निस्तब्धता

0
197
सुमन थापा

तिमिलाई नियाल्दै गर्दा
लाग्दै थियो
म पनि हराइदिउँ
तिम्रो अँधेरीमा
तिम्रो रङ्गमा
एक पटक तिमिलाई छोउँ
निस्तब्धतामा लपेटिएको
तिम्रो रङ्ग
म सक्दिनथेँ चन्द्र जस्तै
तिमिलाई छिचोलेर
आफू देखिन
अदम्य साहसका साथ
प्रकाश छर्न

तर पनि तिम्रो अँधेरीको
खाँचो छ मलाई

म आफुलाई हराउन
म आफुलाई बिसाउन
म आफुलाई कसैले
नदेख्ने गरि लुकाउन

तिम्रो रङ्ग भित्र
पुर्ण चन्द्र पाउँछु
हुन त
पुर्ण कोहि हुँदैनन होला
र त …
चन्द्र पनि रुन्छिन्
चन्द्र रुँदा पनि म खुसी छु
उसको आँसु शीत पाउँछु
शितको सितलतामा
रुझाउँनु छ मलाई
जहाँ म पखालिन्छु
मेरा मनका मैलाहरु
परेलिका डिलबाट
नरोकी बग्न दिनुछ

अँधेरी तिम्रो साथले
मलाई प्रफुल्लित तुल्याउँछ
म दिनको उजेली सङ्ग
हातेमालो गर्न
फेरि तम्तयार हुनेछु
फेरि एक उर्र्जािशल हुनेछु
जीवनका दिनचर्याहरु सङ्ग
जीवनका अन्तिम यात्रामा
ननिस्कँदासम्म
निरन्तर सँघर्षको कुस्ती खेल्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here