थाके मोहनविक्रम: महामन्त्री छोडेर लेखनतिर लाग्दै

0
2229
भूपेन्द्र वली

मोहनविक्रम सिंह नेकपा (मसाल)का महामन्त्री हुन् । सिंहलाई नेपालमा कम्युनिस्ट आन्दोलनका ‘गुरु’का रूपमा पनि चिनिन्छ । हाल अन्य कम्युनिस्ट पार्टीमा रहेका कैयौँ ठूला नेता पनि सुरुवाती चरणमा सिंहकै प्रशिक्षण र सहयात्रामा थिए । विसं ०१० सालमा नेपाल कम्युनिस्ट पार्टीमा संलग्न भएका सिंह ०३१ सालमा नेकपा (मसाल)को चौथो महाधिवेशनबाट पार्टीको महामन्त्रीमा निर्वाचित भए । ०२९ सालदेखि भूमिगत भएका सिंह ०४६ सालयता अर्धभूमिगत भएर पार्टीको नेतृत्व गरिरहेका छन् । कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, साम्यवादको सपना र अर्धभूमिगत रहिरहनुको औचित्यबारे पार्टी कार्यक्रमका सिलसिलामा केही समयअघि दाङ पुगेका सिंहले नयाँ पत्रिकाकर्मी भूपेन्द्र वलीसँग कुराकानी गरेका छन् :

कम्युनिस्ट आन्दोलन झनै कमजोर
बाहिर हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन निकै शक्तिशाली भएको देखिन्छ । चुनावमा मत पाएका दुई ठूला पार्टी मिलेर बनेको नेकपा अहिले सरकारमा छ । यो संसारकै लागि उदाहरणीय कुरा हो । तर, यसलाई कम्युनिस्ट आन्दोलन बलियो भएको भन्न मिल्दैन ।

कम्युनिस्ट पार्टी त्यो वेला बलियो हुन्छ, जब यसका सिद्धान्त विचार, नीति, कार्यक्रम लागू भएका हुन्छन्÷हुनेछन् । तर, वर्तमान सरकारले कम्युनिस्टका आधारभूत कुरा पनि अगाडि बढाएको देखिँदैन । समाजवादउन्मुख नीति पनि ठोस रूपमा बनाएको छैन । भूमिहीन, किसानका अधिकारका पक्षमा, राष्ट्रिय उद्योगको संरक्षणको पक्षमा, विदेशी पुँजीलाई नियन्त्रण गर्ने विषयमा कुनै योजना छैन । समग्रमा निजीकरणलाई कम गर्दै क्रमशः सामाजिकीकरण गर्ने दिशामा ठोस कदम चालेको देखिँदैन ।

नेकपा अहिले ठूलो भएजस्तो देखिएको छ । उनीहरूसँग सत्ता छ, शक्ति छ । तर, अर्कोतर्फबाट हे-यो भने उनीहरू आफ्नो सिद्धान्तलाई आफैँ कुल्चिएर ठूला बनेका छन् । सामान्य बुर्जुवा दृष्टिकोणले हेर्दा उनीहरू ठूला भएका हुन्, तर कम्युनिस्ट दृष्टिकोणले उनीहरू च्युत भएका छन् । जनताले मत दिएको कुरा नै सत्य होइन । कुनै वेला हिटलरलाई मत दिने पनि जनता नै थिए । जनताले पञ्चायतलाई दिएका थिए । कांग्रेसलाई दिएका हुन् । जनताले भय, आतंकका कारण, सही विचारबारे स्पष्ट हुन नसक्दा पनि एउटा कालखण्डमा मत दिन्छन् । तर, त्यसले दीर्घकालीन महत्व राख्दैन । समीक्षा नै गर्ने हो भने बाह्य रूपमा शक्तिशाली देखिए पनि नेपाललगायत विश्वमै कम्युनिस्ट आन्दोलन निकै कमजोर भएको छ ।

