दिल्लीमा १३ जना शहिद गोर्खालीहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

0
523

नयाँ दिल्ली, भारत । गत वर्ष १७ जुन २०१७ मा बङ्गाल सरकारद्वारा गरिएको हत्याको बिरोध तथा शहिदलाई श्रद्धाञ्जली अर्पण गर्नका निम्ति राजधानी नयाँ दिल्ली स्थित इंडिया गेटको प्राङ्गणमा गोर्खा (साझा मंच) द्वारा क्यान्डल मार्च र्‍यालीको आयोजना गरिएको छ।

क्यान्डल मार्च र्‍याली इंडिया गेट देखी शुरु भई जन्तरमन्तरमा कोण सभा गरि समापन गर्ने योजना थियो तर केन्द्र सरकारले सुरक्षाको कारण देखाइ जन्तरमन्तरमा प्रवेश गर्ने अनुमति नदिएपछि र्‍यालीलाई इंडिया गेटमा नै समापन गरिएको हो।

राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रममा बन्धना राईले गोर्खाहरुलाई सम्बोधन गर्दै गोर्खाहरुको बलिदान व्यर्थ जान दिँदैनौ र बङ्गाल सरकारले गरिरहेको दमन बिरुद्ध अन्तिम स्वास रहेसम्म लड्ने आश्वासनका साथै अब गोर्खे सन्तानले आफ्नो ज्यान गुमाउन नपर्ने बताएकी छन्।

यो आन्दोलनमा कुनै राजनीतिक स्वार्थ नभएको साथै कुनै राजनीति संगठनको बिरुद्ध पनि लडाई नभएको हुनाले यो गोर्खाहरुको उचित माग हो जसलाई बङ्गाल सरकारको साथै केन्द्र सरकार द्वारा समर्थन गरि पुरा गर्नुपर्ने बताईन्।

गत एक बर्षमा शहिद भएका १३ जना गोर्खे सन्तानको आत्माको शान्तिका लागि एक मिनेटको मौन धारण पश्चात् दिप प्रज्वलन गरि वक्ताहरुले शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जलीका साथै बङ्गाल सरकारलाई खबरदारी गरेका थिए।

लगभग एक सय साना बालबालिकाहरुले क्यान्डल मार्च र्‍यालीको अगुवाई गरेका थिए जहाँ एक हजार भन्दा बढी गोर्खाहरुको ‘जय गोर्खा, जय गोर्खाल्याण्ड’ नाराले इंडिया गेटको वातावारण गोर्खामय भएको थियो।

आइतबारको दिन इंडिया गेटको प्राङ्गणमा हजारौं  दर्शककाबीचमा गोर्खाहरुले क्यान्डल मार्च सफलता पुर्वक  समापन गर्नुपनि गोर्खाल्यान्ड आन्दोलनको ठुलो उपलब्धिको रूपमा हेरिएको छ।

बिगत लामो समय देखि चली आइरहेको गोर्खाल्याण्ड आन्दोलनमा शहिद भएका गोर्खाहरुको मान सम्मान तथा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नका लागि यो र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ।

क्यान्डल मार्च, स्मृति तर्पण, राष्ट्रगान, शहिदलाई समर्पित गीतहरुका साथ गोर्खाल्याण्ड पीपल्स मुवमेन्टले पर्चा वितरण पनि गरेका थिए।

श्रद्धाञ्जली र्‍याली सफल बनाउनका निम्ति दिल्ली सहित एनसीआर तथा दिल्लीका छिमेकी राज्यबाट पनी गोर्खाहरुको बाक्लो उपस्थिति रहेको थियो।

गत वर्ष बंगाल सरकारद्वारा नेपाली भाषा माथी आक्रमण भएपछि दिल्लीमा साझा मंचले सरकारको निर्णय बिरुद्ध आंदोलन सुरु गरेको थियो।

जस्मा गोर्खाल्याण्डका निम्ति लड़ी रहेका सम्पर्ण संघ संस्था, राजनीतिक दल, राज्यका बुद्धिजीवी तथा संपूर्ण गोर्खे संतान हरुको समर्थन थियो।

शान्तिपूर्ण बिरोध आन्दोलन भोक हड्तालमा परिवर्तन भए पछि आंदोलनले उग्ररूप धारण गरेको थियो। आन्दोलनलाई बंगाल सरकारले दबाउन का लागि आफ्नो बलको प्रयोग गारी गोर्खाहरुको क्रूर हत्या गरेको थियो।

गोर्खाल्याण्डका लागि आफ्नो ज्यानको बलिदान दिने शहिदहरुका न्यायका लागि बङ्गाल सरकार बिरुद्ध गोर्खाहरु सामाजिक, राजनीतिक र कानुनी रुपमा लडिरहेका छन्।

डिसी नेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here