देशद्रोहकी आमा

0
90

अनु : ईश्वर राई

आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन ।

कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी शहरको चारै दिशामा घेराउबन्दी लगाएका थिए । विकराल रात्रीमा आगाका लप्काहरू अन्धकारलाई चिर्दै शहरको वरिपरि असंख्य हत्याराहरूका आँखाझैं देखिन्थे । यस्तो भीषणताले शहरलाई चारैतिरबाट डरैडरको खाडलमा हालिदिएका थिए । शहरका बासिन्दाले आफ्ना घरका सिकुवाबाट प्रतिदिन शत्रुहरूको घेरा मजबुत हुँदै गैरहेको देख्दथे । रातको समयमा शत्रुहरू आगाको चारैतिर बसेको छायाँ देखिन्थ्यो । हट्टाकट्टा घोडाको हिनहिनाहट, हतियारको झनझनाहट र विजयले मस्त भएर गएको आवाज सुनिन्थ्यो । शत्रुहरूमा कुनै डर नै थिएन । त्यसैले गफ गर्ने र गाउने स्वर सुनिन्थ्यो ।

शहरवासीहरूको पानी ल्याउने झरनाहरूमा शत्रुहरूले लासहरू बगाइदिएको थिए । सिकुवाका चारैतिरका अंगुरका बगैंचाहरू जलाएर खरानी पारिदिएका थिए । खेतका सबै बालीनाली माडेर सबै उजाड पारिदिएका थिए । अब शहरसम्म पुग्नलाई बाटो सफा थियो । प्रायः दिनै जसो शहरमा शत्रुहरूका तोप, बन्दुक र गोलीका वर्षा हुन्थे ।

शहरको व्यस्त गल्लीमा लडाइदेखि थाकी भोकाएका सिपाही गस्ती लगाउँथे । घरका झ्यालहरूदेखि घाइतेहरूको रोदन आवाज, बूढा–बुढीहरूको चित्कार, स्त्रीहरूको प्रार्थना र नानीहरूको रोएको स्वर सुनिन्थ्यो । आवाज फुस्फुसाहट गर्दै बात मार्दा–मार्दै अचानक अचम्मसँग रोकिन्थ्यो । यसरी हरपल उनीहरूलाई शत्रुको डर रहन्थ्यो ।

यस्तो वातावरणले रातको समयलाई ज्यादा मात्रामा खतरा बनाउँथ्यो । सुनसान अँध्यारोमा मानिसहरूको चित्कार र पुकार अधिक स्पष्ट सुनिन्थ्यो । टाढा पहाडको भञ्ज्याङ्देखि काला–काला छायाँहरू शहरको भग्नावशेष तर्फबढिरहेको देखिन्थे । पहाडको कालो चुचुरामाथि उदाउँदै गरेको चन्द्रमा पनि तलवारले चोट खाएको जस्तै देखिन्थ्यो ।

शहरको सबै बासिन्दाहरू पूर्णरुपले निराश भैसकेको थिए । प्रतिदिन सुरक्षाको आशा कम हुँदै गैरहेको थियो । उनीहरू भयभित् दृष्टिले चन्द्रमा र पहाडको चुचुरो, भञ्ज्याङ्को कालो गुफा र कहालीलाग्दो शत्रुहरूका खेमालाई हेर्दथे । हरेक वस्तुहरूले उनीहरूलाई मृत्युको सम्झना गराइदिन्थे भने पहरा दिने ताराहरू पनि आकाशमा देखिदैन थिए ।

आफ्नो घरमा बत्ती बाल्न पनि उनिहरू डराउँथे । त्यसैले गल्ली र सडकहरू घोर अन्धकारले ढाकिएका हुन्थे । जसरी माछा पानीको गहिराइमा सर्दछ, त्यसरी ने शिरदेखि पुछारसम्म कालो कपडा ओढेकी एक स्त्री चुपचाप शहरको अँध्यारो गल्लीबाट फर्किरहेकी थिइन् । उनलाई देखेर मानिसहरू फुस्फुसाए ।

‘यी यही हुन् ?’

