दिदी ! फोटो मै टिका लगाई देउ

0
325
दिपक घिमिरे

तिहार सुरु भैसकेको खबर सामाजिक सञ्जालले दिन थाले पछि डिउटी गर्न तिर खास्सै मन लागेन । घरमा पक्कै पनि मिठा रसिला अनि लोभलाग्दा रोटी पाके होलान् भन्ने कल्पना गरे । बिहान फेसबुकमा अपडेट नभएर डिउटी नजाने एक किसिमको लत मलाई लागि सकेको छ सायद यो लत म जस्ता परदेशी सबैको हुनु पर्छ । त्यसैले होला बिहान धेरैलाई अनलाइन मै देख्छु ।

मखमली फुलले ढपक्क ढाकेको त्यो आगानलाई यही मरुभुमी बाटै सम्झिए । बाहिर धुवा उड्ने गर्मी भए पनि त्यो बेलौतीको छाया सम्झिए जहाँ बसेर तिहारको बेला बेलौती खाईन्थ्यो । तिहार सुरु हुनुभन्दा पैला किनेर ठिक्क पारेको त्यो बारुले मादललाई सम्झिए । सायद अब त फुटे होला ।

फेसबुकमा स्टाटस पोष्टिन मन थियो, तर दिमागमा केही फुरेन । घरको याद, तिहारको रमझम अनि रमाइलो भैलोलाई याद गर्दै उठे । आज डिउटी जादिन भन्ने सोंच पाल्दै थिएँ, फोरम्यानको फोन आयो । मैले हेल्लो भन्न नपाउदै उसले भन्यो “काम पे आएगा या नहि ? ए तेरा बापका घर नहि है, तनखा चाइए तो जल्दी आजा”

उ सँगको झगडा गरोस, उसै त हिन्दु भनेर हेप्छ । केही बोलिन, फोन काटेर कुदें । बाटोमा जाँदै थिएँ, दिदीले फोन गरी । दुई पटकसम्म काटें । उसले गरिरही, बाध्य भएर उठाएँ । अनि हस्याङ फस्याङकै आवाजमा भने “पछि कल गर्छु है दिदी ।”

उसले हस नभन्दै मैले फोन काटिदिए ।

कम्पनीको गेटमा पुग्दैथिए, बंगाली स्टाफले भन्यो “आज फोरम्यान गरम हे, बचके चल्ना ।”

मन डराएको थियो, तै पनि हिम्मत लिदै भने “साला बुढ्ढे से कौन डरेगा बे । गाण्डु से नहि डरनेका ।”

भित्र छिरें, फोरम्यानले आलु गोलभेडा जत्रा आँखा बनाउँदै भन्यो “अपना बापका नोकरी सम्झा हे क्या ? जब मन चाहे तब आनेका” झ्याम्म गालामा लगाएर सुताईदिन मन थियो, तर बाध्यता छ त्यस्तो गर्न सकिन्न यो परदेशमा । चुप्प लागेर काममा खटिएँ ।

हातमा कामको चटारो छ तर दिमागमा उही नेपाल, उही तिहार अनि उही साथीभाईसँगको रमाइलो भैलोको सम्झना । मन नलागेरै भए पनि कामना खटीईरहें ।

बंगाली र पाकिस्तानी मात्र भएको मेरो कम्पनीमा नेपाली म मात्र छु । कहिले काहीं नेपाली साथी भाइको याद आउँछ अनि छुट्टी लिएर अबुधाबी या दुबई पुग्छु । घरबाट फोन आउँदा नेपाली बोल्छु नत्र उहीँ बंगाली बोल्ने भैसके । यहाँ सबैले मलाई बंगाली या पाकिस्तानी नै ठान्छन ।

एक हजार भना बढी कुरा मनमा खेल्न थालेपछि काममा ध्यान जाने कुरै भएन । मेरो लोसेपन देखेर फोरम्यान रिसायो, गोरो अनुहार कालो बनाउँदै भन्यो “काम पे दिल नहि हे तो मुलुक चलाजा नहि तो अच्छे से काम पे लग ।”

साला गाण्डु मेरै पछि परेको हुन्छ । उसका बंगालीहरू काम नगर्दा केही बोल्दैन तर म एक छिन बसेको देखि सहदैन । लास्टै खडुस छ बुढो, त्यसैले उसको नाम पनि मैले बंगालीमै राख्देको छु ।

उसले पाएको उपनामको अर्थ अलिकति खतरा छ । कोही बंगाली भेटिए सोध्नुहोला । उसले जति गाली गरे पनि मलाई आज काममा फिटिक्कै मन छैन । तिहारको रमझमले मन र मस्तिष्कमा नराम्रोसँग लोभ्याएपछी के काममा मन जानू । उठेर फोरम्यानलाई भनें “प्लिज सर आज छुट्टी देदो, हमारा दिवाली चल रहा हे ।”

