धर्मप्रति बदलिदो आधुनिक मानसिकता

0
324
          कार्ल माक्र्सले धर्मलाई समाजको ‘प्रतिबिम्ब’ बताएका छन् । आफनो प्रशिद्ध कृति पुँजीको पहिलो खण्डको प्रथम भागमा माक्र्सले यस्तो अभिव्यक्ति दिएका हुन् । यहाँनेर स्मरणीय छ– माक्र्सले ‘प्रतिबिम्ब’ शब्दावली प्रयोग गरेका छन् (यहाँ हामी ‘पुँजी’ को प्रथम खण्डको अनुवादकमाथि पुरै विश्वास गरेका छौं– उनले पुरै इमान्दारिताका साथ सही शब्द चयन गरेका छन्) । तर उनले ‘ऐना’ शब्दावली प्रयोग गरेका छैनन् । ऐनामा देखिने प्रतिरूप भनेको वस्तुको यथार्थ तर अस्थायी प्रतिबिम्ब हो । प्रतिबिम्ब भनेको प्रतिरूप वा छाया हो— वस्तुमा तरल रूपमा देखा पर्ने प्रतिरूप । प्रतिरूप वा छायाँ पुरै ठोस वस्तु होइन । छायाँको अस्तित्व तबसम्म मात्र हुन्छ, जबसम्म ठोस मूल वस्तुको अस्तित्व रहन्छ । जब मुख्य वा प्रथम ठोस वस्तुलाई हटाइन्छ वा परिवर्तन गरिन्छ, तब छायाँ पुरानो रूपमा रहँदैन ।
           अहिले कुनै ठोस वस्तुको प्रतिबिम्ब उतार्ने धेरै प्रविधिहरुको विकास भएको छ । कम्प्युटरको आविष्कार भएपछि वस्तुको प्रतिबिम्ब उतारेर त्यसलाई रङ्गिन रूप दिनु सम्भव भएको छ । यस्ता प्रतिबिम्बलाई लामो समयसम्म सुरक्षित कायम राख्न पनि सम्भव भएको छ । यसरी वस्तुको प्रतिरूपलाई कागज, चित्र, भिडियो मार्फत् सुरक्षित गर्न सकिने भएको छ । त्यति मात्र होइन, ध्वनि र गतिशील दृष्यलाई पनि प्रतिरूप दिनु सम्भव भएको छ । प्रविधिको विकास नहुँदाको समयसम्म यस्ता धेरै विकल्पहरु थिएनन् । ऐनामा देखिने प्रतिरूप स्थायी हुँदैनन् । त्यो अवस्थामा वस्तुको प्रतिरूप दिन चित्रकला, मूर्तिकलाको तरिका अपनाइन्थ्यो । अहिले पनि कलाको यो रूपले निरन्तर काम गर्दै आएको छ । पछिल्लो समयमा यो कलामा पनि थप विकास हुँदै आएको छ । त्यसैगरी पहिले ध्वनिको नक्कल गरेर प्रतिरूप उतार्ने विकल्प मात्र विद्यमान थियो । अहिले स्थिति सहज भएको छ । रेकर्डिङ प्रविधिको विकास भएपछि ध्वनिको प्रतिरूप वा प्रतिबिम्ब उतार्न पनि सम्भव भएको छ ।
        माक्र्सले धर्मलाई प्रतिबिम्ब बताई रहादा त्यसलाई एउटा निश्चित कालखण्डसित सम्बन्धित गराएको प्रष्ट छ । त्यसको अर्थ हुन्छ– प्रत्येक धर्म कुनै खास समयको समाजको प्रतिबिम्ब हो । त्यसमा यो तथ्य पनि जोडिनु पर्दछ– धर्म कुनै खास समाजको प्रतिबिम्ब हो । कुनै खास समाज भन्नुको अर्थ यो सबै समाजको वा सम्पूर्ण विश्वको प्रतिबिम्ब होइन भन्ने ठोकुवा हो । यसरी माक्र्सको माथि उल्लेखित अभिव्यक्तिको सामान्य अर्थ हुन जान्छ– धर्म भनेको कुनै खास समाजको कुनै एक कालखण्डको प्रतिबिम्ब हो । यो प्रस्थापनाको प्रष्ट रूपमा दुई वटा स्पष्टीकरण हामीमाझ प्रकट हुन पुग्दछ : प्रथम– धर्म