‘हो, उही हुन् ।’

उनी एकछिन रोकिन्थिन् फेरि शिर झुकाई अगाडि बढ्थिन् । त्यसबेला कप्तान उनलाई आग्रह गर्दै कडा स्वरमा भन्थे ‘श्रीमती मेरी अन्ना तिमी फेरि निक्ली आयौ ?बाँचेर हिंड, नत्र कसैले तिमीलाई मार्न सक्छ । हत्यारालाई कसैले रोक्न सक्दैन ।’ मेरी अन्ना अडिन्थिन् । पहरेदारदेखि डाउँदै वा घृणाभाव देखाउँदै उनी अगाडि बढथिन् ।

जब अँध्यारोमा उनी एक्लै हुन्थिन्, तब अर्को गल्लीतर्फबढ्न सुरु गर्थिन् । शहरको सुनसान भूताहा वातावरणदेखि निक्लँदा, चित्कार वेदना, पुकार, प्रार्थना र सिपाहीहरूका गालीले उनको पछि–पछि शिकारीले पिछा गरेझैं भान हुन्थ्यो ।

एक नागरिककी आमा भएको नाताले उनी आफ्नो मातृभूमिका साथै छोराको बारेमा सोच्थिन्, कारण मातृभूमिमाथिको आक्रमणकारीको नायक नै उनको छोरा थियो सुन्दर र क्रुर । अहिले अलिकति पनि समय वितेको थिएन, जब कि उनले गर्वसाथ आफ्ना छोरालाई देखेकी थिइन् । आफ्नो देशका लागि उनले आफ्ना छोरालाई एक अमूल्य उपहार संझिएकी थिइन् र एक कल्याणकारीको रुपमा संझिएकी थिइन् । प्राचीन कालका ईंटाहरूबाट उनीहरूले आफ्ना घर शहरहरू बनाएका थिए भने त्यही भूमिमा आफ्ना नातेदारहरूका हड्डी पनि गाडेका थिए । मातृभूमिको किंवदन्ती, गीत र आशा–निराशाहरू संगसँगै उसको हृदय सयकडौं अदृश्य धागाहरूले बाँधेको थियो ।

उनी आँशु बगाइरहेकी थिइन् कारण उनको प्यारो छोरा उनीदेखि छुट्टिएको थियो । एकातिर छोराको ममता, अर्कोतिर मातृभूमिको प्रेम थियो । उनी यो दुवैलाई तौलिन चाहन्थिन् ।

पागलझैं उनी रातमा शहरको गल्ली–गल्लीमा घुमिरहन्थिन् । जो मानिस उनलाई चिन्दैनथे, उनीहरू त्यस कालो कपडाबाट साक्षात मृत्युको छायाँ हो भनी भयभीत हुन्थे । जब उनीहरू देशद्रोहीकी आमा भनेर चिन्दथे, तब घृणाले मुख अर्कोतिर फर्काउँथे ।

एक दिन आँगनको किनारमा एउटी आइमाई मृत लाशमाथि स्थिर माटाको ढिस्को सरह झुकिरहेको उनले देखिन् । तिनी दुःखी देखिन्थिन् । दुःखले ओइलाएर तारातिर फर्किएर प्रार्थना गरिरहेकी थिइन् । आँगनमा पहरेदार दबेको स्वरमा कुरा गरिरहेको थियो । कहिलेकाहीं हतियार बजेको आवाज पनि सुनिन्थ्यो । देशद्रोहीकी आमाले त्यस आईमाईलाई सोधिन् ।

‘यो तिम्रो पति हो ?’

‘होइन ।’

‘भाइ हो ?’

‘होइन ।’

‘मेरो छोरा हो । मेरा पतिलाई तेह्र वर्ष पहिले मारिदिएको थियो र आज मेरो छोरालाईपनि मारिदियो ।’

आफ्नो ठाउँदेखि उठेर ती आईमाईले विनम्रतापूर्वक भनिन् ‘आमा मेरी अन्ना अन्तर्यामी छिन्, म उनीप्रति धेरै कृतघ्न छु ।’

‘तपाईं कृतघ्न कसरी हुनु भो ?’

