नेपालको राजनीतिमा निम्न पुँजीवादी चरित्र

0
248

नेपालको सामाजिक, राजनीति तथा त्यसको अर्थनीतिका बारेमा निकै चर्चा हुने गरेको छ । तर, यसको दार्शनिक पक्षको पनि चर्चा गरिनुपर्छ । किनभने यी सबै अन्तरसम्बन्धित विषयहरु हुन् ।

दर्शनशास्त्र वृहत विषय हो । तर यहाँ चर्चा, दर्शनशास्त्रको क्षेत्रमा एउटा भड्कावको रुपमा देखा पर्ने निम्न पुँजीवादी चरित्रका बारेमा गर्न खोजिएको छ । यसप्रकारको चरित्रले एउटा नेता, पार्टी, सरकार, समाज आदिलाई कसरी प्रभावित गर्छ ? यसको  प्रभावका कारण कुनै पनि व्यक्ति, पार्टी तथा मुलुकको किन प्रगति हुन सकिरहेको हुँदैन ? यस लेखमा यिनै प्रश्नहरुमा चर्चा गरिने छ ।

निम्न पुँजीवादी चरित्रलाई दुई प्रकारले व्याख्या गर्न सकिन्छः एउटा  आत्मगत र अर्को वस्तुगत ।

दार्शनिकरुपमा भन्नुपर्दा आफूलाई प्राथमिकता दिएर गरिने निर्णय एकप्रकारको निम्न पुँजीवादी हो । कुनै पनि घटना तथा गतिविधिले आफूलाई प्रभाव पार्छ कि पार्दैन ? त्यो घटनाले हाम्रो सोचाइ तथा महात्वाकांक्षासित मेल खान्छ कि खाँदैन ? यदि प्रभाव पार्छ अथवा महात्वाकांक्षासित मेल खान्छ भने त्यो ठीक, अन्यथा गलत । यदि यसप्रकारको दृष्टिकोण निर्माण भयो भने यसलाई एकप्रकारको निम्न पुँजीवादी चरित्र भन्ने गरिन्छ ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा यसप्रकारका थुप्रै दृष्टिकोणहरु हावि हुने गरेको पाइन्छ ।

कुनै चिज वा घटनाका बारेमा हाम्रो उपरी प्रकारको सोचाइ हुने गर्छ । त्यो आधारमा मात्र निष्कर्ष पुग्ने तरिका पनि निम्न पुँजीवादी चरित्र नै हो । यो अवस्थामा हामी चिज तथा घटनाहरुको तार्किक, वैज्ञानिक तथा वस्तुगत विश्लेषणको बिषयलाई उपेक्षाको विषय बनाउछौं । जस्तो- कुनै अमूक व्यक्तिका बारेमा हाम्रो नकारात्मक तथा सकारात्मक सोचाइ रहँदै आएको हुन्छ । अन्य व्यक्तिहरुबाट पनि त्यही कुराहरु सुन्दै आइरहेका हुन्छौं । त्यस आधारमा नै हामी अमूक व्यक्तिको मूल्यांकन गर्दछौं भने यसप्रकारको मनोगत विश्लेषण पनि एकप्रकारको निम्न पूँजीवादी चरित्र नै हो ।

यो अवस्था हामी वास्तवमा त्यो अमूक व्यक्तिको चरित्र तथा पृष्ठभूमि के हो भन्नेबारे त्यसको तार्किक तथा वस्तुगत विश्लेषणको विषयलाई त्यति ध्यान दिन सकिरहेका हुँदैनौं ।

दर्शनशास्त्र, विश्वलाई हेर्ने एकप्रकारको चश्मा हो पनि भन्न सकिन्छ । जस्तै- यदि कालो चश्मा लगाइयो भने सिंगो संसार नै कालो हो कि भन्ने आभास हुन्छ । पहेंलो चश्मा लगाएर हेरियो भने संसार नै पहेलो हो कि भन्ने आभास हुन्छ । अध्यात्मवादको चश्मा लगाएर हेर्ने हो भने सर्वत्र ईश्वर भएको अनुभुति हुन्छ । त्यसको विपरीत, भौतिकवादी दृष्टिबाट संसारलाई हेर्दा हरेक चिज परिवर्तनशील भएको अनुभूति हुन्छ ।

एवंप्रकारले निम्न पुँजीवादी दृष्टिकोणबाट हरेक पक्षहरु यसकै मूल्य मान्यता अनुरुप भएको अनुभुति हुने नै भयो ।

जर्मन दार्शनिक इमाइल कान्टले भनेका छन, ‘संसारको कुनै एउटा कुनाबाट  हेर्दा एकप्रकारको अनुभुति हुन्छ, जबकि अर्को कुनाबाट हेर्दा बेग्लै प्रकारको अनुभुुति हुन्छ ।’