उ कठोर मुस्लिम हो, उसले हिन्दु देख्ने बित्तिकै अनुहार बटार्छ । उसले मेरो चाडवाडमा छुट्टी दिनु सपना जस्तै हो । उ मेरो कुरै नसुनी गयो, म फेरि काममा लागे ।

अघि काममा आउँदा दिदीले फोन गर्दा म पछि गर्छु भनेको मैले भुलेछु तर दिदी कुरेर बसेकी रैछे । दुई पटक मिसकल आयो । उ भाइसँग गफिन चाहन्थी ।

मोबाइलमा ब्यालेन्स चेक गरें, पन्द्र दिराम बचेको रैछ । सुटुक्क दुकानमा गएर बिस दिरामको रिचार्ज गरे अनि पार्किङ एरियामा गएर फोन गरें । एक घण्टि पनि पूरा जान नपाउँदै दिदीले फोन उठाई । “कति व्यस्त छस मेरो भाई तिहारमा दिदीसँग गफिनेसम्म फुर्सद छैन है तलाई ?”

दिदीले एकै स्वरमा गुनासो सुनाई । मैले सुनिरहे । उसले फेरि भनी “यो पटक त आउछस भन्या थिए, निधार खाली भएको तीन वर्ष भयो । तलाई अत्यास लाग्दैन जेठु ?”

दिदीको प्रश्नले आँखा रसाए । के भन्नू ? अत्यास कति लाग्छ भन्ने दिदीले कल्पना सम्म गर्न सक्दैने । तर उ सोंच्छे म यतै खुसी छु । तर यस्तो कदापि होइन, साँच्चै हरेक परदेशी बाध्यताले परदेशमा छन् । ठुलो शहर, चिल्लो बाटो अनि हसिलो चेहराले हामी परदेशी खुसी देखिए पनि मनको पीडा कस्लाई सुनाउनु ? दिदी बोल्दै गै “बाबु मिल्छ भने टीकाको दिनसम्म आइज, एक थोप्लो टीका लगाएर जालास ।”

कसले सम्झावस मेरो सोझी दिदीलाई । म काठमाडौं भएको जस्तै सजिलो सँग आइज भनी । उसले आफ्नो कर्तव्य पूरा गरी । नेपाली परम्परा अनुसार तिजमा चेलिबेटी सम्झिने अनि तिहारमा दाजुभाई सम्झिने संस्कृति हो । आज उसले आफ्नो कर्तव्य पूरा गरी, मैले बुझें । तर केही बोलिन ।

म चुप भएको उसलाई मन परेन सायद “किन चुप ? कि फोन कट्यो र ? हेल्लो हेल्लो”

उसले दुई पटक सम्म हेल्लो भनेपछि मैले भने “सुनिराछु दिदी । मलाई तेरो आवाज सुन्न मन लागेको छ तेरो धेरै याद आएको छ । आज त मात्र बोल दिदी ।”

मेरा आँखाबाट आँसु चुहिदै थिए । उता दिदी हिक्का छाडेर रुन थाली । अब यता म रुने अनि उता दिदी रुने । रुदा रुदै फोन कट्यो, म आँसु पुछेर काममा फर्किए ।

काममा लागेको थिए, उतैबाट फोन आयो । उठाए “ब्यालेन्स सकियो है बाबु ? गफ गरम, मैले राखेकी छु पैसा । “दिदीले माया देखाई । मसँग शब्दै थिएन । उ भट्याई रही । उसको मायालु आवाज सुनिरहे । फोन राख्नै लाग्दा उसले भनी तेरो निधार रंग्याउन कहिले पाउछु बाबु ?”

मैले भन्दिए “यो वर्ष पनि फोटामै टीका लाईदेउ दिदी । अर्को वर्ष समयले साथ दिए आउनेछु ।”
मैले अरू केही भन्न सकेन अनि फोन काटे ।

नजिकै उभिएको फोरम्यानले रिसाउदै भन्यो “तेरा कम्प्लेन अरबाप के साथ करुंगा ।”

मलाई पनि रिस उठेको थियो, रिसाउदै भन्दिए “हम बाप से नहि डर्ते, अरबाप से कौन डरेगा बे गाण्डु ?”

भिजेका आँखा पुछेर फेरि काममा जोतिए, सोंच्दै थिएँ सायद चिल्ला रोटी खादै मादलको तालमा गाउँ घरमा भैलो खेल्दै होलान्, म चैं यता खुसी किन्न पसिना बेच्दैछु ।

यो पनि पढनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here