सम्भव छैन साम्यवाद
साम्यवादका बारेमा हामी सबै जानकार छौँ । साम्यवाद भनेको वर्गविहीन समाज हो । शोषणविहीन समाज हो । सबैको समान अवस्था कायम भएको समाज हो । तर, अहिले हेर्नुभयो भने जसरी समाजको पतन भएको छ, यो सबै व्यक्तिगत मनोभावनाको वृद्धि हुँदै गएकाले हो । मानिसहरू आपसमा मिलेर काम गर्न सक्दैनन् । व्यक्तिगत स्वार्थको भावनाले नै भ्रष्टाचार व्याप्त छ । त्यसैले अहिले समाजलाई सुधार्दै लैजानु आवश्यक छ । हाम्रो लक्ष्य साम्यवाद भए पनि तत्काल सम्भव देखिँदैन । साम्यवाद स्थापनाका आफ्नै प्रक्रिया छन् । तत्कालका लागि देशलाई विकास गर्ने, प्रगतिमा लैजाने र समृद्ध बनाउने कुरा नै प्रमुख हो । देशमा किसान, मजदुरका हक–अधिकारलाई स्थापना गर्ने उद्देश्य छ । समग्रमा समाजसुधारका कुरा नै अगाडि बढाउनुपर्छ । तर, नेकपाको चरित्र यस्तै रहिरहेमा समाज साम्यवादसम्म पुग्ने सम्भावना देखिँदैन ।

अर्धभूमिगत हुनुको अर्थ
यो कुरा त प्रस्टै छ । हामीले तत्कालीन रूपमा सुधारवादी संघर्षहरू गर्छौं । बहुदलीय व्यवस्थाभित्र पनि सुधारका लागि संघर्ष गर्छांै । संघीयता, राष्ट्रियताका लागि संघर्ष गर्दै आएका छौँ । तर, हाम्रो उद्देश्य यतिले मात्र पूरा हुँदैन । यो समाजको आमूल परिवर्तन गर्न आवश्यक छ । राज्यको स्वरूप नै परिवर्तन गर्नुपर्ने आवश्यकता छ । हाम्रो दीर्घकालीन लक्ष्य भनेको नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नै हो । कतिपय संसदीय पार्टीको लक्ष्य नै सत्तामा पुग्ने, मन्त्री, प्रधानमन्त्री बन्ने, सत्ता चलाउने रहेको छ । तर, हाम्रो संघर्ष कैयौँ पुस्तासम्म चल्ने संघर्ष हो । त्यसकारण अहिले नै यही व्यवस्थामा हामी सामेल भयौँ भने हाम्रो लक्ष्य अलमलिन्छ । जस्तै, माओवादी, एमाले, (हालको नेकपा) कांग्रेसलगायत पार्टीहरू फसिरहेका छन् । त्यसकारण यी सबै जञ्जालमा नफस्नका लागि हामीले पार्टीलाई छुट्टै तरिकाले राखेका छौँ ।

अर्कोतर्फ जनताबाट पूरै कटअफ भएर पनि रहन सक्दैनौँ । वैधानिक मोर्चाद्वारा हामी जनतासँग सम्बन्ध राख्ने प्रयत्न गर्छौं । दीर्घकालीन रूपमा पार्टीको मूल ढाँचा, चरित्र र उद्देश्य कायम राख्नका लागि नै म मात्र होइन, पार्टीको ठूलो संरचनालाई नै हामीले अर्धभूमिगत राखेका छौँ । मेरो हकमा सोध्नुहुन्छ भने अर्धभूमिगत रहने कुरा मेरो व्यक्तिगत निर्णय होइन । पार्टीको निर्णय हो । पार्टीको निर्णयअनुसार महामन्त्री अर्धभूमिगत रहने भन्ने छ । यद्यपि, म सधँै महामन्त्री भइरहने कुरा पनि हुँदैन । हाम्रो ८औँ महाधिवेशन हुँदै छ । महाधिवेशनले अर्को व्यक्तिलाई महामन्त्री तोक्न सक्छ । यदि म महामन्त्रीबाट बिदा भएँ भने अर्धभूमिगत भइरहने भन्ने हुँदैन । त्यसैले अर्धभूमिगत कहिलेसम्म रहने भन्ने कुरा मैलेभन्दा पार्टीले नै निर्धारण गर्नेछ ।