सधौका लागि समाजको प्रतिबिम्ब हुन सक्दैन; द्वितीय– धर्म संसारभरिका सबै मानव समाजको प्रतिबिम्ब हुन सक्दैन । यसरी धर्मलाई हामीले इतिहासको सापेक्ष परिघटना मान्नु पर्ने हुन्छ । कारण– समय गतिशील छ । त्यो परिवर्तन भई रहन्छ । जुन कालखण्डमा कुनै अमूक धर्मको उत्पत्ति भएको थियो, अर्को कालखण्डमा त्यो समाप्त भई सकेको हुन्छ । अर्कातिर, जुन समाजको तत्कालीन प्रतिबिम्ब धर्म बनेको थियो, त्यो समाज पनि परिवर्तन भई सकेको हुन्छ । त्यसका विपरीत धर्मका पक्षधरहरुले भने धर्मलाई सर्वकालिक र सम्पूर्ण मानव जातिका लागि बताउँदै आएका हुन्छन् । तर तथ्यहरुले धर्मका पक्षधरहरुको यस्तो दावीको पक्षमा ठोस र यथेष्ट प्रमाण उपलब्ध गराउन्न । त्यसका बाबजुद जब त्यसका पक्षधरले धर्मलाई शाश्वत रूप खोज्दछन्, त्यति बेला धर्मको जडरूप प्रकट हुन पुग्दछ । धर्मका पक्षधरहरुका अनुसार त्यतिखेर धर्मको वर्तमान परिभाषा यस्तो हुन पुग्दछ– धर्म जुनसुकै समयका लागि अथवा अहिले पनि सबै प्रकारको समाजका लागि अपरिहार्य छ ।
          कुनै समयमा धर्मको प्रगतिशील रूप थियो अथवा धर्मले कुनै खास समयमा समाजलाई अग्रगामी दिशा दिन भूमिका खेलेको थियो । त्यो ऐतिहासिक कालखण्डतर्फ जाने हो भने धर्मको यस खालको भूमिकालाई ठम्याउन सकिन्छ । जब निजी सम्पत्तिविहीन कालखण्ड समाप्त भयो र निजी सम्पत्तिको युग सुरु भयो, ठिक त्यहीानेर निजी सम्पत्तिका लागि बेलगाम प्रतिष्पर्धा चली रहेका बेला, त्यसका लागि अराजकता फैलिई रहेका बेला धर्मको भूमिका प्रगतिशील र अग्रगामी स्वरूपमा देखा परेको थियो । जस्तो– गोठाला बिना गाईवस्तुलाई अनुशासित तरिकाले जङ्गलमा डुलाउनु सम्भव हुँदैन, त्यस्तै समाजमा एक खालको नियामक निकायको अस्तित्व बिना तत्कालीन समाजको हविगत के हुन सक्दथ्यो ? हामी सहजै अनुमान गर्न सक्दछौँ– मानिसहरु आपसमै हिंसात्मक क्रियाकलाप मार्फत् नासिने थिए । यसरी तत्कालीन सामाजिक अराजकताबाट समाजलाई बचाउँदै पुँजीवादी युगसम्म समाजलाई हस्तान्तरण गर्न धर्मको सकारात्मक भूमिका थियो । यस्तो इतिहासको भूमिका वापत् मानव समाजले धर्मप्रति धन्यवाद टक्राउनै पर्दछ ।
           यहाँनेर एउटा तथ्य स्मरणीय छ । जब मानव समाज निजी सम्पत्तिजन्य अराजकताको चरणमा थियो, त्यस्तो सार्वभौमिक अराजकता नियन्त्रण गर्न एउटै विश्वव्यापी आवश्यकतामाथि मात्र धर्म उभिएको थिएन । यदि त्यस्तो हुन्थ्यो भने विश्वभरि एउटै धर्मको अस्तित्व कायम हुनु पर्दथ्यो । न्यूनतम रूपमा जहाँ मानव समाजको विकासको प्रकृतिमा अधिकतम समानता थिए, त्यहाँ एउटै धर्म, त्यो पनि एकै समयमा स्थापना हुनु पर्दथ्यो । तर त्यस्तो भएन । युरोपमा यहुदी र क्रिश्चियन धर्मको सत्ता कायम हुन पुग्यो । एसियामा हिन्दू, बौद्ध र इस्लाम धर्मको सत्ता कायम हुन पुग्यो । यी त प्रभावशाली रूपमा अहिलेसम्म कायम रहेका धर्म भए । यिनीहरुका साथसाथै विश्वका बेग्लाबेग्लै स्थानमा बेग्लाबेग्लै धर्मको अस्तित्व अहिले पनि कायम छ । त्यस्ता धर्महरुको विस्तार स्थानीय आकारमा विद्यमान छ अथवा कुनै खास क्षेत्रमा ती धर्महरुको प्रभाव अहिले पनि छ । यसको अर्थ हो– यस्ता धर्म अहिले पनि कुनै खास जाति वा सम्प्रदायका माझमा प्रभावशाली छन् । यसले धर्मको स्थानीय वा जातीय (सङ्कीर्ण) स्वरूपलाई नै बताउँछ । त्यसका बाबजुद धर्म हाम्रा समयका जातिवादीहरुले दावी गरे जस्तो विशुद्ध जातीय घेरामा सीमित छैन । जतिसुकै सानो भूगोलमा प्रभावयुक्त भए पनि धर्मको प्रकृति जातीय हुन सक्दैन र हुने गरेको पनि छैन । धर्म सामाजिक प्रकृतिको हुन्छ । धर्म निश्चित सम्प्रदायको हुन्छ । तर यस्तो सम्प्रदाय कुनै निश्चित जातिको मात्र हुनु अपरिहार्य देखिन्न । त्यस कारण तथ्यहरुले बताउाछन्– धर्मलाई जातिको सङ्कीर्ण घेराभित्रको परिघटना मान्नु गलत हुने छ ।
          समयक्रम बदलिदै जाादा समाज पनि बदलिदै गएको छ । अब कुनै खास जातिको, यहाँसम्म कि कुनै खास जातिको सामाजिक प्रभाव कायम राख्नु पनि अनावश्यक भई सकेको छ । उत्पादनका साधनहरुको सामाजीकरणले मानिसहरु विश्वभरि जीविकाका लागि फैलिन पुगेका छन् । यस क्रममा उनीहरुले धेरै–थोरै आफ्नो जाति, धर्म, संस्कार, संस्कृतिबाट अलग हुनु पर्ने स्थिति पनि छ । यस क्रममा मानिसहरु अर्को धर्मबाट प्रभावित हुने मात्र होइन, भौतिक जगतको अनिवार्य गतिविधिको निरन्तर प्रभावमा रहादा भौतिकवादी दृष्टिकोण अपनाउने स्थिति छ । यी सबै कारणले गर्दा अब मानिसहरुका लागि जीवन दर्शनको रूपमा धर्मद्वारा अनिवार्य र अपरिहार्य व्यावहारिक निर्देशन प्राप्त गर्नु सम्भव र आवश्यक देखिन्नरु। त्यसरी अब धर्म वर्तमान समयको अपरिहार्य नियामक निकायको रूपमा अस्तित्वमान छैन ।
            माथि नै उल्लेख गरी सकिएको छ, धर्मको स्वभाव जड हुन्छ । परिवर्तनशीलता धर्मको मूल स्वभाव होइन । त्यसका बाबजुद विभिन्न दबाबका कारण सामान्य सुधारका लागि धर्मका पक्षधरहरु बाध्य हुने गरेका छन् । समयक्रमसँगै विभिन्न सुधार अभियान चल्दा या त धर्मशास्त्रमा सामान्य सुधार भएका छन् या धर्मभित्र विद्रोह पनि भएको छ । त्यसका अतिरिक्त धर्ममा यस्ता शाखाहरु पनि जन्मेका छन्, जसले कुनै खास धर्मको मूल प्रस्थापनालाई स्वीकार गरे पनि आफ्नो भिन्न प्रस्थापनाका साथ आफ्नो अस्तित्वलाई निरन्तरता दिएका हुन्छन् । आजभोलि धर्ममा जुन शाखाहरुको अस्तित्व छ, त्यो स्वयं धर्मको जड प्रकृतिप्रतिको विरोध हो, यद्यपि धर्मका पक्षधरहरुले ती शाखालाई नै आफ्नो अभिन्न अङ्ग बताउने गरेका छन् । त्यसका बाबजुद तिनीहरुको स्वतन्त्र अस्तित्वभित्र नै ती मूल धर्मप्रतिको विरोधलाई खुट्याउनु असजिलो छैन ।