उत्तर आधुनिक दृष्टिकोणबाट विश्लेषण गर्दा यसप्रकारका सापेक्षिक घटना तथा अनुभूतिलाई नै सत्य मान्ने गरिन्छ । तर, यी दुई बेग्लाबेग्लै अनुभुतिहरुको अन्तरविरोधबाट सही सोच तथा दृष्टिकोणको निर्माण हुन्छ भन्नु नै द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण हो ।

निम्न पुँजीवाद चरित्रको आत्मगत पक्षमाथि निकै चर्चा हुने गरेको छ । यसको विपक्षमा तथा सर्वहारा विश्व दृष्टिकोणका पक्षमा निम्न तर्कहरु गरिन्छः

आफूलाई प्राथमिकतामा राखेर मात्र कुनै निर्णय गरिनुहुँदैन । पद, प्रतिष्ठा, व्यक्तिगत महात्वाकांक्षा जस्ता विषयभन्दा पनि समग्र समाज, राष्ट्र, पार्टी तथा श्रमजीवी जनताका मुक्ति जस्ता विषयमाथि केन्दि्रत हुँदै कुनै पनि चिजको निर्णय गरिनुपर्छ आदि । आत्मगत पक्षको चर्चाका साथै यसका वस्तुगत पक्षमाथि पनि केही चर्चा गरिनुपर्छ ।

दार्शनिकरुपमा भन्नुपर्दा आफूलाई प्राथमिकता दिएर गरिने निर्णय एकप्रकारको निम्न पुँजीवादी हो । कुनै पनि घटना तथा गतिविधिले आफूलाई प्रभाव पार्छ कि पार्दैन ? त्यो घटनाले हाम्रो सोंचाई तथा महात्वाकांक्षासित मेल खान्छ कि खाँदैन ? यदि प्रभाव पार्छ अथवा महात्वाकांक्षासित मेल खान्छ भने त्यो ठीक, अन्यथा गलत । यदि यसप्रकारको दृष्टिकोण निर्माण भयो भने यसलाई एकप्रकारको निम्न पुँजीवादी चरित्र भन्ने गरिन्छ ।

कसरी उत्पन्न हुन्छ त यसप्रकारको चरित्र ? कुन सामाजिक, राजनीतिक तथा आर्थिक पक्षहरुले यसप्रकारको दृष्टिकोण निर्माणका लागि आधार तयार पारिरहेको हुन्छ ? यी लगायतका विषयहरुको समेत चर्चा गर्दा विषयवस्तुलाई थप प्रष्ट पार्न सहज हुनेछ ।

राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिका बीचबाट नै निम्न पुँजीवादी चरित्रको निर्माण हुने गर्छ । अझ विशेष गरेर उत्पादनको तरिका तथा पद्दतिहरुका बीचबाट नै यसप्रकारको चरित्रको उदय हुने गर्दछ । उत्पादनको दौरानमा अन्तरविरोध घनिभूत रुपले अगाडि बढ्दा वर्गसंघर्ष तथा जनआन्दोलनले उच्ााई प्राप्त गरेको हुन्छ । त्यो अवस्थामा निम्न पुँजीवादी चरित्रले त्यति अनुकुल वातावरण पाइरहेको हुँदैन । त्यसको विपरीत अवस्थामा भने यसको हालीमुहाली बढ्ने गर्छ ।

जब समाज, सामन्तवादबाट पुँजीवादतर्फ अग्रसर भैरहेको  हुन्छ, मानिसको उत्पादन गर्ने पद्दतिमा पनि परिवर्तन हुँदै गैरहेको हुन्छ । पुँजीवादी संस्कारले मानिसमा व्यक्तिवादी प्रवृति हावि हुँदै गैरहेको हुन्छ । यो अवस्थामा मानिसले यो हेर्दैन कि के गर्दा समाज तथा राष्ट्रलाई फाइदा हुन्छ ? व्यक्तिगत नाफाका लागि उ आफ्नै परिवाका विरुद्ध पनि जान सक्छ । समाज तथा राष्ट्रका विरुद्ध पनि क्रियाशील हुन सक्छ । जहाँ नाफा तथा व्यक्तिगत स्वार्थ पूरा हुन्छ, त्यतैतीर मानिसको प्रेम तथा लगाव हुन्छ । यदि त्यसो भएन भने उ त्यसका विरुद्ध जान सक्छ । यसरी व्यक्तिवादी तथा उपभोक्तावादी प्रवृत्तिको विकास हुँदै जानु नै पुँजीवादी संरचनानको चरित्र हो ।

कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेख्नुभन्दा पहिले सन् १८४३ मा फिलोसोफिकल एण्ड इकोनोमिकल मेनुस्क्रिप्ट लेख्नुभयो । यूरोपियन समाज जब सामन्तवादबाट पुँजीवादतर्फ संक्रमण हुँदै गैरहेको थियो । त्यसले आम मानिसको चिन्तन तथा स्वभावमा हुने परिवर्तनका बारेमा वहाँले सो पुस्तकमा चर्चा गर्नुभएको छ ।

पुँजीवादको उद्देश्य जसरी पनि नाफा कमाउने हुन्छ, अतः यो संरचना अन्तरगत रहेर व्यक्ति नाफा कमाउन, देशको विरुद्ध पनि जान सक्छ, समाजको विरुद्ध पनि जान सक्छ । यहाँसम्मकि आफ्नै परिवार तथा आफ्नै विरुद्ध पनि जान सक्छ । यसलाई थ्योरी अफ एलिनेशन पनि भन्ने गरिन्छ ।

यसो कसरी सम्भव हुन्छ त ? कार्ल मार्क्र्सका अनुसार मानिसको उत्पादन गर्ने तरिकाले पनि मानिसको स्वाभाव, व्यक्तिवादी प्रकारको हुँदै गैरहेको हुन्छ । सामन्तवादमा एउटा कामदारले सामन्तका लागि सामान उत्पादन गरिरहेको हुन्छ । यो अवस्थामा सामन्तहरुको हित तथा खुशीका लागि कार्य गरिएको हुन्छ । यो समयमा कस्तो सामान बनाउने, उसलाई जानकारी हुन्छ ।

तर, पुँजीवादमा प्रवेश गर्दा विभिन्न प्रकारका कामदारहरुले विभिन्न प्रकारका सामानहरु उत्पादन गरिरहेका हुन्छन् । उनीहरुलाई यो पनि जानकारी हुदैन कि त्यो सामान किन र कुन उदेश्यको लागि उत्पादन गर्ने हो ।

जस्तै-बजारमा एउटा साइकलको आवश्यकता छ भने टायर एक ठाउँमा बन्छ, टायरमा प्रयोग हुने तेल अर्कै ठाउँमा बन्छ । हेन्डल अर्कै ठाउँमा बन्छ भने साइकलको गद्दी अर्कै ठाउँमा बन्छ । यी सबै सामान बनाउन पुँजीपतिले बेग्लाबेग्लै मजदुरहरुको प्रयोग गरेको हुन्छ । यसप्रकारको उत्पादन पद्दतिका कारण पनि आम मानिसको स्वाभाव व्यक्तिवादी प्रकारको हुन जान्छ । व्यक्तिवादी भन्नुको अर्थ के भने मानिसले हरेक कुराहरुको विश्लेषण आफ्नो स्वार्थमाथि केन्दि्रत हुँदै गरिरहेको हुन्छ ।

एउटा गाउँ र शहरको तुलना गर्ने हो भने पनि हामी पाउँछौ कि गाउँको तुलनामा शहरमा पुँजीवादको मात्रा अलिकति बढी हुन्छ । यसप्रकारको फरक मात्राका कारण नै शहरिया मानिसहरुमा अलि स्वार्थी भावनाको विकास भैरहेको हुन्छ । किनभने उनीहरुको दिनचर्या नै त्यसैप्रकारको हुन्छ । बिहानै उठ्यो अफिस गयो, बेलुका अबेरसम्म काम गर्‍यो । फेरि अर्को दिन आउँछ उही कुरा दोहोर्‍यायो । उनीहरुलाई न त कुनै छिमेकीसित सम्बन्ध बनाउन आवश्यक हुन्छ । कुनै सामाजिक, राजनीतिक काम गर्न पनि आवश्यक ठानिँदैन । मात्र एउटा मालिकको कामदारको रुपमा उ सीमित भएको हुन्छ । यसरी उनीहरुभित्र व्यक्तिवादी स्वभाव नै हावी हुँदै गैरहेको हुन्छ ।

निम्न पुँजीवादी चरित्र निर्माण, उत्पादन प्रणालीसित अन्तरसम्बन्धित हुने प्रष्ट नै छ । मूलतः नेपाली समाज, अर्ध सामन्ती तथा अर्धऔपनेवेशिक अवस्थामा नै छ ।

कार्ल मार्क्सका अनुसार यसलाई आधार भन्न सकिन्छ । तर उपरीसंरचना अर्थात संस्कृति, मूल्य, मान्यता, चालचलन आदिको आधारसित तालमेल मिलिरहेको हुँदैन । विशेष गरेर नेपालीको अर्थ राजनीतिमा दलाल पुँ्जीवाद हावि हुँदै जाँदा अर्थात आफंै उत्पादन नगर्ने अरुले बनाइदिएको सामानमा रमाउने प्रवृत्ति हावी हुँदै जाँदा समाजको संरचना पनि त्यहीरुपमा ढल्दै गैरहेको छ ।

