निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीले देशमा तानाशाही व्यवस्था निम्त्याउछ : मसाल

0
495

जेठ २२, काठमाडौं । नेकपा (मसाल) ले नेकपाका अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली अपनाउन प्रकट गरेको विचार प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

मसालका महामन्त्री मोहन विक्रम सिंहले एक विज्ञप्ति जारी गर्दै नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीले देशलाई तानाशाही व्यवस्थातिर लैजाने उल्लेख गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएसँगै प्रचण्डको अभिव्यक्ति आएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘फोरमलाई अहिलेको सरकारमा ल्याउने जुन कार्य गरियो, त्यसले कैयौं गम्भीर प्रकारका आशंकालाई जन्म दिएको छ । कसैलाई सरकारमा सामेल गर्ने वा नगर्ने, त्यो हाम्रो सरोकारको विषय होइन । तर त्यस सन्दर्भमा यो स्पष्ट छ कि प्रत्यक्ष राष्ट्रपति प्रणालीका पक्षमा दुई–तिहाई मत जुटाउन नै फोरमलाई सरकारमा सामेल गरिएको हो । तर त्यससित जोडिएको अर्को त्योभन्दा महत्वपूर्ण पक्षप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रत्यक्ष राष्ट्रपति प्रणालीको पक्षमा दुई–तिहाई बहुमत जुटाउने उद्देश्य पूरा गर्न, फोरमका संविधानमा राष्ट्रघाती प्रकारका संशोधनहरु पारित गराउने कुनै आन्तरिक समझदारी ता बनेको छैन ? त्यसो गरिएको भए त्यो गम्भीर राष्ट्रघातको कार्य हुनेछ ।’

फोरमका नेताहरुले बारम्बार संविधानमा संशोधनका कुरा उठाइरहेको दृष्टान्तसहित विज्ञप्तिमा  सरकार र फोरमका बीचमा संविधान संशोधन भएको भए त्यो  गम्भीर प्रकारको राष्ट्रघात हुने उल्लेख गरिएको छ  ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारको राष्ट्रघातको मूल्यमा फोरमसित गठबन्धन गरेर प्रत्यक्ष राष्ट्रपति प्रणालीलाई कायम गर्ने प्रयत्न ता गरेको छैन ? प्रश्न नउठाइकन रहन सकिन्न ।

नेपालमा प्रजातान्त्रिक प्रणालीको कम विकास भएकाले र राजनीतिक पार्टीहरुमा पनि प्रजातान्त्रिक संस्कारको अत्यन्त कम विकास भएकाले देशमा प्रत्यक्ष राष्ट्रपति प्रणाली कायम भएमा त्यसको परिणाम देश तानाशाही व्यवस्थातिर जाने निश्चित रहेको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here