुनै तिरोको चारकिल्ला बाहिर काटे वा काटिएको भए निज काट्ने कटाउने व्यक्तिहरुलाई पक्राउ गरी जाहेर गर्नु भन्ने रहेछ । ती निवेदकको उजुरीको चार किल्ला हाम्रो चारकिल्लाभित्र पर्‍यो । अनि ती डोरलाई अर्को ठाउँ हेर्ने वा जाँच्ने अधिकार छैन भनी ती गाउँले फटाहा शोषकहरु र डोरमा आएको सुबेदार कालो मुख लगाएर गए । यसरी मैले फटाहाहरुलाई हार स्वीकार गर्न बाध्य बनाएँ । यिनै समस्याबाट मेरो खिम विक्रमसित सम्बन्ध जोडिन गएको हो ।”

खगुलाल गुरुङको युवाकालको एउटा अध्याय त्यसरी पुरा भएको थियो ।

सामाजिक अभियन्ता र राजनीतिक व्यक्तित्व
का. मोहन विक्रम सिंहले लेख्नु भएको छ– “उहाँको सम्पूर्ण जीवनकालमध्ये ६५ वर्षको जीवन देश र जनता तथा पार्टी र क्रान्तिको लागि समर्पित र सङ्घर्षको जीवन हो ।” उहाँले मोहन विक्रमसँगको सम्बन्धबारे यसरी स्मरण गर्नु भएको छ– “खिम विक्रमलाई अड्डासार गरेर काठमाडौँ जेलमा पुर्‍याएको थियो । म समेतका १७–१८ जनालाई काठमाडौँमै झिकाएको थियो । त्यस बेला मोहन विक्रम त्यस्तै १४ वर्षका थिए होलान् । उनी हामीसित काठमाडौँमा गई ३ कक्षामा भर्ना भएका हुन् ।” का. खगुलाल र का. मोहन विक्रमबीचको सम्बन्ध यहीँबाट सुरु भएको थियो, जुन सम्बन्ध आजसम्म अटुट र घनिष्ट रूपमा कायम छ । वास्तवमा यो सम्बन्धमा प्युठानको कम्युनिस्ट आन्दोलनको भ्रुणको अस्तित्व अन्तर्निहित रहेको थियो । त्यो कुरा तत्कालको सम्बन्धबाट प्रष्ट भई सकेको थिएन । भविष्यमा यो कुराको फैसला भयो कि उहाँहरुले प्युठानमा त्यस्तो कम्युनिस्ट आन्दोलनको जन्म दिनु भयो, जुन नेपाली कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण अङ्गको रूपमा रहन पुग्यो ।

कम्युनिस्ट आन्दोलनमा सहभागी हुनु पूर्व नै खगुलाल र उहाँको दाइ मिलेर २००३ सालतिर ‘परोपकार’ नामक सङ्गठन खोलेर सामाजिक क्रियाकलापहरु गर्नु भएको थियो । यसबाट उहाँ सामाजिक अभियन्ता पनि भएको कुरा प्रष्ट हुन्छ । तर अर्कातिर, देशमा राणाहरुको बर्बर शासन चली रहेका बेला कुनै सङ्घ/संस्था मार्फत् सामाजिक सेवा गर्ने कुरा पनि सहज थिएन । त्यसैले उहाँहरुको सङ्गठनप्रति पनि राणा शासनको कूदृष्टि लाग्यो । तर त्यतिबेला प्युठानमा आर्यमतको सङ्गठन सुरु भएको थियो । त्यसैले राणा शासनको पक्राउबाट बच्नका लागि उहाँहरुले उक्त परोपकारी संस्थालाई आर्य मतमा परिणत गरी जाली र फटाहाको विरोध गर्न थाल्नु भयो । सो संस्थाको यस्तो कार्यले तालुकदार, मुखिया, जिम्मुवाल, साहु र शोषकहरुलाई झस्काउन थाल्यो । त्यसैले विभिन्न बहानामा यसलाई ध्वस्त बनाउने र यसका सदस्यहरुलाई जेलमा हाल्ने षडयन्त्रहरु पनि हुन थाले । खगुलालले यसको प्रतिकार गर्दै शोषित–उत्पीडित जनतालाई पनि सचेत पार्ने प्रयास गर्नु भएको थियो । उहाँले स्मरण गर्नु भएको छ– “सानै भए पनि मोहन विक्रमले हामीसित बारम्बार सम्पर्क राखी राख्नु हुन्थ्यो । त्यसबेला राणा विरोधी हलचल मच्ची रहेको थियो । देशव्यापी रूपमा राणाहरुको विरोध भई रहेको थियो । मोहन विक्रमले राणाको विरोधमा हामीलाई बताउनु भयो ।”

