नयाँ जनवादी क्रान्तिका आवश्यक शर्तहरु

0
1561

दुर्गानाथ खरेल
नयाँ जनवादी क्रान्ति अर्ध औपनिवेशिक र अर्ध सामन्ति अवस्थामा रहेका पुँजीवादी विकास हुन नसकेका देशमा सम्पन्न हुने पँजीवादी प्रजातान्त्रिक क्रान्ति हो । यो क्रान्ति सम्पन्न गर्नका लागि समाजका सम्पूर्ण राजनैतिक शक्ति र वर्गहरुलाई परस्पर विरोधी दुई भागमा वर्गीकरण गर्नु पर्दछ । मित्र शक्ति अन्तर्गत पर्नेहरुका बीचमा सर्वहारा वर्गको अधिनायकत्व भएको कम्युनिष्ट पार्टीको नेतृत्वमा अन्य शक्तिहरुबीच फराकिलो संयुक्त मोर्चा गठन गर्नु पर्दछ । कम्युनिष्ट पार्टीले गठन गरेको जनसेनाले संचालन गर्ने शसस्त्र संघर्षको बलले हराएर राज्यसत्ता कब्जा गर्न सकिन्छ । त्यसपछि संयुक्त मोर्चामा संलग्न मित्र शक्तिहरुको बीच आ–आफ्नो स्थिति अनुसार जनवादी केन्द्रीयताका आधारमा नेतृत्व गठन गरी राज्य संचालन गर्ने गरिन्छ । शत्रु पक्षलाई हराए पछि त्यसलाई नेतृत्वमा प्रतिस्पर्धा गर्न रोक लगाइन्छ । त्यसैले नौलो जनवादी क्रान्तिका लागि तीनवटा आवश्यक शर्त पूरा हुन पर्दछ ।

१. अनुशासित र मिलिटेन्ट कम्युनिष्ट पार्टी :– यो नयाँ जनवादी क्रान्तिको लागि सबै भन्दा पहिलो आवश्यक शर्त हो । कम्युनिष्ट पार्टी गठन गर्दा साथ मिलिटेन्ट र अनुशासित कम्युनिष्ट पार्टी बनेको हँुदैन । लामो समयसम्म सिद्धान्त र व्यवहारको कसिमा दाँज्दै जाने क्रममा क्रमश: अनुशासित र मिलिटेन्ट बन्दै जान्छ । त्यस्तो नबन्दासम्म लगातार शान्तिपूर्ण जन आन्दोलनको कार्यक्रम सञ्चालन गर्नु पर्दछ । त्यही क्रममा क्रमश: अनुशासित र मिलिटेन्ट पार्दै लैजानु पर्दछ । अनुशासित र मिलिटेन्ट बनाउनु भनेको पार्टीले निश्चित गरेको अनुशासनमा बस्ने र अनुशासनको पूरा पालना गर्ने हुनुको साथै पार्टीको निर्देशन पर्खेर बस्ने र निर्देशन पाउँदासाथ अन्य कुनै कामको वास्ता नगरिकन तोकिएको काम पूराका पूरा पार्टीको काममा खट्ने हुन गयो भने त्यसैलाई मिलिटेन्ट भन्न सकिन्छ । मिलेटरी अनुशासन पालन गर्नेहरुलाई मिलिटेन्ट भन्न सकिन्छ । त्यस्तो पार्टी तयार पार्नको लागि पहिले सिद्धान्तको आवश्यकता पर्दछ । सिद्धान्त निश्चित भै सके पछि व्यवहारमा त्यसको प्रयोगको आवश्यकता पर्दछ । सिद्धान्तमा र व्यवहारमा एक रुपता आउने र मिलिटेन्ट र अनुशासित कम्युनिष्ट पार्टी तैयार भएपछि त्यसका अन्य दुई शर्त पूरा गर्नु पर्दछ । पहिलो शर्त पूरा नहुँदा सम्म त्यसैको तैयारीमा खट्नु पर्दछ । यो काम पूरा गर्नमा नेतृत्वको क्षमता मुख्य रुपमा