किनकि मेरो छोराले आफ्नो मातृभूमिका लागि लड्दा लड्दै सँच्चा वीरझैं प्राण वलिदान दियो । मेरो छोरा धेरै बहादुर थियो । मलाई डर थियो कि कतै मेरो छोरा पनि मेरी अन्नाको छोराझैं देशद्रोही त हुँदैन ? भगवान र मासिको शत्रु हाम्रो शत्रुको नाइके हो, जसले आफ्नी आमाको कोखलाई कलंकले पोतिदियो ।

मेरी अन्नाले आफ्नो अनुहार छोप्न अगाडि बढिन् । पहिलो दिन मेरी अन्नाले रक्षकहरूको अगाडि आएर भनिन् ‘मेरो छोरा तपाईंहरूको शत्रु भयो । तसर्थ मलाई मारिदिनुहोस् अथवा यो फाटक(दैलो) खोलिदिनु होस् ताकि म आफ्नो छोराका सामु जान सकुँ र मेरो आकांक्षा पूरा गर्न सकूं ।’

रक्षकले उत्तर दिदै भने ‘तपाईं पनि त मानिस हुनुहुन्छ, तपाईंलाई पनि त आफ्नो मातृभूमिको मायाँ लाग्छ, तपाईंको छोरा जति हाम्रो शत्रु हो, त्यतिनै तपाईंको पनि त शत्रु हो ।’

‘तर म त उसकी आमा हुँ । ऊ देशद्रोही हुँदा ममाथि मात्र कलंक लाग्छ ।’ आपस्तमा सल्लाह गरेर रक्षकहरूले उनलाई आफ्नो निर्णय सुनाए ‘पाप तपाईंकै छोराले गरेको हो, तसर्थ हामी तपाईंको ज्यान लिन उचित ठान्दैनौं । हामी जान्दछौं कि तपाईं उसलाई कहिल्यै पनि देशद्रोही बन्न दिनु हुँन्नथ्यो । तर, ऊ देशद्रोही बन्यो, त्यसैले तपाईंको हृदय ज्यादै दुखिरहेको छ, तसर्थ तपाईंले उसलाई रोक्ने कुनै आवश्यकता नै छैन । तपाईंका छोराले तपाईंलाई के वास्ता गर्छ ? त्यसले तपाईंलाई विर्सी पनि त सक्यो । यदि तपाईंलाई सजाय चाहिन्थ्यो भने त्यो मृत्युभन्दा पनि घृणित लाग्छ ।’

‘हो’ मेरी अन्नाले उत्तर दिइन् ।

‘अवश्य यो मृत्युभन्दा पनि घृणित हुन्छ ।’

त्यसपछि रक्षकहरूले शहरको फाटक खोलिदिए ।

मेरी अन्नाले त्यो भूमिलाई छोडिन्, जुन भूमिलाई उनको छोराले रगतमा डुबाइदिएको थियो । पाइला अगाडि बढ्न चाहँदैन थिए । आफ्नो जन्मभूमिसंग नाता छुटाउन मन थिएन, तर कलंक मेटाउन बिस्तारै बिस्तारै अगाडि बढ्दै गइन् ।

बाटोमा कुनै देशभक्तको लाश देखेमा शिर झुकाएर अभिवादन गर्थिन् । भाँच्चिएका हतियारहरूलाई घृणाले एकातिर फ्याँक्दै हिँड्थिइन् । हरेक आमालाई युद्धका हतियारदेखि घृणा हुन्छ किनकि उनी निर्माण चाहन्छिन् ।