यसरी का. खगुलाल गुरुङ राजनीतिक आन्दोलनमा पनि प्रवेश गरेर सक्रिय हुनु भएको थियो । उहाँमा राजनीतिक ज्ञानको विकास हुनाको लागि त्यहाँ सामाजिक स्थिति, मोहन विक्रम सिंहसितको सम्बन्ध र देशको राजनीतिक व्यवस्थाले मुख्य भूमिका खेलेका थिए ।

राजनीतिक अधिकारका लडाइँ लड्ने क्रममा उहाँ सङ्घर्षको उच्च चरणमा समेत आई पुग्नु भएको छ । राणा शासन त्यत्तिकै अन्त्य हुने छैन भन्ने वास्तविकता बुझेर उहाँले सङ्घर्षको उच्च चरणबाट लड्ने साहसिक योद्धाको भूमिका खेल्नु भयो । सल्यान, जाजरकोट, प्युठान, नेपालगञ्ज लगायतका स्थानहरुमा कब्जा गर्दा उहाँको उच्च साहसिक व्यक्तित्व निखारिएर आएको थियो । उहाँले यी सङ्घर्षहरुमा एसिस्टेन्ट कप्तानको हैसियतले नेतृत्व गर्नु भएको थियो । राजनीतिक चेतना बिना यस प्रकारको लडाइँ लड्नु सम्भव थिएन । यसरी उहाँ अग्रगामी राजनीतिक चिन्तनको पक्षपाती र त्यसलाई आत्मसात गर्न सक्ने क्रियाशील, उत्साही र जिज्ञासु व्यक्तित्व हुनु हुन्थ्यो भन्ने कुरा पनि स्पष्ट हुन्छ । उहाँको व्यक्तित्व र कार्यशैलीबारे का. मोहन विक्रम सिंहले यस्तो विचार प्रकट गर्नु भएको छ– “उहाँको (खगुलालको) व्यक्तित्व र कार्यशैली यति धेरै जुझारु थियो कि सबै सामन्त र जालीफटाहरु काँप्दथे ।”

खगुलालको उच्च सामाजिक व्यक्तित्व पनि थियो । २००३ सालतिर उहाँहरुले ‘परोपकार’ नामक सामाजिक सङ्गठनका माध्ययमबाट सामाजिक परिवर्तनका लागि भूमिका खेलेको भन्ने कुरा माथि उल्लेख भई सकेको छ । यति मात्र होइन, उहाँले आफ्नो सामाजिक व्यक्तित्वलाई निरन्तर अगाडि बढाई रहनु भयो । २००९ वैशाखमा बी.पी. कोइरालाले दाङमा चलाएको १ महिने राजनीतिक शिविरमा प्युठानबाट अरू साथीहरु सहित का. खगुलालले भाग लिनु भएको थियो । उक्त शिविरमा सहभागी हुने सिलसिलामा उहाँ र बी.पी कोइरालाले संयुक्त रूपमा दाङको भरतपुरको स्कुलको शिलन्यास गर्नु भएको थियो । उहाँले विद्यालयमा शिक्षण गरेर सामाजिक जागरण ल्याउने प्रयास पनि गर्नु भयो । जुवा–तास जस्ता कुलत र असङ्गत कार्यहरु हटाउनका लागि पनि उहाँले सक्रिय भूमिका खेल्नु भएको थियो । यसरी उहाँ सामाजिक कार्यका लागि पनि अग्रसर भई रहनु हुन्थ्यो । नेतृत्व गर्ने, सहभागी हुने, सहयोग गर्ने, समर्थन गर्ने जस्ता महत्त्वपूर्ण गुणहरुले उहाँलाई सामाजिक व्यक्तित्व र अभियन्ताको रूपमा उभ्याउँछन् ।