              धर्मको अध्ययनद्वारा, धर्मशास्त्रको अध्ययनद्वारा तत्कालीन समाजको अध्ययन गर्न सकिन्छ भने त्यसको अर्थ हो– वर्तमान समयका लागि धर्म अप्रासङ्गिक प्रमाणित भई सकेको छ । त्यसको स्पष्ट अर्थ वर्तमान समयका लागि धर्मले प्रतिबिम्बको रूप धारण गर्न सक्दैन भन्ने नै हो । त्यसो भए अब प्रश्न उठ्छ– वर्तमान समयको प्रतिबिम्बको रूपले धर्मले आफूलाई रूपान्तरण गर्न सक्ने सम्भावना छ त ? धर्मका पक्षधरहरुले यसको उत्तर सकारात्मक रूपमा र सम्भावनाको पक्षमा दिन्छन् । त्यसका विपरीत यथार्थ त्यस्तो छैन । धर्मको इतिहास त्यस्तो पनि छैन । धर्म प्राचीन युगको उत्पादन हो । त्यसपछिको समयमा मानव समाजले धेरै नै विकास गरी सकेको छ । दर्शन, नैतिकता, संस्कार, संस्कृतिका क्षेत्रमा उल्लेखनीय विकास भएको छ । विज्ञानले उच्च स्तरमा विकास गरेको छ । धेरै नै महफ्वपूर्ण र युगिन आविष्कारहरु भएका छन् । खालि त्यस्ता आविष्कार भएका होइनन्, ती आविष्कारहरुले मानव जीवनलाई प्रत्यक्ष रूपमा नै प्रभावित पारेका छन् ।
            उदाहरणका लागि चिकित्सा क्षेत्रलाई नै लिऊा । सबै धर्ममा धर्मशास्त्रहरु मार्फत् चिकित्साको समस्यालाई धेरै–थोरै सम्बोधन गरिएको छ । हिन्दू धर्ममा उपचार वा चिकित्सासित सम्बन्धित छुट्टै वेद पनि छ । इस्लाम धर्ममा पनि उपचार पद्धतिको व्यवस्था छ । इसाई वा क्रिस्चियनहरुले पनि उपचार पद्धति प्रचलनमा ल्याएका छन् । बौद्ध धर्मले ध्यान, योग मार्फत् चिकित्सा सम्बन्धी कर्म अहिले पनि अगाडि बढाई रहेको छ । हिन्दू धर्म अन्तर्गत मानिने पतञ्जली चिकित्सा पद्धति एसियामा प्रख्यात छ । यी चिकित्सा पद्धतिहरुले बेग्लाबेग्लै स्थान विशेषमा महफ्वपूर्ण भूमिका खेलेको (रोगको प्राथमिक चरणमा यस्ता धर्मशास्त्रीय चिकित्सा पद्धतिले काम गरेको दावी पनि गरिन्छ) मा दुई मत कायम गर्नु नपर्ला । तर विद्यमान समयको कुरा गर्ने हो भने एलोप्याथी चिकित्सा पद्धति अहिलेको प्रभावशाली पद्धति हो । एलोप्याथी अन्तर्गतका वैज्ञानिक डायग्नोसिस प्रविधि र औषधिहरुले विश्वको मुख्य हिस्सालाई चिकित्सा सेवा उपलब्ध गराई रहेका छन् । त्यसको तुलनामा धर्मसित सम्बन्धित चिकित्सा पद्धतिहरु पृष्ठभागमा पर्न गएका छन्, पिछडिएको सावित भएका छन् । उनीहरुको पद्धतिमा वैज्ञानिकता छैन, त्यस कारण ती पद्धति आधुनिक, व्यावहारिक र प्रभावशाली पनि छैनन् ।