उनी यसरी समालिंदै हिँड्थिइन् मानौं उनले आफ्नो कपडामा अमृतले भरिएको बटुको लुकाएकी छिन् जसको उनी एक थोपा पानि खसाउन चाहन्नन् । शहरबासीहरू पर्खालदेखि उनलाई टाढा र सानो हुँदै गएको देख्थे । जब उनी आधा बाटोमा पुगिन् तब आफ्नो कपडा पछाडि फ्याँक्दै टोलाएर शहरतर्फहेर्थिन् । धेरै बेरसम्म उनी यसरी नै स्थिर रहिन् । शत्रु पक्षले जब उनलाई देखे, सोधपुछ गर्न एउटा सिपाही पठाए । उनीहरूलाई यो जान्नु थियो कि उनी को हुन् र कहाँबाट आइन् । ‘तिमीहरूको नायक मेरो छोरा हो’ मेरी अन्नाले उनीहरूलाई भनिन् । सिपाहीहरू उनका चारैतिर भेला भए । उनीहरू उनलाई छोराको विरताको र शाहसको गुनगान सुनाउन थाले । मेरी अन्नाले अलिकति पनि आश्चर्य प्रकत नगरी शिर ठाडो गरिन् । यो कसरी हुन सक्छ कि उनको छोरा शाहसी र वीर नहोस् ?

अब अहिले उनी उसको सामुने उभिएकी थिइन् जसलाई उनले नौ महिना आफ्नो कोखमा राखेकी थिइन् जो उनको मुटुको टुक्रा थियो । उसका हतियारमा रेशम र मखमलले ढाकेको, हिरा र जवाहरातले जडिएको चक्कु थियो । उनी सोच्थिन् कि उनका छोरासंग यसरी नै धन, यश र कीर्ति होस् ।

उसले आमाको हात चुम्दै भन्यो ‘आमा तपाईं मेरो साथमा आउनुभयो, अब हेर्नुहोस् भोलि शहरमाथि अधिकार जमाउँछौं ।’

‘यसै शहरमा त तिमी जन्मेका थियौ ।’ मेरी अन्नाले भनिन् । उसलाई शक्तिको नशाले छोपेको थियो । ऊ प्रसिद्धिको लागि बौलाहा भएको थियो । जोशिलो हुँदै भन्यो ‘म यस विश्वलाई मेरो शक्तिले हल्लाउनका लागि जन्मिएको हुँ । खालि तपाईंको लागि मैले यो शहरलाई अहिलेसम्म छोडेको थिएँ । मेरो मनमा काँटीले घोचेझैं प्रसिद्धि पाउनका लागि मलाई अगाडि बढ्न छेकेको थियो, तर भोलि म अबुझ र जिद्दीवालहरूको यो शहरको नाम निशाना नै मेटाइदिन्छु ।’

‘यहाँका एक–एक ईंटाले तिम्रो जुन केटाकेटी अवस्था देखेको थियो, त्यो उनीहरूलाई अहिलेसम्म थाहा छ ।’ मेरी अन्नाले भनिन् ।

‘ईंटा, ढुंगा प्राण नभएका वस्तु हुन्, यदि मानिसले त्यसमा प्राण हालिदिए बोल्थ्यो । तर, म चाहन्छु कि यो विशाल पहाड मेरो कीर्तिले अझ चुलिएर उठोस् ।’ ‘अनि मानिस ?’

‘अँ, तिनीहरूलाई पनि बिर्सिएको छुइनँ, आमा उनीहरूको पनि मलाई आवश्यकता छ । किनकि योद्धा उनीहरूकै सम्झनामा अमर रहन्छन् ।’ मेरी अन्नाले भनिन्– ‘साँचो योद्धा त्यो हो, जसले जीवनको निर्माण गर्दछ र मृत्युमाथि विजय प्राप्त गर्दछ ।’

‘होइन, कुनै शहरलाई जसले निर्माण गर्दछ, त्यति नै त्यस शहरलाई ध्वस्त गर्नेको पनि नाम हुन्छ । मलाई थाहा छैन कि रोमको निर्माण एनीज र रोमलुसले गरेको थियो । तर, मलाई राम्ररी थाहा छ कि अलेरींक र अरु योद्धाहरूले त्यसलाई ध्वस्त पारे ।’