जिम्मेवार हुन्छ । अन्य बाहिरी शक्तिहरुले छिटो या ढिलो पार्नमा सहायक भूमिका खेल्दछन् । त्यसैले आन्तरिक पक्षसंग मुख्य रुपले संघर्ष गरेर खार्न खारिन पर्दछ । त्यसका साथै बाहिरी पक्षको गलत अवरोध र प्रतिगामी भूमिकाको विरुद्ध पनि लगातार संघर्ष गर्नु पर्दछ । जनताका तर्फबाट पार्टीमा प्रवेश गराउने क्रममा अवसरवादी तत्वहरुको पनि प्रवेश र विकास हुन्छ । तिनीहरु खासगरी उग्रवामपन्थी अवसरवादीहरु र दक्षिणपन्थी अवसरवादीहरु मुख्य रुपमा अवसरवादी तत्वहरु हुन् । यिनीहरु दुवै थरीले नीति निर्माण र तिनीहरुको प्रयोगमा बाधा पुर्‍याउँछन् । वामपन्थी अवसरवादीहरुले सिद्धान्त र व्यवहार बीच एकरुपता ल्याउने र सहि नीति निर्माण गर्ने क्रममा तैयारीमा यथेष्ट ध्यान नदिइकन परिस्थिति परिपक्व नहुँदै अथवा बस्तुगत र आत्मगत दुवै अवस्था परिपक्व नहुँदै शसस्त्र आक्रमणको हवला दिन्छन् । दक्षिण पन्थीहरुले सिद्धान्तमा नै सम्झौता परस्त नीति तयार पारेर व्यवहारमा सशस्त्र क्रान्तिको तैयारीको आवश्यकतालाई नै अस्वीकार गर्दछन् । स्थिति परिपक्व भए पछि पनि शसस्त्र कार्वाहीको आवश्यकतालाई इन्कार गर्दछन् । मुख्य यी दुवै अवसरवादीहरुले नै अवरोध खडा गर्दछन् । उग्रवामपन्थीहरु अन्तमा दक्षिणपन्थीमा नै गएर विलिन हुन्छन् । तिनीहरुका साथै आफ्नो कार्यक्रम नभएका दक्षिणपन्थीको बाहुल्यता हुने भए दक्षिणपन्थीको पक्ष लिने क्रान्तिकारीको पक्ष लिएर बाहुल्यता भए क्रान्तिकारीको पक्ष लिने मध्य पन्थी अवसरवादीहरुको समेत सामना गर्नु पर्दछ । अन्तिममा उनीहरु दक्षिणपन्थी हुने नै बढी सम्भावना हुने भए पनि मध्यपन्थी पनि अवसरवादी प्रवृति नै हो । यी तीन किसिमका अवसरवादी पक्षहरु कम्युनिष्ट पार्टी भित्रका आन्तरिक पक्ष भएको हुनाले यिनीहरुका विरुद्ध कडा संघर्ष गर्ने सिलसिलामा नै पार्टीमा अनुसासन र मिलिटेन्सीको विकास हँुदै जान्छ । त्यसका अतिरिक्त अन्य मित्र पक्षहरु र शत्रु पक्ष बीचका गलत नीतिहरुका विरुद्ध पनि निर्मम र सम्झौताहिन संघर्ष गर्दै बस्तुगत र आत्मगत परिस्थिति परिपक्व बनाउन कोसिस गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरका मित्र शक्तिहरुबीच सहयोगात्मक क्षमताको पनि विकास गर्नुपर्छ ।