नेपाली किसानले उत्पादन गरेको आलु, प्याज, लसुन आदिको स्थान विदेशी आलु, प्याज, लसुनले ओगट्दै जानु त्यस्तै विद्युत, जडीबुटी आदिमा विदेशी सामानले स्थान लिँदै जाँदा पनि दलाल पुँजीवाद हावी हुँदै गएको प्रष्ट हुन्छ ।

दलाल पुँजीवादको चरित्र नै यस्तो हुन्छ कि यसले उत्पादन तथा पुनःउत्पादन गर्दैन । देशको कच्चा पदार्थ निकासी गर्ने र विदेशीले बनाईदिएको सामान आयात गर्ने । राज्य संरचना नै यसरी तयार भएको हुन्छ कि त्यसले विदेशी सामान बिक्रीका लागि उपयुक्त वातावरण बनाइदिएको हुन्छ ।

त्यसो हुँदा देशको अर्थतन्त्र नै खोक्रो हुँदै जाने भयो । नेपाली समाज तथा राजनीतिको वस्तुगत यथार्थ नै यही हो । यसप्रकारको वस्तुगत परिस्थितिका कारण मानिसको सोचाइ, दृष्टिकोण तथा क्रियाशीलता पनि त्यहीअनुरुप ढल्दै जाने भयो । यो अवस्थामा एउटा किसानले खेतमा काम गरेर आफ्नो कुनै भविष्य नै देखिरहेको हुँदैन ।

राज्यले पनि नाफा तथा उत्पादनमुखी कृषिका लागि अध्ययन् तथा अनुसन्धानलाई महत्व दिइरहेको हुँदैन । यो अवस्थामा किसानहरुको ध्यान पनि खेतको प्लटिङ गरेर बेच्ने, शहरमा एउटा खडेरी किन्ने, सबै परिवार शहरतिर बस्ने अनि परिवारको जिविकोपार्जनका लागि भारत, मलेसिया र दुबईतिर पलायन हुने ।  एउटा व्यक्ति, परिवार, समाज, पार्टी, राजनीति तथा राष्ट्रले प्रगति गर्न नसक्नुमा यसप्रकारको वस्तुगत  पक्षले धेरै हदसम्म भूमिका खेलिरहेको हुन्छ ।

समाज तथा राजनीतिमा थुप्रै विकृति तथा विसंगतिहरुका बारेमा हामी चर्चा गरिरहेका हुन्छौं । राजनीति गर्ने नेताहरुको थुप्रै कमीकमजोरीहरुका बारेमा चर्चा गरिरहेका हुन्छाैं । तर, यसप्रकारका विकृति विसंगतिहरु निर्माण हुनुमा परिवर्तित उत्पादन प्रणालीले पनि धेरै हदसम्म प्रभाव पारिरहेको हुन्छ । यो अवस्थामा सामुहिकता तथा राष्ट्रियताको भावना मर्दै गैरहेको हुन्छ । त्यसको विपरीत आफूलाई प्राथमिकतालाई राखेर गरिने निम्न पुँजीवादी सोचाइको विकास हुँदै गैरहेको हुन्छ ।

जनआन्दोलन तथा वर्गसंघर्षको उठान नै निम्न पुँजीवादी चरित्रको वस्तुगत समाधान हो । जनआन्दोलन भनेको कुनै पार्टी तथा नेताले चाहेर मात्रै हुने कुरा होइन । यसका लागि समाज तथा राजनीतिभित्रका वास्तविक अन्तरविरोधहरुको पहिचान गर्न सक्नुपर्छ ।

अन्तरविरोधहरुको वस्तुगत तथा आत्मगत पक्षहरुको विश्लेषण गर्दै त्यही अन्तरविरोधहरुको बीचबाट वर्ग संघर्षलाई चर्काउने कोसिस गर्नुपर्छ । कुनै पनि समाज तथा व्यवस्थाका लागि अन्तरविरोधको सार्वभौम अस्तित्व रहन्छ भने त्यसको पहिचान नै मूलभूत विषय हो । र त्यसप्रकारको पहिचानका साथै आत्मगत पक्षलाई अझ सशक्त पार्दै लग्नुपर्दछ । यसप्रकारको निरन्तरताले नै जनआन्दोलन अझ सुदृढ हुँदै जाने । जसको फलस्वरुप निम्न पुँजीवादी चरित्र पनि कमजोर हुँदै जाने छ । अतः आत्मगत तथा वस्तुगत दुवै पक्षबाट निम्न पुँजीवादी चरित्रका विरुद्ध सचेत अभियान चलाउनु नै सही पद्दति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here