मंसिर २६, कलैया । दाइजो प्रथाका विरुद्ध अखिल छैठौंले प्रदेश २ मा अभियान शुरु गरेको छ । दाइजोको अत्याधिक समस्या रहेको प्रदेश २ का ८वटै जिल्लाहरुमा छैठौंले सचेतनामुलक कार्यक्रम सम्पन्न पार्ने अध्यक्ष विमल पोखरेलले बताए ।
पोखरेलका अनुसार छोरी पढाऔं, दाइजो हटाऔं अभियान प्रदेश २ मा सञ्चालन भएको हो । यसैक्रममा मंसिर २५ गते बाराको कलैयास्थित रामराजा क्याम्पसमा सड्क नाटक प्रदर्शन गरेर अध्यक्ष पोखरेलले अभियानको उद्घाटन गरिएको छ ।
कार्यक्रममा रामराज क्याम्पसका प्रमुख हरिशरण कुशवाहले दाइजोले समाजमा विकृति र विसंगति निम्त्याउने भएकाले त्यसको विरुद्धमा सबैले अभियान चलाउनु पर्ने बताए । तराईमा दाइजोको समस्या विकराल भएको, घरघरमा हिंसा र अशान्ति फैलिएको भन्दै दाइजो मानव जातिकै कलंकको रुपमा विकसित भएकोले अभियान सञ्चालन गरिएको अध्यक्ष पोखरेलले उल्लेख गरे ।
त्यस्तै विरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पनि सड्क नाटक प्रदर्शन गरिएको छ । छोरी पढाउँदा र दाइजोले ल्याएको पारिवारिक तथा सामाजिक कलहलाई नाटकका माध्यमबाट देखाइएको छ ।
कलाकारहरु रामलोचन चौरासिया, श्रीचन्द्र चौरासिया, अनिल चौरासिया, चन्देव चौरासिया, सीता साह, शर्मिला पटेल, सुमित्रा चौधरी, विजय चौरासियाले नाटकमा अभिनय गरेका छन् ।