२. मित्र शक्तिहरुका बीच फराकिलो संयुक्त मोर्चा : विदेशी साम्राज्यवादी शक्तिहरु उनीहरुका दलाल पुँजीपतिहरु, देशको सामन्तवादी शक्तिहरु नोकरशाही पुँजीपति शक्ति विदेशी दलाल राजनैतिक शक्तिहरु सबै शुत्र शक्ति हुन् । यिनीहरुका विरुद्ध जनसंघर्ष संचालन गर्ने र तिनीहरुको गठबन्धनमा निर्मित शसस्त्र सेनाद्वारा अडाइएको राज्य सत्तालाई जनसेनाको सशस्त्र शक्तिद्वारा हराउनु पर्दछ । जनसेनाको खर्च धान्न र सबैको सामुहिक शत्रु शक्तिलाई पराजित गर्न मित्र शक्तिहरु बीच फराकिलो संयुक्त मोर्चा निर्माण गर्नुपर्दछ । त्यो संयुक्त मोर्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन गरिनु पर्दछ । आफ्नो सहि नीति र क्रान्तिकारी राजनीतिको आधारमा सच्चा कम्युनिष्ट पार्टीको नेतृत्व अन्य मित्र शक्रि वा देश भक्त जनतान्त्रिक शक्तिहरुले स्वीकार्नु पर्दछ । त्यस्तो अवस्था तैयार नहुँदासम्म आफ्नो नीति र कार्यक्रम सहि भएको प्रमाणित गर्ने र उनीहरुको नीति र कार्यक्रम गलत भएको प्रमाणित गर्नमा नै लाग्नु पर्दछ । देशको पुँजीवादी उत्पादनमा विदेशी दलाल र नोकरशाही पुँजीपतिको बर्चश्व भएको हुनाले राष्ट्रिय पुँजीपति वर्ग लगायत धनी किसान मध्यम र गरिब किसान मजदुर र अन्य सबै श्रमजीवी जनताहरु विदेशीको थिचोमिचोमा परेर उनीहरुकै मुख ताक्नु पर्ने वाध्यात्मक अवस्थामा रहेका हुन्छन् । त्यसैले ती सबै शक्तिहरुले राष्ट्रिय स्वाधिनताको लागि आफ्ना शत्रु शक्तिलाई हराउन आवश्यकता महसुस गरेका हुन्छन् । सच्चा कम्युनिष्ट पार्टीप्रति विश्वास बढेर उनीहरुको दृढ समर्थन गर्दै उनीहरुले उठाएको कार्यक्रममा सहभागिता जनाउन सहमत हुने अवस्था नआउन्जेल त्यसको लागि तैयारी गर्नु पर्दछ । उत्पीडित वर्ग र शक्तिहरुले आफ्नो स्थिति र उत्पीडनबाट मुक्त हुने उपाय बारे महसुस गरेर संयुक्त मोर्चामा सामेल भए भने संयुक्त रुपमा आन्दोलन चर्काउनु पर्दछ । शान्तिपूर्ण आन्दोलनमा सामेल भएका विभिन्न उत्पीडित वर्ग जनवर्गीय संगठन र पेशाकर्मीहरु माथि सरकारका तर्फबाट हुने दमन निस्कासन र शसस्त्र शक्तिको प्रयोगबाट उनीहरुको संघर्ष चर्कदै जान्छ । जब प्रतिरोध संघर्षमा शसस्त्र शक्तिको आवश्यकता महसुस हुन्छ । संयुक्त मोर्चामा आबद्ध भै संघर्ष गरिरहेका शक्तिहरुको समर्थन र सहयोगमा कम्युनिष्ट पार्टीले जनसेना गठन गरेर त्यसको परिचालनबाट राज्य सत्तामा विजय प्राप्त गरी राज्य सत्ता कब्जा गर्दछन् । यो सबै कामको लागि कम्युनिष्ट पार्टीको नेतृत्वको सही विश्लेषण, जनता प्रतिको जिम्मेवारी र कार्यकर्ताहरुको दृढ संकल्पको मुख्य रुपमा जिम्मेवार हुन्छ । अन्य अवसरवादी राजनैतिक शक्तिहरुले आफ्नो कमजोरी रहेको महसुस गर्नु पर्दछ । शत्रु शक्तिले राज्य सत्ता जोगाउन गरिएका प्रयत्नहरु सबै असफल भएको र