            यसरी चिकित्साको क्षेत्रमा पनि धर्मशास्त्रीय मूल प्रवृत्ति प्रष्ट देख्न सकिन्छ । उनीहरुले रोगको डायग्नोसिस (परीक्षण विधि) लाई चिकित्सा क्षेत्रको अभिन्न अङ्गको रूपमा समावेश गर्न सकेका छैनन् । परीक्षण वैज्ञानिक ढङ्गले नभइकन उपचार र उपचारमा प्रगतिलाई देख्न सकिन्न भन्ने तथ्यतर्फ धर्मसित सम्बन्धित चिकित्सा पद्धतिको ध्यान गएको पाइन्न । यो पनि धर्मशास्त्रीय जड मान्यता नै हो । यस्तै जड भावनाले गर्दा धर्मसित सम्बन्धित चिकित्सा पद्धतिले मानव समुदायको सफल उपचार गर्न सकेका छैनन् ।
             यहाँ धर्मशास्त्रीय जड प्रवृत्तिको जुन चर्चा गरियो, त्यो मूल रूपमा नै सत्य हो । त्यसको अर्थ यो होइन– धर्मशास्त्रीय मान्यताका वस्तुगत आधारहरु पुरै नै भत्किई सकेका छन् । वास्तविकता त्यस्तो छैन । विश्वको मूल प्रवृत्ति भौतिकवाद हुनुको बाबजुद विज्ञान तथा प्रगतिशीलताको प्रभाव व्यापक नभएका थुप्रै समाजहरु अहिले पनि विद्यमान छन् । त्यहाँ दैनिक व्यवहारमा भौतिकवादसिद्ध क्रियाकलापमा संलग्न हुने गरिएता पनि सत्ता र चिन्तनमा धर्मको प्रभाव शक्तिशाली छ । अझै पनि मध्य–पूर्वमा धर्मलाई जोडेर गृहयुद्धहरु भई रहेका छन् । इस्लाम धर्मलाई राज्य धर्म घोषणा गरेका देशहरुले सोही अनुसार राज्य सञ्चालनमा धार्मिक मूल्य–मान्यतालाई निर्णायक रूपमा व्यावहारिक प्रयोग गरी राखेका छन् । एउटा हातमा तरवार र अर्को हातमा कुरान लिएर “कर्बला” शैलीमा इस्लाम धर्म अहिले पनि विश्वभरि आक्रामक छ । युरोपले अहिले पनि विश्वभरि इसाई धर्मको प्रचार गरी रहेको छ । एउटा हातमा डलर र अर्को हातमा बाइबल बोकेर युरोपियन चर्चहरु विश्वभरि क्रियाशील छन् । भारतबाट हिन्दू धर्म विश्वभरि प्रवाहित छ । मानिसहरुलाई एकै ठाउँमा जम्मा गरेर “अमृत वचन” तुल्य सत्सङ्गद्वारा हिन्दू धर्मले पूर्वी विश्वबाट बााकी विश्वतर्फ पाइला सारी रहेको छ ।
            यी त भए, धर्मशास्त्रीय क्षेत्रबाट भएका अध्यात्मवादको प्रचारको प्रसङ्ग । त्यसका अतिरिक्त जुन ठाउँमा विज्ञान, प्रविधि र प्रगतिशीलताको प्रभाव परेको छैन, त्यहाँ प्रकृति पूजाको रूपमा धार्मिक प्रवृत्ति विद्यमान छ । भारत र नेपालका भौगोलिक रूपमा विकट क्षेत्रमा प्रकृति पूजा वा पदार्थ पूजा अहिले पनि जोडदार रूपमा कायमै छ । एसियाका कतिपय देश र अफ्रिकाका कैयौँ देशमा, खासगरी ती देशका आदिवासी र जनजातिहरुमा प्रकृति पूजाको चर्को प्रभाव छ, यद्यपि ती स्थानमा पनि तुलनात्मक रूपमा पहिलेभन्दा मात्रात्मक रूपमा विज्ञान, प्रविधि र प्रगतिशीलताको बढी प्रचार भएको छ । त्यसका बाबजुद अझै पनि विश्वका थुप्रै समाजहरुमा पिछडिएको अवस्थामा छन् । खासगरी उद्योग–व्यवसायको व्यापक विकास नभएको स्थानविशेषमा, कृषिको पिछडिएको अवस्था रहेको स्थानमा स्थिति यही प्रकारको रहेको छ । विज्ञान, प्रविधि र प्रगतिशीलताको कमजोर प्रभाव—जुन