देशको प्रशासन यन्त्र नै भ्रष्ट छ : मसाल

0
214

काठमाडौं । नेकपा (मसाल) ले देशको प्रशासन यन्त्र नै गम्भीर रुपले भ्रष्ट भएको प्रष्ट भएको बताएको छ । वाइडवडी जहाज खरिद प्रकरणमा देखिएको अनियमितता, नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्कासित सम्बन्धित भ्रष्टचार र त्यसभन्दा अघि आएका भ्रष्टचार सम्बन्धी तथ्यहरुले देशको प्रशासन यन्त्र नै भ्रष्ट भएको प्रष्ट भएको नेकपा (मसाल) को धारणा छ ।

नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७५ पौष २४ जारी विज्ञप्तिमा उक्त धारणा उल्लेख गरिएको छ । विज्ञप्तिमा देशमा बढिरहेका भ्रष्टचारका गम्भीर घटनाहरुले भ्रष्टचारलाई निमूल पार्ने ओली सरकारको प्रतिबद्धता पनि अर्थहीन भएको समेत उल्लेख गरिएको छ । महामन्त्री सिंहद्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–“देशमा बढिरहेका भ्रष्टाचारका घटनाहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षित भएको छ । त्यस सिलसिलामा हाल राष्ट्रिय रुपमा नै चर्चामा आएका वाइडबडी जहाज खरिद प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार तथा आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का सित सम्बन्धित भ्रष्टाचार सम्बन्धी तथ्यहरु अत्यन्त गम्भीर प्रकारका छन् । वास्तवमा यसप्रकारको अनियमितता र भ्रष्टाचार सम्बन्धी मुद्दाहरु यी दुइवटा मात्र होइनन् । यस भन्दा पहिले पनि भ्रष्टाचार सम्बन्धी कैयौं तथ्यहरु आउने गरेका छन् । त्यसले देशको प्रशासनयन्त्र नै गम्भीर रुपले भ्रष्ट भएको कुरा प्रष्ट हुन्छ । ओलीको सरकारको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रतिबद्धता पनि भ्रष्टाचारका यी घटनाहरुबाट अर्थहीन भएको कुरा प्रष्ट हुन्छ ।

वाइडबडी जहाज खरिदमा भएको अनियमितता र भ्रष्टचार अत्यन्त गम्भीर प्रकृतिको छ । त्यसकारण हामीले त्यो अनियमितता र भ्रष्टाचार सम्बन्धी तथ्यहरुलाई उच्च स्तरीय र निष्पक्ष प्रकारले छानवीन गरेर दोषी व्यक्तिहरुलाई कडाईपूर्वक कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । त्यसका साथै आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्काबारे पनि सरकारी सेवाको सम्पूर्ण कार्यकाल भ्रष्टाचारमा नै मुछिएको देखिन्छ । त्यसप्रकारको व्यक्तिलाई बारम्बार पदोन्नति गर्ने जुन कार्य गरियो त्यसका लागि जिम्मेवार व्यक्तिहरुलाई पनि छानविनको घेरामा ल्याउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।

माथि उल्लेख गरिएका एकाध मुद्दाहरु खाली प्रतिनिधि उदाहरण मात्र हुन् । नयाँ नयाँ आइरहेका भ्रष्टाचारका उदाहरणहरुबाट उच्च स्तरीय मन्त्रीहरुदेखि सम्पूर्ण प्रशासन यन्त्र नै भ्रष्टाचारको दलदल फसेको देखिन्छ । त्यसप्रकारको भ्रष्टाचारको निवारण नगरिकन देशको विकास सम्भव छैन । त्यसकारण भ्रष्टाचारको निवारणका लागि आवाज उठाउन तथा सरकार माथि जनदबाबको सिर्जना गर्नका लागि हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छ ।

यस सन्दर्भमा यससित सम्बन्धी अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । विभिन्न भ्रष्टाचारका मुद्दाहरुमा छानवीन वा कार्वाही शुरु गरे पनि सामान्यतया उनीहरु दण्ड सजाय विनानै छुट्ने गरेका कैयौं उदाहरणहरु छन् । अहिलेका प्रसंगहरुमा पनि त्यसप्रकारको पुनरावृत्ति नहोस् भन्ने कुरामा हामीले विशेष जोड दिन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here