मेरी अन्नाले फेरि सोधिन्– ‘अन्त्यमा को अमर हुन्छ ?’ आफ्नो छोराबाट उनले उद्दण्डतापूर्ण उत्तर पाएर पनि कुरा काट्दै रहिन्, तर आत्मग्लानीले उनको शिर निहुरियो । आफ्नो छोरामाथिको जुन शाहस र वीरतामा गौरव गर्थिन् ती सब चकनाचुुर भए ।

एक आमाले जीवन निर्माण गर्छिन् र त्यसको रक्षा गर्छिन् । विध्वंश र बर्बादको कुरा गर्नु उनको मातृत्वलाई अपमान गर्नु हो । मेरी अन्नाको छोरामा यस्तो विचार कहाँ आउन सक्थ्यो ? उसले आफ्नी आमाको मातृत्वमा चोट पुर्याएको बुझ्न सकेन ।

हरेक आमा मृत्युको विरोधी हुन्छन् र घृणा गर्छिन् । कुनै मानिसको कारण कसैको मृत्यु भएमा त्यो आमाको दृष्टिमा जघन्य अपराधी हुन्छ । मेरी अन्नाको छोराले सम्झने कोशिस गरेन कि ऊ हृदयलाई मुर्दा बनाइदिन्थ्यो । व्यक्तित्वको चमकले अन्धा भएसकेको थियो । आमाले सृष्टि गरेको प्यारो जीवनमाथि आँच आउँदा कतिको चालक, निर्दयी र निडर हुन्छ भन्ने कुरालाई मेरी अन्नाको छोराले बुझ्न सकेन ।

मेरी अन्ना शिर झुकाएर छोराको खेमाबाट आफ्नो प्यारो शहरलाई हेर्दै बसिरहिन् जहाँ एक दिन उनले आफ्नो कोखमा विचित्र किसिमको स्पन्दन गरी कठिन प्रसव वेदना सहेर आफ्नो छोरालाई जन्माएकी थिइन् । त्यही छोरा आज यो शहरलाई आफ्नो मातृभूमिलाई तहस नहस गर्न सोचिरहेको छ ।

डुब्दै गरेको सूर्यको रातो किरण सिकुवामा परिरहेको थियो । पूरा शहर नै रगतले रंगिएको भान पथ्र्याे । झ्यालका जम्मै शिशाहरू फुटेका थिए । मानौं शहरलाई चोट लागेकाले प्रत्येक जीवनको आलो रगत बगिरहेको दृश्य देखिन्थ्यो ।

हेर्दा हेर्दै यी सबैलाई अँध्यारोले आफ्नो अधिकारमा लुकायो । एउटा लाशझैं सारा शहर अँध्यारोमा डुब्यो । आकाशमा टिल्पिलाएका तारा लाशको शिरमा जलाएको दियो झैं लाग्थ्यो ।

मेरी अन्नाले ती घरहरूतर्फएक टक लगाएर हेरिरहिन् जहाँका बासिन्दाले शत्रुहरूको डरले दियो बाल्नसम्म पनि बन्द गरेका थिए । उनी अँध्यारोमा लपेटिएर ती गल्लीहरूतर्फहेर्न थालिन जहाँबाट सडेका लाशहरूको दुर्गन्ध फैलिरहेको थियो । मृत्युको प्रतिक्षा गरिरहेका मानिसको फुस्फुसाहट पनि उनी सुन्दै रहिन् । यी सबैप्रति उनको हृदयमा अगाध प्रेम र ममता मडारिरहेको थियो । उनी चुपचाप थिइन् र आफ्नो फैसलाको प्रतिक्षा गरिरहिन् । शहरका हरेक व्यक्तिकी उनी आमा हुन् भन्ने कुरा उनलाई महशुस भैरहेको थियो ।

यसै अवस्थामा पहाडको टाकुराबाट भञ्ज्याङ्तर्फ हवाई घोडा झैं दौडँदै छहरा यस अभागी शहरतिर हानियो ।