खगुलालको राजनीतिक दृष्टिकोण
यहाँ हामीले भन्न खोजेको २००७ सालको राजनीतिक परिवर्तनपछिको तत्कालीन राजनीतिक परिस्थितिको खगुलालले अपनाएको राजनीतिक दृष्टिकोणबारे प्रकाश हाल्न खोजिएको हो । आजका खगुलाल वर्तमान परिप्रेक्ष्यमा जति जुझारु र सही विचारबाट निर्देशित र परिचालित हुनु हुन्छ, आजभन्दा ६७ वर्ष अगाडिका खगुलाल पनि त्यत्तिकै जुझारु र सही विचारबाट निर्देशित र परिचालित हुनु हुन्थ्यो । उहाँले स्मरण गर्नु भएको छ– “त्यसबेलामा राणाहरुले राजा त्रिभुवनलाई लघारेका थिए । राजा भारतीय विस्तारवादको शरणमा गएका थिए । दिल्लीमा राजा, राणा र काङ्ग्रेसबीच त्रिपक्षीय सम्झौता भएपछि राजा नेपाल फर्केका थिए । राजा त्रिभुवनले २००९ सालभित्र नेपालमा चुनाव गराउँछु भनेका थिए । तर निर्वाचन आयोगको नीति–नियम, कानुन बनाउँदै छु भन्दै ९ वर्ष बिताई दिए ।” तत्कालीन समयका इतिहासका सबै विवरणहरुले का. खगुलालका यी भनाइहरुलाई सार्थक र सत्य सावित गरेका छन् । राजनीतिज्ञ र इतिहासकारहरुले पनि यो कुरालाई स्वीकार गर्दै आएका छन् । उहाँ सही राजनीतिक विचारधारा पछ्याउनका लागि जहिले पनि अग्रगामी हुनु हुन्थ्यो, सही र सत्य विचारका लागि उहाँले कतै र कहिल्यै पनि सम्झौता गर्नु भएको देखिदैन । जीवनको एक शताब्दीको अवधिमा पनि उहाँको सत्यनिष्ठा जीवन्त र सुन्दर छँदै छ ।