सबै विकल्पहरु समाप्त भएको हुनु पर्दछ । किनभने पुरानो सत्ता जोगाउने विकल्पहरु बाँकी रहेसम्म नयाँ व्यवस्था आउन सक्दैन । साथै उत्पादक शक्तिहरुको चेतना बढेर पुरानो उत्पादन सम्बन्धका सबै विकल्प भन्दा माथि उठेर आन्दोलन चलाइरहेको भए पछि मात्र नयाँ व्यवस्था आउन सक्दछ । नयाँ जनवादी व्यवस्था स्थापना गर्नको लागि आवश्यक पर्ने मुख्य तत्व श्रमजीवी जनताको संगठनको स्तर र चेतनाको स्तर नै हो । उनीहरु सचेत छन् र संगठीत भै संघर्षमा उत्रेका छन् भने सफलता प्राप्त नभएसम्म पुरानै उत्पादन सम्बन्ध रहेसम्म उत्पादन बृद्धि गर्न सहमत हुन्नन् र पुराना शासक वर्गको सत्ता पल्टाएर नयाँ उत्पादन सम्बन्धको आधारमा मात्र उत्पादन कार्यले तिब्रता पाउन सक्दछ । त्यसैले नयाँ जनवादी व्यवस्था कायम हुनु भनेको नयाँ उत्पादन सम्बन्धको आधारमा राज्यसत्ता संचालन हुनु हो । त्यसको लागि जनताका पक्षधर शक्तिले जित्न र जनताका विरोधी शक्तिले हार्न आवश्यक हुन्छ । विभिन्न उत्पीडित शक्तिहरुले छुट्टाछुट्टै आन्दोलनका कार्यक्रमहरु संचालन गर्दा शक्ति विभाजित हुने र शत्रु शक्तिले दवाउन सक्ने बलियो सम्भावना हुने भएको हुनाले एउटै उद्देश्य लिएका धेरै शक्तिहरुले आफ्ना साझा उद्देश्य प्राप्तिको लागि एउटै शुत्रमा साझा नीतिका आधारमा सबै भन्दा सहि शक्तिको नेतृत्वमा आबद्ध भै संयुक्त प्रहारमा जुट्नु नै संयुक्त मोर्चा हो । सबैका साझा उद्देश्य पूरा गर्नको लागि त्यसैको आधारमा संयुक्त मार्चा तैयार हुन सक्दछ । संयुक्त मोर्चामा आबद्ध भएपछि संगठनको अवस्था नेतृत्वको स्थिति र जनताको आधारमा नेतृत्व निश्चित गरी स्वस्थ प्रतिस्पर्धा गर्दै भावि सरकारको स्वरुप तैयार पार्दै जानु पर्दछ । त्यसरी संयुक्त मोर्चाको तैयारी गरेपछि तेश्रो शर्त पूरा गर्न लाग्नु पर्दछ ।

३. जनसेना : प्रतिकृयावादी राज्य सत्ता जोगाउनमा मुख्य भूमिका सैनिक शक्तिको हुन्छ । सैन्य शक्ति विना जनताको विरुद्धमा संलग्न राज्यसत्ता जोगिन सक्ने सम्भावना रहन्न । त्यसैले त्यो सैन्य शक्तिलाई नजितिकन जनताको राज्य सत्ता स्थापना गर्न सकिन्न । सशस्त्र शक्तिलाई परास्त गर्न सशस्त्र शक्ति नै चाहिन्छ । त्यसैले प्रतिकृयावादी शासक वर्गको मातहतमा रहेको सशस्त्र सैन्य शक्तिलाई लडेर जित्नको लागि कम्युनिष्ट पार्टीको मातहतमा रहने शसस्त्र शैन्य शक्ति वा जनसेना गठन र परिचालन गर्न अनिवार्य हुन्छ । तब मात्रै नयाँ राज्यसत्ता स्थापना गर्न सम्भव हुन्छ । जनसेनाको संगठनात्मक स्वरुप कम्युनिष्ट