‘यदि रात अझ अँध्यारो भएको भए आजै धावा बोलिदिन्थें ।’ मेरी अन्नाको छोराले आमालाई भन्यो ‘दिनको गर्मीमा चमक पैदा हुन्छ र हतियार चम्कन्छन् । त्यसैले धेरै पटक निशाना बेकार हुन्छ’ यति भनेर उसले तलवारमा दृष्टि लगायो ।

मेरी अन्ना बोलिन् ‘आऊ मेरो छोरा, तिम्रो टाउको मेरो काखमा राख र एकछिन सुत । बाल्य अवस्थामा मैले तिमीलाई कति खेलाउँथें, कति माया गर्थें । सबै तिमीलाई कति मायाँ गर्थें ।

उसले मेरी अन्नाको काखमा शिर राख्यो र आँखा बन्द गर्दै भन्यो ‘म खाली कीर्ति र यश चाहन्छु । तपाईंलाई म धेरै मायाँ गर्छु किनकि जो म हुँ तपार्इंले नै त बनाएको हुँ ।’

मेरी अन्नाले उसंग सोधिन् ‘के तिमीलाई स्त्री चाहिँदैन ?’ ‘ती त धेरै पाइन्छन् । उनीहरूप्रति मेरो कुनै चाहना नै छैन, किनकि ज्यादा मिठो हुने वस्तुले मन अघाएको छ ।’

‘के तिमी आफ्नो नानी होस् भन्ने चाहदैनौ ?’

‘नानी ? केको लागि ? म जस्तै दोश्रो व्यक्तिले उसलाई मारोस् भन्नाका लागि ? यस्तो प्रकारले मेरो मनमा चोट पुग्छ, म बूढोर कमजोर भएपछि पनि उसको बदला लिन सक्दिनँ ।’

मेरी अन्नाले गम्भीर श्वास छोडिन् ‘छोरा, तिमी ज्यादै प्यारो छौ तर बिजुलीको चम्काइ झैं बेकार पनि छौ ।

‘हो आमा, म बिजुली हुँ बिजुली ।’ उसले सानु नानीझैं शिर आफ्नो आमाको छातीमाथि राखेर सुत्यो ।

मेरी अन्नाले प्यारो साथ आफ्नो छोरालाई आफ्नै कपडाले छोपिन् र जहाँ ठीक ठाउँमा मुटु धड्कन्छ, त्यहाँ आफ्नो हातले चक्कु रोपिन् । हुन पनि आमा सिवाय अरु कसलाई थाहा हुन सक्छ कि कहाँ मुटु धड्कन्छ भनेर ? उसको शरीरमा एक पटक थर्थराहट पैदा भयो त्यसपछि मुर्दा भएर लड्यो ।

मेरी अन्नाले आफ्नो प्यारो छोराको लाशलाई दोधारमा परेको रक्षकहरूको अगाडि लडाइदिइन् र आफ्नो जन्मभूमि शहरलाई सम्वोधन गर्दै भनिन् ‘एक नागरिक यस्तै नै आफ्नो मातृभूमिका लागि जो म गर्न सक्दथें त्यो मैले गरेको छु । एउटी आमाको नाताले म यो छोराको साथमा छु । मेरो अर्कोछोरा जन्माउने उमेर नै छैन त्यसैले मेरो जीवन अब आफ्नो मातृभूमिको लागि केही उपयोगी छैन ।’

त्यसपछि जुन् चक्कु छोराको रगतले लत्पतिएको थियो, त्यसैले दृढताका साथ आफ्नो मुटुमा रोपिन् । निशाना यस पटक पनि ठीक ठाउँमा पर्यो । दुखिरहेको हृदय खोज्नलाई ढिलो नै पो कहाँ हुन्छ र ?

प्रस्तुतुकर्ता – के.बि.राई
अनुवादक – ईश्वर राई
साभार : मुक्ता, जनवरी (प्रथम) १९७७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here