कम्युनिस्ट आन्दोलनमा सहभागी
माथि का. मोहन विक्रम सिंह र का. खगुलालको सम्बन्धलाई सामान्य रूपले उल्लेख गरिएको छ । त्यो पहिलो सम्बन्ध सम्पूर्ण राजनीतिक क्षेत्र र सन्दर्भमा महत्त्वपूर्ण थियो भने कम्युनिस्ट आन्दोलनमा सहभागीबारे यो सम्बन्धको विशेष महत्त्व रहेको थियो । २०१० सालदेखि नै दुबै जना व्यक्तित्वहरु कम्युनिस्ट आन्दोलनमा सहभागी भएकाले यो चरणमा आएर क. खगुलालको कम्युनिस्ट राजनीति र विचारको प्रसङ्गलाई अगाडि सार्नु मनासिब देखिएको हो । का. खगुलालको कम्युनिस्ट राजनीतिमा सामेली सम्बन्धी का. मोहन विक्रम सिंहले यस्तो भन्नु भएको छ– “२०१० सालमा उहाँको जीवनमा महत्त्वपूर्ण मोड आयो । उहाँ २०१० सालमा प्युठानको विजयनगर (रातामाटा) मा प्रगतिशील अध्ययन मण्डलद्वारा सञ्चालित ३ महिने जनता शिक्षण शिविरमा सामेल हुनु भयो । त्यहाँको त्यस शिविरमा उहाँ शारीरिक प्रशिक्षक हुनु हुन्थ्यो । त्यसै बेला (२०१० साल माघमा) मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी प्युठानको उहाँ एकजना संस्थापक सदस्य हुनु हुन्थ्यो । त्यहीबेला प्युठानमा स्थापित भएको अखिल नेपाल किसान सङघ प्युठानको पनि उहाँ संस्थापक सदस्य हुनु हुन्थ्यो ।” का. खगुलालको जीवन त्यति धेरै परिवर्तनशील र धैर्यवान थियो, जबकि गलत विचार र मार्गलाई तुरुन्त छोड्न उहाँ तयार हुनु हुन्थ्यो भने प्रकाण्ड र सही विचारको लागि उहाँ जहिल्यै पनि समुद्र झैँ अटल र धैर्यवान हुनु हुन्थ्यो । त्यसैले २०१० सालपछि उहाँको जीवनमा महत्त्वपूर्ण मोड आएको थियो । उहाँको वैचारिक र राजनीतिक विकासबारे उहाँ स्वयम्ले २०६७ मा झिम्रुक सन्देश नामक म्यागजिनलाई दिएको अन्तर्वार्तामा त्यो कुरा प्रष्ट छ । त्यसमा उहाँले भन्नु भएको छ– “म १० सालबाट कम्युनिस्ट भएको हुँ । २००७ सालको आन्दोलनमा कम्युनिस्टको प्रभाव त्यति थिएन, तापनि कम्युनिस्ट पार्टी २००६ सालमा जन्मिएको थियो । २००७ सालको आन्दोलनको नेतृत्व काङ्ग्रेसले नै गरेको थियो । म पनि काङ्ग्रेसबाटै आएको थिएँ ।” यसबाट प्रष्ट हुन्छ कि उहाँ पहिले काङ्ग्रेस विचारधाराको राजनीतिबाट परिचालित हुनु हुन्थ्यो । उहाँले राजनीतिमा कहिल्यै पनि ढाँटछल गरेर आफ्नो दुनो सोझ्याउने प्रयत्न गर्नु भएन र त्यसका लागि झुटको सहारा पनि लिनु परेन । क. मोहन विक्रम सिंहसितको व्यापक राजनीतिक सहकार्यले उहाँलाई कम्युनिस्ट आन्दोलनमा सहभागी हुन समस्या भएन । काङ्ग्रेसको राजनीतिमा सक्रिय रहँदा होस् वा सामाजिक परोपकारी सङ्गठनहरुमा सक्रिय हुँदा ती सबै क्रियाकलापहरु सामाजिक मुक्ति र न्यायका लागि गरिएका उहाँका निष्कलङ्कित कर्महरु थिए । वास्तवमा ती कर्महरुको गुञ्जायसलाई सार्थक तुल्याउनका लागि कम्युनिस्ट विचारधारा र सङ्गठन नै आवश्यक हुने भएकाले उहाँले अन्तत: यो बाटोमा आउनु आवश्यक भयो । उहाँले २०६८ सालमा झिम्रुक सन्देशलाई अन्तर्वार्ता दिदै भन्नु भएको छ– “मोहनजीको सङ्गतले म २०१० सालमा विधिवत रूपमा कम्युनिस्ट पार्टीमा लागेको हुँ ।”

का. खगुलाल कम्युनिस्ट राजनीतिमा प्रवेश गरी सकेपछि २०११ सालमा का. मोहन विक्रम सिंह, रुम बहादुर पाण्डे, सिद्धिमान सिंह, नन्दलाल गुरुङ र नेकाका हेमराज पण्डित सहित उहाँ पनि पक्राउ पर्नु भयो र १९ महिनापछि २०१३ सालमा छुट्नु भयो । त्यसैगरी २०१८ सालमा पनि उहाँ पक्राउ पर्नु भएको थियो । यसरी उहाँले निष्ठाको राजनीतिमा जेल जीवनको इतिहास पनि निर्माण गर्नु भएको छ । २०१४ सालमा सम्पन्न दोश्रो महाधिवेशनमा उहाँले प्रतिनिधि भएर भाग लिनु भएको थियो र २०१५ सालको संसदीय चुनावमा उहाँ क्षेत्र नम्बर ८३ बाट नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएको थियो । त्यो एउटा राजनीतिक कार्य थियो, उक्त निर्वाचनमा उहाँ पराजित हुनु भएको भएता पनि थवाङ क्षेत्रमा सङ्गठनको राम्रो आधार निर्माण भएको थियो ।