आस्थाले आनन्द
मूल रूपमा कुनै पनि कम्युनिस्टका लागि उसको जीवन दर्शन आफ्नो उद्देश्यप्रतिको समर्पण हो । कतिपय मानिस के गरिरहेका छन् भने कम्युनिस्ट पार्टीमा लामो समय काम गर्छन्, तर त्यहाँबाट फाइदा नहुनेबित्तिकै अर्कोतिर लाग्छन् । मेरो हकमा भने मैले जुन सिद्धान्त विचारलाई आत्मसात् गरेँ, जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि म त्यसबाट विचलित भइनँ । इमानदारी र दृढता नै मुख्य चिज हो । कुनै सिद्धान्त वा विचारप्रतिको निरन्तर समर्पणबाट तपाईंमा जुन शक्ति पैदा हुन्छ, त्यसमा नै सबैभन्दा ठूलो आनन्द प्राप्त हुन्छ । एउटा ऋषि वर्षौं तपस्या गर्छन्, कैयौँ मान्छेले वर्षौं अनुसन्धान गर्छन्, कसैले अरबको मरुभूमिमा वर्षौं बिताएर त्यहाँको सभ्यतालाई खोज्न प्रयास गर्छ, कसैले कविता, उपन्यास लेखनमा वर्षौं मिहिनेत लगाउँछ । अरूको दृष्टिकोणमा यी सबै दुःखका कुरा हुन् । तर, कर्ता आप्mनै लागि भने योे आनन्दको कुरा हो । कुन काममा आनन्द प्राप्त हुन्छ, दृढता प्राप्त हुन्छ, शक्ति प्राप्त हुन्छ भन्ने कुरा मान्छेको आस्थाले निर्धारण गर्दो रहेछ ।

फुटले दिएको सुख–दुःख
सुख र दुःखका कुरा यसै सम्झिन गाह्रो पर्छ । जेलमा पनि १०–१२ वर्ष बसेँ । तर, मैले त्यो बसाइमा पनि कहिल्यै दुःख र निराशाको अनुभव गरिनँ । म हतोत्साही पनि भइनँ । कम्युनिस्ट आन्दोलन अघि बढ्ने क्रममा भएका टुटफुटले भने म दुःखी भएँ । यही कुरा मेरा लागि सबैभन्दा आनन्दको कुरा हो । जस्तै, ०१७ सालमा केशरजंग रायमाझीसँग हाम्रो फुट भयो । उनीसँग हाम्रो फुट किन भयो भने उनले राजावादी लाइन समाते । त्यो वेला फुट अनिवार्य थियो । त्यो वेला नफुटेको भए हामी सबै राजाका लाइनमा जाने अवस्था थियो । नारायणकाजीले पार्टी एकताको प्रस्ताव ल्याए । पार्टी एकता गर्नुको पछाडिको उनको उद्देश्य पार्टीलाई पूरै माओवादीमा विलय गराउने रहेछ । तर, उनको योजना पनि असफल भयो । जोगिएकोमा यसले ममा सुख नै पैदा ग-यो । तर, केही फुट गलत प्रकारका पनि भएका छन् । त्यसमा, कमरेड निर्मल लामासँगको फुट हुनुपर्ने फुट थिएन । म चुनावको बहिष्कार गर्नुपर्ने पक्षमा थिएँ । उनी उपयोग गर्नुपर्ने पक्षमा थिए । उनका पक्षपातीले कतिपय कुरामा उनलाई भ्रम पैदा गराए र फुट भयो । त्योे फुटको समीक्षा गर्दा म दुःखी हुन्छु ।

महामन्त्री पदबाट मुक्त हुने सोच
अहिलेसम्म म पार्टीको हितकै निम्ति महामन्त्रीको जिम्मेवारीमा रहेँ । महामन्त्री हुनुभन्दा अरू काममा लाग्न पाए राम्रो हुने थियो भन्ने सोचिरहेको छु । महामन्त्रीको जिम्मेवारीले मेरा कतिपय काम असफल भइरहेका छन् । किताब लेख्ने, लेख लेख्ने कैयौँ योजना छन् । अनुसन्धानात्मक काम प्रभावित भएका छन् । महामन्त्री भएकै कारण मैले गर्न चाहेका सिर्जनात्मक काम पूरा हुन सकेका छैनन् । यसबाट मुक्त हुन पाए मलाई धेरै सहयोग हुने थियो । यसका लागि धेरैपहिले मैले पार्टीमा प्रस्ताव पनि राखेको थिएँ । तर, मेरो प्रस्ताव स्वीकृत भएको छैन । अब भोलि कुन प्रकारको स्थिति आउँछ । पार्टीको ८औँ महाधिवेशनले के निर्णय गर्छ । त्यसैअनुसार जिम्मेवारीबारे निर्णय हुनेछ ।

नयाँ पत्रिका दैनिकबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here