पिछडिएको उत्पादन सम्बन्धको परिणाम हो—ले गर्दा त्यहाँका जनताको चेतना स्तर पनि पिछडिएको छ । भनी रहनु पर्दैन, पिछडिएको चेतना स्तरमाथि नै धर्मको फूल फक्रिन्छ : कृषि युगमा रहेको समाजमा प्रकृति पूजा र उद्योग–व्यवसायको समेत विकास भएको स्थानमा धर्मशास्त्रीय मान्यता । जुन देशमा उद्योग–व्यवसायको उच्च विकास भएको छ, यदि त्यहाँ भौतिकवादी चिन्तन सहितको राज्यसत्ता हावी छैन भने पनि धर्मको वर्चस्व कायम हुन्छ । तर त्यहाँको स्थिति पुरै सामन्तवादी हुँदैन अथवा विषयवस्तुलाई यसरी राख्न सकिन्छ : जहाा मन्दिर, मस्जिद र चर्चको सत्ता चल्दछ, उद्योग–व्यवसायको विकास भए पनि त्यहाँको राज्यसत्तामा सामन्तवाद हावी भएको मानिनु पर्दछ; त्यसका विपरीत यदि कुनै देशमा मन्दिर, मस्जिद र चर्चको सत्ता चल्दैन भने त्यहाँ सामन्तवादको प्रभाव कमजोर भएको वा त्यहाँको सत्ता भौतिकवादतर्फ सङ्क्रमणशील रहेको मान्नु पर्ने हुन्छ ।
            धर्मले प्रकृतिको सत्ता वा पदार्थको सत्तालाई अस्वीकार गर्दछ र त्यसको स्थानमा अलौकिक शक्तिलाई राख्दछ । अलौकिक शक्ति, जस्तै– भगवान वा ईश्वर, अल्लाह, यिसूले नै विश्वलाई परिचालन र नियन्त्रण गर्दछ भन्ने उनीहरुको अवधारणा हुन्छ । उनीहरुले विज्ञान र प्रविधिको जतिसुकै विकास भए पनि अलौकिक शक्तिको सत्ता कहिल्यै पनि कमजोर नहुने दावी गर्दछन् । यहाँसम्म कि स्वयं विज्ञान, प्रविधि समेत अलौकिक शक्तिका कारणले अस्तित्वमान रहेको उनीहरुको दावी हुन्छ । यस खालको मानसिक परनिर्भरता या “दिमागी गुलामी” ले गर्दा धर्मका पक्षधरहरु विज्ञान र प्रविधिमा भएको विकास तथा प्रगतिशीलताका कारण समाजको चेतनामा भएको विकासलाई बुझ्न सक्दैनन्, त्यसमा भएको विकासको गतिलाई ठम्याउन सक्दैनन् । सम्पूर्ण विश्व नै भ्रम हो, विश्वका सम्पूर्ण गति वा परिवर्तनहरु भ्रम हुन्, सत्य या यथार्थ त खालि अलौकिक शक्ति हो—यस खालको मान्यता धर्मका पक्षधरहरुले राख्दछन् । त्यसको फलस्वरूप उनीहरुले विज्ञान, प्रविधि र प्रगतिशीलताप्रति पनि पूर्वाग्रही दृष्टिकोण राख्दछन् ।
             धर्म वा धर्मका पक्षधरहरुले अलौकिक शक्तिप्रति एकतर्फी अन्धश्रद्धा राखे पनि विश्वको आफ्नै गति छ । धर्मशास्त्रहरुमा जुन अलौकिक वा अद्भुत वस्तु वा परिघटनाको चर्चा गरिएका हुन्छन्, त्यस्तो अलौकिकता वा अद्भुतताको अस्तित्वको कारण ईश्वर, अल्लाह वा यिसूलाई मानिएको छ, तिनै वस्तु वा परिघटनालाई मानव समुदायद्वारा निर्माण गरिएपछि अलौकिकता सम्बन्धी भ्रमको स्वत: खण्डन भएको छ । अझै दैनिक जीवनमा विज्ञान, प्रविधि र प्रगतिशीलताको व्यावहारिकतास्वरूप पदार्थको सत्ता स्थापित भएपछि धार्मिक विश्वास निजी र अतिरिक्त मानसिक क्रियाकलापमा सीमित