उहाँले आफ्नो बारेमा नचाहिंदो धोई पखाली कहिल्यै पनि गर्नु भएको छैन । प्रधानपञ्च बनेको कुरा पनि उहाँले प्रष्टताका साथ उल्लेख गर्न सक्ने वा आफ्ना कमजोरीहरुलाई जनताका बीचमा राख्न सक्ने र आत्मालोचित हुन सक्ने व्यक्तित्व पनि निर्माण गर्नु भएको छ । उहाँ प्रधानपञ्चमा पनि निर्वाचित हुनु भएको थियो । यो विषयलाई उहाँले जनताको जोडबलमा भएको कुरा स्वीकार गर्नु भएको छ । तर उहाँको उक्त कार्यकालमा प्युठानमा कम्युनिस्ट आन्दोलनलाई विकास र समृद्धि गर्ने कुरामा सहजता भएको कुरा जानिफकारहरुले बताउने गर्दछन् । उहाँ छवि बिग्रिएको पञ्चनेता जस्तो हुनु हुन्थेन । उहाँ जनताको आग्रहमा नै त्यस प्रकारको चुनावमा सहभागी भएर जनहितका कार्य गर्नु हुन्थ्यो । त्यसैले २०३६ सालको जनमत सङ्ग्रहमा उहाँकै नेतृत्वमा प्युठानमा बहुदलको पक्षमा कैयौँ जन परिचालनका कार्यक्रमहरु गर्न सम्भव भएको थियो ।

का. खगुलालको राजनीतिक जीवनको सन्दर्भमा बन्द समाज वा पञ्चायत कालको एउटा सानो समयलाई मात्र ध्यानमा राखेर मूल्याङकन गर्नु उचित हुँदैन । उहाँको ६५ वर्षे राजनीतिक जीवन प्रजातान्त्रिक र कम्युनिस्ट राजनीतिमा समर्पित भएको छ । साहसी र इमान्दार व्यक्तित्वले उहाँलाई जहिल्यै पनि सही राजनीति र विचारको पक्षमा उभ्याउन प्रेरित गर्‍यो । त्यसको परिणामस्वरूप उहाँलाई नेपालको कम्युनिस्ट आन्दोलनले कुनै न कुनै रूपमा सम्मान गरी रहेकै हुन्छ । उहाँ नेकपा (मसाल) मा साङ्गठनिक रूपले प्रतिबद्ध भएको भएता पनि सम्मान र मर्यादाका हिसाबले साझा रूपमा चिनिने र जानिने व्यक्तित्व हुनु हुन्छ । यो कुरालाई गत वर्ष उहाँको अभिनन्दन कार्यक्रम गरेर सिद्ध गरिएको छ । क. मोहन विक्रम सिंहको संयोजकत्वमा उक्त अभिनन्दन समारोह समिति बनेको थियो । सो समितिले बहुपक्षीय उपस्थिति गराएर का. खगुलाल गुरुङलाई अभिनन्दन गरेको थियो । सो कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’, एमाले उपाध्यक्ष वामदेव गौतम, नेकपा (माले) का महासचिव एवं तत्कालीन उपप्रधानमन्त्री सी.पी. मैनाली, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा नेकपा (संयुक्त) का अध्यक्ष गणेश शाह र एमाओवादी नेता लीलामणि पोख्रेल लगायत नेपालका विभिन्न कम्युनिस्ट घटकका शीर्ष नेताहरुको उपस्थितिमा उहाँलाई भव्य सम्मानका साथ अभिनन्दन गरिएको थियो ।

जनजाति व्यक्तित्वको हैसियतमा उहाँलाई अखिल नेपाल जनजाति सम्मेलनले पनि सम्मान गरी सकेको छ ।

यस वर्ष नागरिक स्तरबाट नै उहाँको उच्च मूल्याङ्कनका गर्दै शताब्दी समारोहका साथमा उहाँलाई अभिनन्दन गरिन लागेको छ ।

का. खगुलालका विविध पाटा र अन्तर्यका कैयौँ पक्षहरुलाई खोतल्दै उहाँको जीवनी विभिन्न दृष्टिकोणबाट लेख्न र तयार गर्न सकिन्छ । यो जीवनी एउटा मोटामोटी स्वरूप मात्र हो । यसमा उहाँको सम्पूर्ण विषयलाई उद्घाटन गर्न सम्भव भएको छैन । यो कार्यमा विभिन्न क्षेत्रबाट प्रयास हुनु पर्छ ।

का. खगुलालको एक शताब्दीको अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको सुभेच्छा प्रकट सहित यो सानो उपहार उहाँमा नै समर्पित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here