पार्टीले पहिल्यै गरेको हुन्छ । त्यसको विस्तार र शसस्त्र कार्वाही शान्तिपूर्ण आन्दोलनमा लागेका र संयुक्त मोर्चामा संलग्न भएका क्रान्तिकारी जनसमूहले आफ्नो शान्तिपूर्ण जनआन्दोलनमा सशस्त्र राज्य सत्ताको प्रतिरोध खप्न नसकेपछि आफ्नो पक्षमा सेना परिचालन गर्न विवस हुन्छन् । त्यसको लागि कम्युनिष्ट पार्टीलाई आवश्यक पर्ने नगद जिन्सी, सहयोग र जनशक्ति समेतको आपूर्ति गर्दछन् । त्यही श्रोतको परिचालन गर्दै आफ्नो जनसेनाको विस्तार गर्दै सशस्त्र कार्वाही शुरु हुन्छ । यस्तो किसिमको सहयोग आन्दोलनमा उत्रेका क्रान्तिकारी शक्तिहरुले नै गर्न सक्ने हुनाले शसस्त्र कार्वाही शान्तिपूर्ण जनआन्दोलनको पूरकको रुपमा मात्र गर्न सकिन्छ । आफू आन्दोलनमा सामेल नहुने र कम्युनिष्ट पार्टी प्रति तथा क्रान्तिकारी जनसमूह माथि विश्वास नहुनेहरुले निरन्तर सहयोग गर्दैनन् र निरन्तर सहयोग विना नियमित सशस्त्र युद्ध संचालन गर्ने जनसेनाको भरणपोषण गोली गट्ठा र यातायात खर्च पूरा गर्न सकिन्न । त्यसैले कम्युनिष्ट पार्टीले शान्तिपूर्ण जनआन्दोलन चर्केको र चलिरहेको बेलामा मात्रै जनसेनाको विस्तार गरी शसस्त्र कर्वााही बढाउन सक्षम हुन्छ । त्यसकारणले मेहनतकश श्रमजीवी जनताको संगठन र चेतनास्तर उठाउनु पर्दछ । सही राजनीतिको समर्थन र गलत राजनीतिको विरोध गर्ने काम अघि बढाउनु पर्छ । आफ्नो मुक्तिको लागि आफै र संगठीत रुपमा सकृय भै आन्दोलन उठाउन र बढाउन सक्ने बनाउनु पर्छ । तब मात्रै जनताको पक्षमा राज्यसत्ता कब्जा गर्न सकिन्छ । लेनिनले जनआन्दोलन उठेकै बेलामा सशस्त्र जनसेना विस्तार गरेर त्यसैको बलले राज्यसत्ता कब्जा गर्नुपर्ने भएको हुनाले कम्युनिष्ट पार्टीको काममा महान जिम्मेवारी हुन्छ भन्नुभएको छ ।
नयाँ जनवादी व्यवस्था अर्ध–सामन्ती र अर्ध–औपनिवेसिक अवस्थाबाट पुँजीवादी व्यवस्थामा जानको लागि गुणात्मक फड्को हो । सर्वहारावर्गको अधिनायकत्व भएको कम्युनिष्ट पार्टीको नेतृत्व हुनाले यो राज्य सत्ता स्थापना भए पछि समाजवाद तर्फ अघि बढ्नको लागि मात्रात्मक परिवर्तनको शुरुवात पनि हो । आफ्नो नेतृत्वमा राज्यसत्ता स्थापना भएको हुनाले त्यस तर्फ अघि बढ्नको लागि मजदुर वर्ग र श्रमजीवी जनताको नेतृत्वलाई शिक्षा, उत्पादन अधिकार आदि व्यवस्थित पार्न अनुकूल पनि हुन्छ । त्यसको लागि जनवादी अधिनायकत्व स्थापना गरी जनवादी केन्द्रीयताका आधारमा राज्यको शासन व्यवस्था संचालन गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here