रहन पुगेको छ । पुँजीवादले उपभोक्तावादको चरम र विकृत अभ्यास गरी रहेको अवस्थामा धर्म वस्तुगत आवश्यकता, जीवन दर्शन वा व्यावहारिक मार्गदर्शन नरहेर मानसिक शान्ति प्राप्त गर्ने माध्यम बन्न पुगेको छ । उदाहरणका लागि योग, ध्यान अहिलेको कोलाहलपूर्ण दैनिकीबाट केही समयका लागि भए पनि मानसिक शान्ति प्राप्त गर्ने साधन बन्न पुगेका छन् । जसरी यस युगका मानिसहरु दैनिक कामबाट आराम पाउन मनोरञ्जनका विभिन्न साधन अपनाउाछन्, त्यसैगरी उपभोक्तावादको विकृति, विसङ्गतिको विकल्प खोज्दै गर्दा मानिसको एउटा समूह धर्मशास्त्रीय क्रियाकलापतिर मोडिन्छन् ।
                यसरी सामन्तवादको अन्त्य भएर पुँजीवादको विकास चरम रूपमा पुगी सकेपछि पनि यदि धर्मका प्रभाव प्रबल छ भने त्यसका पछाडिको कारण धर्मले वर्तमान समाजको प्रतिबिम्ब उतार्ने गरेको नभएकाले प्रष्ट छ । धर्म अहिले पनि प्रभावशाली रूपमा कायम रहनुका पछाडि उपभोक्तावादको नकारात्मक भूमिकाले काम गरेको छ । यदि पुँजीवाद अलिकति पनि मानवीय, दयालु वा उदार हुने हो भने धर्मप्रतिको मानिसको आसक्ति कमजोर हुने थियो । तर मानवीयता, दयालुपन र उदारता पुँजीवादको स्वभाव हुनै सक्दैन । पुँजीवाद पुँजीको दर्शन हो । पुँजी आर्जन र सङ्कलनका लागि जुनसुकै सीमा पनि पार गर्नु पुँजीवादको सामान्य स्वभाव हो । त्यसका लागि उपभोक्तावादको ताण्डव नृत्य उसका लागि सहज र स्वभाविक नै मानिने गर्दछ । त्यस कारण पुँजीवादले स्वयं धर्मप्रति सााठगााठ गर्दै उपभोक्तावादको स्वरूपलाई यथास्थितिमा काम राख्दछ : उपभोक्तावादले मानसिक अशान्ति फैलाउाछ, धर्मले मानसिक शान्ति उपलब्ध गराउने आश्वासन दिन्छ । दुवै अवस्थामा पुँजीवादी सत्ता यथावत रहन्छ, न पुँजीवाद सामन्तवादको विरुद्ध, न सामन्तवाद पुँजीवादको विरुद्ध उभिने गर्दछन् । यसरी सामन्तवाद र पुँजीवादका माझमा सााठगााठ कायम रहन्छरु। यही सत्य वर्तमान युगको वास्तविकता होरु।
            यस्तो अवस्थामा उपभोक्तावादी विकृतिबाट उन्मुक्ति पाउने र मानसिक शान्ति पनि प्राप्त गर्ने त्यस्तो कुनै बाटो छ ? प्रश्न उठ्दछ । त्यसको प्रष्ट उत्तर हो– शोषणविहीन समाज स्थापना गरेपछि मात्रै यी दुवै लक्ष्य प्राप्त गर्न सकिने छ । मानिसले मानिसलाई गर्ने सबै प्रकारका शोषण, उत्पीडन समाप्त भएपछि मात्र मानव–मानवका माझमा वास्तविक एकता कायम हुने छ । त्यसपछि मात्र आफ्ना समस्या समाधान गर्न प्रकृतिसितको सार्वजनिक तर मैत्रीपूर्ण प्रतिक्रिया सम्भव छरु। त्यसपछि मात्र प्रकृतिलाई स्वाभाविक स्थितिमा कायम राख्न र त्यसको काखमा सुखी, समृद्ध र शान्त विश्व मानव समाजको अस्तित्वको ग्यारेन्टी गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here